January 13, 1981
Created by nepalarchives

निर्णय नं. १४२१ – उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

निर्णय नं. १४२१   ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको रिट नम्बर ११९२ आदेश भएको...

निर्णय नं. १४२१   ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३६ सालको रिट नम्बर ११९२

आदेश भएको मिति :   २०३७।९।३०।३ मा

निवेदक : दाङ हैकुली गा.पं.वडा नं. ७ बस्ने अन्नपूर्ण कार्की क्षेत्री

विरूद्ध

विपक्षी : श्री दाङदेउखुरी जिल्ला अदालतसमेत

विषय : उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

(१) निवेदिकाको नाउँमा दर्ता रहेको घर जग्गा लिलाम गर्दा निजलाई बुझी लिलाम गर्नुपर्नेमा निजलाई बुझ्दै नबुझी गरिएको लिलाम दण्डसजायको २६ नं. विपरीत भई त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

आदेश

          न्या. त्रैलोक्यराज अर्याल : ०३६।१०।२१ गतेको गैरकानुनी लिलाम आदेश तथा तत्सम्बन्धी काम कारवाई बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ :

          २.  मैले ठाकुरप्रसाद खत्री क्षेत्रीको दाङ हेकुली गा.पं.वडा नं. ७(क) गल्ली देखि पूर्व शिवकुमारी देखि दक्षिण बाटो उत्तर कूलो देखि पश्चिम यति ४ किल्लाभित्रको ०० जग्गा पेवा रुपैयाँबाट खरीद गरी नापीमा कि.नं. ३८३ मा ०१७ भई मेरा नाउँमा दर्ता भएको उक्त जग्गा र सो जग्गामा बनेको घर र गोठ मध्ये ४ खण्डको २ खण्ड घर र गोठ ०३६।१०।२१ मा लिलाम भई विपक्ष मध्येको शालीकराम र जगवीर राउत क्षेत्रीले लिनुभएको र विपक्षी अदालतबाट विपक्ष शालीकराम र जगवीरको नाउँमा दर्ता गरी दिने आदेश भएको रहेछ ।

          ३.  मेरो पेवा धनबाट खरीद भई बनाई मेरो नाउँमा दर्ता भएको घर जग्गामा स्त्री अंश धनको ५ नं. ले कसैको हक लाग्दैन आफू खुशी गर्न पाउँछु त्यस्तो सम्पत्ति अंशबण्डाको १८ नं. ले बण्डा गर्न कर लाग्दैन मेरो लोग्नेसँगको बाली बिगो मुद्दामा भएका फैसला अनुसारको बिगो भरी भराउमा मेरो पेवा सम्पत्ति लिलाम गर्नु दण्डसजायको २६ नं. विपरीत छ । गैरकानुनी लिलाम आदेश तथा तत्सम्बन्धी काम कारवाई बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

          ४.  विपक्षबाट लिखितजवाफ मगाउनु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश । ०३१।५।१४ का फैसला बमोजिम प्र.डिल्लीबहादुर कार्की समेतबाट भरी पाउने बिगो १२६१५।१४ भराई पाउँ भनी देवराज उपाध्यायको दरखास्त परेकोले भएको आदेशानुसार लिलाम बडाबड हुँदा उक्त घर गोठ जग्गा समेत जगवीर र शालीकरामले रु.३४११।२५ मा डाँक सकार गरी लिएको मिसिलबाट देखिन्छ । कि.नं. २४१ को जग्गा मध्ये हाल सर्भे नापी हुँदा भीमबहादुरले पत्नी अन्नपूर्णको नाममा कि.नं. २८३ मा दर्ता गराएको छ भने देवराजको दरखास्त परेको र निवेदिकाले अदालतमा आई उजूर नगरी हुलाकबाट दरखास्त पठाएकोसम्म देखिएको अन्नपूर्ण र भीमबहादुर छुट्टिई भिन्न भएको पनि नदेखिएको प्रचलित कानुन बमोजिम भएको पनि नदेखिएको भएको काम कारवाई बदर हुनु नपर्ने हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत दाङ देउखुरी जिल्ला अदालतको लिखितजवाफ ।

          ५.  कि.नं. २४१ मा बनेको घर गोठ निवेदकले आफ्नो पेवाको रुपैयाँले ठाकुरप्रसादसँग राजीनामा गराई लिएको भए भीमबहादुरको नाउँमा रहेको कि.नं. २४१ को जग्गा कहाँ पर्ने रहेछ । सो कुरा निवेदकले आफ्नो निवेदनमा उल्लेख गर्न नसकेकोबाट सो जग्गामा बनेको घर सो गोठमा भीमबहादुरकै हक भएको प्रष्ट छ । देवराजको बिगो तिर्न नपरोस् भन्ने उद्देश्यले ठाकुरप्रसाद र निवेदिकाका लोग्ने भीमबहादुरकै मिलोमतोबाट भीम बहादुरले आफ्नो नाउँको दर्ता श्रेस्ताको जग्गालाई ठाकुरप्रसादको राजीनामा गराई स्वास्नी अन्नपूर्णको पेवाबाट लिएको भन्ने राजीनामा खडा गरेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत शालीकराम वली क्षेत्रीको लिखितजवाफ ।

          ६.  निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विपक्षी अदालततर्फबाट बहस निमित्त खटिई आउनु भएका सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले गर्नु भएको बहस समेत सुनियो ।

          ७.  प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो निर्णय दिनुपरेको छ ।

          ८.  यसमा निर्णयतर्फ हेर्दा अदालतबाट भएको फैसला बमोजिम भीमबहादुरसँग भरी पाउने ठहरेको बिगो भराई पाउँ भनी देवराजको दरखास्त परी दाङ देउखुरी जिल्ला अदालतबाट जायजात लिलाम हुँदा निवेदिकाको नाउँको घर गोठ समेत लिलाम भएको देखिन्छ ।

          ९.  निवेदिकाको नाउँमा दर्ता रहेको घर जग्गा लिलाम गर्दा निजलाई बुझी लिलाम गर्नुपर्नेमा निजलाई बुझ्दै नबुझी गरिएको लिलाम दण्डसजायको २६ नं. विपरीत भई त्रुटिपूर्ण देखिएकोले दाङ देउखुरी जिल्ला अदालतले ०३६।१०।२१।२ मा गरेको त्रुटिपूर्ण लिलाम उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम गर्नु भनी विपक्षी अदालतका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षी अदालतको जानकारी निमित्त यो आदेशको एक प्रति महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई नियम बमोजिम फाइल बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३७ साल पौष ३० गते रोज ३ शुभम् ।