June 11, 1989
Created by nepalarchives

निर्णय नं. ३८२० – लेनदेन

निर्णय नं. ३८२०     ने.का.प. २०४६            अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ५५९ फैसला...

निर्णय नं. ३८२०     ने.का.प. २०४६            अङ्क ५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.पु.नं. ५५९

फैसला भएको मिति :      २०४६।२।२९।१ मा

पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३० असन कमलाक्षी बस्ने मोहनलाल श्रेष्ठ

विरुद्ध

विपक्षी/वादी : ल.पु.जि. जाउलाखेल डिष्टिलरी प्रा.लि. को तर्फबाट ऐ.को सञ्चालक विजयकुमार शाह

मुद्दा : लेनदेन

§  डिष्टिलरीबाट आफूले सामान बुझी लिएको श्रेष्ठ सेन्टरको नाउँमा क्रेडिट बील बनाएको भए तापनि सेन्टरलाई सामान बुझाएको प्रमाण पेश नभएको अवस्थामा सामान बापतको वादी दावीको रकम तिर्नु बुझाउनु पर्ने दायित्व प्र. को रहने ।

(प्रकरण नं. १५)

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा

फैसला

     न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर पुनरावेदनको अनुमति पाई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

      २.    अघिदेखि चिनजानको विपक्षी मोहन श्रेष्ठ २०३३।४।२७ मा म कहाँ आई श्रेष्ठ सेन्टर नेपालगञ्जको नाउँमा रु. १,३१,१६७।२८ को विभिन्न थरिका मदिराहरुको उधारो बील बनाउन लगाई एम श्रेष्ठ भनी सहीछाप गरी बुझी लिएको र भाडा खर्च समेतको लागि भनी चे.नं. ०३५४९० मिति २०३३।४।२८ बाट रु. ४,०००।बुझी सहिछाप गरिदिनु भएको । दुवैको जम्मा रु. १,३५,१६७।२८ बुझाउन विपक्षीहरुलाई बारम्बार तरताकेता गर्दा कुनै जवाफै नपठाएको र २०३५।३।१ मा विपक्षी मध्येको मोहन श्रेष्ठको घरमा मानिस पठाउँदा मसँग रुपैयाँ छैन, हाल दिन सक्तैन चित्त नबुझे अदालतमा जानु मेरो घरमा नआउनु भनी धम्की दिएकाले फिराद गर्न आएको छु । विपक्षीबाट उक्त रकम र फैसला हुँदा सम्मको ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको जावलाखेल डिष्टिलरी प्रा.लि. को तर्फबाट सञ्चालक विजयकुमार शाहको ०३५।३।२८ को फिरादपत्र ।

      ३.    मैले विपक्षीलाई साँवा ब्याज तिर्न बुझाउन पर्ने गरी सामान लगेको छैन म बाट कुनै लिखत गराई लिएको भनी भन्न सकेको छैन । मेरो काम ट्रकबाट माल ओसार्ने मात्र हो । विपक्षी र श्रेष्ठ सेन्टरको बीच के कस्तो कारवाही भएको हो मलाई थाहा हुने होइन विपक्षीको रोहवरमा माल लोड गरी विपक्षीकै रोहवरमा नेपालगंज पुर्‍याएपछि श्रेष्ठ सेन्टरले डेलीभरी लिएको हो । डेलिभरीको भाडा पाउन अझै बाँकी छ । भाडा नदिने नियतले झुठ्ठा फिराद गरेको हो झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको प्र.मोहनलाल श्रेष्ठको प्रतिउत्तरपत्र ।

      ४.    दावीमा ऐन खुलेको छैन । यस श्रेष्ठ सेन्टरको आधिकारिक व्यक्तिले फिरादीबाट मदिरा उधारोमा लिएको छैन भन्ने प्रष्ट छ । श्रेष्ठ सेन्टर वा श्रेष्ठ सेन्टरको प्रोपाइटरको कुनै पनि प्रकारको लिखतको अभावमा श्रेष्ठ सेन्टर उपर फिरादको दावी लाग्न नसक्ने हुँदा मुद्दा गर्दा लागेको खर्च भराई पाउँ भन्ने समेत व्यहोराको श्रेष्ठ सेन्टरको प्रो.बैकुण्ठलाल श्रेष्ठको प्रतिउत्तरपत्र ।

      ५.    यो लिखत श्रेष्ठ सेन्टरको बीच भए गरेको लिखत नहुँदा र बेसरोकारको हुँदा मैले सद्दे कीर्तेमा भनी रहनु नपर्ने भन्ने समेत व्यहोराको श्रेष्ठ सेन्टरको प्रो. बैकुण्ठलालको वा. रामगोपालको बयान ।

      ६.    वादीबाट पेश भएको चेक बुकको भर्पाई र क्रेडिट बील देखें सुनें । त्यस्मा लागेको सही प्र्र.मोहन श्रेष्ठकै हो । सो लेखिएको सामान प्र.मोहन श्रेष्ठले श्रेष्ठ सेन्टर नेपालगन्जमा बुझाई दिएको हो भन्ने समेत व्यहोराको प्र.मोहनलाल श्रेष्ठको वा. प्रेमदाशले गरेको बयान ।

      ७.    मोहनलाल श्रेष्ठले उधारो बील बनाई लगेमा र भाडा बापतमा रु. ४,०००।को चेक लगेमा सावित बयान गरेकाले फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादीको वा.नारायण दाशले गरेको बयान ।

      ८.    उक्त रकमको मदिरा र रु. ४,०००।बुझी लगेकोमा प्र्र.मोहनलाल सावितै भएको र उक्त रकम वादीलाई तिरी बुझाइसकेको भन्ने जिकिर समेत निजले लिन नसकेको र प्र.मध्येको श्रेष्ठ सेन्टर लेनदेनमा संलग्न भएको नदेखिँदा वादी दावी बमोजिमको सावाँ रु. १,३५,१६७।२८ मात्र प्र.मोहनलाल श्रेष्ठबाट दिलाई भराई पाउने ठहर्छ । ब्याज पाउनु पर्ने कुनै कानुनी लिखत पेश गर्न नसकेकाले ब्याजमा दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको २०३६।८।२७ को फैसला ।

      ९.    विपक्षी र श्रेष्ठ सेन्टरको बीच भएको कारोबार मेरो विरुद्ध लाग्न सक्दैन । मबाट दावीको रकम भराई दिने गरेको ल.पु.जि. अ.को उक्त फैसला गैरकानुनी हुँदा उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्र.मोहनलाल श्रेष्ठको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

      १०.    क्रेडिट बीलको माल श्रेष्ठ सेन्टरलाई बुझाएको प्रमाणको अभावमा माल बुझी लिने मोहनलालबाट वादी दावीको साँवा भराई दिने गरेको ललितपुर जिल्ला अदालतको इन्साफ मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४२।७।१४ को फैसला ।

      ११.    बुझ्न पर्ने प्रमाणहरु नबुझी म.क्षे.अ. ले फैसला गरेको हुँदा प्रमाण ऐन, २०३१ को दफा ५४ को गम्भीर कानुनी त्रुटि भएको हुँदा यो निवेदनपत्रलाई पुनरावेदनपत्रमा परिणत गरी म.क्षे.अ. को उक्त फैसला बदर गरिपाउँ भन्ने समेतको प्र.मोहनलाल श्रेष्ठको यस अदालतमा पर्न आएको निवेदनमा, मदनलाललाई नबुझिएको, लेजर र रसिद दाखिल गर्न लगाउनु भनी अदालतबाट आदेश भएकोमा आदेश बमोजिम वादीले दाखिल नगरेको यसरी प्रमाणको छानबीन नगरी प्र.मोहनलालबाट भराउने गरेको प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएको र यस्तो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार अनुमति प्रदान गरिएको छ भन्ने समेतको यस अदालत तत्काल डिभिजनबेञ्चको २०४३।५।९ को आदेश ।

      १२.   नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हाले गर्नुभएको बहस जिकिर सुनियो ।

      १३.   यस्मा निर्णयतर्फ विचार गर्दा जावलाखेल डिष्टिलरीबाट श्रेष्ठ सेन्टर नेपालगञ्जका नाउँमा क्रेडिट बील बनाई सामान र ढुवानी भाडा समेत प्र.मोहनलाल श्रेष्ठले बुझी लिएको देखिन्छ । श्रेष्ठ सेन्टरबाट कुनै प्रकारको अख्तियार प्राप्त गरेको भन्ने प्रतिवादी जिकिर देखिँदैन । सामान श्रेष्ठ सेन्टर नेपालगन्जको लागि चलान गरिएको तर नेपालगन्ज नगरपञ्चायतमा कर बुझाउँदा श्रेष्ठ सेन्टरका नाउँमा रसिद काटिएको पाइँदैन । साथै डिष्टिलरीबाट आफूले बुझी लिएको सामान श्रेष्ठ सेन्टरलाई बुझाएको भन्ने सबूद प्रमाण पुनरावेदक प्रतिवादी मोहनलाल श्रेष्ठबाट पेश हुनसकेको छैन ।

      १४.   यस सम्बन्धमा प्रचलित कानुन बमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानुन बमोजिम दिए वा बुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ भनी प्रमाण ऐन, २०३१ को दफा २७(२) मा उल्लेख भएको पाइन्छ ।

      १५.   जावलाखेल डिष्टिलरीबाट आफूले सामान बुझी लिएको श्रेष्ठ सेन्टरको नाउँमा क्रेडिट बील बनाएको भए तापनि सो सेन्टरलाई सामान बुझाएको प्रमाण पेश नभएको अवस्थामा सामान बापतको वादी दावीको रकम तिर्नु बुझाउनु पर्ने दायित्व प्र.मोहनलाल श्रेष्ठको रहन जान्छ।

      १६.    तसर्थ वादी दावी बमोजिमको रकम साँवा प्रतिवादी मोहनलाल श्रेष्ठबाट जावलाखेल डिष्टिलरीलाई भराई दिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रहेको कारण मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४६ साल ज्येष्ठ २९ गते रोज १ शुभम् ।