October 26, 1980
Created by nepalarchives

निर्णय नं. १४१४ – उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि गरी पाउं

निर्णय नं. १४१४ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३५ सालको रिट निवेदन ८२० आदेश भएको...

निर्णय नं. १४१४ ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३५ सालको रिट निवेदन ८२०

आदेश भएको मिति : २०३७।७।१०।१ मा

निवेदक : का.जि.का.न.पं.वार्ड नं. १९ यटखा दमाई टोल सुन्ता गाउँ बस्ने साइतमान मुनिकार

विरूद्ध

विपक्षी : श्री जिल्ला भूमिसुधार कार्यालय काठमाडौं समेत

विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि गरी पाउं

(१)  एकपटक यौटालाई जग्गावाला हो भनी निवेदक स्वयंले भनेको कुरालाई फरक गरी सफा हात शुद्ध नियतले रिट निवेदन आएको नदेखिने ।

(प्रकरण नं. ८)

(२)  दर्ता प्रमाण समेतको आधारमा कूत भरी पाउने र वादी दावीको जग्गाबाट निष्कासन समेत हुने ठहर्छ भनी तथ्यको निरोपण गरी विपक्षी भू.प्र.का.बाट गरेको निर्णयमा कुनै कानुनको त्रुटि गरी निर्णय गरेको नदेखिने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।६।१९ मा दर्ता भई पेश हुनआएको छ ।

          २.   तथ्य यस प्रकार छ : भक्तलालसँग ०३२।११।१४ मा राजीनामा गरी लिई मेरो हक भएको का.न.पं.वडा नं. २८ ख.कि.नं. ८५ को ३० जग्गाको २०३४ सालको बाली भराई निष्कासन समेत गरिपाउँ भन्ने समेत उर्मिला जोशीको वादी दावी, सो जग्गा गुठीको नं. ५२ र ५१ समेत दर्ता भई दर्तावाला रामराज पन्त चन्द्रराज पन्त समेतलाई ०३४ सालको बाली बुझाइसकेको वादी दावीको बाली बुझाई रहन नपर्ने भन्ने समेत निवेदकको प्रतिउत्तर परेकोमा जग्गाको हक प्राप्त ज.ध.वादी नै देखिएकोबाट ०३४ सालको किसिम बमोजिम हुने रु.४२०। प्रतिवादीले भरी पाउने ठहर्छ । वादी दावीको जग्गाबाट निष्कासन समेत हुने ठहर्छ भन्ने समेत विपक्षी भूमिसुधार कार्यालय काठमाडौंबाट मिति ०३५।५।१५।५ मा फैसला भएको रहेछ ।

          ३.   रिट निवेदन जिकिर यस प्रकार छ : सो जग्गा नापी हुँदा मोहीको महलमा मेरो नाउँ दर्ता भई जग्गा धनी खाली गरी जो.अ.नि.पाइरहेको उक्त जग्गा वा सो गुठी नं. ५१।१ रामराज पन्त ५२।१ चन्द्रराज पन्तको नाउँमा गुठी दर्ता भएको जग्गालाई भक्तलालले रैकरमा घुसाई दर्ता गराए रैकर लगत कट्टा गरी गुठी कायम गरिपाउँ भन्ने समेत ०३३।९।२० मा रामराज, चन्द्रराजले गुठी संस्थान केन्द्रीय कार्यालयमा उजूर दिएको र मैले पनि ०३३।१०।१२ मा उजूर दिई कारवाही भइरहेकोमा पेटवोलीमा देखाएका रामराज, चन्द्रराजलाई अ.बं.१३९ नं. बमोजिम नबुझी फैसला गर्न मिलेन मैले तारिख थमाई हाजिर हुने म्याद बाँकी छँदै अ.बं.५५ नं. विपरीत निर्णय गर्न नहुने र गुठी संस्थान ऐन, ०३३ को दफा ३९ ले गुठी जग्गामा दर्ता हुने, रामराजलाई बाली बुझाएको भर्पाई ख्याल नराखी विपक्षी उर्मिलालाई नै उक्त जग्गाको हक प्राप्त भएको व्यक्ति भनी हक बेहकमा निर्णय गर्न विपक्षी भू.सु.कार्यालयलाई नभएको हुनाले भू.सु.का.का फैसला अ.बं.३५ नं. ले स्वतः बदर हुने भन्ने समेत निवेदन जिकिर ।

          ४.   विपक्षीहरूसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।७।८ को आदेश ।

          ५.  यस कार्यालयबाट भएको फैसला ऐन कानुनको परिधिभित्र रही कानुन बमोजिम नै फैसला भएको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत ०३५।९।२१ को भूमिसुधार कार्यालय काठमाडौंको लिखितजवाफ ।

          ६.   सो जग्गा गुठीको होइन, भक्तलाल हरिलालका नाउँमा दर्ता भएको साविक पोता नं. १९५।१६८ को जग्गा हो हाल कि.नं. ८५ क्षेत्रफल ३० कायम छ । सो जग्गा विर्ता भई रैकरमा परिणत गरी ज.ध.प्र.पूर्जा पाउँ भनी दाता भक्तलाल समेतले दिएको निवेदन मुताविक ०२९।९।२२ को निर्णय पर्चा बमोजिम रैकर परिणत दर्ता भई राजीनामा गरी लिएको जग्गा हो सो जग्गा रैकरमा परिणत गर्न कसैको हक लाग्ने भए उजूरी दिनु भनी ०३२।७।२६ गते गो.प.मा सूचना प्रकाशित भएकोमा कसैको दावी विरोध परेन । मोहीको बयान गराउँदा का.न.पं.वार्ड नं. २८(ख) कि.नं. ८५ को ३० जग्गा निवेदक हरिलाल र भक्तलालको विर्ता जग्गा हो कूत बुझाई मैले जोती आएको छु नापी हुँदा निवेदकहरूको नाउँ थाहा नभएकोले क्षेत्रीय किताबमा ज.ध.खाली भएको भनी ०३२।४।२३ मा बयान गरी दिएको छन्, यसबाट निवेदकलाई प्रमाण ऐन, ०३१ को दफा ३४ अनुसार विवन्धन लाग्ने स्पष्ट छ । ०३२ सालको धान बुझाई दोहरी भर्पाई ०३२।९।३० मा गरी दिएका छन् निवेदकले जग्गा धनी अर्कै देखाउँदैमा हक बेहकको प्रश्न उपस्थित हुनसक्ने होइन । रैकरमा परिणत गरेको निर्णय र राजीनामा लिखत उपर उजूर गरी बदर गराउन सकेको छैन । ती निर्णय र लिखत अन्तिम अकाट्य छ मोही सम्म भएका निवेदकले अर्कोको हकमा बोल्न मिल्ने नै होइन । अतः भू.सु.का.को फैसलामा कानुन त्रुटि नहुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत उर्मिला जोशीको लिखितजवाफ ।

          ७.  निवदेकको वारेस उपेन्द्रधर सुवेदी तथा विपक्षी उर्मिला जोशीको वारिस शिवचन्द्र श्रेष्ठ रोहवरमा रही पेश हुनआएकोमा निवेदकको वारेस तथा विपक्षी कार्यालय तर्फका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विपक्षी उर्मिलातर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले गर्नु भएको बहस समेत सुनियो ।

          ८.   प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनुपर्ने भई निर्णयतर्फ हेर्दा रैकरमा परिणत गरिपाउँ भन्ने उर्मिला जोशीको दाता भक्तलाल राजभण्डारी समेतले निवेदन दिएकोमा त्यस सम्बन्धमा भू.प्र.का.काठमाडौंले निवेदकलाई बुझ्दा का.न.पं.वडा नं. २८(ख) कि.नं. ८५ को जग्गा ३० जग्गा निवेदक हरिलाल र भक्तलाल राजभण्डारी समेतको विर्ता जग्गा हो सो जग्गा मैले साल सालैको कूत बुझाई जोती कमाइआएको छु सो जग्गा नापी हुँदा निवेदकहरूको नाउँ थाहा नभएकोले क्षेत्रीय किताबमा ज.ध.खाली भएको हो र जग्गाको हकमा निजहरूकै हो फरक छैन भनी निवेदकले ०३२।४।२३ मा बयान गरेको भनी लिखितजवाफमा उल्लेख गरी पेश गरेको बयान कागजको नक्कलबाट देखिन आएको छ । सो बयान गरेको कुरा होइन भनी निवेदक तर्फबाट बेञ्च समक्ष भन्नसकेको छैन । यसरी एकपटक एउटालाई जग्गावाला हो भनी निवेदक स्वयंले भनेको कुरालाई फरक गरी सफा हात शुद्ध नियतले यो रिट निवेदक आएको देखिँदैन । जग्गा कमाउने मोहीको भनाईबाट मात्र जग्गामा हक बेहकको प्रश्न उपस्थित भयो भन्न पनि मिल्ने देखिँदैन । दर्ता प्रमाण समेतको आधारमा कूत भरी पाउने र वादी दावीको जग्गाबाट निष्कासन समेत हुने ठहर्छ भनी तथ्यको निरोपण गरी विपक्षी भूमिप्रशासन कार्यालयबाट गरेको निर्णयमा कुनै कानुनको त्रुटि गरी निर्णय गरेको देखिन आएन ।

          ९.   अतः अधिकार प्राप्त अधिकारीले अधिकारक्षेत्रभित्र रही कानुन बमोजिम निर्णय गरेको देखिँदा निवेदकका माग बमोजिमका आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०३७ साल कार्तिक १० गते रोज १ शुभम् ।