निर्णय नं. २८९२ – उत्प्रेषण
निर्णय नं. २८९२ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट नम्बर...
निर्णय नं. २८९२ ने.का.प. २०४३ अङ्क १०
संयुक्तइजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको रिट नम्बर १४७९
आदेश भएको मिति : २०४३।१०।१६।६ मा
निवेदक : जि.मोरङ् गा.पं.कटहरी वार्ड नं. २ बस्ने बेदोलाल माझी थारु
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने दुखाई माझी थारुसमेत
विषय : उत्प्रेषण
(१) असर पर्ने पक्षलाई नै भन्ने मौका नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत इन्साफ गर्न नमिल्ने ।
(प्रकरण नं. १३)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश राउत विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
आदेश
न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति २०४२।४।३०।४ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।
२. जग्गाधनी धनुक माझीका नाउँमा दर्ता रहेको कटरी गा.पं.वार्ड नं. २(क) कि.नं.३६ को ज.वि ०–४–१० सुखाई माझीका नाउँमा दर्ता रहेको ऐ.वार्ड नं. २(ख) कि.नं.३ ज.वि.०–१७–१२½ र दुखाई माझीको नाउँमा दर्ता रहेको ऐ.वार्ड नं. २(क) कि.नं.४८ को ज.वि.०–९–११ समेतको म मोही भई कूत बुझाई आएको छु । सर्भे नापी हुँदाका अवस्थामा जग्गाधनी दुःखाई माझीका नाउँमा नापी कायम भएको कि.नं.४८ को क्षेत्रीय किताबको मोही महलमा भूलबाट सोझीको नाउँ जनिएको भए तापनि सो मैले नै मोहीको हैसियतले कमाई आएको हुँदा सो जग्गा समेतको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी गा.पं.को मोहियानी हकको प्रमाणपत्र पाउँ भनी गा.पं.को सिफारिश साथ भू.सु.का.मोरङ्मा निवेदन गरेको थिएँ ।
३. उक्त कि.नं.४८ को जग्गामा मोही सोझीलाल माझी भएको साथै कि.नं.४६ र १७२ समेतको उनी नै दर्तावाला मोही हुन् यी निवेदक मोही नभएको हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर परेको रहेछ ।
४. कि.नं.४८ को दर्तावाला मोही सोझीलाल माझीको बुझ्दा उक्त कित्ता क्षेत्रीय किताबमा भूलबाट मेरो नाममा मोही लेखिन गएको हो सो जग्गा मेरो भाइ बेदीलाल माझीले नै जोत आवाद गर्दै आएका र निजकै मोहियानी हकको हो मेरो नाउँ मोही महलबाट कट्टा गरी बेदीलालका नाउँमा नै कायम गरी दिए मलाई कुनै आपत्ति हुने छैन भन्ने सोझीलालले मिति ०४२।३।९ मा गरेको बयान । कि.नं.३६ कि.नं.३ र कि.नं.४८ को जग्गा १८ वर्ष देखि देवीलाल माझीले नै जोत आवाद गरी आएको भन्ने मिति ०४२।३।१५ को सरजमीन मुचुल्का भएको रहेछ ।
५. वादी दावी मध्ये कि.नं.४८ समेतको जग्गा सोझिलाल माझीले भू.सु.लागू हुँदा १ नं.लगत भरी अनुसूची २ प्रकाशित भई ४ नं.जो.अ.नि. प्राप्त गरी उक्त जग्गाको किसान महलमा निजले सहिछाप गरेको क्षेत्रीय किताब उतारबाट देखिन आउँछ । साथै मोहियानी प्रमाणपत्र समेत निजले नै प्राप्त गरी सकेको देखिन्छ । अतः फिल्डबूकमा गल्तिले मेरो नाउँ लेखिएको हो उक्त जग्गा बेदिलालले नै जोती कमाई आएको भनी बयान गरेको र सरजमीन समेतबाट पनि निजले नै जोती कमाई आएको पुष्टि भए तापनि ज.ध.ले स्वीकार गरेको नदेखिँदा र मोही र लगत कायम रहेसम्म एउटै कित्ता जग्गामा दाज्यू भाइ दुवै जनाको मोही लगत कायम हुन नसक्ने हुँदा कि.नं.४८ को जग्गा वादी दावीमा पुग्न सक्दैन भन्ने भू.सु.का.मोरङबाट मिति ०४२।३।२८ मा निर्णय भयो ।
६. भूमिसुधार लागू हुँदाका बखत १ नं.मोही लगत भराई २ नं.प्रकाशित हुँदा उजूर नपरी ४ नं.जो.अ.नि. प्राप्त गरी सकेपछि भू.सु.ऐन बमोजिम हक प्राप्त मोही हुन्छ । यस्तो अवस्थामा नापी हुँदा क्षेत्रीय किताबमा मोहीको नाम लेखाउन छुट भए पनि मोहियानी हुन समाप्त हुनसक्ने होइन । सरजमीन समेतबाट मैले १८ वर्ष देखि यो जग्गा कमाई आएको पुष्टि भएको छ । यसरी आफ्नो कार्यालयमा भएको १ नं.२ नं.अनुसूची रेकर्ड नहेरी नभिडाई मेरो मोहियानी हकमा आघात पार्ने गरी भएको निर्णयमा भू.सु.ऐन, २०२१ को दफा २५(१) प्रमाण ऐनको दफा ५४ र अ.बं.१८४(क) १८५ समेतको प्रतिकूल भएको हुँदा उक्त निर्णय बदर गरी परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ ।
७. विपक्षीहरूबाट लिखितजवाफ झिकाई गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४२।५।६।७ को आदेशले प्राप्त हुनआएको लिखितजवाफ यसप्रकार रहेछ ।
८. विवादीत कि.नं.४८ को जग्गामा सोझिलाल माझीले भू.सु.लागू हुँदा १ नं.लगत भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि. प्राप्त गरेको र क्षेत्रीय किताब उतारबाट पनि किसान महलमा निज सोझिलालको नाउँ नै देखिएको र निजले ३ नं. मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको कार्यालयको रेकर्डबाट देखिन्छ । जग्गा नाप जाँच हुँदा पनि कि.नं.३६ र ३ मा मात्र किसान महलमा सहिछाप गरेको र बाँकी कि.नं.४८ मा सहिछाप गरेको देखिँदैन । जग्गाधनीलाई कूत बुझाएको रसीद भर्पाईमा पनि सोझिलालले नै कूत बुझाएको देखिन्छ । अतः कि.नं.४८ को हकमा निवेदकको मोहियानी दावी पुग्न नसक्ने र कि.नं.३६ र ३ को हदसम्म मात्र मोहियानी हकको प्रमाणपत्र पाउने गरी यस कार्यालयबाट मिति ०४२।३।२८ मा भएको निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने विपक्षी भू.सु.का.मोरङ्को लिखितजवाफ रहेछ ।
९. कि.नं.४८ को मोही सोफिलाल माझी नै भएको कुरा निज सोफिलालले नै भरेको १ नं.लगत र सो आधारमा प्राप्त गरेको ४ नं.अनुसूची अनि फिल्डबूकमा समेत सोफिलाल नै भएको देखिँदा यी सबै सबूद प्रमाण समेतका आधारमा यी रिट निवेदक बेदोलाल माझी नभई सोफिलाल नै मोही देखिएको हुँदा सोही बमोजिम भू.सु.का.मोरङ्बाट फैसला भएको हो । अतः भू.सु.का.मोरङ्को फैसलामा कुनै कानुनी त्रुटि पाउँ भन्ने दुःखिया माझी थारुका लिखितजवाफ रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले र विपक्षी दुःखाई माझीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश राउतले र विपक्षी भू.सु.का.मोरङ्का तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस समेत सुनियो ।
११. विवादीत कि.नं.४८ को १ नं.लगत भराई २ नं.प्रकाशित हुँदा उजूर नपरी ४ नं.जो.अ.नि. प्राप्त गरी सकेको साथै सरजमीन समेतले मैले १८ वर्ष देखि अविरल भोग गर्दै आएको भनी लेखाई दिएको समेत सबूद प्रमाण हुँदाहुँदै पनि विपक्षी भू.सु.का.मोरङ्ले मेरो नाउँमा मोहियानी हक नै नहुने भनी गरी गरेको मिति ०४२।३।२८ को निर्णयमा भू.सं.ऐनको दफा २५(१) अ.बं.१८४।१८५ समेतको त्रुटि हुँदा उक्त निर्णय बदर गरी पुन निर्णयार्थ परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर भएकोमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१२. यसमा भू.सु.का.मोरङ्को निर्णय हेर्दा विवादीत कि.नं.४८ को जग्गामा सोफिलाल माझीले भू.सु.लागू हुँदा १ नं.लगत भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि. प्राप्त गरी मोहियानी प्रमाणपत्र समेत प्राप्त गरी सकेको साथै फिल्डबूकमा किसान महलमा पनि सोफिलाल नै उल्लेख भएबाट दर्तावाला मोही सोफिलाल नै देखिन आयो भन्ने निर्णयमा उल्लेख भएको समेतबाट निज सोफिलालको उक्त विवादीत कि.नं.४८ मा मोहियानी हक रहे भएको कुरा देखिन आयो ।
१३. यसरी विवादीत जग्गाका तत्काल हक प्राप्त मोही देखिएका सोफिलाललाई समेत पक्ष बनाई निवेदन दिनु पर्नेमा यी रिट निवेदकले निज सोफिलाललाई पक्ष बनाएको नदेखिएको हुँदा असर पर्ने पक्षलाई नै भन्ने मौका नदिई प्राकृतिक न्याय सिद्धान्तको विपरीत इन्साफ गर्न नमिल्ने हुँदा यी निवेदकलाई रिट क्षेत्रबाट मद्दत गर्न मिलेन तसर्थ रिट निवेदन निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल माघ १६ गते रोज ६ शुभम् ।