निर्णय नं. १०३४ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०३४ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३२ सालको रि.नं. १३०५ आदेश...
निर्णय नं. १०३४ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
माननीय न्यायाधीश श्री झपट सिंह रावल
सम्वत् २०३२ सालको रि.नं. १३०५
आदेश भएको मिति : २०३४।२।२४।२ मा
निवेदक : का.जि. का.न.पं. वार्ड नं. ९ मखनटोल बस्ने तेजशिद्धि गुभाजु
विरुद्ध
विपक्षी : का. नगरपञ्चायत सभा का. नगरपञ्चायत भवन काठमाडौं समेत
मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) हक बेहक छुट्याई आउनु भनेकोमा सम्पत्तिसम्बन्धी हक हनन् भयो भन्ने अवस्था–पर्न नआउने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बलराम काफ्ले
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली
उल्लेखित मुद्दा :
आदेश
न्या. वाशुदेव शर्मा : विपक्षी नगरपञ्चायत सभाको ०३२।२।२८ को फैसला उत्प्रेषण अन्य उपर्युक्त आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गराई पाउँ भन्ने कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३२।७।९।१ मा प्रस्तुत रिट निवेदन दर्ता हुन आएको छ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको छ : का.जि. मखनटोल ब्लक नं.८।३ को घर जमीनसम्म भत्काई नक्सा बमोजिम बनाउन पाउँ भन्ने निवेदकले दरखास्त दिनु भन्दा पहिले निवेदकले दिएको दरखास्तमा राजिनामाको कुरा उल्लेख हुन छुट हुन गएको सोमा विपक्षी ज्योतिरत्नहरूले आपत्ति उठाएकोले दोश्रो दरखास्त गरेकोमा उत्तर किलास निवेदकको नभएको बाटो अदल बदल गरी बनाउन दिन मन्जूर छैन, आफ्नै घर भनी लेखेकोलाई धर्मशाला घर हो भने उत्तर निजको घर हो भनी मिति ०२८।९।६।३ मा खारेज भएको चार किल्ला नमिलाई गरेको दरखास्तबाट कारवाही गर्न नमिल्ने भन्ने बेखानारायण र दिलमायालाई बेटीमाया भनी लेखी दक्षिण किलाश आफ्नो भनेको जरिवाना समेत होस् भन्ने दिलमायाको उजूर परेकोमा नाप बमोजिम घर बनाउन पाउने भन्ने नक्सा र मुद्दा फाँटको फैसला उपर विपक्षीहरूले पुनरावेदन गरेकोमा हक बेहक गर्ने अधिकार नगरपञ्चायतलाई नहुँदा अदालतमा गई हक बेहकको निर्णय गराई ल्याउनु भन्ने समेत विपक्षी न.पं. सभाबाट ०३२।२।२८।४ मा फैसला भएकोमा हक बेहक परेको पनि छैन । त्यसकारण हक बेहक परेको छ भन्ने नगरपञ्चायत सभाको निर्णय त्रुटीपूर्ण छ । नगरपञ्चायत ऐन, ०१९ को दफा ४८ र ४९(२) को बिपरीत भई कानून त्रुटीपूर्ण छ । दफा ४९(१) अन्तर्गत नक्सा पास गराई पाउने मेरो कानूनी हक र संवैधानिक हक प्रचलन गराई पाउँ ।
३. विपक्षहरूद्वारा सम्बन्धित मिसिल सहित लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत ०३२।८।२१।१ का डिभिजन बेञ्चका आदेशानुसार प्राप्त हुन आएका विपक्षहरूको लिखितजवाफमा लिएका जिकिर यस प्रकार छन् :
४. घरको किलासमा समेत हक बेहक परेकोले नगरपञ्चायत ऐन, ०१९ को दफा ४९(२) अनुसार हक बेहकमा जानु भनी गरिएको निर्णय कानूनसंगत हुनाले कानून बिपरीत निवेदन खारेज गरी पाउँ भन्ने समेत का.न.पं. सभा ।
५. नगरपञ्चायत सभाको ०३२।२।२८ को फैसला उपर ०३२ साल कार्तिकमा मात्र आएको यो निवेदन हुँदा झुटो उजूरी खारेज गरी पाउँ भन्ने समेत ज्योतिरत्न तुलाधर ।
६. काठमाडौं नगरपञ्चायत सभाले ऐन कानूनको परिधिभित्र अधिकार क्षेत्र ग्रहण गरी सबूद प्रमाण बुझी त्यसको मूल्यांकन गरी गरेको फैसलाद्वारा विपक्षीलाई अन्य बाटो बिद्यमान छंदाछंदै सो बाटो अवलम्बन गरी तथ्य सम्बन्धी विवादमा यस सम्मानित अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गराई रिट जारी गराउन खोजेको हुनाले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बेखानारायणको मु.स. गर्ने नातीभाइ मानन्धर ।
७. तारेखमा रहेका निवेदक तेजसिद्धि गुभाजूको वारिस कविराज ढकाल र विपक्षी का.न.पं. सभातर्फका प्रधान अधिकृत धरणीधर भण्डारीको वारिस शिवध्वज तथा विपक्षी ज्योतिरत्न तुलाधरको वारिस रामप्रसाद र बेखानारायणको मु.स. गर्ने नातीभाइ मानन्धरलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री बलराम काफ्ले र विपक्षी का.न.पं. सभातर्फका विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुलीको बहस समेत सुनी बुझ्दा प्रस्तुत केशमा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के हो निर्णय दिनु परेको छ ।
८. यसमा निवेदकले आफ्नो किलाश भनी लेखी भत्काई बनाउने भनी नक्सा दरखास्त दाखिल गरेको र विपक्षले सो किलाश आफ्नो भनी विवाद उठाएको हुँदा भत्काई बनाउने भनेको घरको किलाशमै हक बेहकको प्रश्न उपस्थित हुन आई विपक्षी नगरपञ्चायत सभाले हक बेहक छुट्याई ल्याउनु भनी निर्णय दिएको देखिन्छ । हक बेहक छुट्याई आउनु भनेकामा सम्पत्तिसम्बन्धी हक हनन् भयो भन्ने अवस्था पनि पर्न नआउने हुँदा निवेदकका मागबमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठर्हछ । नियमबमोजिम फाइल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. झपट सिंह रावल
इति सम्वत् २०३४ साल जेष्ठ २४ गते रोज २ शुभम् ।