April 16, 1989
Created by nepalarchives

निर्णय नं. ३८१९ – कर्तव्य ज्यान

निर्णय नं. ३८१९     ने.का.प. २०४६            अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५७४ सम्वत्...

निर्णय नं. ३८१९     ने.का.प. २०४६            अङ्क ५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको फौ.पु.नं. ५७४

सम्वत् २०४४ सालको फौ.पु.नं. ६०२

सम्वत् २०४४ सालको फौ.पु.नं. ५५३

सम्वत् २०४४ सालको फौ.सा.नं. १४४

फैसला भएको मिति : २०४६।१।४।१ मा

पुनरावेदक/वादी : शेरबहादुर खड्काको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि. पाँचथर याशोक गा.पं.वडा नं. ६ बस्ने देवमान लावतीसमेत

पुनरावेदक/प्रतिवादी : पाँचथर कारागारमा थुनामा बसेको पञ्चबहादुर बल तामाङसमेत

विरुद्ध

विपक्षी/वादी : शेरबहादुरको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

§  मानिस मारेको कुरा थाहा भएर पनि जाहेर नगरेको देखिन आएको तर लास दबाउने कृया गरेको प्रमाणित हुन नसकेको देखिँदा ज्यानसम्बन्धीको २५ नं. अनुसार निजहरुलाई सजायँ गर्ने ।

(प्रकरण नं. ४९)

§  पूर्व योजना मनसाय रिसइवी देखिन नआएको रक्सी खाइराखेको बेलामा झगडा भई आवेशमा आई कुटपीट गर्दा मृत्यु भएको उक्त उल्लिखित आधार प्रमाणहरुबाट समेत देखिन आएकाले ज्यानसम्बन्धीको १४ नं. अनुसार दश (१०) वर्ष कैदको सजायँ हुने ।

(प्रकरण नं. ५२)

वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री सूर्यप्रसाद राई

प्रतिवादी तर्फबाट : विद्वान व.अ. श्री कृष्णप्रसाद पन्त, वि.अ.श्री माधव बास्कोटा र वि.अ.श्री हरिहर दाहाल

फैसला

     न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट र उल्लिखित प्रतिवादीहरु समेतको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

      २.    २०४०।११।२५ गते बेलुका तेजेन्द्र दाहाल हराएकोले तेजेन्द्रकै काकाले खेतमा पानी लगाउन जाँदा कुटेर मारी राखेको देखी हामी सबैलाई खबर गरेकोले लास सुरक्षित राखी जाहेर गर्न आएको छु । ज्यान के कसरी कस्ले मार्‍यो भन्ने सम्बन्धमा रामप्रसाद फेउदिन, लोकबहादुर, लैनबहादुर र निजहरुकै भानीज साइँला पञ्चबहादुर तामाङ समेतले कुटी मारेको शंका लाग्छ । कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने जाहेरी दर्खास्त ।

      ३.    छ्यागुबाट पूवा याशोक जाने बाटोबाट ३० गज मुनि जगतमनिको बारी पश्चिम धानेसिं तामाङको घरबाट ५० गज पूर्व समेत ४ किल्लाको पश्चिम चारैतर्फबाट नदेखिने खोल्सामा लास रहेको कालो जुत्ता निलो मोजा लगाएको निलो जीनको पाइन्ट लगाई दाहिने खुट्टा जमीनमा बायाँ खुट्टा माथि परेको दाहिने तिघ्रा भाँची खुम्चिएको पेन्टको कमरसम्म र हातको काखीदेखि औंलासम्म मात्र लासको स्थिति राम्रो रहेको अन्य शरीर मासु आन्द्रा भुँडी केही नरहेको कमर भाँची पश्चिमतर्फ शीर भएको छातीको करङ भाँचिएको छातीको करंग ८।८ गरी १६ वटा देखिएको निधार माथि २ इन्च गोलो फुटी चार औंला काटी छिनी नङको भाग नरहेको कान्छी औंला हतियारले काटिएको हात खुट्टाको मासु बाहेक अरु स्यालले खाई हड्डी र करंग मात्र देखिएको । लुगाले मात्र लास चिनेको भनी मेदिनीप्रसाद समेतले गरिदिएको लास प्रकृति मुचुल्का ।

      ४.    मृतक कुटपीटले गर्दा मस्तिष्कमा दखल परी मरेको देखिन्छ भन्ने फिदिम हेल्थ सेन्टरको लास जाँचको रिपोर्ट ।

      ५.    जगतमान तामाङको छोराको विवाहमा छोरा तेजेन्द्रलाई पठाएको थिएँ । म जगतमनीको घरमा जाँदा झगडा भयो भन्ने कुरा सुनें । रामप्रसाद फेउदीनले बनेन्द्र लावतीलाई तेजेन्द्र दाहालले कुटपीट गरी रुपैयाँ र घडी चोरी लग्यो तिम्रो छोरा दाखेल गर नभए कागज गर भनी मलाई पञ्चबहादुर, लोकबहादुर, लैनबहादुर, रामप्रसाद फेउदीन समेतले कुटपीट गरी बाँधी याशोक प्रहरी चौकीमा पुर्‍याए । छोराको लास कपडा र जुत्ताबाट मात्र चिनी तेजेन्द्रलाई कर्तव्य गरी मार्नमा रामप्रसाद फेउदीन, बनेन्द्र लावती, लैनबहादुर, लोकबहादुर, पञ्चबहादुर समेत उपर शंका लाग्छ भन्ने शेरबहादुर दाहालले प्रहरीमा गरेको कागज ।

      ६.    मेरो बहिनीको बिवाह भएको रातमा मेरो पेवा रक्सी बिक्री गर्न बस्दा रातको कति बजेको थियो । रक्सी बिक्री गर्न बसेको ठाउँबाट तेजेन्द्र दाहालले रक्सी किनी बनेन्द्र लावती र अरु साथीहरुले बाँडी खाए । तेजेन्द्रले मलाई अलिकति रक्सी सहितको बटुको बनेन्द्र लावतीको काखमा फाली दिएको देखें । बनेन्द्रले गुहार मार्‍यो भनी कराउँदा साथीहरुले चिरुवा दाउराले कुटपीट गर्दै खेदे त्यसै समयमा लैनबहादुर, पञ्चबहादुर तामाङ समेत अरु समेतले तेजेन्द्र दाहाललाई कुटपीट गरी मारेमा शंका लाग्छ । रामप्रसाद र निजका भाइहरु थिएन । शेरबहादुरलाई कुटपीट गरे भन्ने बुद्धिमान तामाङले प्रहरी डोरमा गरेको कागज ।

      ७.    जग्गे हेर्न म पनि गएको थिएँ । जग्गे गरेको समयमा बनेन्द्र, लैनबहादुर, पंचबहादुर र उनका भाइहरु बहिरा भन्ने कत्थेको भाइ कान्छा समेतले तेजेन्द्र दाहाललाई कुटपीट गर्न लाग्दा बाबु कुबेरप्रसादले तेजेन्द्रलाई हातमा पक्रँदा तेजेन्द्र उम्की भाग्दा चिनेका र अरु नचिनेका मानिसहरुले कुटपीट गर्दै लगेको देखें तेजेन्द्र मरेको कुरा थाहा थिएन पछि मरेको सुनेको हुँ माथि लेखिएका मानिसहरुले मारेको जस्तो लाग्छ भन्ने टंकमायाले प्रहरीमा गरेको कागज ।

      ८.    बिवाहको भोज खाई घर जान लाग्दा रात परेकोले राँको बाली जाँदै गरेको बेलामा पंचबहादुर र निजका भाइ लैनबहादुर समेत झगडा परी तेजेन्द्र दाहाललाई कुटपीट गरी खेदी रहेका देखेंको हुँ तेजेन्द्र दाहाललाई माथि लेखिएका मानिसहरुले मारे जस्तो लाग्छ भन्ने रणमाया तामाङले प्रहरीमा गरेको कागज ।

      ९.    जगतमान तामाङको छोरीको बिवाहमा म पनि गएको थिएँ । राती जग्गे हेरी बसेको समयमा झगडा भएको आवाज सुनी हेर्न गएँ । तेजेन्द्र दाहालले बनेन्द्र लावतीलाई कुटपीट गर्‍यो । तेजेन्द्र दाहाललाई बनेन्द्रले कुटपीट गर्‍यो भन्दा अमला लावती, खम्ब सिं, धनबहादुर कुवेरप्रसाद, बिजेन्द्र, लैनबहादुर, बनेन्द्र र अरु नचिनेका समेतले तेजेन्द्र दाहाललाई कुटपीट गरी मारेको हो । उक्त लासलाई कसैले नदेख्ने ठाउँमा फाली आउँदा जगतमान आई मेरो छोरोको बिवाहमा यस्तै भयो हल्ला नगरौं भनी घरतर्फ सबै आयौं । तेजेन्द्र मरेको कुरा अरुलाई थाहा थिएन । बिवाहको घरमा रामप्रसाद आएकोले तपाईको भान्जा बनेन्द्रलाई कुटपीट गर्‍यो भन्ने सुनाएको हो तेजेन्द्र मर्‍यो भन्ने कुरा सुनाएन । शेर बहादुरलाई ल्याउनु भन्दा शेरबहादुरलाई ल्याएपछि बाँधी पाता फर्काई छोरा दाखेल गर भन्दै कुटपीट गरी यासोक चौकीमा लगेको हो भन्ने पंचबहादुर तामाङले प्रहरीमा गरेको कागज ।

      १०.    बिवाहको निम्तो मान्न गएको थिएँ । जग्गे हेरी बसेको थिएँ । रातको समय झगडा भएको थियो । तेजेन्द्र दाहालले बनेन्द्रलाई कुटपीट गर्‍यो । तेजेन्द्रलाई कुटपीट गर्नुपर्छ भनी सबैले हातमा चिरुवा दाउराले कुटपीट गर्दा भाग्दै थियो । बिहेको घरबाट ५० गज टाढा पुगेपछि आँपको गाछीमा तेजेन्द्र पुगी लडी मर्‍यो । जगतमान आई छोरोको बिहेमा यस्तै भयो । भडौरे खोल्सामा लगी फाली देउ हल्ला नगर भनेकोले हामी कुवेरप्रसाद, लम्ब सिं, अमला, विजेन्द्र समेतले लास खोल्सोमा लुकाई आउँदा तेजेन्द्र कता भाग्यो भनी खोजे जस्तो गरेको हो । रामप्रसाद फेउदीन र निजका भाइहरु निम्तो मान्न आएपछि शेरबहादुरलाई बोलाई तेरो छोराले मेरो भान्जा बनेन्द्रलाई कुटपीट गरेछ रामप्रसादका भाइहरुले बाँधी कुटपीट गरी पास यासोक हिरी चौकीमा लगेको हुँ । तेजेन्द्रलाई मारेको कुरा रामप्रसादलाई भनीन भन्ने लैनबहादुर तामाङले प्रहरीमा गरेको कागज ।

      ११.    बिवाह भएको घरमा गएको थिएँ । रातको समयमा बनेन्द्र लावती र तेजेन्द्र दाहाल बीच झगडा भएको देखी गई तेजेन्द्रलाई हातमा पक्रेको थिएँ । हातबाट उम्की भाग्दा पंचबहादुर, लैनबहादुर, बनेन्द्र समेतले कुटपीट गर्दै खेदे म पछि पछि गएँ आँप गाछी नेर तेजेन्द्र दाहाल मरिसकेको थियो । मैले २ लात्ती दिएँ । हुने कुरो भई गयो अब हल्ला नगरौं । तेजेन्द्र दाहाल कता भागे यता उता खोजें घटना हुँदा रामप्रसाद थिएन भन्ने प्र.कुवेरप्रसाद फेउदीनले प्रहरीमा गरेको कागज ।

      १२.   जगतमानको छोरोको बिवाहमा म गएको थिएँ । रातमा रक्सी बिक्री गर्ने ठाउँमा जाँदा तेजेन्द्र पनि त्यही थियो । मैले १ बोतल रक्सी किनी खाएँ । तेजेन्द्रले १ माना किने बाँडी खायौं अली कती रक्सी सहितको बटुको हान्दा गुहार भनी कराउँदा पंचबहादुर, लैनबहादुर, कुवेरप्रसाद, जगतमान, सरुवा सिं समेतले कुटपीट गरी खेदी आँप गाछीनेर पुगी मर्दा खोल्सीमा लुकाई बेउलीको घर गई बसें । अरु साथीहरुले खोजे त्यस समयमा रामप्रसाद त्यहाँ थिएन । भोलिपल्ट आएका हुन । पंचबहादुर समेतले तिम्रो भान्जा बनेन्द्रलाई तेजेन्द्रले कुटपीट गर्‍यो भने सो कुरालाई लिई शेरबहादुरलाई झिकाई तेरो छोराले भनी सभापति रामप्रसादले कुटपीट गरेको हो भन्ने प्र.बनेन्द्र लावतीले प्रहरीमा गरेको कागज ।

      १३.   म बिवाह घरमा रक्सी बिक्री गर्न गएको थिएँ । रातमा तेजेन्द्र दाहालले २ बोतल रक्सी किनी बनेन्द्रले समेत खाए । जस्तो अली रक्सी दियो भनी तेजेन्द्रले बनेन्द्रको काखमा फाली दिँदा बनेन्द्रले गुहार भनी कराउँदा अरु लेखिएका मानिसहरु समेतले तेजेन्द्र दाहाललाई कुटपीट गर्दै खेदेछन् । तेजेन्द्रलाई कुटपीट गरी मारेमा शंका लाग्छ । सो रातमा रामप्रसाद फेउदिन समेत थिएन । भोलिपल्ट आएको हुन् भन्ने पूर्णमाया तामाङले प्रहरीमा गरेको कागज ।

      १४.   रामप्रसाद फेउदिन र निजका भाइहरुले म समेत भई तेजेन्द्र दाहाललाई मारे मराएको होइन पक्राउ परेका पञ्चबहादुर तामाङ समेतले मारे जस्तो लाग्छ भन्ने तिलबहादुर तामाङले प्रहरीमा गरेको कागज ।

      १५.   जगतमानको छोरीको घरमा बिवाह हुँदा राती मर्ने तेजेन्द्र दाहाल, बनेन्द्र लावती, लैनबहादुर पञ्चबहादुरको बीचमा झगडा भयो भन्ने कुरा सुने । रामप्रसाद, लैनबहादुर, लोकबहादुर समेत आएको हो रातमा थिएन पक्राउ परेको कुवेरप्रसाद फेउदिन, बनेन्द्र लावती, पञ्चबहादुर तामाङ, लैनबहादुर तामाङले तेजेन्द्रलाई कुटपीट गरी मारेको भनी साविती बयान गरेको हुँदा निजहरुले पोल गरेको जमला, विजेन्द्र, खम्ब सिं धने समेतले तेजेन्द्रलाई मारेको विश्वास लाग्छ रामप्रसाद, लोकबहादुर, लैनबहादुर झगडा भएको ठाउँमा थिएन भन्ने समेत व्यहोराको नरबहादुर समेत १३ जनाको सरजमीन मुचुल्का ।

      १६.    जगतमान तामाङको छोराको बिवाहमा जग्गेमा म पनि गएको थिएँ । राती झगडा भएको बारीमा पंचबहादुर तामाङ, तेजेन्द्र दाहाल समेतले झगडा गर्दैछ भन्ने सुनें लैनबहादुर तामाङ, खम्ब सिं तामाङ, कुबेरप्रसाद समेत र अरु नचिनेका मानिसहरु समेतले हातमा दाउरा लिई कुट्न पर्छ भन्दै थिए । म बेउलीको घरमा रक्सी लिन जाँदा आँप गाछी मुनि तेजेन्द्र दाहाल लडिरहेको थियो । छेउ गई हेर्दा टाउको रक्तामै थियो मरेको जस्तो लाग्यो । छेउमा लैनबहादुर, पंचबहादुर, कुबेरप्रसाद समेत र अरु नचिनेका मानिसहरु सबै थिए । तेजेन्द्रलाई मारेको कुरा केही नभन्नु भनी कसम खुवाए तेजेन्द्रलाई देखाउँदैन पनि कुट भनेकोले कचेटले फिलामा र डडालोमा हिर्काएँ लैनबहादुर, पंचबहादुरले एक ड्याम लाग्यो भन्दै थियो म बेउलाको घरमा गएँ । बिहान बनेन्द्र, अमला समेतले तेजेन्द्रको बाबुलाई पक्री कुटपीट गरे सोही अवस्थामा रामप्रसादलाई पुगी कुटपीट गरी याशोक प्रहरी चौकीतर्फ लगेका हुन् भन्ने प्र.धनबहादुर तामाङले प्रहरीमा गरेको कागज ।

      १७.   बिवाहमा म गएको थिएँ । राती बारीमा रक्सी खाई झगडा भयो । रक्सी खाँदाको समयमा मर्ने तेजेन्द्र दाहाल, लैनबहादुर तामाङ, पंचबहादुर, बनेन्द्र लावती, लाखबहादुर, लालबहादुर, खड्गबहादुर समेत अरु नचिनेका व्यक्ति हरुको बीचकै विषयमा झगडा भई तेजेन्द्रलाई कचेट दाउरा लिई खेद्दै लगे मैले देखी पछि सानो केटाको खुट्टा भाँचिएकोले घुका भनी आउँदा आँप गाछी मुनी तेजेन्द्र मरेको देखें पंचबहादुर तामाङ समेतले कसम खुवाए पछि म घरतर्फ गएँ लास कहाँ लगे के गरे मलाई थाहा भएन भन्ने प्र.खम्ब सिं तामाङले प्रहरीमा गरेको कागज ।

      १८.   छोरीको बिवाह भएकोले बिवाहको काम गरी घरमै थियौं । रातको समयमा बारीमा तेजेन्द्र, लैनबहादुर, पंचबहादुर, बनेन्द्र, अमला लावती समेत र अरु नचिनेका व्यक्तिहरु समेतले के विषयमा झगडा हुँदा के भने भनी जाँदा तेजेन्द्र दाहाललाई कुटपीट गरी रहेकै थियो मलाई घरबाट बोलाउँदा टिको लगाउने काम सकी तेजेन्द्रलाई कता लगे भनी खोज्दै जाँदा भाग्यसिङको बारीमा पुग्दा माथि लेखिएका मानिसहरुलाई खोई तेजेन्द्र भन्दा मर्‍यो हल्ला नगर भनी कसम खुवाएकोले लास फालेको देखिन । रामप्रसाद र निजका भाइ भोलिपल्ट निम्तो मान्न आए । तेजेन्द्रलाई मारेको कुरा रामप्रसादलाई थाहा थिएन भन्ने प्र.जगतमान तामाङले प्रहरीमा गरेको कागज ।

      १९.    तेजेन्द्र दाहाललाई मारेको कुरा मलाई थाहा भएन । धनबहादुरले किन पोल गरे निजै जानुन् भन्ने लालबहादुरले प्रहरीमा गरेको कागज ।

      २०.   बिवाह जग्गेमा बसेको थिएँ । बेउलीको घर देखि माथि डिलमा झगडा भएको थियो । हल्ला सुनें झगडा भएको ठाउँमा गइन भन्ने खड्ग सिं तामाङले प्रहरीमा गरेको कागज ।

      २१.   म आफ्नै घर याशोकमा छु । मैले तेजेन्द्र दाहाललाई मारे मराएको छैन । निम्तो मान्न बेउलीको घरमा आउँदा भान्जा बनेन्द्र लावतीले कुटाई खायो भन्ने सुने तेजेन्द्रलाई ल्याउ भनी शेरबहादुरलाई भन्दा छोराको जिम्मा लिन सक्दिन भन्दा रिस उठी हातको मुठ्ठीले फिलामा हिर्काएको हुँ । लोकप्रसादले पनि कुटपीट गरेको थियो । छोरा दाखेल नगरेकोमा मैले प्रहरी चौकी याशोकमा पुर्‍याएको हो । मैले तेजेन्द्र दाहाललाई मारेको पछि थाहा पाएको हुँ । तेजेन्द्र दाहालले बनेन्द्र लावतीलाई कुटपीट गरेको हो भन्ने किसिमको मुचुल्का खडा गरी याशोक प्रहरी चौकीमा राखेको छ । मैले जाहेरवालालाई बाँधछाँद गरी कुटपीट गरेको रिसइवीबाट पोल गरेको हुनुपर्छ भन्ने प्र.रामप्रसाद फेउदीनले प्रहरीमा गरेको कागज ।

      २२.   राती रक्सीको कुरामा निउ निकाली दाउराको कचेटले कुटपीट गरी यसैको चोटबाट तेजेन्द्र दाहाललाई मारी लाश लुकाएको भन्ने पंचबहादुुर, लैनबहादुर, कुवेरप्रसाद, बनेन्द्र लावती सावित भई मतियार भनी विजेन्द्र, अमल, देउमान, बुद्धिमान, धनबहादुर, जगतमान, खम्ब सिं समेतलाई पोल गरेको हुँदा पंचबहादुर, लैनबहादुर, कुबेरप्रसाद, बनेन्द्र लावती समेतलाई ज्यानसम्बन्धीको १३(३) अनुसार फेरार रहेको विजेन्द्र लावती, अमला लावती, देउमान लावती, बुद्धिमान लिम्बु, नाम वतन नखुलेका ४ जना समेतलाई फेला परेका बखत सोही नियम १३(३) बमोजिम सजायँ हुनुपर्ने तेजेन्द्रलाई मारी सकेको अवस्थामा हामीले देखेको हल्ला नगरौं भनी हल्ला नगरेको भन्ने जगतमान खम्ब सिं, धनबहादुर समेतका हकमा ज्यानसम्बन्धीको दफा ४ बमोजिम सजायँ हुन र रामप्रसाद फेउदीन, लोकप्रसाद, लैनबहादुरको हकमा तेजेन्द्रको बाबुलाई कुटपीट गरी छोरा दाखेल गर भनेको र तेजेन्द्र फरार रहेको भनी मुचुल्का खडा गरी प्रमाण लुकाउने काम गरेको हुँदा ज्यानसम्बन्धीको २५ नं. बमोजिम पोलिएका लालबहादुर, खड्ग सिंको हकमा पोलबाट मात्र अभियोग खुलाउने प्रयास प्रमाण नभएकोले हाजिर जमानीमा छाडिएको पक्राउ नपरेको पालु सिं, लालबहादुर देउमान समेतका उक्त मुद्दा नचल्ने भन्ने अभियोग दावी भएको स.स.अ. र प्रहरीको संयुक्त प्रतिवेदन ।

      २३.   बिहेको निम्तो मान्न गएको थिएँ । पंचबहादुर, लैनबहादुर, धनबहादुर, कुवेरप्रसाद, कमला, विजेन्द्र, देउमान समेतसँग भेट भयो । तेजेन्द्र र म रक्सी किनी खान बारीमा गयौं । तेजेन्द्रले १ बोतल र मैले १ माना रक्सी किनी खायौं । दुवै मातेकाले तेजेन्द्रले र आएको बटुको मेरो छातीमा लाग्यो र तेजेन्द्र भाग्दा धक्का दिएकोले म डोल मुनी पुगी कसले पानी खुवायो । रक्सीले माती बेहोस भई मर्ने तेजेन्द्रलाई प्रतिवादीहरुले कुटपीट गरेको हो । मैले तेजेन्द्रलाई कुटपीट गरेको होइन । प्र.पंचबहादुर घटनास्थलमा बोलेको सुनें । २०।२५ जना जति कुटपीट भएको बारीमा भेला भएका थिए । पंचबहादुर बाहेक थिए थिएनन् । म जाँड र रक्सीले बेहोस भएको अँध्यारो रात हुँदा केही थाहा छैन । तेजेन्द्र मरेको कुरा थाहा थिएन । प्रहरीले पक्राउ गर्दा थाहा पाएको हुँ । कसको कर्तव्यबाट मरे थाहा छैन । प्रहरीमा कुटपीट गर्छ भन्ने डरले मात्र साविती बयान दिएको हुँ । कसको कर्तव्यबाट मरे देखिन मेरो कसूर नहुँदा फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.बनेन्द्र लावतीले अदालतमा गरेको बयान ।

      २४.   मृतक तेजेन्द्र दाहाललाई मैले कुटेको होइन को को भई कुटे थाहा छैन । २५ गते राती गंडागोल हुँदा सो ठाउँमा प्र.कुवेरमान, लैनबहादुर, बनेन्द्र, अमला, देउमान, विजेन्द्र र अरु मैले नचिनेका मानिसहरु पनि थिए । सबैको हातमा दाउरा चिरपट थियो को को भई मृतकलाई खेदे अँध्यारो हुँदा देखिन प्रहरीमा कुटपीटमा पर्छ भन्ने डरमा परी साविती कागज गरेको हुँ मृतकलाई म समेतले कुटपीट गरी मारेको होइन मेरो कुनै कसूर नहुँदा अभियोगबाट फुर्सद पाउँ भन्ने प्र.पंचबहादुर तामाङले ०४१।१।३ मा अदालतमा गरेको बयान ।

      २५.   ०४१।११।२५ गते जगतमानको छोराको विहेमा गएको थिएँ अं. रातको १ बजे जग्गे भएको ठाउँ मास्तिर बारीमा बनेन्द्रलाई कुटे भनी हल्लाखल्ला भयो हेर्न जाँदा लडिरहेको थियो । तेजेन्द्र रक्सी खाई झगडा गरी रहेको थियो अरु सबै मानिसहरु रक्सी खाई मातेका थिए । अरु प्रतिवादीहरु देखिन घटना घटेको समयमा घटनास्थलमा नगएकोले को को भई तेजेन्द्र दाहाललाई कुटपीट गरी आँपको रुख मुनी मारे मैले नदेखेको हुँदा यस यसले कर्तव्य गरी मारे लास दवाए भन्न सक्दिन मृतकलाई मैले कुटपीट पनि गरिन लाश दवाउन सहमत गरिन प्र.रामप्रसाद २६ गते बिहान मात्र जगतमानको घरमा आएको हो । तेजेन्द्र मर्‍यो भन्ने चैत्र २ गते मात्र सुनेको हुँ प्रहरीमा भएको कागज मलाई नसुनाई सहीछाप गराएको र डर त्रासमा परी सहीछाप गरेको हुँ सो कागज अनुसार अभियोग मैले गरेको होइन सो हुँदा सफाई पाउँ भन्ने समेत प्र.लैनबहादुर तामाङले ०४१।१।३ मा अदालतमा गरेको बयान ।

      २६.   मृतक तेजेन्द्रलाई मसमेतले कुटपीट गरी मारी लास फालेको होइन । निजलाई कोको भई के किसिमबाट कर्तव्य पारी मारेका हुन मैले नदेखेको हुँदा खुलाई भन्न सक्दिन मैले घटनास्थलमा मृतकलाई समाती यसलाई मारे भनेको र मसमेत भई कुटपीट गरी मारेको होइन । मलाई प्रहरीमा बाध्य गराएर साविती कागज गराएका हुन् म उपरको प्रहरी प्रतिवेदन दावी झुठ्ठा हो सफाइपाउँ भन्नेसमेत प्र.कुवेरप्रसाद फेउदीनले अदालतमा गरेको बयान ।

      २७.   मृतक तेजेन्द्रलाई मैले कुटपीट गरी नरलास दवाउन समेत कुनै सहमत गरिन प्रहरीमा मलाई कुटपीट गरी नसुनाई कागजमा सहीछाप गराएका हुन मृतक तेजेन्द्र मरेको कुरा अगाडि चाल नपाएको हुँदा जाहेर नगरेको हुँ सद्दे हुँदा अभियोग दावीबाट फुर्सद पाउँ भन्ने प्र.सम्बसिं तामाङले ०४१।१।४ मा अदालतमा गरेको बयान ।

      २८.   मृतक कर्तव्य भई मरे वा के भई मरेको हो थाहा छैन मैले कुटपीट गरिन अरु ककसले कुटपीट गरे मैले देखिन प्रहरीमा भएको कागज मैले खुसीराजीले गरेको होइन । कुटपीट गरी नसुनाई सहिछाप गराएका हुन अभियोग दावी अनुसार तेजेन्द्रलाई आँपको रुख मुनी कुटपीट गरेको र लास दवाउन सहमत नगरेको हुँदा दावीबाट फुर्सद पाउँ भन्ने ०४१।१।४ मा धनबहादुर तामाङले अदालतमा गरेको बयान ।

      २९.   ०४०।११।२५ गते छोरीको बिवाह थियो । सबै रीत सकिएपछि रातको अं. २ बजे बेउलीलाई लैनले बोकी जग्गेमा निकाले पछि बारीतर्फ गयौं म जग्गेतर्फ जाँदा मास्तिर बारीमा हल्ला खल्ला भयो । डोलमाथि उक्ली मेरो छोराको विहेमा हल्ला खल्ला नगरी देउ भनी लैन र पञ्चबहादुरले थापालाई कुुट्नु पर्छ भनी उर्लिदै थिए बनेन्द्र लावती, दाउरा माथि लडी रहेको थियो अरु प्र.हरु कहाँ कहाँ थिए अँध्यारो रात हुनाले देखिन मृतक तेजेन्द्रलाई बेलुकी ६:३० बजे भतेरमा देखेको हुँ त्यसपछि देखिन प्र.पञ्चबहादुर, लैनबहादुर बेहुली अन्माउने बेलासम्म नाचगान गर्दै थिए अरु प्र.हरु को को थिए कहाँ गए केही थाहा पाइन प्र. रामप्रसाद २५ गते दिनमा र रातमा थिएन । भोलिपल्ट मात्र आएका हुन । प्रतिवादीहरुले तेजेन्द्र मर्‍यो गुपचुप राख्नु पर्छ भनी मलाई कसम खुवाएका समेत होइन । मृतकसँग मेरो रिसइवी थिएन निजलाई को को भई कुटपीट गरी कर्तव्य गरी मारेका हुन् नदेखेको हुँदा भन्न सक्दिन मेरो कसूर नहुँदा अभियोगबाट सफाई पाउँ भन्ने ०४१।१।४ मा प्र.जगतमान तामाङले अदालतमा गरेको बयान ।

      ३०.   ०४०।११।२५ गते दिन रात म घरमा छु भोलिपल्ट ६ गते ८:३० बजे बिहेको निम्तो मान्न बेहुलीको घरमा जाँदा प्र.पञ्चबहादुर, लैनबहादुर बेहुली अन्माउने काममा लागेको थियो, म पुगेको एकछिन पछि प्र.कुवेरप्रसाद पनि आएको थियो । पञ्चबहादुरले राती कुटाई खायो भनी मलाई सुनाएकोले मैले कस्ले किन छुयो भनी सोधनी गर्दा तेजेन्द्रले रक्सी खाएको थियो प्र.बनेन्द्रको २००।रु. पनि लगी दियो घडी भेटियो । तेजेन्द्र भाग्यो भनेकोले निजको बाबु शेरबहादुर आएपछि केटाहरु झगडा गरेछन् मिलाई दिनुपर्छ भन्दा छोरो अहिले छैन भनी निजले भन्यो म बेहुलाको घरतर्फ निम्तो मान्न गएँ त्यहाँबाट जगतमानको घर आउँदा प्रतिवादीहरु रक्सीले माते जस्तो थियो झगडा गर्छन की जस्तो लागेर शेरबहादुरलाई जाउँ भनी याशोक बजारतर्फ आई म घरतर्फ लागें २७ गते बिहान प्र.पञ्चबहादुर मेरो घरमा आई बनेन्द्रको रुपैयाँ लुटपिट भएको मुचुल्का मलाई दियो सो मुचुल्का मैले प्रहरी हवल्दारलाई दिएँ सो मुचुल्कामा म बसेको छैन मृतक तेजेन्द्रलाई मार्न मराउन मेरो कुनै सहमति थिएन । तेजेन्द्र दाहाल मरेछ भनी सुनाउँदा मात्र थाहा पाएँ मृतक कर्तव्य परी मरेको हो वा के भई मर्‍यो थाहा छैन, प्रहरीमा भएको कागज मैले भनेको होइन सरकारी वकिलले प्रहरीमा बोलाई कुटपीट गराउन ठीक पर्दा बेइज्जती हुने परियो भनी इच्छा विरुद्ध सहिछाप गरेका हुन शेरबहादुरलाई म समेतले बाँधी कुटपीट गरी छोरा दाखेल गर की मेरो जिम्मा छ भनी कागज गर भनेको समेत होइन मेरो कुनै कसूर नहुँदा प्रहरी अभियोगबाट फुर्सद पाउँ भन्ने समेत रामप्रसाद फेउदीनले ०४१।१।५ मा अदालतमा गरेको बयान ।

      ३१.   मेरो ससुराली नमी डाँडा गा.पं. मा सासू विरामी भएकोले ससुरालीतर्फ गई २६ गते तक बसी २७ गते मात्र घर फिरेको हुँ । वारदात भएको स्थलमा म थिइन मृतक तेजेन्द्रलाई कुटपीट गरी मार्‍यो भन्ने कुरा सुनेको सम्म हुँ यसले कुटपीट गर्‍यो भन्ने नसुने नजानेको हुँदा को को भई कर्तव्य गरी मारेको हुन भन्न सक्दिन । मृतक तेजेन्द्रको बाबु शेरबहादुरलाई बाँध छाँद गरी नकुटेको र ज्यान मरेको कुरा अघि नसुनेको हुँदा म उपरको अभियोग दावीबाट फुर्सद गरिपाउँ भन्ने प्र.लैनबहादुर फेउदीनले ०४१।३।८ मा अदालतमा गरेको बयान ।

      ३२.   ०४०।११।२५ गते दिन रातमा म गाउँ घरमा थिइन याशोक बस्ने खम्बसिं पौडेलको घरमा धानको बीउ साट्न गएँ भोलिपल्ट २६ गते बेलुकी ५ बजेतिर घरमा आई २७।२८ गते घरमा बसी २९ गते प्र.लैनबहादुरसँग पथरगडा गयौं वैशाख १० गते मात्र घर फर्केका हौं । हामी घरमा आई पुगेपछि मात्र तेजेन्द्रलाई कुटपीट गरी मार्‍यो भन्ने कुरा सुनेको हुँ । मृतक तेजेन्द्रलाई को को भई कुटपीट गरी कर्तव्य गरी मारेका हुन मलाई केही थाहा छैन म घरमा भएको होइन म समेतले तेजेन्द्रको बाबु शेरबहादुरलाई छोरा दाखेल गर भनेर कुटपीट गरेको होइन ज्यान मरेको कुरा मलाई मौकैमा थाहा नहुँदा र कसूर नहुँदा अभियोग दावीबाट फुर्सद पाउँ भन्ने लोकप्रसाद फेउदीनले ०४१।३।८ मा अदालतमा गरेको बयान ।

      ३३.   ०४०।११।२५ गते दिन र रातमा म गाउँ घरमा नभई ऐ. २३ गते बेलुका नै रानी गाउँमा मावली बाजेको श्राद्धमा गएको थिएँ । ०४० साल चैत्र २ गते मात्र घर फिरी फाल्गुण २५ गते जगतमानको छोराको बिहेमा थिइन । तेजेन्द्र मरेको कुरा चैत्र २० गते मात्र गाउँ घरमा सुनें । मृतक कर्तव्य वा भवितव्य के भई मरेको हो भन्न सक्दिन म समेत भई मृतकलाई कर्तव्य गरी मारेको होइन प्र.जगतमान समेतले पोल गर्नको कारण जग्गा साँध सीमानामा झगडा भइरहने हुँदा इवी साधन गर्न पोल गरेका हुन । मैले कुनै पनि कसूर गरेको छैन म निर्दोष छु अभियोग दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.बुद्धिमान भन्ने बुद्धिप्रसाद लावतीले ०४१।८।२० मा अदालतमा गरेको बयान ।

      ३४.   ०४० साल फाल्गुण २५ गते दिनरात म मावली गाउँ सार्तापमा छु जगतमानको छोरीको बिहेमा गएको थिइन मृतकलाई चिनेको छैन । निज मरेको कुरा पनि मलाई थाहा थिएन । यही मार्ग ५ गते तेजेन्द्र मरेको सम्बन्धमा तिम्रो नाममा म्याद आएको थियो भन्दा मात्र थाहा पाएँ । मृतक कर्तव्य भवितव्य के भई मरेको हो लाश नदेखेको हुँदा कर्तव्यबाट मरेको भन्ने नसुनेको हुँदा केही थाहा छैन को को भई कर्तव्य गरेको हुन मलाई केही थाहा छैन । प्र.पंचबहादुर समेतले र सरजमीनका मानिसहरुले रिसइवीबाट पोल गरेका हुनुपर्छ म निर्दोष हुँदा अभियोग दावीबाट फुर्सद पाउँ भन्ने ०४०।८।२० मा अमला भन्ने अइन्द्र लावतीले अदालतमा गरेको बयान ।

      ३५.   ०४०।११।२५ गते म आफ्नो गाउँ घरमा नभई पाँचथर रानी गाउँ बस्ने कालाप्रसादको घरमा छु । ०४० साल फाल्गुण २६ गते मात्र पंचबहादुर, कुवेरप्रसाद, लैनबहादुर, बनेन्द्र, धनबहादुर, खम्बसिं, अमलमान र मर्ने तेजेन्द्र समेतलाई म चिन्दिन म समेत भई ०४०।११।२५ गते तेजेन्द्रलाई कुटपीट गरी मारी फालेको समेत होइन । मैले कुनै कसूर अपराध नगरेको हुँदा झुठ्ठा पोल अभियोगबाट सफाई पाउँ भन्ने विजेन्द्र लावतीले ०४१।८।२० मा अदालतमा गरेको बयान ।

      ३६.   ०४०।११।२५ गते दिन रात म आफ्नो घर गाउँमा छु । विवाहको निमन्त्रणा आएकोले ०४०।११।२४ गते नै राती गाउँमा आई २६ गते बेलुका मात्र गाउँ घरमा फिरेको छु म समेत भई तेजेन्द्र दाहाललाई कुटपीट गरी मारी फालेको होइन सरजमीनका मानिसहरुले किन पोल गरेका हुन निजैहरु जानुन अभियोग दावीबाट फुर्सद पाउँ भन्ने देवमान लावतीले ०४१।८।२० मा अदालतमा गरेको बयान ।

      ३७.   पंचबहादुर तामाङ, लैनबहादुर तामाङ, बनेन्द्र लावती, कुवेरप्रसाद फेउदीन समेतका चारै जनाको साक्षीहरुले निजहरुले तेजेन्द्रलाई मारेको होइन पोल झुठ्ठा हो भनी प्रष्ट रुपमा सफाई दिन नसकेको र प्रहरीमा निजहरुले राजीखुसीले कागज गरेको होइन भन्ने कुराको ठोस अकाट्य सबूद प्रमाण गुजार्न सकेको नदेखिएको र सरजमीनका मानिसहरुले पनि निजहरु उपर पोल गरेकै देखिँदा दावी अनुसार कर्तव्य गरी ज्यान मारेको ठहर्छ । प्र.विजेन्द्र, अमला भन्ने अइन्द्र लावती, बेदमान लावती र बुद्धिमान समेत ४ जनाको हकमा निजहरु अदालतमा आई इन्कारी भएको निजहरु साक्षीले सफाई पनि दिएको देखिँदा निजहरु चारै जनाले कर्तव्य गरी ज्यान मारेको ठहर्दैन । प्रतिवादी जगतमान, खम्ब सिं, धनबहादुर समेत ३ जना घटनामा रहे भएकै देखिन आएको प्रहरीमा भएको कागज अनुसार तेजेन्द्र मरेको कुरा ०४०।११।२५ गते राती नै थाहा भएको देखिन आएको कर्तव्यबाट ज्यान मारेको कुरा थाहा भएपछि जाहेर नगरी बसेकोले ज्यानसम्बन्धी २५ नं. मर्ने प्रतिकूल गरेको देखिँदा निजहरुले दावी बमोजिम अपराध गरेको ठहर्छ । रामप्रसाद फेउदीन १, प्र.लोकप्रसाद फेउदीन १, प्र.लैनबहादुर फेउदीनसमेत ३ जनाले कसूर नगरेका भए मृतकको बाबुलाई छोरा दाखिल गर्छु भन्ने कागज नगर भन्नु नगरेपछि कुटपीट गर्नु मुचुल्का समेत बमोजिम चोरीको आरोपमा चौकीमा लानु नपर्ने र निजहरुको साक्षीबाट समेत प्रष्ट समर्थन गरेको नदेखिँदा भू.पु. सैनिक संगठनको जि. सभापति पञ्च सदस्य प्र.रामप्रसाद फेउदीन, प्र.लोकप्रसाद, लैनबहादुर फेउदीनसमेतले दावीबमोजिम अपराध गरेको ठहर्छ भन्ने ०४१।१२।१।५को पाँचथर जि. अ.को फैसला ।

      ३८.   शुरुले गरेको फैसलामा प्र.विजेन्द्र लावती अमला भन्ने जयन्द्र लावती, देउमान लावती र बुद्धिमान लावती समेतका ४ जनालाई सफाई दिएको र प्र.जगतमान, खम्बसिं र धनबहादुरसमेत जना ३ लाई ज्या.सं.महलको २५नं. अनुसार जरिवाना मात्र गरी ४नं. अनुसारको कैदसमेत गर्नुपर्नेमा नगरेको हुँदा चित्त बुझेन निज अभियुक्तहरु सातै जनालाई प्रहरी प्रतिवेदन दावीअनुसार सजायँ गरिपाउँ भनी पू.क्षे.अ.मा परेको श्री ५ को सरकारको पुनरावेदन ।

      ३९.   बिना प्रमाण आधार कसूरदार ठहराएको चित्त बुझेन आरोपबाट सफाई पाउँ भनी रामप्रसाद फेउदीनको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

      ४०.   जिल्ला अदालतको फैसला चित्त बुझेन बदर गरी आरोपबाट सफाई पाउँ भनी लोकप्रसाद र लैनबहादुर फेउदीनले पूर्वाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।

      ४१.   शुरुको फैसला बदर गरी इन्साफ गरिपाउँ भनी पञ्चबहादुर, लैनबहादुर, बनेन्द्र लावती र कुवेरप्रसाद फेउदीनले पूर्वाञ्चल क्षेत्रीय अदालतमा गरेको संयुक्त पुनरावेदन ।

      ४२.   जि. अ.बाट सफाई पाएका प्रतिवादीहरुले चोट छोडेको भन्ने कुरा पञ्चबहादुरको प्रहरीमा गरेको बयान बाहेक अन्यत्रबाट देखिन नआएको समेतका कारणबाट निजहरुलाई सफाई दिने गरी भएको जि. अ.को फैसला मनासिब छ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्दैन । शुरुबाट ज्यानसम्बन्धी १३(३) नं. अनुसार कसूरदार ठहरेका प्रतिवादी पञ्चबहादुर, लैनबहादुर, बनेन्द्र लावतीले कुटपीट गरेको कारणबाट तेजेन्द्रको मृत्यु भएको अवस्था देखिँदा ज्यानसम्बन्धीको १३(३) अनुसार कसूरदार ठहराएको जि. अ.को फैसला मनासिब छ तर प्र.कुवेरप्रसादले चोट छाडेको भन्नेमा सावित नभएको हुँदा जि. अ.ले निजलाई ज्यानसम्बन्धीको १३(३) अनुसार कसूरदार ठहर गरेको फैसला नमिलेको र ज्यान मार्ने कृयामा निजको सहमति देखिएकाले ज्या.सं.को १७(३) ले कैद वर्ष ३ र लास फालेतर्फ ऐ.को नं. (४) ले थप कैद ६ महिना हुन्छ । प्र.समप्रसादलाई ज्या.सं.को २५ नं. ले रु. २०।जरिवाना हुन्छ । प्र.लोकप्रसाद र लैनबहादुर फेउदीनको हकमा लगाउ हुने कुटपीट मुद्दा बाट निजहरुले कर्तव्य दवाउने काम गरेकोमा सकृय समेत देखिँदा निजहरुले कसूर गरेको होइन भन्ने निजहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पू.क्षे.अ.ले गरेको २०४३।८।१८।४ को फैसला ।

      ४३.   देवमान लावतीले सफाई दिने गरी कुवेरप्रसाद फेउदीनलाई शुरुले ठहराएको सजायँ घटाउने गरी तथा जगतमान वाइवा तामाङ, धनबहादुर तामाङ र खम्बसिं तामाङलाई ज्यानसम्बन्धीको ४ नं. अनुसार कैद समेत गर्नु पर्नेमा दावी नै नभएको ऐ. ऐनको २५ नं. लगाई जरिवाना माग गर्ने गरी भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझेकाले सो बदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

      ४४.   हामी मध्येका रामप्रसादका उपर ज्यानसम्बन्धीको (२५) अनुसार सजायँ गर्ने गरी तथा लोकबहादुर र लैनबहादुर फेउदीनलाई शुरुबाट गरिएको सजायँलाई सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला चित्त बुझ्दो नभएकाले बदर गरी सफाई पाउँ भनी यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी लोकबहादुर, लैनबहादुर र रामप्रसाद फेउदीनको पर्न आएको पुनरावेदन ।

      ४५.   हामी प्रतिवादीहरु मध्येका पञ्चबहादुर बल तमाङ, लैनबहादुर तामाङ, बनेन्द्र लावतीलाई शुरुले ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरी गरेको फैसलालाई सदर गरी तथा कुवेरप्रसादलाई ज्यानसम्बन्धीको १७(३) अनुसार तथा ऐ. को ४ नं. अनुसार समेत ३ वर्ष ६ महिना कैद गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला चित्त नबुझेकाले सो बदर गरी सफाई पाउँ भनी प्र.पञ्चबहादुर, लैनबहादुर, बनेन्द्र र कुबेरप्रसादले यस अदालतमा दिएको पुनरावेदन नियमानुसार प्रस्तुत हुन आएको यस मुद्दामा वादी श्री ५ को सरकारका तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. जाहेरवालाको तर्फबाट विद्वान अधिवक्ता श्री सूर्यप्रसाद राई प्र.बनेन्द्र लावतीका तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, प्र.बनेन्द्र लावती र रामप्रसादतर्फका विद्वान अधिवक्ता श्री माधव बास्कोटा र प्र.पंचबहादुर, लैनबहादुर, प्र.कुवेरप्रसाद फेउदीन तथा लोकबहादुर तर्फका विद्वान अधिवक्ता श्री हरिहर दाहालको बहस सुनी विचार गर्दा यस मुद्दाका विषयमा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब बेमनासिब के छ सो कुराको नै निर्णय दिनु पर्ने देखियो ।

      ४६.   पोष्टमार्टम रिपोर्ट र अरु प्रमाण समेतको आधारमा राती रक्सी खाँदाको कुरामा निउ निकाली झगडा हुँदा दाउराको चिर्पटले कुटपीट गरेर सबैको चोटबाट तेजेन्द्र दाहाललाई मारी लास लुकाएको भन्ने कुरामा सावित भई बयान गरेकाले प्र.पंचबहादुर, लैनबहादुर, कुवेरप्रसाद र बनेन्द्र लावती, विजेन्द्र लावती, अमला लावती, देउमान लावती र बुद्धिमान लिम्बूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ हुनुपर्ने जगतमान, सम्बसिंह, धनबहादुरलाई ज्यानसम्बन्धीको ४ नं. तथा रामप्रसाद, लोकबहादुर, लैनबहादुरलाई सोही ऐनको २५ नं. बमोजिम सजायँ हुनुपर्ने भन्ने शुरु प्रहरी प्रतिवेदन दावी छ र कर्तव्यबाट मानिस मरेको कुरा लास जाँच प्रतिवेदन समेतबाट देखिएको छ मृतकको बाबुको बयानबाट मार्ने र मर्नेको बीच रिसइवी देखिन आएको अभियुक्तले अन्यत्र थिएँ भनी गरेको बयान अकाट्य रुपमा प्रमाणित हुन नसकेको समेतका कारण बाट प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ हुनपर्ने भन्ने जिकिर विद्वान सहन्यायाधिवक्ताले लिनु भएको पाइयो भने प्रहरी र अदालतमा भएको बयानमा तथ्यको मेल भइरहेको आधारमा कुवेरप्रसाद फेउदीनलाई पनि ज्यान सम्बन्धीको १३(३) को अनुसार सजायँ हुनुपर्ने भन्ने जिकिर जाहेरवाला तर्फका विद्वान अधिवक्ताले लिनु भयो ।

      ४७.   अपराधजन्य कृयाबाट मृत्यु भएको कुरा शंकारहित तवरले प्रमाणित भएको छैन, कर्तव्यबाट मृत्यु भएको देखिए पनि ज्यानसम्बन्धी महलको नं. १३(३) आकृष्ट हुनसक्ने अवस्था विद्यमान रहेको पाइँदैन, मर्ने तेजेन्द्र र बनेन्द्र दुवैले रक्सी खरीद गरी खाएको देखिएको सरजमीनले शंकासम्म गरेको भए पनि चस्मदिद गवाह कोही छैन । जसले सांघातिक चोट छोडेको छ त्यसको अलावा अरुलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्न नमिल्ने कुराको जिकिर लिई बनेन्द्र लावती तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले बहस गर्नुभयो भने प्र.रामप्रसाद तर्फका विद्वान अधिवक्ताले प्रहरीमा भएको बयानबाट पनि मेरो पक्ष वारदातमा भएको भन्ने नदेखिएको र सरजमीनका मानिसले पनि वारदातमा भएको भन्न नसेकाले सफाई पाउनु पर्ने भन्ने जिकिर लिनु भयो । पंचबहादुर, लैनबहादुर तथा कुवेरप्रसाद तर्फका विद्वान अधिवक्ताले प्रहरीमा बयान गर्दा पनि मेरो पक्षमा पंचबहादुरले मारेको भनेका छैनन् लैनबहादुरले डडेलामा हिर्काएको भने पनि सो चोट सांघातिक भएको देखिन आउँदैन कुवेरप्रसादले हातसम्म पक्रिएको भनेका छन्, बनेन्द्र लावती र मृतक तेजेन्द्रबहादुरको बीचमा झगडा भएको देखिन आएको छ यो घटना मेरा पक्षको कृयाबाट घटेको देखिँदैन रिसइवीबाट यो घटना घटेको भन्ने पनि देखिँदैन झगडा भएपछि तेजेन्द्र भागेको र लखेट्दै जाँदा कसले मारेको भन्ने देखिन आउँदैन, आवेशजन्य घटना भएको र योजना मनसायबाट प्रेरित देखिन नआएको समेतका कारणबाट मेरो पक्षलाई ज्यानसम्बन्धीको १३ नं. अनुसारको सजायँ हुनु नपर्ने हुँदा सफाई पाउनु पर्ने भन्ने जिकिर लिदै बहस गर्नुभयो ।

      ४८.   तेजेन्द्रबहादुरको मृत्यु कुटपीटको चोटबाट भएको कुरा लास जाँच प्रतिवेदन, शव परीक्षण प्रतिवेदन, अभियुक्त हरुको बयान तथा जाहेरी दर्खास्त समेतबाट देखिन आएको छ । अब तेजेन्द्रबहादुर के कस्तो कारणबाट कर्तव्य गरी मारिएको हो ? भन्नेतर्फ ध्यान केन्द्रित गर्दा मृतकको बाबु शेरबहादुरले प्रहरी समक्ष छोराको लास सनाखत गर्दा गरेको कागजमा रामप्रसाद फेउदीनसँग आफ्नो मोहियानी जग्गा सम्बन्धी इवी थियो तर छोरासँग इवी रहेको थाहा थिएन भन्ने व्यहोरा लेखाएकोछ मृतकको बाबुसँग नै प्रतिवादीहरुको रिसइवी रहेको कुरा अरु प्रमाण बाट देखिन नआएको र तेजेन्द्रबहादुरसँग प्रतिवादीहरुको रिसइवी भएको कुरा मृतकको बाबुलाई नै थाहा नभएको अवस्था विद्यमान रहेको र घटना हुँदा प्रतिवादीहरु मृतकसँगै बसी रक्सी खाइरहेको देखिएको समेतका कारणबाट तेजेन्द्रबहादुरलाई मार्नु पर्नेसम्मको रिसइवी प्रतिवादीहरुसँग रहेको र सोही रिसइवी साधना गर्न निजलाई कर्तव्य गरी मारेको भन्ने विद्वान सरकारी अधिवक्ताको रायसंग सहमत हुन सकिएन । पंचबहादुर र लैनबहादुरले अदालतमा गरेको बयान र घटनास्थलमा अन्य प्रमाणहरुबाट समेत वारदातमा निजहरु समावेश रहेको कुरा देखिन आएको हुँदा अपराधजन्य कृयाबाट मृत्यु भएको देखिन आएकोले प्रतिवादीहरुलाई सजायँ हुन नपर्ने भन्ने प्रतिवादीहरु तर्फका विद्वान अधिवक्ताहरुको जिकिरलाई पनि मनासिब भन्न मिलेन।

      ४९.   विद्वान कानुन व्यवसायीहरुको बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादी देवमान लावती, अइन्द्र लावती, बिजेन्द्र लावती र बुद्धिप्रसाद लावतीलाई शुरु दावी अनुसार ज्यानसम्बन्धी महलको १३ नं. अनुसार सजायँ हुनुपर्ने भन्ने श्री ५ को सरकारको लिएको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो भन्नेतर्फ हेर्दा पंचबहादुरले प्रहरीमा गरेको बयान बाहेक निजहरुले चोट छोडेको भन्ने कुरा मिसिल साथमा प्रमाणहरुबाट नदेखिएको र यस्मा पनि पंचबहादुरले अदालतमा बयान गर्दा चोट छोडेका भनी निजहरुलाई पोल्न नसकेको र प्रहरीमा सहअभियुक्तहरुले गरेको पोल प्रमाणित र खंबीर हुन नसकेको कारणबाट शुरुले निजहरुलाई सफाई दिने गरी गरेको फैसलालाई मनासिब ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिएको छ । प्रतिवादी कुवेरप्रसादले मौकामा गरेको कागजको आधारमा घटी सजायँ हुन नपर्ने भन्ने जिकिरका सम्बन्धमा कुवेरप्रसादले तेजेन्द्रका उपर चोट छाडेकोमा अदालतमा बयान गर्दा इन्कार रहेको सहअभियुक्तको पोल एक अर्को संग मेल नखाएको र कुवेरप्रसादले चोट छोडेको कुरा अन्य प्रमाणहरुबाट समर्थित हुन नसकेको हुँदा निजलाई वारदात स्थलमा रहे भएको आधारमा ज्यानसम्बन्धीको १७(३) र ४ नं. अनुसार सजायँ गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब नै देखिएको यसै गरी जगतमान वाइवा, खम्ब सिं र धनबहादुरलाई ज्यानसम्बन्धीको ४ नं. अनुसार सजायँ हुनुपर्ने भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा मानिस मारेको कुरा थाहा भएर पनि जाहेर नगरेको देखिन आएको तर लास दवाउने कृया गरेको प्रमाणित हुन नसकेको देखिँदा ज्यानसम्बन्धीको २५ नं. अनुसार निजहरुलाई सजायँ गर्ने गरी शुरुले गरेको फैसलालाई सदर गर्ने गरी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ, श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

      ५०.   प्रतिवादी लोकबहादुर फेउदीन, लैनबहादुर फेउदीन र रामप्रसाद फेउदीनले कर्तव्यबाट मानिस मरेको विषय थाहा पाएर पनि जाहेर नगरेको कुरा प्रष्ट प्रमाणित भएको देखिन आएकोले निजहरुलाई ज्यानसम्बन्धीको २५ अनुसार सजायँ गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै त्रुटि भए गरेको देखिन नआएको र मनासिब ठहर्छ तसर्थ निज प्रतिवादीहरुको पुनरावेदन जिकिर पनि पुग्न सक्दैन ।

      ५१.   अन्य प्रतिवादीहरु पञ्चबहादुर। बल तामाङ, लैनबहादुर तामाङ, बनेन्द्र लावतीले दिएको पुनरावेदन जिकिरका सम्बन्धमा विद्वान कानुन व्यवसायीहरुको बहस समेत सुनी विचार गर्दा तेजेन्द्रबहादुरको मृत्यु कुटपीटको चोटको कारणबाट भएको तथ्य लास जाँच प्रतिवेदन, शव परीक्षण प्रतिवेदन अभियुक्तहरुको बयान समेतका मिसिल संलग्न प्रमाणहरुबाट देखिन आएको छ । अब तेजेन्द्रबहादुरको मृत्यु के कस्तो प्रकारबाट भएको हो भन्नेतर्फ ध्यान केन्द्रित गर्दा मृतकको बाबु शेरबहादुरले प्रहरी समक्ष गरेको कागजमा प्रतिवादी रामप्रसाद फेउदीनसंग मोहियानी जग्गाको सम्बन्धमा आफूसंग रिसइवी थियो भने पनि मृतकसंग प्रतिवादीहरुको रिसइवी भएको थाहा थिएन भनी निजले नै बयान गरेको र रामप्रसाद फेउदीनसंग आफ्नो रिसइवी देखाए पनि पञ्चबहादुर समेतका अरु प्रतिवादीहरुसंग रिसइवी थियो भन्ने कुरा पनि प्रमाणित हुन नआएको यी प्रतिवादीहरुले रिसइवी साधन गर्न निमित्त तेजेन्द्रबहादुरलाई मारेको कुरा पनि मिसिल संलग्न प्रमाणहरुबाट प्रमाणित हुन नसकेकाले मनसायवस तेजेन्द्रबहादुरलाई प्रतिवादीहरुले मारेका हुँदा भन्ने विद्वान सरकारी अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन । यसै गरी प्रतिवादीहरु मध्येका बनेन्द्र लावती र तेजेन्द्रबहादुरसंगै बसी रक्सी खान लागेको अवस्था तेजेन्द्रले रक्सीको बटुको फ्याँकेको कारणबाट झगडा उत्पन्न भई घटना घटेको कुरा बनेन्द्र लावती समेतको अदालतमा गरेको बयानबाट देखिएको छ । प्रतिवादी पञ्चबहादुर र लैनबहादुर समेत घटनास्थलमा रहेका र तत्काल उठेको रिसको कारणबाट घटना घटाएको कुरा पनि निजहरुको बयानबाट समेत प्रमाणित भएकोले अपराधजन्य कृयाबाट तेजेन्द्रबहादुरको मृत्यु भएको हैन वा प्रतिवादीहरु अपराधी होइनन् भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरुको जिकिरलाई पनि मनासिब भन्न मिलेन ।

      ५२.   यसरी तेजेन्द्रको मृत्युको प्रमुख कारणमा रक्सी खान लागेको अवस्था तेजेन्द्रबहादुरले रक्सीको कचौरा बनेन्द्र लावतीका उपर फालेपछि दुवै थरका बीच तत्काल उठेको रिसको आवेशबाट झगडा उत्पती भई प्रस्तुत घटना घटेको देखिएको छ । मिसिल संलग्न प्रमाणहरुबाट पूर्व योजना, मनसाय, रिसइवी देखिन नआएको, रक्सी खाइराखेको बेलामा झगडा भई आवेशमा आई कुटपीट गर्दा तेजेन्द्रबहादुरको मृत्यु भएको उक्त उल्लिखित आधार प्रमाणहरुबाट समेत देखिन आएकाले प्रतिवादीहरु पञ्चबहादुर तामाङ, लैनबहादुर तामाङ र बनेन्द्र लावतीलाई ज्यानसम्बन्धी महलको दफा १३(३) अनुसार २० वर्ष कैद गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिन आएन । प्रतिवादी पञ्चबहादुर, बनेन्द्र लावती र लैनबहादुर तामाङलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार दश (१०) वर्ष कैदको सजायँ हुने ठहर्छ । पुनरावेदन तर्फबाटै इन्साफ जाँच गरी निर्णय भएकोले साधकको लगत काटी अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

देहाय प्रतिवादीहरुको माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजहरुलाई ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम जनही कैद वर्ष १० (दश) हुने ठहरेकाले निजहरुलाई सो बमेजिम कैदको लगत काटी असूल गर्नु भनी शुरु पाँचथर जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु …………. १

(१)    प्र.पञ्चबहादुर तामाङ १ (२) प्र.बनेन्द्र लावती १ (३) प्र.लैनबहादुर तामाङ १

पुनरावेदक प्र.कुवेरप्रसाद के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ. का फैसलाले निजलाई कैद वर्ष ३।६ महीना गर्ने गरेको इन्साफ सदर भएकोले पुनरावेदन गरे बापत निजलाई अ.बं. २०३ नं. बमोजिम सयकडा १० ले हुने कैद महीना ६४ दिन थप कैद हुनेछ लगत कसी असूल गर्नु भनी शुरु जि. अ. मा लेखी पठाउन का.जि. अ. मा लगत दिनु .. २ माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.पंचबहादुर, प्र.बनेन्द्र लावती र प्र.लैनबहादुर समेतका प्रतिवादीहरुलाई शुरु पाँचथर जिल्ला अदालतबाट ज्यानसम्बन्धीको १३(३) अनुसार २० वर्ष कैद हुने ठहराई गरेको फैसलामा केही उल्टी भई सोही महलको १४ नं. अनुसार कैद वर्ष १० (दश) हुने ठहरेकोले सो फैसला लेखिएको र कैद वर्ष २० को लगत काटी दिनु भनी शुरु पाँचथर जिल्ला अदालतमा लेखी पठाउनु भन्ने काठमाडौं जिल्ला अदालतमा लगत दिनु…३, मिसिल नियमानुसार गरी बुझाई दिनु…. ४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल वैशाख ४ गते रोज १ शुभम् ।