निर्णय नं. ३८१८ – जालसाजी
निर्णय नं. ३८१८ ने.का.प. २०४६ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल...
निर्णय नं. ३८१८ ने.का.प. २०४६ अङ्क ५
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. २६
फैसला भएको मिति : २०४६।४।३१।३ मा
डिभिजनबेञ्चबाट फैसला मिति : २०४३।५।२९।१
निवेदक/वादी : जाजरकोट जिल्ला खलङ्गा आदर्श गा.पं. वडा नं. २ बस्ने दिपकजंग शाह
विरुद्ध
विपक्षी/प्रतिवादी : सल्यान जिल्ला काला गाउँ गा.पं. वडा नं. ३ बस्ने यज्ञविक्रम शाह
मुद्दा : जालसाजी
§ लिखतलाई नै वादीले हकको श्रोत देखाएकोमा सो लिखतबाट घर प्राप्त गरेको भन्ने नदेखिँदा वादी दावी तथ्ययुक्त देखिन नआउने ।
(प्रकरण नं. १८)
§ विवादित घर दाज्यूको शेषपछि पाई बिक्री गरी लिनु दिनु गरेको कार्यलाई वादी दावी बमोजिम जालसाजी ठहर गर्न नमिल्ने ।
(प्रकरण नं. १८)
निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कुलदेवराज शाही
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४३।५।२९।१ मा भएको फैसला दोहर्याई हेरी दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स पाउँ भनी वादी दिपकजंग शाहले चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको जालसाजी मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भएको छ भनी मौसूफका विशेष जाहेरी विभागबाट लेखी आए बमोजिम पूर्ण इजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. २०३९ सालदेखि मेरो हकभोग चलनमा आई भोग गरी रहेकोमा विपक्षीहरुले मेरो हक मेटाउने गरी घर कर तिरेको रसिद गा.पं. सचिव खीमबहादुरले गरिदिने सो रसिदको प्रमाण दिई दिर्घजंगले उक्त मेरो समेत हक लाग्ने समुच्चा घर यज्ञविक्रमलाई राजीनामा गरिदिने र निज यज्ञविक्रमले लिने गरी जालसाजी गरी ठुलो पहरो सो पूर्व रीठा रुखको दक्षिण हिराजंग सो उत्तर, तेजविक्रमको बारीबाट पश्चिम यति चारकिल्ला भित्रको ४६ हात लम्बाई १६ हात चौडाई भुईतला समेत ४ तला १७ कोठा २ कवल इँटको छाना ढुङ्गाको गारो भएको समुच्चै घर मध्ये दक्षिणतर्फको आधा घर मेरो हक लाग्नेमा हक मेट्ने मेटाउने उद्देश्यले राजीनामा भित्र पारी जालसाज गरेकोले कीर्ते कागजको १० नं. बमोजिम विपक्षीलाई सजायँ गरी मेरो हक रजिष्ट्रेशन बदर गरिपाउँ भन्ने दिपकजंगको फिरादपत्र ।
३. प्र.पं. हरिप्रसादको तोक अनुसार पञ्चायत वडाका व्यक्ति घर कर बुझाउने गरिआएको हुँदा वडा नं. २ थाप्ले बस्ने कृष्णबहादुर, ढालकुमारी, गणेशबहादुर दिर्घजंग घर कर बुझाउन आएकोले बुझी भर्पाई गरिदिएको हुँ मैले जालसाजी गरिदिएको होइन भन्ने समेत प्र. खीमबहादुर शाहको प्रतिउत्तरपत्र ।
४. जाजरकोट थाप्लेको घर तपाईले आफूखुस गर्नुहोस् हामी केही हक खिचोला गर्ने छैनौं भन्ने शर्त गरेकाले घर कर रकम बुझाई यज्ञविक्रमलाई बिक्री गरेको हुँ, वादीको हक पुगेको घर हक मेट्ने नियतले घर कर बुझाई बिक्री गरेको होइन भन्ने समेत दिर्घजंगको प्रतिउत्तरपत्र ।
५. शक्तिवरजंग शाहको शेषपछि १९८९ सालमा चक्रबहादुर शाहका नाउँमा घर धुरी दर्ता भई निजको र निजको भाइ दिर्घजंग शाहको हक भोगचलनमा रहेको घर दिर्घजंग शाहलाई रु. १२,०००।– दिई घर लिनु दिनु गरेको हो जालसाज गरे भन्ने फिराद झुठ्ठा हो भन्ने समेत यज्ञविक्रमको प्रतिउत्तरपत्र ।
६. फिरादीको हकभोगको सम्पत्तिमा हकभोग मेटाउने उद्देश्यले प्रतिवादीहरुले लिनु दिनु गरी जालसाजी गरे गराएको ठहर्दैन । वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत जाजरकोट जि. अ. को फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्ने समेतको दिपकजंगको भेरी अञ्चल अदालतमा पुनरावेदन परेकोमा सो अदालतबाट शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेतको निर्णय भएको रहेछ ।
८. सो फैसला उपर पुनरावेदनको अनुमतिको लागि वादीको निवेदन म.प.क्षे.अ. मा परेकोमा पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदनको लगतमा दर्ता भएको ।
९. फिरादीबाट पेश भएको बण्डापत्र र रसिद समेत जालसाजी हुन् भनी प्रतिवादीहरुले गरेको बयान झुठ्ठा हो, फिरादीबाट पेश भएको कागज सद्दे हुन् भन्ने समेतको दिपकजंगको वा. जयबहादुर खड्काले म.प.क्षे.अ. मा गरेको बयान ।
१०. दिर्घजंगको हक मेट्ने गरी हिराजंग, नृपजंग, दिपकजंग, प्र.पं. हरिप्रसाद समेतको मिलोमतोबाट उक्त सुनाएको र देखाएको घर कर तिरेको रसिद र ०२९।११।११ को बण्डापत्र समेत जालसाजी खडा गरेका हुन् भन्ने समेत दिर्घजंगको वा. पूर्णसिंह वलीले यस म.प.क्षे.अ. मा गरेको बयान ।
११. घर कर बुझाएको रसिद समेत जालसाज गरेको हुनाले दिपकजंगले जालसाजीमा उजूर गरेका हुन् भन्ने व्यहोराको हिराजंग, नृपजंग, हरिप्रसाद समेतको वारेश जयबहादुरले गरेको बयान ।
१२. आधा मात्र घरमा हक भएकोमा पूरै घरको राजीनामा गरी लिनु दिनु गरेकोले आधा घरसम्मको लिखत जालसाज गरेको ठहर्छ । ०२९ सालको बण्डापत्र र घरसारको रसिदहरु जालसाज ठहर्दैन भन्ने समेतको म.प.क्षे.अ. को फैसला ।
१३. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.यज्ञविक्रमको निवेदन परी यस अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा बिक्री गरेको घर जग्गा प्रतिवादीका दाजुका नाममा दर्ता भएको र दाजुको शेषपछि प्रतिवादीको एकलौटी हक भएको हुँदा यज्ञविक्रमलाई राजीनामा पारित गरिदिएको देखिँदा जालसाजी गरेको ठहर्याएको मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं. १८४(क), १८५ र प्रमाण ऐनको दफा ५४ को त्रुटि भएको भनी पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेतको डिभिजनबेञ्चको आदेश ।
१४. यस्मा वादीले आफ्नो हकको श्रोत १९६८।९।२१ को मन्जूरनामालाई लिएको तर सो मन्जूरनामामा विवादित घर वादीलाई दिएको भन्ने देखिँदैन । १९८९ सालको नापीमा विवादित घर जग्गा प्रतिवादीको दाजु चक्रबहादुरका नाममा नापी भएको फिरादीको हकको घर नापी गराएको भए समयमै उजूरी गरी बदर गराउनु पर्दथ्यो । दाजुको मृत्युपछि दिर्घजंगले घर जग्गा प्राप्त गरी प्र. यज्ञविक्रम शाहलाई बिक्री गरेको देखिन आएकोले वादी दावी नपुग्ने ठहर्याएको जाजरकोट जिल्ला अदालतको इन्साफलाई मनासिब ठहर्याएको भेरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । जालसाजी ठहर्याएको म.प.क्षे.अ. को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४३।५।२९।१ को फैसला ।
१५. उक्त फैसलामा चित्त बुझेन पूर्ण इजलासबाट दोहर्याई हेरिदिनु भनी हुकुम प्रमांगी बक्स पाउँ भन्ने वादी दिपकजंग शाहले श्री ५ महाराजाधिराजका जुनाफमा विशेष जाहेरी विभाग मार्फत चढाउनु भएको बिन्तिपत्रमा यस्मा लेखिएको व्यहोरा साँचो भए बिन्तिपत्रमा लेखिएको जालसाजी मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई आए बमोजिम यस पूर्ण इजलास लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
१६. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले १९६८ सालको मन्जूरनामा बमोजिम बाजे नरजंग शाहले चलन हकभोग गरिआएको घर २०२९ सालको अंशबण्डाबाट दिपकजंग शाहको हक भोगमा पर्न आएकोमा सो घर दिर्घजंग दिने र यज्ञविक्रम लिने गरी जालसाजी गरेको हो भन्ने समेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री कुलदिपराज शाहीले १९६८ को मन्जूरीनामा घर बण्डा गर्ने सम्बन्धी होइन । १९८९ सालमा चक्रबहादुरका नाममा नापजाँच भई निजको शेषपछि निजकै भाइ दिर्घजंगको हक हुन आएको र निजले बिक्री गरी यज्ञविक्रमले किनेको हुँदा जालसाजी गरेको भन्न मिल्दैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१७. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा यस सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१८. यस्मा निर्णयतर्फ हेर्दा कृष्णवीर शाही समेतले सम्वत् १९६८।९।२१।६ मा गरिदिएको मन्जूरीनामा बमोजिम बाजे नरजंग शाहको हक हुन आएको हाल जाजरकोट जिल्ला खलंगा गा.पं. वडा नं. २ तल्लो थाप्लेमा बनेको ४६ हात लम्बाई १६ हात चौडाई मध्ये २३ हात लम्बाई १६ हात चौडाइको पश्चिम नालको दक्षिणतर्फको आधी घर बाजे नरजंगको शेषपछि १९८६।१।६।५ का बण्डापत्रले बाजे शम्सेरजंगको भागमा परेको र वहाँ पछि बुबा हिराजंग शाहको भागमा परी २०२९।११।११।५ का बण्डापत्रले म वादीको हक भोगचलनमा रहेकोमा विपक्षी दिर्घजंग दिने र यज्ञविक्रम शाह लिने गरी जालसाजी गरेछन्, मेरो हकको आधी घरको बिक्री बदर गरी जालसाजीमा विपक्षीहरुलाई सजायँ गरिपाउँ भन्ने फिराद दावी लिएको पाइन्छ । उक्त घर शक्तिवरजंगको भएको भन्ने कुरा फिरादको प्रकरण नं. २ मा वादीले स्वीकार गरेको देखिन्छ । शक्तिवरजंगको शेषपछि उनका छोराहरु कृष्णवीर शाही समेतले वादीका बाजे नरजंग शाहलाई १९६८ सालको मन्जूरीनामा बमोजिम विवादित आधा घर दिएकोले बाजेको हक हुन आई उनको शेषपछि पुस्ता सर्दै उक्त घरमा वादीको हक हुन आएको भन्ने फिराद जिकिर देखिन्छ । सम्वत् १९६८।९।२१।६ मा कृष्णवीर शाही, बीरबहादुर शाही समेतले नरजंग शाहलाई गरिदिएको मन्जूरनामा समरध्वज शाहसंगको मुद्दा लड्दा लागेको खर्चको वटवारा गर्ने विषयमा भएको देखिन्छ । वादी दावी बमोजिम उक्त मन्जूरनामाले नरजंग शाहलाई विवादित घरको आधा भाग दिएको भन्ने देखिन आउँदैन । यसबाट १९६८ को लिखतलाई नै वादीले हकको श्रोत देखाएकोमा सो लिखतबाट घर प्राप्त गरेको भन्ने नदेखिँदा वादी दावी तथ्ययुक्त देखिन आएन । जहाँसम्म १९८६।१।६।५ को बण्डापत्र अनुसार वादीका बाजे शम्सेरजंग शाहका नाउँमा अंश भाग परेको भन्ने फिराद दावी छ, त्यस सम्बन्धमा १९८६ सालको बण्डापत्र शक्तिवरजंग र नरजंगका बीच भएको नभई नरजंगका परिवारहरु बीच मात्र भएको देखिन्छ । उक्त बण्डापत्रमा वादी दावी बमोजिम तल्ला थाप्लेको घर भनी किटिएको पनि देखिँदैन । विवादित घर १९८९ को महाजाँचमा शक्तिवरजंग शाहको छोरीको छोरा चक्रबहादुर शाहका नाउँमा मोठ नं. १३२ मा दर्ता भएको भन्ने देखिन्छ । वादीका बाजेको घर जग्गा चक्रबहादुरका नाउँमा नापी गराएको भए उसै बखत उजूर गरी हक कायम गराउनु पर्नेमा त्यसो भए गरेको देखिँदैन । २०२९ सालमा वादीका अंशियारहरु बीच भएको बण्डापत्र बमोजिम वादीको हकमा आएको भन्ने फिराद जिकिरका सम्बन्धमा उक्त २०२९।११।११।५ को बण्डापत्रमा विवादित घर परेको भनी यकीन भन्न सकिने देखिँदैन । १९८९ सालको महाजाँचमा चक्रबहादुर शाहको नाउँमा दर्ता भई उनको शेषपछि निजका भाइ दिर्घजंगको हक हुन आई दिर्घजंगले उक्त घर यज्ञविक्रम शाहलाई बिक्री गरेको देखिन आउँछ । यस स्थितिमा विवादित घर दाजु चक्रबहादुरको शेषपछि दिर्घजंगले पाई यज्ञविक्रम शाहलाई बिक्री गरी लिनु दिनु गरेको कार्यलाई वादी दावी बमोजिम जालसाजी ठहर गर्न मिल्ने देखिएन । फिराद दावी बमोजिम जालसाजी नठहराएको शुरु इन्साफलाई सदर गरेको भेरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्याई जालसाजी ठहर्याउने मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्याएको यस सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४३।५।२९।१ को इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक वादी दिपकजंग शाहके मुद्दा दोहर्याई ल्याए बापत अ.बं. २०४ नं. बमोजिम शुरु जरिवाना रु. ७५०।– को सयकडा १० ले रु. ७५।– थप जरिवाना हुन्छ । बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी का.जि. अ. मा लगत दिनु .. १ मिसिल नियम बमोजिम गरी बुझाई दिनु .. १
उक्त रायमा हामीहरु समहमत छौं ।
न्या. हरगोविन्दसिंह प्रधान,
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल साउन ३१ गते रोज ३ शुभम ।