निर्णय नं. २८७९ – उत्प्रेषण
निर्णय नं. २८७९ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रिट नं. २२२९...
निर्णय नं. २८७९ ने.का.प. २०४३ अङ्क १०
संयुक्तइजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४२ सालको रिट नं. २२२९
आदेश भएको मिति : २०४३।१०।१।५ मा
निवेदक : का.न.पं.वार्ड नं. ३३ ज्ञानेश्वर बस्ने पुष्पकुमारीको मु.स. गर्ने ऐ.ऐ.बस्ने मन भण्डारी
विरुद्ध
विपक्षी : महांकाल गा.पं.वार्ड नं. ८ मंडीखा बस्ने बलरामप्रसाद सापकोटासमेत
विषय : उत्प्रेषण
(१) पञ्चायतबाट कबूलियत आउन नसकेकोबाट कानुन बमोजिमको कबूलियत भएको भन्ने देखिन आएन । भू.सं.ऐन, २०२१ प्रारम्भ भएपछि मोही हुनलाई भू.सं.ऐन, २०२१ को दफा ३४ को प्रकृया अपनाई जग्गा बाली र मोहीको बीच दोहरी कबूलियत भई एकप्रति पञ्चायतमा दाखिल भएपछि मात्र कानुन बमोजिम मोही मान्न मिल्ने, त्यसको अभावमा भर्पाईको आधारमा मात्र मोही कायम गर्न नमिल्ने ।
(प्रकरण नं. १६)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
आदेश
न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ ।
२. का.जि.चपली भद्रकाली गा.पं.वडा नं.९(ग) को कि.नं.६ बाट कित्ताकाट हुँदा कायम भएको कि.नं.४८० को क्षेत्रफल ०–१४–० र कि.नं.४८१ को क्षेत्रफल ०–१४–० जग्गाको हाल ज.ध.पुष्पकुमारी बस्नेत र रामबहादुर बस्नेत भएकोमा साविक कि.नं.६ मा दुवै जनाको हक कायम भएको अवस्थामा ०२४।१०।२४ मा म निवेदकलाई कबूलियत गरी जग्गा जोती आएको हुँदा जोताहाको हक प्रमाणपत्र पाउँ भन्ने समेत व्यहोराको निवेदन विपक्षी मध्येका रामप्रसादले भू.सु.का.मा दिएकोमा विपक्षी भू.सु.का.ले जोताहा कायम गरी टिप्पणी सदर गरेकोमा सर्वोच्च अदालतमा मेरो निवेदन पर्दा सर्वोच्च अदालतबाट ०४१।९।१६ गते उक्त निर्णय बदर गरी परमादेश जारी भएको थियो । पुनः भु.सु.का ले मलाई कागज गराउँदा मैले भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि हाम्रो पिता पूर्खाका नाममा कायम भएको जोतपोतको उक्त जमीनको ज.ध.प्र.पू. मा साविकमा मेरो बाजे पृथ्वीबहादुरका नाउँमा जग्गाधनी र मेरा पिता कृष्णबहादुरको नाउँमा जोताहा थियो र बाजे स्वर्गे भइसकेपछि मेरो जेठा बाबु र आमा हाम्रो पुर्खाको जमीन सम्झी नामसारी गरी पाउँ भनी महांकाल गा.पं.का.मा निवेदन दिएकोमा ०३२।५।१४ मा उक्त गा.पं.बाट उक्त जमीनको नामसारी दर्ता गराई दिनु हुन सिफारिश दिएकोमा उक्त विवादीत साविक कित्ता वडा नं.९(ग) कि.नं.६ मा क्षेत्रफल १–१२–० उल्लेख गरी जोताहामा कृष्णबहादुर बस्नेत भन्ने प्रष्ट हुन्छ तसर्थ विपक्षीले पेश गरेको पञ्चायतको सिफारिश दुषित भावनाले खडा भएको प्रष्ट छ । विपक्षीले भर्पाई भनी पेश गरेको लिखत कीर्ते हो भनी बयान गरेको छु । उक्त जोताहा मुद्दाका सम्बन्धमा मेरो अंश मुद्दा परी झगडा परेको झगडिया आमाको भतीजा रामबहादुरले भनेका खडा गरेका लिखतबाट मेरो विरुद्धमा कुनै प्रमाण नलाग्ने प्रष्ट छ । विपक्षीले पेश गरेको कबूलियत भू.सं.ऐन, २०२१ को दफा ३४ बमोजिम रीत पुगेको छ भनी भन्न नसकेको र २०३९।४।१० समेतका हालका लालपूर्जामा र पुरानो ज.ध.प्र.पू. आदिमा जोताहा विपक्षीको नाम उल्लेख नभएको मेरो आमा र मैले समेत कुनै प्रकारको लिखत गरी हक नछोडेको हुँदा भू.सं.ऐन, २०२१ लागू भएपछि कबूलियत हुनुपर्ने र सो को दोहोरी पञ्चायतमा हुनुपर्ने भन्ने समेतको कानुनी व्यवस्था र सर्वोच्च अदालतबाट पनि सिद्धान्त अपनाई आएको र मिति २०३२।५।१४ मा पञ्चायतले जोतपोत हाम्रो पक्षमा राखेकोमा हाल पञ्चायतलाई हात लिई गरेको उजूरी गलत हुँदा त्यस्तो उजूरी खारेज गरी मेरो जोतपोतको जग्गा मेरै नाउँमा कायम गरी पाउँ भन्ने समेत व्यहोराको बयान गरेकोमा भू.सु.का.काठमाडौंले साविक वडा नं.९(ग) कि.नं.६ को पुण्यकुमारी र रामबहादुरको संयुक्त कबूलियत भएको पछि सो कित्ताकाट हुँदा ४८० र ४८१ भएको २०२५ सालदेखि ०३८ सालसम्म सगोलमै बाली बुझी लिएको पुण्यकुमारीले कबूलियत कीर्ते सम्म भनेको तर यसबारे अदालत गएको नदेखिएको हुँदा कबूलियत र बाली बुझी लिएको भर्पाईको आधारमा विपक्षी बलराम सापकोटालाई मोही कायम गरी दिने गरी ०४२।११।९ मा निर्णय पर्चा गरेको थियो सो पर्चा निम्न किसिमबाट गैरकानुनी र आफ्नो अधिकारको अतिक्रमण गरेको प्रष्ट छ ।
३. लिखत कीर्ते भनी बयान गरेपछि सद्दे कीर्तेमा निर्णय ठहर नगरी विवादको लिखत प्रमाणमा आउन सक्दैन । भू.सु.ऐनले तोकेको प्रकृया पुरा नगरी मोहियानी हक प्राप्त हुन नसक्ने भनी ने.का.प. २०४० को निर्णय नं. १७१० पृष्ठ संख्या ४०८ मा प्रकाशित भएकोमा उक्त निर्णय पर्चा सो को विरुद्धमा भएको लिखत कीर्ते भनी भनेपछि प्रमाण ऐन, २०३१ बमोजिम विशेषज्ञको राय लिनु पर्नेमा सो नगरी सोझै प्रमाण लिइएको कबूलियत बिना मोही कायम नहुने कुरामा सर्वोच्च अदालतबाट सिद्धान्त पनि प्रतिपादन भएको अंश मुद्दा परी अंश पाउने गरी २०३८।११।४ मा फैसला भएको छ भन्ने त्यस्ता झगडियाले गरेको भर्पाईलाई लिई सगोलमा भएको भनी भन्नु गलत प्रमाण नलाग्ने कुरा पहिले नापीको समयमा फिल्डबूकमा र जग्गाधनी प्रमाण पूर्जामा समेत मोही लेखाउन नसकेको र त्यसपछि ०३९।२।२७ को निवेदनमा कारवाही भई ०३९।३।२८ को निर्णय बमोजिम कित्ताकाट हुँदासम्म पनि जोताहाको महलमा साविक जोताहा कृष्णबहादुर भएकोमा आफैं भनी मेरी आमा पुष्पकुमारीको नाउँमा जोताहा लेखिएको श्रेस्ताबाट प्रमाणित भएको र सोही बमोजिम जग्गाधनी प्रमाणपत्र समेत पाउनुका साथै ०३२।५।१४ मा महांकाल गा.पं.का.ले सिफारिश गर्दा पनि जोताहा कृष्णबहादुर प्रमाणित गरेको हुँदा भू.सु.का.ले निर्णय पर्चा गर्दा प्रमाणको मूल्याङ्कन नगरेको प्रष्ट छ । भूमिसम्बन्धी ऐन, २०३१ को दफा ३४ बमोजिम कबूलियत हुनुपर्ने र सो कबूलियतमा दुवैको सहिछाप हुनुपर्ने र साथै त्यस्तो कबूलियतको १ प्रति स्थानीय पञ्चायतमा दाखिल हुनुपर्ने बाध्यात्मक व्यवस्था भएकोमा सो बमोजिम रीत नपुगेको र त्यसमा पनि सहिछाप कीर्ते भनेकोमा सो कुराको विचारै नगरी सगोलमा बाली बुझेको भनी झगडीयाले जुनसुकै अवस्थामा पनि दुबै थरी मिली खडा गर्न सक्ने रसीद प्रमाण लिँदा कबूलियत विनाको रसीद प्रमाण नहुने भन्ने समेत सर्वोच्च अदालतबाट प्रतिपादित भएको सिद्धान्तको प्रतिकूल फैसला भएको छ ।
४. उपरोक्त कारणबाट ०४२।११।९ मा भएको भू.सु.अ.को निर्णयबाट नेपालको संविधानको धरा १० धारा ११ को उपधारा २ को (ङ) र धारा १५ तथा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ प्रमाण ऐन, २०३१ को दफा ३६, ५२ र ५४ को समेत हनन् भएकोले मिति २०४२।११।९ मा विपक्षीले भूमिसुधार अधिकारीको निर्णय पर्चालाई उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ आज्ञा, आदेश वा पुर्जी समेत जारी गरी उक्त भूमिसुधार अधिकारीको निर्णय बदर गरी मेरो संवैधानिक हकको प्रचलन गराई पाउनको लागि संविधानको धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु भन्ने समेत निवेदक मन भण्डारीको निवेदन रहेछ ।
५. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत मिति ०४२।१२।३।१ को यस अदालत सिंगलबेञ्चको आदेश रहेछ ।
६. पुष्पकुमारी र रामबहादुरको संयुक्त कबूलियत भएको देखिँदा साविक कि.नं.मा भएको सो कबूलियत बमोजिम बलरामप्रसादलाई मोही कायम गरिदिने गरी मिति ०४२।११।९ मा भएको निर्णय भूमिसम्बन्धी ऐन नियम बमोजिम नै भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत भू.सु.का काठमाडौंको लिखितजवाफ रहेछ ।
७. का.जि चपली भद्रकाली गा.पं.वार्ड नं. ९(ग) को साविक कि.नं.६ को क्षेत्रफल १–१२–० जग्गाको ज.ध.विपक्षीका बाजे पृथ्वीबहादुर बस्नेत र मोहीमा विपक्षीकै बाबु कृष्णबहादुर बस्नेत कायम भई निज ज.ध. र मोहीको शेषपछि जोतपोत नै निजहरूको हक खाने विपक्षीको आमा पुष्पकुमारी र पुष्पकुमारीको भतिजा रामबहादुर बस्नेत समेत जना २ को हक भएको जग्गामा निजहरूले सोही व्यहोरा जनाई आफ्नो राजीखुशीले २०२५ सालदेखि जग्गाको किसिम अनुसार सालको धान मुरी १।३ कूत बुझाउने र उक्त जग्गामा घर बनाई बसोबास गर्नु भनी मिति २०३४।१०।२४।४ मा कूत कबूलियत समेत गरी मलाई मोही कायम गरिदिए अनुसार सोही मितिदेखि आफ्नो र परिवारको श्रमले जग्गा जोती कबूलियत बमोजिम साल सालको कूत बुझाई भर्पाई प्राप्त गर्दै आएको छु ।
८. जग्गा धनीहरूको नाममा जग्गा दर्ता भई नसकेकोले समयमै मोहीको प्रमाणपत्र पाउन सकेको थिइन । पछि ज.ध. हरू बीच अंशबण्डा हुँदा साविक कि.नं.६ बाट कित्ताकाट हुँदा चपली भद्रकाली गा.पं.वडा नं.९(ग) कि.नं.४८० को क्षे.फ. ०–१४–० पुष्पकुमारीको नाउँमा र कि.नं.४८१ को क्षे.फ. ०–१४–० रामबहादुरको नाममा कायम हुन आएपछि भू.सं.ऐन, २०२१ दफा २५(१) र दफा ३४(१) बमोजिम मोही कायम गरी मोहियानी हकको प्रमाणपत्र पाउन मिति ०४०।२।२६ मा भू.सु.का.का.मा निवेदन दिएको थिएँ । सरजमीन पञ्चायतको सिफारिश कबूलियत र भर्पाईको आधारमा टिप्पणी सदर गरी मोही कायम गर्ने गरी भएको मिति ०४०।१०।२५ निर्णय उपर विपक्षीको रिट निवेदन परी टिप्पणी सदर गरेको न्यायिक मनको अभाव रहेकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने र पुनः कानुन बमोजिम निर्णयको लागि परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने स.अ.को ०४१।९।१६ को आदेशानुसार भूमिसुधार कार्यालयबाट सम्पूर्ण सबूद प्रमाणको मूल्याङ्कन गरी मोही कायम गर्ने मिति २०४२।११।९ मा निर्णय भएको छ ।
९. विपक्षीको आमा पुष्पकुमारी र निजको भतिजा रामबहादुर सगोलमै रहेको अवस्था कबूलियत बमोजिम ०२५ सालदेखि ०३८ सालसम्म साल सालको कूतबाली भतिजा रामबहादुरले बुझी लिएको र अंशबण्डा भएपछि रामबहादुरले मोही स्वीकार गरी हालसम्म कूत बाली बुझी लिएको र पुष्पकुमारीले कूतबाली बुझी नलिएकोले ०२९।४०।४१ र ४२ सालको कूतबाली स्थानीय पञ्चायतमा धरौटी राखी रसीद प्राप्त गरेको छु कानुन बमोजिम कबूलियत र भर्पाईको आधारमा विविध प्राप्त भएको मेरो मोहियानी हक कानुन अनुकूल भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ ।
१०. रिट निवेदक मन भण्डारीले ०४२।१०।८ मा भू.सु.का.मा बयान गर्दा आमा पुष्पकुमारीको अपुताली परेको तर नामसारी गरेको छैन भनी बयान गरेको र पुष्पकुमारीको आर्को हक खाने छोरा बाबु कुँवर पनि भएको निजले ०४२।८।३० मा भू.सु.का.मा गरेको बयानबाट प्रष्ट हुन्छ मृतक पुष्पकुमारीको हक कसले पाउने भन्ने तय नभई विपक्षी रिट निवेदक मन भण्डारीले मात्र प्रस्तुत जग्गाको विषयमा रिट निवेदन दर्ता गर्न पाउने हकदैया छैन प्रस्तुत रिट निवेदनहरू कै प्रारम्भिक प्रश्नले खारेजभागी छ भन्ने समेत बलरामप्रसाद सापकोटाको लिखितजवाफ ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत निवेदनमा तारेखमा रहेका निवेदक मन भण्डारी र प्रत्यर्थी बलरामप्रसाद समेतलाई रोहवरमा राखी निवेदकतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त र प्रत्यर्थी कार्यालय तर्फबाट उपस्थित हुनुभएको विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह र विपक्षी बलरामप्रसादको तर्फबाट विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने समेतले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१२. प्रस्तुत विषयमा निवेदकका माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने विषयमा नै निर्णय दिनु पर्ने हुनआएको छ ।
१३. भू.सं.ऐन, २०२१ लागू भएपछि मोहियानी हक प्राप्त गर्नलाई जग्गाधनी र मोहीको बीच दोहरी कबूलियत हुनुपर्ने कानुनी व्यवस्था भएको र पुष्पकुमारी र मनकुमारी समेतले कुनै प्रकारको कागज गरी नदिएको र विपक्षीले कबूलियत भनेकोलाई कीर्ते भनी बयान गरेकोमा सो कुराको समेत विचारै नगरी सगोलमा रामबहादुरले बाली बुझी गरिदिएको रसीदलाई आधार लिई भएको भू.सु.का.काठमाडौंको मिति ०४२।११।९ का निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को प्रतिकूल भएकोले बदर रहनु पर्ने भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ ।
१४. पुष्पकुमारी र रामबहादुरको सगोलको हक हुँदाकै अवस्था कबूलियत गरी दिएको र प्रत्यर्थीलाई ०३८ सालसम्म बाली बुझी रामबहादुरले भर्पाई गरी दिएको साथै कबूलियत पञ्चायतमा दाखेल गर्ने कर्तव्य जग्गावालाको हुँदा उक्त कर्तव्य पूरा नगरेमा मोहीको हकमा असर पर्ने नहुँदा कबूलियत र कूतबाली बुझाएको रसीद समेतबाट विपक्ष बलरामको कानुन बोजिमको स्थापित मोहियानी कायम हुने गरी भएको निर्णय कानुनसंगत नै भएकोले भू.सु.का.को निर्णय कायम हुनुपर्ने भन्ने समेत प्रत्यर्थीहरूको लिखितजवाफ भएको पाइन्छ ।
१५. यसमा निर्णयतर्फ विचार गर्दा पुष्पकुमारीको अर्का छोरी बाबु कुवँर भएकोबाट मनकुमारीलाई रिट निवेदन गर्ने निर्विवाद हक छैन भन्न प्रत्यर्थीले जिकिर लिनुभएको हकमा मनकुमारीले विवादीत जग्गाको लालपूर्जा पाएको त्यसको नक्कल पेश गरेको देखिन्छ । मनकुमारी पुष्पकुमारीको छोरी भन्ने प्रत्यर्थी बलरामप्रसाद सापकोटाकै लिखितजवाफबाट स्वीकारेको देखिँदा मनकुमारीलाई उजूर गर्ने हकदैया छैन भन्न मिलेन ।
१६. प्रत्यर्थी बलरामप्रसाद सापकोटाले २०२४ सालमा कबूलियत गरी २०२५ सालदेखि कमाएको भन्ने जिकिर लिएकोमा भू.सु.का.बाट सम्बन्धित गा.पं.बुझ्दा २०२५ सालमा पचली भद्रकाली गा.पं.बाट महाँकाल गा.पं.छुट्टिएको हुँदा सो कागज पञ्चायतमा भए नभएको थाहा नभएको भन्ने जवाफ दिएको देखिन्छ । सो जवाफबाट पञ्चायतमा कबूलियत दाखिल भएको रहेछ भन्ने कुरा देखिन आउँदैन । पञ्चायतबाट कबूलियत आउन नसकेकोबाट कानुन बमोजिम कबूलियत भएको भन्ने देखिन आएन । भू.सं.ऐन, २०२१ प्रारम्भ भएपछि मोही हुनलाई भू.सं.ऐन, २०२१ को दफा ३४ को प्रकृया अपनाई जग्गा बाली र मोहीको बीच दोहोरी कबूलियत भई एकप्रति पञ्चायतमा दाखिल भएपछि मात्र कानुन बमोजिम मोही मान्न मिल्ने । त्यसको अभावमा भर्पाईको आधारमा मात्र मोही कायम गर्न नमिल्ने, कबूलियत पञ्चायतबाट आउन नसकेकोले प्रत्यर्थी बलरामप्रसादलाई कानुन बमोजिम मोही मान्न मिलेन अतः भू.सु.का.काठमाडौंको २०४२।११।९ को निर्णय कानुन अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । प्रत्यर्थी कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपि साथ राखी म.न्या.का.मार्फत लेखी पठाई फायल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४३ साल माघ १ गते रोज ५ शुभम् ।