निर्णय नं. १०३३ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०३३ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३२ सालको रि.नं. १५९२ फैसला भएको...
निर्णय नं. १०३३ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र
सम्वत् २०३२ सालको रि.नं. १५९२
फैसला भएको मिति : २०३४।२।३।२ मा
निवेदक : जि. पर्सा गा. पं. चोर्नी वार्ड नं. ४ बस्ने सटहा राउत अहिर
विरुद्ध
विपक्षी : भूमि प्रशासक, भूमिप्रशासन कार्यालय पर्सासमेत
मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) बाबुमा छोराको मोहियानी सर्ने कानूनमा व्यवस्था भएको नदेखिएको ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री कृष्णजङ्ग रायमाझी
उल्लेखित मुद्दा :
आदेश
न्या. हेरम्बराज : विपक्षी प्रशासकको ०३२।९।२४।५ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : मेरो नाउँमा दर्ता रहेको गा.पं. चोर्नी वार्ड नं.६ कि.नं.१२७ को ज.बि. ३–५–१५ जमुना राउत अहिर मोही भई जोती आएकोमा निज जमुना राउत परलोक भएको र निजको हक खाने स्वास्नी छोरा नभएकोले निजको नाउँका मोही लगत कट्टा गरी पाउँ भन्ने वादी हेमकुमारी आचार्य । मेरो छोरा जमुना राउतले उपरोक्त जग्गा जोती आएको ठिक हो निज छोरा परलोक भएपछि निजको स्वास्नी छोरा नभएकोले सो जग्गा मैले कमाई आएको छु, मेरो नाममा मोही कायम गरी पाउँ भन्ने सटहा राउत अहिरको प्रत्युत्तर भएकोमा “जग्गा जोती आएकोले मोही कायम गरी पाउँ भन्ने प्रतिवादीको जिकिर देखिए तापनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिम कबुलियत गराई मोही कायम गराई लिएको नदेखिएकोले र मरुवा मोहीको नामबाट बाबुको नाममा मोहियानी नामसारी हुन जाने कानूनी व्यवस्था नभएकोले प्रतिवादीको जिकिर पुग्न नसकी वादी बमोजिम मरुवा मोहीको लगत कट्टा हुने ठहर्छ” भनी भू.प्र.का. पर्साबाट ०३२।९।२४ मा निर्णय भएको रहेछ ।
३. उपर्युक्त निर्णय बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएको मुख्य जिकिर यस प्रकार छः भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(२) मा जग्गावालाले कमाउन दिएछ र सो व्यक्तिले मुख्य बार्षिक उब्जनीको एक बर्षेसम्म मोहीको हैसियतले कमाएछ भने निज स्वतः सो जग्गाको मोही हुने कुरा छ । निवेदकले ०२९ सालदेखि व्यहोरा जनाई मोहीको हैसियतले रसिद लिए पाएको छु त्यतिवेला बिपक्षी हेमकुमारी जग्गावाला नै थिइनन् । विपक्षी जग्गावाला भए पनि निजबाट समेत रसिद लिए पाएकोबाट एक भन्दा बढी बर्षसम्म मैले जग्गा जोतेको प्रमाणित भएको छ र दफा २५(२) को प्रयोजन पूरा भएको छ । दफा ३४(१) बमोजिम कबुलियत भएको छैन भन्ने कुरामा रसिदमा नै व्यहोरा खुलेपछि त्यसलाई नै कबुलियतको स्थानमा राखी मेरो मोहियानी हक सुरक्षित गर्नुपर्नेमा मोहीबाट हटाउने निर्णय गरेको स्पष्ट कानूनी त्रुटी र अनाधिकार छ । अतः निर्णय बदर गरी पाउँ भन्ने समेत उल्लेख छ ।
४. विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत ०३३।२।७।५ को डिभिजन बेञ्चको आदेश ।
५. एकासगोलको छोरा मृत्यु भएको कारणबाट मृतकले कमाएको जग्गाको मोही हक मृतकको बाबुको नाउँमा आउने व्यवस्था नहुँदा मोहीको लगत कट्टा गर्ने गरी निर्णय गरिएको छ । अतः रिट निवेदन खारेज होस् भन्ने समेत विपक्षी भूमिप्रशासन कार्यालय पर्साको लिखितजवाफ ।
६. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१) बमोजिम कबुलियत नभएको व्यक्तिको मोही हक प्राप्त गर्न नसक्ने ठहराई भू्.प्र.का. पर्साबाट ०३२।९।२४ मा भएको निर्णय कानून पूर्वक छ । निवेदकले मिथ्या कुरालाई आधार बनाई दुःख दिनकोलागिमात्र यो रिट दायर गरेको हुँदा खारेज गरी पाउँ भन्ने समेत विपक्षी हेमकुमारी आचार्यको लिखितजवाफ ।
७. निवेदककोतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले मोही जमुना राउत अहिरको मृत्युपछि ०२९ सालदेखि जग्गा जोती साविक जग्गाधनी मोहनप्रसाद र हालको जग्गाधनी हेमकुमारी समेतलाई बाली बुझाई रसिद लिएको छ । कबुलियतको ढाँचा नियममा तोकिएको नहुँदा सो कुरा नगरेको भन्ने अत्तो लाग्ने होइन । रसिदमा नै व्यहोरा खुलाई लिएको हुँदा त्यसलाई नै कबुलियतको स्थानमा राखी मेरो पक्षको मोहियानी कायम गरी दिनुपर्नेमा भूमि प्रशासकबाट नगरेको हुँदा सो निर्णय बदर गरी मेरो पक्षको मोहियानी हक कायम गरी पाउँ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।
८. विपक्षी भूमिप्रशासन कार्यालय पर्साकोतर्फबाट विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्माले दर्तावाला मोहीको मृत्युपछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिमा मोहियानी कायम हुने भन्ने कुरा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) मा उल्लेख भएको पाइन्छ । निवेदकले छोराको नाउँको मोहियानी आफ्ना नाममा दर्ता गर्न माग गरेको देखिएको र भूमिसम्बन्धी ऐन लागू भएपछि मोहियानीमा दावी गर्न दफा ३४(१) बमोजिमको कबुलियत अनिवार्य भएकोमा निवेदकले सो बमोजिमको कबुलियत पेश गर्न नसकेको हुँदा निजको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
९. विपक्षी हेमकुमारी आचार्यकोतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णजंग रायमाझीले भूमिसम्बन्धी ऐनको दफा ३४ (१) बमोजिम जग्गाधनी र मोहीको बीच हुनुपर्ने कबुलियतको ढाँचा नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ र सो बमोजिम निवेदकले मोहियानीमा दावी गर्ने पक्ष जग्गाधनीसंग कबुलियत गरेको नदेखिंदा निजको जिकिर पुग्न नसक्ने ठहराई भूमि प्रशासकबाट भएको निर्णय मनासिव हुनाले रिट निवेदन खारेज होस् भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।
१०. यसमा निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
११. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरूको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा छोराको नाममा मोही दर्ता भएको जग्गा छोराको मृत्युपछि बाबुले आफ्नो नाममा दर्ता गरी पाउँ भनी दावी लिएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) मा दर्तावाला मोहीको मृत्यु पछि निजको पति पत्नि वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिमा मोहियानी कायम हुने भन्ने कुरा उल्लेख भएको पाइन्छ । बाबुमा छोराको मोहियानी सर्ने कानूनमा व्यवस्था भएको नदेखिएको र निवेदकले भूमिसम्बन्धी ऐनको दफा ३४ (१) बमोजिम जग्गाधनीबाट रीतपूर्वकको कबुलियत गराई मोहियानी कायम गराएको समेत नदेखिनाले निवेदकको मागबमोजिमको आदेश जारी गर्न मिलेन । सबूदप्रमाणको मूल्यांकन गरी अधिकारप्राप्त भू.प्रशासकले गरेको निर्णय मनासिवै हुँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमबमोजिम गरी फाइल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३४ साल जेष्ठ ३ गते रोज २ शुभम् ।