December 1, 1976
Created by nepalarchives

निर्णय नं. १०१५ – उत्प्रेषण वा परमादेशको आदेश जारी गरी पाउँ

निर्णय नं. १०१५     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री झपट सिं रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको रिट नं. १०२९...

निर्णय नं. १०१५     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री झपट सिं रावल

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३३ सालको रिट नं. १०२९

आदेश भएको मिति :       २०३३।८।१६।६मा

निवेदक : जि.भ.पु.न.पं. वार्ड नं.८ टिबुकलछे टोल बस्ने नित्यनारायण कर्माचार्य

विरुद्ध

विपक्षी : न.पं. भक्तपुर न.पं. सभामार्फत का.वा. प्र.पं. श्री हरिगोपाल कर्माचार्यसमेत

विषय : उत्प्रेषण वा परमादेशको आदेश जारी गरी पाउँ

(१)   पुनरावेदन किनारा गर्ने अधिकारी नगर सभाले पुनरावेदकलाई राखी कानूनबमोजिम पुनरावेदनको किनारा गर्नुपर्ने ।

 (प्रकरण नं. ९)

निवेदक तर्फबाट  : विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद घिमिरे

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञ रत्न तुलाधर र विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान

उल्लेखित मुद्दा :    

आदेश

            न्या.झपट सिंह रावल

            १.     विपक्षी प्रधान पञ्चबाट मिति ०३३।३।१० मा गर्नु भएको पुनरावेदन पर्चा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।

            २.    तथ्य यस प्रकार छ : मेरो पूर्खाको पालादेखिको स्ववासी हकभोग चलनको भ.नं.पं. वार्ड नं. ८ टिबुकलछे टोलको पसल घर जमिनसम्म भत्काई नक्सा बमोजिम पक्की घर बनाउन नक्सा पास पूर्जी पाउँ भन्ने ईश्वरीमान कर्माचार्यको दरखास्त भएकोमा मैले ०२५।५।२२।६मा देवलालसँग खरीद गरी लिएको मेरो हक भोग समेतको जग्गालाई विपक्षको निस्सा नभएको भनी दरखास्त गरेकोले मुलुकी ऐन घर बनाउनेको १,२ र ३ नं.ले समेत घर बनाउन नपाउने हुँदा दरखास्त बदर गरी पाउँ भन्ने नित्यनारायणको प्रतिउत्तर दरखास्त परेकोमा मिति ०२५।५।२६।६मा देवलालले प्रतिवादीलाई फार्से गरिदिएको फार्से नक्कलमा २ नाले ४ तले घरदेखि दक्षिण र २ नाले २ तले पसलदेखि उत्तरतर्फ ईश्वरीमानको घर पसल भनी उल्लेख भएको र प्रतिवादीले ०३१।१०।२६।६मा यस न.पं.मा पेश गरेको नक्सा दरखास्तमा पूर्व र उत्तर ईश्वरीमानको उजूरी परी उल्लेख भएकोमा निज वादी ईश्वरीमानको उजूरी परी निजको घरदेखि पश्चिमपट्टि ६ ईञ्ची जग्गामा हक बेहकमा नालेस गर्नु भनी निर्णय पर्चा भई ०३१।१२।१५।६मा प्रतिवादीका नाउँमा नक्सा पास पूर्जी भई गएकोले प्र. को उजूरी गल्ती देखिन्छ । ६ इञ्ची जग्गामा दुवै थरले केही गर्न नपाउने गरी नक्सा पास पूर्जी दिने ठहराई प्रधान अधिकृतले ०३२।७।२४।२ मा पर्चा गरेकोमा चित्त बुझेन भनी पनुरावेदन गरेकोमा सो बदर गरी नगरपञ्चायत सभाले ३३।३।१०।४ मा निर्णय गरेको रहेछ ।

            ३.    उक्त निर्णयहरू बदर गरी पाउँ भनी यस रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यस प्रकार छन् ।

            ४.    मेरो उजूरीबाट उठेको हक बेहक र तेरो मेरो सम्बन्धी प्रश्नको निराकरण नहुँदै प्रधान अधिकृतबाट नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ (२) प्रतिकूल अनाधिकार पर्चा भएको विपक्ष भक्तपुर नगर पञ्चायत सभाले सदर गरेको अनाधिकार निर्णय हुँदा अ.बं.३५ नं. बिपरीत छ । आफूलाई नभएको अधिकारक्षेत्र ग्रहण गरी गरेको पर्चा अधिकार क्षेत्रको त्रुटीपूर्ण छ ।

            ५.    भक्तपुर नगर पञ्चायत सभाको लिखितजवाफमा घर जग्गा विषय कुनै हक बेहकको प्रश्न उपस्थित नभएको र लाईट झ्याल सम्बन्धी झगडा हेरी निर्णय गर्न न.पं. ऐन दफा १७ को अधिकार भएकोले विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत उल्लेख भएको रहेछ ।

            ६.    विपक्षी ईश्वरीमानको लिखितजवाफमा घर बनाउनलाई अलमल्याउनाका निमित्तमात्र बखेडा गरेको हो । कुनै सबूदबाट हक नहुँदा न.पं.का प्र.अ.ले र सोही इन्साफ न.पं. सभाबाट मनासिव ठहराई गरेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत उल्लेख भएको रहेछ ।

            ७.    निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले, सभाले किनारा गर्नुपर्ने पुनरावेदन कार्यबाहक प्रधानपञ्चले निर्णय गरेको अवैध छ, सो बदर गरी पुनरावेदन पुरा गर्नु भन्ने आदेश जारी गर्नुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

            ८.    भ.पु.न.पं.सभाकोतर्फबाट विद्वान वीरष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले सभाको निर्णय अनुसार प्रधानपञ्चले निर्णय दिएको हुँदा अनाधिकार छैन, रिट निवेदन खारेज हुनपर्छ, भन्ने समेत र विपक्ष ईश्वरीमानतर्फका विद्वान वरिष्ठ अधिवक्ता दिनेशमान प्रधानले रिट निवेदकले नक्सा दरखास्त दिंदा ईश्वरीमानको साँध देखाएको ठाउँमा ईश्वरीमानलाई बनाउन दिने नक्सा पासमा हक बेहकको प्रश्न छैन, रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

            ९.    यसमा नगरसभाले गर्नुपर्ने पुनरावेदन कार्य पर्चा नगरपञ्चायतको प्रधानपञ्चले गरेको अनाधिकार हुँदा सो बदर गरी पुनरावेदनको किनारा गर्नु भन्ने आदेश जारी गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर देखिन्छ । सो लाई निवेदकतर्फका विद्वान अधिवक्ताले पुष्टि गर्दै बहस गर्नुभयो । नगरसभाको निर्णय बमोजिम प्र.पं.ले पर्चा खडा गरेको हुँदा सो पर्चा अवैध छैन भनी न.पं.तर्फबाट वरिष्ठ अधिवक्ताले बहस गर्नुभएकोमा पुनरावेदन किनारा गर्ने अधिकारी नगरसभाले पुनरावेदकलाई राखी कानूनबमोजिम पुनरावेदनको किनारा गर्नुपर्ने अनुसार नगरसभाले पुनरावेदनको फैसला गरेको हो भनी विपक्षी प्र.पं.ले लिखित जवाफमा जिकिर गर्नसकेको छैन र नगरसभाले पुनरावदेन कानूनबमोजिम निर्णय गरेको प्रतिलिपि पनि न.पं.तर्फबाट आउनसकेको नदेखिएकोले न.पं.तर्फका वरिष्ठ अधिवक्ताले गर्नु भएको बहसजिकिरमा सहमत हुनमिलेन । न.पं.का प्रधानपञ्चले गरेको पनुरावेदन पर्चा अनाधिकार हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएकोछ । सो पुनरावेदनको कानूनबमोजिम निर्णय दिनु भनी भक्तपुर नगरपञ्चायतका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाई मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३३ साल मार्ग, १८ गते रोज ५ शुभम् ।