May 14, 1989
Created by nepalarchives

निर्णय नं. ३८२२ – अपुताली

निर्णय नं. ३८२२     ने.का.प. २०४६            अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ७९०...

निर्णय नं. ३८२२     ने.का.प. २०४६            अङ्क ५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको दे.पु.नं. ७९०

फैसला भएको मिति :      २०४६।२।१।१ मा

पुनरावेदक/प्रतिवादी : जि. सर्लाही भेल्ही गा.पं. वडा नं. १ बस्ने रामाकुमारको छोरा सुरजकुमार बाहुन

विरुद्ध

विपक्षी/वादी : महोत्तरी जिल्ला जलेश्वर न.पं. वा.नं. ११ बस्ने योगेन्द्रकुमार बाहुन

मुद्दा : अपुताली

§  तत्कालिन अपुतालीको महलको २ नं. बमोजिम मर्नेको संग बसेका अरु हकवाला भएसम्म छोरीले अपुताली पाउन नसक्ने ।

(प्रकरण नं. १६ र १७)

§  हक नै नभएकोले गरिदिएको बकसपत्रबाट कुनै किसिमको हक हुने प्रश्नै उठ्न नसक्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

फैसला

     न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला चित्त बुझेन भनी पुनरावेदन परेको यस मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ ।

      २.    मूल पुरुष रकटुका जेठी श्रीमती पारो र कान्छी नमु बाहुनी भएको स्वर्गीय पारोका चार छोरा जेठो राजदेव, माहिलो इन्दर, साँहिलो जोगेन्द्र र कान्छो महेन्द्र भएका जेठा राजदेव मरी निजकी स्वास्नी सबुजिया जीवित रहेकी स्व.कान्छी ननु बाहुनीको जेठा छोरा जगदीश कान्छा कुलदिप भएकोमा कुलदिप निसन्तान भई दुवै दम्पत्ति मरी सकेको पहिला जगदिश र पछि निजकी श्रीमती राधीका पनि मरी सकी निजहरुको एकमात्र छोरी जनारसीको भारततर्फ विवाह भएको निज राधीकाको अपुताली खाने हामी वादीहरु बाहेक अरु कोही नभएको र वर्तमान अपुतालीको महलको १।२ नं. बमोजिम मर्ने राधीकाको काजकृया हामीले नै गरी सकेका हुँदा निजको नाममा रहेको महोत्तरी जिल्ला धवौलीको जम्मा जग्गा ०९ हामीले आफ्नो नाममा गराइसकेको र अर्को जग्गा विष्णुपुर गा.पं. को जम्मा जग्गा बिगाहा २१९४१२ समेत हाम्रो नाउँमा दर्ता हुनु पर्नेमा भूमिप्रशासन कार्यालय सर्लाहीले प्रतिवादीको हक कायम गरी दिएकोमा जनकपुर अञ्चलाधीश कार्यालयबाट भू.प्र. कार्यालयको फैसला बदर गरी हक कायम गराउन निर्णय भएकोले हामीले पाउने अपुतालीको जग्गामा हाम्रो हक कायम गरी दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको योगेन्द्रकुमार बाहुन समेत जना ४ को मिति २०३४।५।२६ मा परेको फिरादपत्र ।

      ३.    अपुतालीको २ नं. ले मर्नेको लोग्ने स्वास्नी वा छोराको छोरा नभएकोमा छारीले अपुताली पाउँछ भन्ने भएकाले मेरी आमाको म छोरी जनारसी मात्र एकजना हुनाले राधीकादेवीको अपुतालीमा हक लाग्ने म बाहेक कोही नहुँदा विपक्षीको फिराद खारेज गरिपाउँ भन्ने जनारसी बाहुनीको मिति २०३४।६।२६ को प्रतिउत्तरपत्र ।

      ४.    वादी दावीको जग्गा सुरजकुमारको नाउँमा बकसपत्र भइसकेको भन्ने कुरा यी वादीहरुलाई थाहा हुँदाहुँदै अ.बं. ७२ नं. को प्रतिकूल नालेश दिएको देखिन्छ । वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको मिति २०३९।९।४ को फैसला ।

      ५.    विवादकै अवधिमा हक हस्तान्तरण गरे तापनि अनाधिकार व्यवहारलाई नालेश नदिएको भन्ने समेतको आधारमा शुरुले गरेको फैसला न्यायपूर्ण हुँदा बदर गरिपाउँ भनी वादीहरुले जनकपुर अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र ।

      ६.    अपुतालीको २ नं. ले हकवालाले अपुताली पाउने व्यवस्था भएको हुँदा शुरुले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने जनकपुर अञ्चल अदालतको मिति २०४०।५।६।२ को फैसला ।

      ७.    भू.प्र.का. को निर्णय अनुसार सुरजकुमारले पाएको बकसपत्र, अञ्चलाधीश कार्यालयको निर्णय अनुसार बदर भइसकेपछि बकसपत्र पाउनेलाई विपक्षी बनाउनु पर्ने बाध्यता रहँदैन । राधीकाको अपुताली हामीले पाउने भएमा अनधिकृत तवरले दिएको बकसपत्र स्वतः बदर हुने हुँदा जनकपुर अञ्चल अदालतको फैसला मिलेको छैन । पुनरावेदनको अनुमति पाउँ भनी वादीले दिएको निवेदनमा अनुमति पाई म.क्षे.अ.मा दर्ता भएको वादीको पुनरावेदनपत्र ।

      ८.    वादी दावी अनुसार यस मुद्दामा वादीको हक कायम हुने भएमा सुरजकुमारलाई असर पर्ने हुँदा अ.बं. १३९ नं. अनुसार सुरजकुमारलाई झिकाउने भन्ने म.क्षे.अ.को आदेश ।

      ९.    राधिकादेवी २०३१ साल चैत्रमा मरेको भन्ने कुरामा विवाद छैन तत्कालिन मुलुकी ऐन अपुतालीको २ नं. मा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोराको छोरा वा संग बसेको अरु हकवाला भएसम्म छोरीले अपुताली पाउँदिन भन्ने व्यवस्था रहेको, राधिकादेवी मरी अपुताली परेको सम्पत्तिमा तत्काल बहाल रहेको अपुतालीको २ नं. ले वादी हकवालाहरु हुँदाहुँदै प्रतिवादी जनारसीको हक कायम हुनसक्ने अवस्था देखिएन । त्यस्तो हक नभएको व्यक्तिले गरी दिएको बकसपत्रबाट यो मुद्दाको औचित्यमा असर पर्ने देखिएन । अतः राधीकादेवी मरी अपुताली परेको सम्पत्तिमा वादीको हक कायम गरी दिनुपर्नेमा वादी दावी नपुग्ने भनी ठहर्‍याएको शुरु फैसलालाई सदर गरेको जनकपुर अञ्चल अदालतको फैसला गल्ती देखिँदा बदर भई उल्टी हुने ठहर्छ भन्ने समेतको म.क्षे.अ. को मिति २०४४।१।३ को फैसला ।

      १०.    हक पुग्ने व्यक्ति जनारसीले म सुरजकुमारलाई गरिदिएको बकसपत्रलाई म.क्षे.अ. ले अन्यथा भन्न पाउने होइन । न त सो विषय मुद्दाको विषयवस्तु हुनसक्ने हो । विपक्षी वादीले मलाई पक्ष बनाई फिराद गरेको हैन यसरी वादीले नै दावी लिन नसकेको कुरामा प्रवेश गरी म.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा दिएको निवेदनमा अनुमति प्राप्त गरी दर्ता भएको वादीको पुनरावेदनपत्र ।

      ११.    नियम बमोजिम पेश हुन आएकोमा, पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान अधिवक्ता श्री हरिहर दाहालले र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नुभएको बहस जिकिर सुनियो ।

      १२.   प्रस्तुत मुद्दामा मुख्यतः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत छ छैन हेरी निर्णय दिन पर्ने हुन आयो ।

      १३.   यस्मा निर्णयतर्फ विचार गर्दा वादी प्रतिवादीहरुका बीच वंशावलीमा असहमति नरहेको, राधिकादेवीको पति, छोरा समेत नभई छोरी जनारसी मात्र रहेको, राधिकादेवीको मृत्यु पश्चात निज नाम दर्ताको जग्गामा विवाद पर्दा प्रस्तुत मुद्दाको उठान हुन गएको देखिन्छ ।

      १४.   राधिकादेवीको वादीहरु एकासगोलका हकवाला भएको र राधिकादेवीको पतिको मृत्यु अघि नै भएको, छोरी जनारसीको पनि विवाह भई साथमा नरहेकोमा विवाद पनि देखिंदैन ।

      १५.   राधिकादेवी हाम्रा साथमा नै रहेकी र मृत्यु पश्चात काजक्रिया समेत हामीबाट भएको भन्ने फिराद जिकिर सम्बन्धमा प्रतिवादीबाट खण्डन समेत नभएको, राधिकादेवी वादीहरुसंग छुट्टी भिन्न भई बसेकी देखिन पनि आउँदैन । राधिकादेवी वादीहरुको संगसाथमा रहे बसेको देखिन आउँछ । राधिकादेवीको मृत्यु पश्चात निजको नाम दर्ताको कि.नं. १६७ र १७६ को ज.वि. ०९ जग्गा वादीहरुको नाउँमा दर्ता समेत भइसकेको देखिन्छ । यस विषयमा प्रतिवादी तर्फबाट कुनै उजूर परेको समेत देखिंदैन ।

      १६.    यस स्थिति र अवस्थामा राधिकादेवीको अपुताली छोरी जनारसीले पाउन सक्ने हो होइन ? भनी तत्कालिन अपुतालीको महलको २ नं. हेर्दा, अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी छोरा, छोराको छोरा वा संग बसेका अरु हकवाला भएसम्म छोरीले अपुताली पाउँदिन भनी उल्लेख भएको पाइन्छ ।

      १७.   माथि उल्लेख भए बमोजिम मर्नेको संग बसेका अरु हकवाला भएसम्म छोरीले अपुताली पाउन नसक्ने भएबाट राधिकादेवीको नाम दर्ता रहेको जग्गामा निजको मृत्यु पश्चात वादीहरुको हक पुग्ने देखियो ।

      १८.   राधिकादेवीको नाममा दर्ता रहेको जग्गा निजको आमाको मृत्यु भई अपुताली परी सर्वोच्च अदालतको मिति २०२६।११।२६ को फैसला बमोजिमको जग्गा हो भन्ने प्रतिवादी जिकिर सम्बन्धमा हेर्दा, राधिकादेवीले आधी अपुताली पाउने भन्ने सम्म उल्लेख भएको तर सोही जग्गा जनारसीले हाल बकसपत्र गरी दिएको भन्ने कुरा उक्त फैसला लगायत प्रतिवादी जिकिर समेतबाट एउटै जग्गा देखिन आउँदैन । त्यस कारणले राधिकादेवी मरी अपुताली परेको जग्गामा जनारसीको हक हुनसक्ने देखिएन । हक नै नभएको जनारसीले गरिदिएको बकसपत्रबाट सुरजकुमार बाहुनको कुनै किसिमको हक हुने प्रश्नै उठ्न सक्ने देखिन्न । तसर्थ मिति २०३३।६।१२ मा पारित बकसपत्रको कुनै कानुनी अस्तित्व नै हुँदैन ।

      १९.    अतः माथि उल्लेख भए बमोजिम राधिका देवी मरी अपुताली परेको जग्गामा वादीहरुको हक भएको देखिन आएकोले, वादी दावी बमोजिमको जग्गामा वादीहरुको हक कायम भई निजहरुका नाउँमा दर्ता समेत हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिँदा सो इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्टफी रहेबाट मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

 

इति सम्वत् २०४६ साल ज्येष्ठ १ गते रोज १ शुभम् ।