निर्णय नं. १०२८ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०२८ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३२ सालको रिट नम्बर १२४३ आदेश...
निर्णय नं. १०२८ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०३२ सालको रिट नम्बर १२४३
आदेश भएको मिति : २०३४।४।२।३
निवेदक : ललितपुर न.पं.वार्ड नं.४ पुलचोक बस्ने लिलाराज बस्नेत
विरुद्ध
विपक्षी : ललितपुर नगरपञ्चायत
मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) आफैंले एकपटक लिलाममा सकार गर्नेलाई चलन पूर्जी दिएको कुरामा नगरपञ्चायत आफैंले सो लिलाम बदर गर्नसक्ने अधिकार नभएको ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधार
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : ललितपुर नगरपञ्चायतको ०३२।१।२२ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।
२. तथ्य यस प्रकार छः मिति ०३१।११।६ गते लिलाम भएको जग्गा सम्बन्धमा ०३१ साल फागुन ६ गते लिलाम बिक्री गरेको कित्ता ३ को जग्गा सम्बन्धमा निम्न कुराको रीत नपुगेको हुँदा लिलाम बदर गर्ने निर्णय गरियो । साथै, सो लिलाम बिक्री गरी आम्दानी हन आएको कित्ता ३ तीनको रकम जम्मा रु.८००३। न.पं. को जग्गा बिक्री शीर्षक हि.नं.१ केन्द्रीय स्तर खातामा आम्दानी बाँधी सकेकोले सो आम्दानी शीर्षकमा उक्त रकम घटाई सोही खाताबाट आम्दानी बाँधी सकेको रु.८००३। फिर्ता दिने भनी निर्णय गरियो भनी ०३२।१।२२ मा निर्णय गरेको र ल.पु.न.पं.बाट निवेदकलाई दिएको ०३२।१।२३ को पत्रमा तपाइंले ल.पु.वा.नं.४ अन्तर्गतको जग्गा रु.२००१। मा प्राप्त गर्नु भएकोमा ०३१।११।८ गते चलन पूर्जी पाएको र सो विषय ०३२।१।२२ मा बसेको न.पं. बैठकबाट लिलाम बदर गर्ने निर्णय भएकोले तपाइंले यस कार्यालयमा दाखिल गरेको रकम यो पत्र पाएको मितिले ७ दिन भित्र फिर्ता लिन आउनु हुन सूचना गरिएको छ भन्ने समेत उल्लेख भएको रहेछ ।
३. उक्त निर्णय बदर गरी पाउँ भनी पर्न आएको रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यस प्रकार छन्ः लिलाम बिक्रीमा खरीद सकार गरी विपक्षी पञ्चायतबाट चलन पूर्जीमा पाई सकेकोमा फेरी सोही पञ्चायतले विभिन्न भए भरका अत्तोहरू थापी उक्त लिलाम बदर गर्न पाउने विपक्षीलाई न.पं. ऐन समेत कुनै ऐनले पनि अधिकार छैन । उक्त लिलाम कुनै ऐन नियम विपरित भइ बेरीतको भएको पनि छैन, रीतपूर्वक नै छ, यो ऐनको अधिकार प्रयोग गरी उक्त लिलाम बदर गरेको भनी विपक्षीले भन्न सकेको छैन । त्यसरी लिलाम बदर गर्न विपक्षीलाई अधिकार छैन ।
४. रिट खारेज गरी पाउँ भनी विपक्षी ल.पु.नं.पं. को लिखितजवाफमा लिएका जिकिर यस प्रकार छ : न.पं. सभाले लिलाम बदरको सूचना विपक्षीलाई दिएको छ । जसमा लिलाम विधिवत नहुनुको कारण समेत उल्लेख गरिएको छ । जब लिलाम स्वयममा गैरकानूनी एवं स्वयममा बदरभागी छ भने यस्तो लिलामको आडमा प्राप्त भएको भनेको तथा कथित हकको मान्यता र मूल्य रहँदैन । निजलाई प्रतिवाद गर्ने मौका दिनुपर्ने गुन्जायस छैन ।
५. निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
६. निवेदक तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्नले पञ्चायतबाट चलन पूर्जी पाइ सकेकोमा फेरी सोही पञ्चायतले लिलाम बदर गर्न पाउने अधिकार छैन भनी र विपक्षीतर्फको विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले रीत नपुर्याई गरिएको लिलाम कायम रहन नसक्ने भएबाट बदर गरेको हो भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
७. सम्बन्धित मिसिल हेर्दा बढी अंक प्राप्त हुँदा भन्दै लिलाराजलाई पर्ती जग्गा दिन टिप्पणी पेश गरेको छु भनी पेश भएको टिप्पणी सदर भई चलन पूर्र्जी समेत दिएको र पछि रीत नपुगेको हुँदा लिलाम बदर गर्ने भन्ने समेत ०३२।१।२२ मा निर्णय गरेको देखिन्छ । प्रस्तुत रिट निवेदनमा मेरो डाँक सबभन्दा बढी हुन आएको हुनाले उपरोक्त जग्गा उक्त डाँक रुपैयाँमा मलाई दिनु पर्छ भनी प्रधान अधिकृतले टिप्पणी पेश गरेकोमा प्रधानपञ्चले सो टिप्पणी सदर गर्नु भएको ०३१।११।८ को चलन पूर्जी दिइएको थियो । लिलाम रीत नपुगेको हुँदा बदर गरी रुपैयाँ फिर्ता दिने भन्ने ०३२।१।२२ मा न.पं. सभाबाट निर्णय भएको भनी अकस्मात पत्रहरू प्राप्त भएको थियो । पञ्चायतबाट चलन पूर्जी पाइसकेकोमा फेरि सोही पञ्चायतले लिलाम बदर गर्नपाउने अधिकार छैन भन्ने समेत उल्लेख भएको देखी यसबाट नगरपञ्चायतले लिलाम गरेको जग्गा निवेदकको लिलाममा बढी अंक देखिएकोले निजलाई लिलाममा दिएको र चलन पूर्जी समेत पाएको भन्ने भएको । यसरी चलन पूर्जी समेत पाएको जग्गामा नगरपञ्चायत आफैंले सो लिलाम बदर गर्ने अधिकार यो ऐनबाट प्राप्त भएको भनी विपक्षीले देखाउनसकेको छैन । यसरी आफैंले एकपटक लिलाममा सकार गर्नेलाई चलन पूर्जी समेत दिएको कुरामा नगरपञ्चायत आफैंले सो लिलाम बदर गर्नसक्ने अधिकार नभएकोले नगरपञ्चायतको लिलाम बदर गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।
म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३४ साल जेष्ठ ४ गते रोज ३ शुभम् ।