निर्णय नं. २९२९ – अंश
निर्णय नं. २९२९ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव...
निर्णय नं. २९२९ ने.का.प. २०४३ अङ्क १२
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको दे.फु.नं. ४३
फैसला भएको मिति : २०४०।११।१६।३ मा
निवेदक/वादी : का.जि.गोकर्ण सिखारेटार बस्ने शिवप्रसाद तिवारी
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.गोकर्ण बागदह बस्ने भवनाथ तिवारी
मुद्दा : अंश
(१) प्रतिवादी जिकिर अनुसार अघि नै अंशबण्डा भइसकेको र वादीले आफ्नो अंश पाइसकेको भन्ने कुनै कानुनले मान्य हुनसक्ने प्रमाण पेश गर्नसकेको देखिन आउँदैन । वादी प्रतिवादी दुबै पक्षबाट पेश गरेको तायदातीमा तीन अंशियार मध्येको एक अंशियार भाउजू निमकुमारीको परलोक भइसकेको भन्ने उल्लेख गरेको पाइन्छ । अतः दुबै पक्षबाट आफ्ना आफ्ना जिम्माको श्रीसम्पत्तिको ऐन बमोजिम तायदाती दाखिल गराउने आदेश गरी प्रतिवादीले पेश दाखिल गरेको तायदातीबाट देखिन आएको समेतको सम्पत्तिबाट वादीले २ अंशको १ अंश पाउने ठहर्याई यस अदालतको डिभिजनबेञ्चबाट भएको फैसला मनासिब ठहर्ने ।
(प्रकरण नं. १३)
फैसला
प्र.न्या.नयनबहादुर खत्री : यस अदालतको डिभिजनबेञ्चबाट ०३४।६।३।२ मा भएको फैसला उपर वादीको श्री ५ महाराजाधिराज सरकारका हजूरमा बिन्तिपत्र पर्दा फुलबेञ्चबाट दोहोर्याई हेरी दिनु भन्ने हु.प्र. बक्स भई आएबमोजिम यस फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. बाबु भैरव दासको ३ छोरामा जेठो नीरकुमारीको लोग्ने वाहाँ परलोक हुनु भो माइलो भवनाथ तिवारी र कान्छो म हुँ । मलाई केही जग्गासम्म कमाई जीविकासम्म दिएका छन् र ०१५ साल मार्ग ४ गतेमा मलाई मानो छुट्याई दिई भिन्न बसेको अरु सम्पत्ति समेत सगोलको अंशबण्डा नभएको जग्गा मेरो मञ्जूरी बेगर बिक्री गरे भन्ने सुनेको छु र सगोलको आसामी पनि उठाए भन्ने सुनेको छु त्यसो हुँदा ३ अंशको १ अंश दिलाई पाउँ भन्ने समेत वादीको निवेदन र बयान ।
३. खेतवारी जम्मा रोपनी ३२ र घर २ भएको १५ साल आषाढ मसान्तमा बण्डा गर्दा वादीको भागमा खेतवारी गरी १०।। रोपनी घर समेत अंश दिएको र हाम्रो भागमा खेत बारी २१। रोपनी र कच्ची घर समेत लिई बण्डा गरी सकेको छ । आफ्नो जग्गाको तिरो निजले र हाम्रा जग्गाको हामीले तिरेका छौं खेत रोपनी १ विवाह गरी दिएको छोरी दण्ड कुमारीलाई र ११ रोपनी र हलचोक बारी ३।। रोपनी हाम्रो अंशको काजीबाबु ढकाललाई बिक्री गरेको छ, सगोल छँदै हदम्याद नाघेको आसामी हुँदा पक्रन नसकी, म्याद गएको हो अरु केही बण्डा गर्नु पर्ने बाँकी छैन भन्ने समेत भवनाथको प्रतिवादी ।
४. अघि नै बण्डा पत्र भइसकेको छ भन्ने कुरा दुबै थरको साक्षीले बकपत्र गरेको र वादीको नाउँमा जग्गा दर्ता छ छैन भनी बुझेकोमा दाजु भवनाथको दर्ता निजबाट अंश लिई मेरो हक भएको भनी जग्गा कित्ता ८ वादीका नाउँमा नापी दर्ता भएको भन्ने पनि देखिन आयो र प्रतिवादीहरूले आफ्नो भागमा परेको भनेको जग्गा तह तह बिक्री गरेकोमा वादी सगोल भएर सगोलको जग्गा प्रतिवादीहरुले बिक्री गरेको भए बिक्री बदर गराउनै पर्ने सो समेत नसकेकोले अघि नै बण्डा भइसकेको ठहर्छ बण्डा छुट्याई पाउँ भनी वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको ०२४।९।१०।२ को फैसला ।
५. काठमाडौं जिल्लाको फैसलामा चित्त बुझेन भन्ने समेत शिवप्रसादको पुनरावेदन ।
६. अशं बण्डा हुनाले जम्मै अंश भाग पाउँ भन्ने वादी भए पनि मिसिलसाथ रहेको फिल्डबूक उतारबाट केही जग्गाहरू दाजु भवनाथको दर्ता छ अंश दिई मेरो हक भएको हो भनी वादी आफैं सर्वे डोरमा उपस्थित भई लेखाएको देखिएको हुनाले जिविकाको लागि मात्र केही जग्गा दिए लिएको र अरु अबण्डा छ भन्ने कुराको सबूद केही नआएकोले अचल सम्पत्ति जग्गा जमीनका हकमा अंश बाँकी छ भन्ने वादीको दावी पुग्न सक्दैन, इन्साफ शुरुको मनासिब छ चल सम्पत्तिका हकमा तायदाती लिई जो बुझ्नु पर्ने बुझी ठहरे बमोजिम किनारा गर्नु होला भनी दुवै पक्षलाई तारेख तोकी मिसिल शुरु काठमाडौं जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत बागमती अञ्चल अदालतको ०२९।३।२७।२ को फैसला ।
७. बागमती अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भनी वादी शिवप्रसादको सर्वोच्च अदालतमा परेको पुनरावेदन न्यायप्रशासन सुधार अध्यादेश ०३० अनुसार मध्यमाञ्चल क्षेत्रीय अदालतमा सरी गएको रहेछ ।
८. जग्गा दाजु भवनाथको दर्ता छ निजबाट अंश दिई मेरो हक भएको भनी वादी पुनरावेदकले सर्भे डोरमा लेखाएको फिल्डबूक उतारबाट देखिँदा सो जग्गाहरू जीविका तर्फको जग्गा सम्म हो भन्ने पुनरावेदनको भनाई नमिल्ने र जुन कुरा वादीले पाउँ भनी दावी लिइएको छ सो नै पाइसकेको भनी वादी आफैंले सर्भे डोरमा लेखाएको देखिँदा वादी दावी बमोजिम दिलाई दिइरहन नपर्ने र साविक मुलुकी ऐन, अंशबण्डाको महलको १५ नं.बमोजिमको यो उजूर समेत नदेखिँदा बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३१।१।१९।५ को फैसला ।
९. अचल जग्गा जमीनमा निरअशी चलमा मात्र अंशियार बनाएकोबाट पनि सार्वजनिक महत्वको गम्भीर प्रत्यक्षतः कानुनी त्रुटि गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा चित्त बुझेन सर्वोच्च अदालतबाट इन्साफ जाँच गरी पाउँ भनी शिवप्रसादले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको निवेदनमा सर्वोच्च अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई आएबमोजिम विविधको लगतमा दर्ता गरी स.अ.डिभिजनबेञ्चमा पेश गर्नु भन्ने समेत स.अ.डिभिजनबेञ्चको ०३३।४।१८।२ को आदेश ।
१०. अंश दिलाई पाउँ भन्ने वादी भएको र २०१५ सालमा अंशबण्डा भएको भन्ने प्रतिवादी भएको देखिन्छ । यस्तोमा रीतपूर्वक बण्डा भएको अभावमा अचल सम्पत्तिमा अंश छुट््याउन नपर्ने भनी म.क्षे.अ.ले निर्णय गरेको मिलेको नदेखिएकोले प्रतिवादीलाई अ.वं.२०२ नं. र स.अ.नियमावली बमोजिम छलफलमा झिकाई नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत डिभिजनबेञ्चको ०३३।९।९।५ को आदेश ।
११. २०१९ साल पौष ८ गतेका अघिल्ला दिनसम्म अंशबण्डा गर्नु पर्ने आफ्ना आफ्ना जिम्माको श्रीसम्पत्तिको ऐन बमोजिमको तायदाती दाखिल गर्नु भनी दुवै पक्षलाई तारेख तोकी कानुनको रीत पुगेको तायदाती दाखेल गराई नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत ०३४।१।२३।५ को डिभिजनबेञ्चको आदेश ।
१२. यसमा वादी प्रतिवादीहरू अंशियार भएकोमा विवाद छैन । निजहरूका बीच अंशबण्डा भएको बण्डापत्र देखिन नआएको हुनाले अंशबण्डा भइसकेको भन्न मुलुकी ऐन, अंशबण्डाको साविक ४९ नम्बर र हालको ३० नम्बरले भएन । वादीले अंशबण्डा छुट्याई पाउने देखियो । बण्डा छुट्याई दिनु नपर्ने भनी क्षेत्रीय अदालतले फैसला गरेको मिलेन । वादी बयान भएको मितिले मानो छुटिएको कायम गरी प्रतिवादीबाट पेश दाखेल हुनआएको मिति ०३४।४।३।२ को तायदातीको मोल बिगो रु.४,१००।– को वादी प्रतिवादी २ दुई अंशियार हुँदा त्यसको आधा रु.२,०५०।– बिगोको सम्पत्ति वादीले प्रतिवादी भवनाथ तिवारीबाट अंश छुट्याई पाउने ठहर्छ भन्ने ०३४।६।३।२ को डिभिजनबेञ्चको फैसला ।
१३. उक्त फैसला फुलबेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्स भई आएबमोजिम यस फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको छ । निवेदक वादीलाई रोहवरमा राखी छलफल गरी यसमा इन्साफतर्फ विचार गर्दा डिभिजनबेञ्चबाट गरेको फैसला मनासिब बेमनासिब के रहेछ निर्णय गर्नु परेको छ । प्रस्तुत मुद्दामा ३ अंशको १ अंश दिलाई पाउँ भन्ने वादी दावी भएको र ०१५ साल आषाढमा नै अंशबण्डा भई वादीले आफ्नो अंश लिइसकेको छ भन्ने प्रतिउत्तर जिकिर भएको देखिन्छ । वादी र प्रतिवादी अंशियार भएको कुरामा विवाद देखिँदैन । तर प्रतिवादी जिकिर अनुसार अघि नै अंशबण्डा भई सकेको र वादीले आफ्नो अंशबण्डा भइसकेको र वादीले आफ्नो अंश पाइसकेको भन्ने कुनै कानुनले मान्य हुनसक्ने प्रमाण पेश गर्नसकेको देखिन आउँदैन । वादी प्रतिवादी दुबै पक्षबाट पेश गरेको तायदातीमा तीन अंशियार मध्येको एक अंशियार भाउजू निमकुमारीको परलोक भइसकेको भन्ने उल्लेख गरेको पाइन्छ । अतः दुबै पक्षबाट आफ्ना आफ्ना जिम्माको श्रीसम्पत्तिको ऐन बमोजिम तायदाती दाखिल गराउने आदेश गरी प्रतिवादीले पेश दाखिल गरेको तायदातीबाट देखिन आएको समेतको सम्पत्तिबाट वादीले २ अंशको १ अंश पाउने ठहर्याई यस अदालतको डिभिजनबेञ्चबाट ०३४।६।३।२ मा भएको फैसला मनासिब ठहर्छ । निवेदकबाट कोर्टफी दाखिल भइसकेकोले केही गर्नु परेन । मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या. बब्बरप्रसाद सिंह,
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल फाल्गुण १६ गते रोज ३ शुभम् ।