निर्णय नं. १०४० – ज्यान
निर्णय नं. १०४० ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३२ सालको सा.नं. १९ फैसला भएको...
निर्णय नं. १०४० ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपट सिंह रावल
सम्वत् २०३२ सालको सा.नं. १९
फैसला भएको मिति : २०३४।२।९।१ मा
वादी : सोलुथानाको हे.कं. हरिप्रसादको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी : तीवत सुनो गुम्बामाटाघर भई हाल केन्द्रिय कारागार काठमाडौं थुनामा रहेको पासाङटेसी तिब्बेतियन भोटे
मुद्दा : ज्यान
(१) कुन सूत्रबाट कसरी अपराधको घटना जानकारी हुन गएको सो कुरा वादीलाई मात्र जानकारी भएर हुने होइन, सो मुद्दामा निर्णय दिने अदालतलाई पनि सो को विवरण जानकारी गराउनु र सो को सबूद प्रमाण पेश गर्नुपर्ने नै वादीको मौलिक कर्तव्य हुन आउने ।
(प्रकरण नं. १२)
वादी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा
प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना
उल्लेखित मुद्दा :
फैसला
न्या.झपट सिंह रावल : पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको प्रस्तुत मुद्दा साधकमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यस प्रकार छ : जुम्बेसी गा.पं. अन्तर्गत मोपुङको थुकटेन छोलिङ्ग गुम्बा बस्ने गोम्बु तिवेटिनको ०२९।६।२४ को जाहेरीले भवितव्य आगलागी भई पुकारसं नामगेल र निजैको श्रीमती दावा च्याङ जिङ समेत २ जना आगोमा परी भवितव्यबाट मरेकोले मौका तहकिकात समेत गरी पाउँ भन्ने जाहेरी परी २०२९।६।२४ मा वारदात जाहेरी समेत भएको सो सम्बन्धमा सरजमिन हुँदा सम्पूर्ण सरजमिन भवितव्य लेखाई सो सम्बन्धको मिसिल जि.अ.सोलुखुम्बुमा पेश भइसकेको । कर्तव्यको प्रकृति देखिन आउँदा उक्त सम्बन्धमा के भएको रहेछ भनी सुराक पत्ता लगाउँदै रहँदा यसै जिल्ला झ्याल्सा शरणार्थी कारखाना बस्ने पासाङटेसी (टिवेटिन) को चालचलन इत्यादिबाट पुकारसं नामगेल समेत २ जनालाई मारी धनमाल लिई घरमा आगो लगाई दिई भागी लुकिछिपी बसेको छ भन्ने कुरा विशेष सूत्रबाट तथ्य हुन आएकोले निजलाई पक्राउ गरी कानूनबमोजिम सजाय समेत हवस भन्ने समेत हे.कं. हरिप्रसाद को प्रतिवेदन ।
३. लेखिएको दिन समयमा मेरो घरबाट घिउ खरीद गर्न भनी पुकारसंको घरमा गई बास वसे भोलिपल्ट २ नं छिरिङ खर्कमा गए, घिउयापन र फेरी सो सो दिन फिरी आई भोलिपल्ट निजकै घरमा बास बस्न आई पुगे मेरो श्रीमती आनि भई मलाई छाडी गुम्बामा बस्ने गरे, मैले टिबेटबाट ल्याएको सम्पत्ति पनि ससुरालमानै राखेको थियो, सम्पत्ति देउ भन्दा नदिने गरेकोले मलाई उक्त सम्पत्तिकै कारणबाट रिस उठी राखेको थियो सो दिन पनि सम्पत्तिकै कुरा हुँदा तेरो सम्पत्ति दिन्न भनी पुकारसंगले भनेको हुँदा सो रात अं.९।१० बजेको थियो होला त्यहीं भएको बन्चरोले पुकारसंगलाई पैला पासोबाट चल्निमा हिर्काई निज मर्यो निजको श्रीमती हो हल्ला गरेकोले फेरि पुकारसंग श्रीमतीलाई टाउकोमा हिर्काई बञ्चराले मरिन । मट्टितेल खनाई सल्काई दिई अरू सामान झिक्दा पाप हुन्छ कि भन्ने डरले झिकिनँ भन्ने समेत पासाङ टेसी टिवेटिनको कागज ।
४. पासाङटेसीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय हुने पेश गर्ने राय व्यक्त गरियो भन्ने समेत प्रहरी प्रतिवेदन ।
५. मैले मार्नु पर्ने कारण पनि छैन मैले मारेको पनि होइन मलाई मार्यो भन्ने आरोप लगाई मेरो सम्पत्ति धनमाल खाने उद्देश्यलेमात्र त्यस्तो प्रतिवेदन दिएको हुनुपर्छ भन्ने समेत पासाङ टेसीको बयान । पासाङ टेसीको घरमा धनमाल लिने प्रहरीको नाम थाहा छैन भन्ने समेत पेम्बा भोटेको बयान । मालसामानहरू सबै जना सामुन्नेमा निज पासाङटेसीलाई बोकाई थानामा ल्याई इन्चार्ज स.ई. कालुमानको सम्मुख ठानामा मानिस र मालसामान समेत दाखिल गरेको हुँ भन्ने समेत अ.स.ई. भीमबहादुरको बयान । पक्राउ गर्न गै मासिनस र माल सामान प्रतिवेदन साथ दाखिल गरेको छु भन्ने समेत हे.कं.हरिप्रसादको बयान । पासी टेसीले प्रहरीमा बयान गर्दा म थिइन कुसी थियो थिएन मलाई थाहा छैन भन्ने समेत पासीं नुर्बुको बयान । मुचुल्कामा सही गर भनेबाट सही सम्म गरी म आफ्नो घरतर्फ गएँ त्यसपछि के भयो थाहा छैन भन्ने समेत नुर्बुसिलो भोटेको बयान । अनुवादकको सही मेरो हो अदालतमा म्याद थप गर्न लानु पर्यो ज्यान मारेमा सावित भयो तपाईले सहिछाप गरी दिनु पर्यो भनी हे.क. हरिप्रसाद कं.मानबहादुरले भनेबाट मैले सही सम्म गरिदिएको हुँ यो कागज मलाई पढी बाची सुनाएनन् भन्ने समेत लामाकुसाङ सेर्पाको बयान । पासांटेसी ज्यान मारेमा सावित भई कारवाही भएको छ भन्ने सम्म सुनेको हुँ भन्ने समेत पाङजुम तिवेतियनको बयान । पासीतेसीले मार्यो रे भन्ने सम्म सुनेको भन्ने समेत गुम्बु टिवटीयनको बयान ।
६. कर्तव्य गरी मारेको होइन भन्ने सबूद प्रमाण प्रतिवादीले गुजार्न नसकेको समेतबाट पुकारसं नामगेललाई र निजको श्रीमती दावा च्याङजिङ समेतलाई प्र. पासांटेसींलाई कर्तव्य गरी मारेको ठहर्न आएकोले निज प्र. पासंतेसी सर्वस्वसहित जन्मकैद गर्ने भन्ने समेत सोलुखुम्बु जि.अ. को जाहेरी फैसला चित्त बुझेन भन्ने समेत पासांटेसीको पुनरावेदन । मिसिलमा बुझिए सम्मको कुनै सबूद प्रमाणबाट पनि पासाङतेसीले पुकारसंग र निजको श्रीमतीलाई कर्तव्य गरी मारी निजहरूको घरमा आगो लगाई धनमाल लिएको हो भन्ने देखिन नआएकोले अभियुक्त पासांटेसी उपर लगाएको अभियोगमा निजले रिहाई पाउनेमा कसूरदार ठहराई छिनेको सोलुखुम्बु जि.अ.को इन्साफ मिलेको नदेखिनाले बदर हुने ठर्हछ भन्ने समेत पूर्वाञ्चल क्षेत्रिय अदालतको जाहेरी फैसला रहेछ ।
७. सरकारी वकिल तथा सेवकको वकिल समेतलाई राखी राख्न लगाई वहस गराई कसूरदार उम्कन नपाउने गरी पाउँ भन्ने समेत दोर्जिडोमाको विन्तिपत्रमा क्षेत्रीय अदालतको साधक फैसलामा सरकारी पक्ष र निवेदिकातर्फको वकिल राखी दुवैतर्फको बहस समेत सुनी इन्साफ गरिदिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको रहेछ ।
८. साधकमा दर्ता भई पेश हुन आएको यसमा मर्ने पुकारसङ नामगेल र निजको श्रीमती दावा च्याङजीङलाई प्रतिवादी पासाङटेसीले वन्चराका पासोले हिर्काई मारी दाखिल भएको रेडियो समेत चोरी गरी आगो लगाए समेत सावित भई कागज गरिदिएकोले ज्यान सम्बन्धीको १३ नं.को दफा १ बमोजिम सजाय हुनुपर्ने भनी दावी श्री ५ को सरकारकोतर्फबाट अदालतमा मुद्दा दायर हुन आई शुरु सोलुखुम्बु जिल्ला अदालतले वादी प्रतिवेदनमाग अनुसार प्र. पासाङटेसीलाई ज्यान सम्बन्धीको १३ नं.बमोजिम सर्वस्व सहित जन्म कैद गर्ने ठहराई ०३० साल मार्ग ७ गते जाहेरी फैसला गरेको र सो फैसला उपर पासङटेसीको पुनरावेदन परी पूर्वाञ्चल क्षेत्रीय अदालतमा जाँदा पासाङटेसी अदालतमा आई इन्कार बयान गरेको र पासाङ टेसीको प्रहरीमा गराएको साविती बयान गरेको र पासाङ टेसीले भने लेखाएको मैले नेपाली कागजमा उल्थागरी नेपालीबाट लेखिएको ठिक हो भनी सही गर्ने कसाङ सेर्पालाई अदालतमा झिकी बुझ्दा मैले सहिछाप सही गरिदिएको हुँ अदालतमा म्याद थपलाई लानु पर्यो भनी भनेको थिए यस्तो कागज भनी मलाई थाहा भएन सो कागज मलाई पढी बाँची सुनाएनन् भनी लेखाएकोले प्रहरीमा भएको पासाङको साविती अन्य प्रमाणबाट समर्थन हुन नआएको भन्दै अभियुक्त पासाङ टेसि उपर लगाएको अभियोगमा निजले रिहाई पाउने भनी पूर्वाञ्चल क्षेत्रीय अदालतले ०३१।१२।४ मा जाहेरी फैसला गरेको रहेछ ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतको उक्त फैसलाको विरुद्ध कानूनले पुनरावेदन लाग्नेमा वादी श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन परेको छैन । अ.बं.को १८६ नं.बमोजिम साधक जाहेर भई आएबाट यस मुद्दाको इन्साफ मिलेको छ वा छैन भनी हेर्नु परेको छ ।
१०. मर्ने पुकारसं नामगेल दावा याङजिङको छोरी डोजिडोमाले श्री ५ महाराजाधिराजका हजुरमा विन्ती पत्र चढाएबाट क्षेत्रीय अदालतको साधक फैसलामा सरकारी पक्ष र निवेदिका पक्ष दुवैतर्फको वकिल राखी दुवैतर्फको बहस समेत सुनी इन्साफ गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आए मुताविक विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा, निवेदिकातर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न र अभियुुक्ततर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना समेतको बहस सुनियो, अभियुक्त प्रहरीमा सावित भएको र सरजमिनका मानिसले सोधपुछ गर्दा पनि अभियुक्त अपराधमा सावित भएको हुनाले सुरु जि.अ.ले ठहराएको इन्साफ सजाय कायम हुनुपर्छ भनी विद्वान वरिष्ठ सरकारी अधिवक्ता तथा मर्नेकी छोरी निवेदिकातर्फका विद्वान वरिष्ठ अधिवक्ताले र एक पटक मौका तहकिकात हुँदा भवितव्यबाट आगलागी भई ज्यान मरेको ठहरी मिसिल तामेलीमा रहेको धेरै महिनापछि कर्तव्य भएको कुरा विश्वस्त सूत्रबाट जानकारी भएको भनी एकाएक अभियुक्तलाई पक्राउ गरी निजको घरबाट अपराधसँग सम्बन्धित दसी हो भन्ने तथ्य आधार बेगर मालसामान ल्याई अपराधमा सावित भएको प्रहरीमा कागज भई मुद्दा चलाएको देखिन्छ, त्यस्तो साविती भनिएको एकमात्र कागजको आधारमा सजाय दिन नमिल्ने भनी क्षेत्रीय अदालतले सफाई दिने गरेको सदर हुनुपर्छ भनी अभियुक्ततर्फबाट उपस्थिति हुनु भएका विद्वान अधिवक्ताले वहस गर्नु भयो ।
११. पूर्वाञ्चल क्षेत्रीय अदालतले अभियुक्तलाई सफाई दिएको र शुरु जि.अ.ले अपराध ठहराई सजाय दिई राखेको छ अभियुक्तलाई सजाय दिने आधार निजले प्रहरीमा दिएको साविती कागज र सरजमिनका व्यक्तिले सोधपुछ गर्दा पनि अभियुक्त सावित भएको भन्ने सरकारी वरिष्ठ अधिवक्ता र मर्नेको छोरीतर्फबाट रहनु भएका वरिष्ठ सरकारी अधिवक्ताको मुख्य जिकिर छ । अभियुक्तको प्रहरीमा गराएको कागज हेर्दा घिउ खरीद गर्न भनी पुकारसंको घरमा गई वास बसे भोलिपल्ट २ नं.छिरिङ खर्कमा गए घिउ पाइएन फेरी सोही दिन फेरि आई भोलिपल्ट निजकै घरमा वास वस्न आई पुगे, मैले टिबटबाट ल्याएको सम्पत्ति पनि ससुरालमानै राखेको थियो, सम्पत्ति देउभन्दा नदिने कुरा गरेकाले मलाई उक्त सम्पत्तिकै कारणबाट रिस उठी राखेको थियो सो दिन पनि सम्पत्तिकै कुरा हुँदा तेरो सम्पत्ति दिन्न भनी पुकारसंगले भनेको हुँदा सो रात अं. ९।१० बजेको थियो होला त्यंही भएको बञ्चरोले पुकारसंगलाई पैला पासोबाट चल्नीमा हिर्काई निज मरे निजको श्रीमती हो हल्ला गरेकीले पुकारसंगको श्रीमतीलाई टाउँकोमा हिर्काए मरिन् मट्टितेल खनाई सल्काई दिए भन्ने उल्लेख गरेको छ, सो अनुसार अगावै आई बसेको र त्यसपछि घिउ किन्न गई फेरि आई बसेको भन्ने कुरा छरछिमेकी सरजमिनका कुनै व्यक्तिबाट उल्लेख गरेको नदेखिनुका साथै ससुरालाई बन्चरोको पासोबाट हानी मारेको र सासुले हल्ला गरेको सो हल्ला कसैले सुनेको भन्ने देखिँदैन, सासुलाई पनि मारेको भन्ने साविती कागजमा उल्लेख छ । लोग्ने उपर हमला गरेपछि त्यहि भएको निजको स्वास्नीले हमलाको प्रतिकार गर्ने र प्रतिकार गर्न नसक्ने स्थिति भए घर बाहिर भागी हल्ला खल्ला गर्नसक्ने अवस्था भएकोले पहिले एउटालाई मारी अनि अर्कोलाई पालैसँग मारेको भन्ने उल्लेख गरेको र धनमालको विषयबाट मारेको भनेको फेरि धनमाल नोक्सान हुने गरी घरमा आगो लगाएको भन्ने असंगत तथा विरोधाभास देखिएको यहि मार्ने मनसाय भए पहिला वास बस्न गएकै राती केही गरेको हुनुपर्ने सोपनि नभएको मर्नेको लास आगोले डढेको भन्ने आगलागीतर्फको भवितव्य ज्यान मुद्दामा मौकामा भएको कारवाहीबाट देखिएको हुनाले बञ्चरोको चोटै लागी मरेको भन्ने लासबाट देखिने भएन त्यसकारण निज अभियुक्तको प्रहरीमा भएको साविती कागजको त्यस्तो अवस्था हुुनुका साथै मौका भएका तहकिकातले समर्थन नगरेको र सो कागज पासाङ टेसीले टिवेटी भाषामा भनेको मैले नेपाली उल्था गरी नेपालीबाट लेखिएको ठिक हो भनी सही गर्ने कुसाङ सेर्पाले अदालतमा बयान गर्दा मैले सहीछाप सम्म गरिदिएको हुँ अदालमा म्याद थपलार्इं लानु पर्यो सही गर भनेका थिए सही गरिदिएको हुँ भनी निजले बयान गरेको हुनाले सो अभियुक्तको प्रहरीमा भएको साविती कागजमा निर्भर गर्न नमिल्ने हुँदा क्षेत्रीय अदालतले उल्लेख गरेकोतर्फ असंगत भन्न मिलेन ।
१२. अभियुक्तको घरबाट ल्याएका माल सामानहरू मर्ने व्यक्तिहरूकै हो भन्ने तथ्ययुक्त अवस्था पनि देखिन आउँदैन, मुद्दाको शुरुवात गर्दा पनि विशेष सूत्रबाट तथ्य हुन आएको भन्ने प्रतिवेदनमा उल्लेख भएको देखिन्छ, कुन सूत्रबाट कसरी अपराधको घटना जानकारी हुन आएको हो सो कुरा वादीलाई मात्र जानकारी भएर हुने होइन सो मुद्दामा निर्णय दिने अदालतलाई पनि सो को विवरण जानकारी गराउनु र सो को सबूद प्रमाण पेश गर्नुपर्ने नै वादीको मौलिक कर्तव्य हुन आउँछ, सो पनि यस मुद्दामा नखुली गुपचुप रहेको देखियो ।
१३. यस्तो अवस्थामा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला इन्साफ मिलेन प्रतिवादीलाई शुरुले ठहराए बमोजिम सजाय हुन पर्छ भन्ने विद्वानहरूको तर्कसँग सहमत हुन मिलेन इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालतको मनासिव ठर्हछ देहाय बमोजिम गर्नु ।
तपसील
प्र. पासाङटेसी तिवतीयन भोटेकैमाथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले पूर्वाञ्चल क्षेत्रिय अदालतको ०३१।१२।४ को फैसलाको लगत कायम गर्नु र प्र. पासाङतेसी तिवतीयन भोटेलाई कानूनको रीत पुर्याई छोडी दिनु भनी सूचना गर्न लगत दिने…………………..१
मिसिल नियमबमोजिम गरी बुझाइदिनु………………….२
म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३४ साल जेष्ठ ९ गते रोज १ शुभम् ।