निर्णय नं. २८७२ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २८७२ ने.का.प. २०४३ अङ्क १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह...
निर्णय नं. २८७२ ने.का.प. २०४३ अङ्क १०
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको रि.फु.नं. ४३
आदेश भएको मिति : २०४३।९।१८।६ मा
निवेदक : जि.पर्सा गा.पं.भिसवा वार्ड नं. ६ बस्ने हरिहर साह कानू
विरुद्ध
विपक्षी : जि.पर्सा गा.पं.भिसवा वार्ड नं. २ बस्ने चन्द्रकान्तमणी तिवारीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) मोही छोडपत्र गरेको आधारमा लगत श्रेस्तामा मोही लगत कट्टा गर्ने सम्म बाँकी रहेको कार्यलाई उक्त छोडपत्र गरेको आधारमा विवादीत जग्गाको मोही लगत कट्टा गर्ने गरेको प्रत्यर्थीको निर्णय कानुन अनुरुप नै भई त्रुटिपूर्ण नदेखिने ।
(प्रकरण नं. १४)
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञावाली
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति ०४१।३।१८ को निर्णय उपर श्री ५ महाराजाधिराज सरकारका जुनाफमा निवेदक हरिहर साह कानुनको मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट तोक लागी आए अनुसार फूलबेञ्चको डायरी लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएकोमा मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :
२. जिल्ला पर्सा गा.पं.जयमंगलपुर वडा नं.५ को कि.नं.१०८ जग्गा विगहा १–१–० को जग्गाधनी चन्द्रकान्तमणि तिवारी हुन्, पर्सा जिल्लामा भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा पहिले देखि हालसम्म सो जग्गामा मोहियानीको हैसियतले जोत कमोद गरी साल सालै जग्गाधनीलाई कूत बुझाउँदै आएको छु । यसै बीच जग्गाको मोही हरिहर साह कानू थियो घरायसी कार्यले गर्दा जग्गा कमाउन नसकेकोले मोहीबाट छुट्कारा पाउँ भनी निजले मिति ०२३।१०।१०।२ मा जयमंगलपुर गा.पं.मा राजीनामा निवेदन दिएको र उक्त जग्गा आवाद गर्ने सम्बन्धी सो गा.पं.बाट मिति २०२३।१०।२० मा जानकारी प्राप्त गरी सोही सालदेखि म जग्गाधनी आफैंले जग्गा आवाद गर्दै आएको हुँदा मेरो जग्गाधनी प्रमाण पूर्जामा र मालपोत कार्यालय पर्सामा रहेको मोठ श्रेस्तामा समेत मोही लगत कट्टा गरी मोहीलाई निष्कासन समेत गरी पाउँ भनी चन्द्रकान्तमणि तिवारीको भू.सु.का.पर्सामा मिति ०३९।१०।९ मा निवेदन परेकोमा उक्त जग्गाको म प्रमाणित मोही हुँ । वादी दावी झुठ्ठा हो भनी मैले बयान गरेको थिएँ । यसैबीच उक्त कि.नं.र जग्गा ०३२ सालदेखि कमाई जग्गाधनीलाई बाली बुझाउँदै भर्पाई समेत लिई नसकेको हुँदा सो जग्गाको मोही प्रमाणपत्र पाउँ भनी ०३८ साल माघमा जगरनाथ महतो नुनियाको भू.सु.का.पर्सामा निवेदन परेकोमा वादी जगरनाथ महतो नुनियाको दावी बमोजिम मोही कायम गर्नु पर्ने हो वा होइन भन्ने सम्बन्धमा सो जग्गाको साविक मोही हरिहर साह कानू देखिएको र निजले यस कार्यालयमा कूत धरौट राख्दै आएकोले वादी दावी बमोजिम मोही कायम गर्न नमिल्ने भनी २०४०।२।१८ मा भू.सु.का.पर्साबाट फैसला भएको छ । विपक्षी चन्द्रकान्तमणि तिवारीले मोही निष्कासन गरी पाउँ भनी मिति ०३९।१०।९ मा भू.सु.का.पर्सामा दिनु भएकोमा प्रतिवादीले मिति २०२३।१०।१० मा मोही छोडपत्र गरेको र स्थानीय पञ्चायतले मिति २०२३।१०।२० मा मोहीको छोडपत्र स्वीकृत गरी जग्गाधनीलाई सूचना दिएको भन्ने व्यहोराको जवाफ स्थानीय गा.पं.को मिति २०४०।४।१० को पत्रबाट समेत देखिएको हुँदा प्रतिवादी हरिहर साह कानूको नाम मोही लगतबाट कट्टा गरी दिने भनी उक्त कार्यालयबाट मिति ०४०।४।१६ मा निर्णय भएको छ । भू.सु.कार्यालय पर्साको उक्त मितिको निर्णयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटि छ किनभने उक्त जग्गा जोत कमोद गरी कूत बाली बुझाई ४ नं.जोताहा अस्थायी निस्सा र ३ नं. मोहीको स्थायी प्रमाणपूर्जा पनि मिति ०३१।१।१ मा प्राप्त गरेको छु । मैले मोहीको छोडपत्र गरेको छैन । छोडपत्र गरेको भए अ.बं.७८ नं. को प्रक्रिया अपनाउनु पर्ने सो भएको छैन । यसै जग्गा सम्बन्धमा भएको मिति २०४०।२।१८ को फैसला विपरीत मिति २०४०।४।१६ मा भू.सु.का.पर्साबाट प्रस्तुत फैसला हुँदा संविधानको धारा १०(१), ११(२)(ङ) र १५ अन्तर्गतको मेरो संवैधानिक हक हनन् भएकोले संविधानको धारा ७१ अन्तर्गत निवेदन गर्न आएको छु । अतः उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी कार्यालयको उक्त फैसला बदर गरी मेरो संवैधानिक तथा कानुनी हक प्रचलन गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकको मिति २०४०।४।२५ को रिट निवेदन रहेछ ।
३. यसमा के कसो भएको हो ? विपक्षीहरूबाट १५ दिनभित्र लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको मिति २०४०।४।२७।६ को आदेश रहेछ ।
४. रिट निवेदकले उक्त जग्गाको १ नं.फाराम भरेको, २ नं.लगत प्रकाशन भएको ४ नं.जोताहा अस्थायी निस्सा पाएको र ३ नं. स्थायी प्रमाणपत्र पाएको कुरा निवेदनमा उल्लेख गरे पनि निवेदक स्वयंले स्वेच्छाले सो जग्गा कमाउन सक्तिन भनी गा.पं.जय मंगलपुरमा गई मिति २०२३।१०।१० मा छोडपत्र गरी सक्नु भएको छ । तत्कालीन भूमिसम्बन्धी ऐनले पञ्चायत मार्फत लिखित सूचना दिई मोहियानी हक छोड्न पाउने व्यवस्था छ । त्यसरी छोडपत्र गरेपछि ‘प्रमाण ऐन, २०३१’ को दफा ३४ ले निजलाई विबन्धन लाग्ने प्रष्टै छ । लगत कट्टा गर्ने काम जग्गावालाको होइन । २०२३ साल पछि पनि निजले जग्गा कमाई आएको भए म जग्गावालालाई कूत बाली बुझाएको भर्पाई हुनुपर्ने सो छ भनी भन्न वा प्रमाण पेश गर्न निवेदकले सकेका छैनन् । अतः अधिकार प्राप्त अधिकारीले कानुनको परिधिभित्र रही सबुद प्रमाणको मूल्याङ्कन गरी गरेको मिति २०४०।४।१६ को निर्णयमा कुनै कानुनी त्रुटि नभएको र सो निर्णयबाट निवेदकको निर्णयमा कुनै पनि हक हनन् समेत नभएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको चन्द्रकान्तमणि तिवारीको लिखितजवाफ ।
५. निवेदकले स्थानीय पञ्चायतलाई अधिकार भएका बखत मोहियानी छोडपत्र गरी जग्गाधनीले सूचना समेत प्राप्त गरी सकेको जग्गामा मोही लगत कट्टा हुन बाँकी रहेकै आधारमा छोडपत्र गर्ने मोहिलाई मोही कायम गर्न नमिल्ने । नयाँ मोही कायम गर्न रीतपूर्वकको कबूलियत सहित निवेदक आएको देखिँदैन । मिति २०२३।१०।१० मा स्थानीय पञ्चायतबाट नै निवेदकको मोहियानी समाप्त भइसकेको र यस कार्यालयको मिति २०४०।२।१८ र २०४०।५।१६ का फैसला कानुन अनुरुप नै हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय पर्साको लिखितजवाफ ।
६. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा भू.सु.का.को निर्णयमा प्रतिवादीले मिति २०२३।१०।१० मा मोही छोडपत्र गरेको र स्थानीय पञ्चायतले मिति २०२३।१०।२० मा मोहीको छोडपत्र स्वीकृत गरी जग्गाधनीलाई सूचना दिएको पत्र समेत देखिएको र गा.पं.को मिति २०४०।४।१० को पत्रबाट समेत प्रतिवादीले मोही छोडपत्र गरी स्वीकृत भइसकेको देखिएकोले मोही लगत कट्टा हुने भन्ने उल्लेख भएको र निवेदकको मोही हक अद्यापि कायम थियो र छोडपत्र गरेको थिएन भन्ने बाली बुझाएको भर्पाई पेश गर्न सक्नु पर्ने सो समेत केही नदेखिँदा उक्त जग्गाको निवेदक मोही हुन् भन्ने विश्वसनीय देखिन नआएकोले रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४१।३।१८ को आदेश ।
७. रिट निवेदक हरिहर साह कानू रोहवरमा रही पेश हुनआएको प्रस्तुत मुद्दामा प्रत्यर्थी चन्द्रकान्तमणी तिवारी तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले चन्द्रकान्तमणी तिवारीका नाउँको कि.नं.१०८ को जग्गामा हरिहर साह कानू पहिले मोही रहे पनि २०२३।१०।१० मा स्वेच्छाले सो जग्गा कमाउन सक्दिन भनी गा.पं.जय मंगलपुरमा गई मोहियानी छोडपत्र गरी सक्नु भएको छ । तत्कालीन भूमिसम्बन्धी ऐनले पञ्चायत मार्फत लिखित सूचना दिई मोहियानी छोड्न पाउने व्यवस्था गरेको छ । सो बमोजिम मोही हकबाट रिट निवेदकले छोडी सक्नु भएको छ । २०२३।१०।१० देखि रिट निवेदकले जग्गा कमाउनु भएको छैन । पुनः कमाएको भए कूत कबूलियत तथा बाली बुझाएको भर्पाई पेश गर्न सक्नु पर्ने सो सक्नु भएको छैन ।
८. अतः तत्काल २०२३।१०।१० मा बहाल रहेको कानुन बमोजिम मोही छोडपत्र गरेको कुरालाई मान्यता दिन कानुन बमोजिम अधिकार प्राप्त भूमिसुधार अधिकारीबाट सबूद प्रमाणको मूल्याङ्कन गरी दावी बमोजिम मोही लगत कट्टा हुने ठहराएको मिति २०४०।४।१६ को निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज गर्ने गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।३।१८ को निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
९. आज निर्णय सुनाउन तोकी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।३।१८ को निर्णय मिले नमिलेको के छ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा चन्द्रकान्तमणी तिवारीका नाउँमा दर्ताको जि.पर्सा गा.पं.जयमंगलपुर वार्ड नं. ५ को कि.नं.१०८ को ज.वि.१–१–० जग्गामा म मोही भई मोही हकको स्थायी प्रमाणपत्र समेत प्राप्त गरेको मोही हक प्राप्त जग्गाबाट विपक्षी चन्द्रकान्तमणी तिवारीको निवेदन अनुसार मोही लगत कट्टा गर्ने गरेको विपक्षी भू.सु.का.पर्साको २०४०।४।१६ को निर्णय कानुनी त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी रिट निवेदकले जिकिर लिएको पाइन्छ ।
११. मोही हरिहर साह कानूले मेरो नाउँको कि.नं.१०८ को जग्गा कमाउन सक्दिन भनी मिति २०२३।१०।१० मा स्थानीय पञ्चायत जय मंगलापुरमा गई मोही छोडपत्र गरेको र उक्त जय मंगलापुर गाउँ पञ्चायतले मिति २०२३।१०।२० मा जग्गामा आवाद गर्न जानकारी दिई जग्गा आवाद गरी आएको मोठ श्रेस्तामा मोहीको नाम यथावत रहेबाट लगत कट्टा गरी पाउँ भनी प्रत्यर्थी जग्गाधनी चन्द्रकान्तमणी त्रिपाठीले प्रत्यर्थी भू.सु.का.मा निवेदन परेकोमा प्रतिवादी हरिहर साह कानूले दावी जग्गाको मोहियानी हक स्थानीय गाउँ पञ्चायतमा गई मिति २०२३।१०।१० मा मोही छोडपत्र गरेको र स्थानीय पञ्चायतबाट मोही छोडपत्र स्वीकृत गरी २०२३।१०।२० मा जग्गाधनीलाई सूचना दिएको गा.पं.को मिति २०४०।४।१० को पत्र समेतबाट देखिएकोले वादीको दावी बमोजिम प्रतिवादी हरिहर साह कानूको नाम मोही लगतमा कट्टा गरी दिने भनी प्रत्यर्थी भू.सु.का.पर्साबाट मिति २०४०।४।१६ मा निर्णय गरेको देखिन्छ ।
१२. मोही हक छोडपत्र गरेको भनेको अवस्था २०२३ मा तत्काल बहाल रहेको मोही हक छोड्न पाउने सम्बन्धी कानुनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा ‘मोहीले कुनै सालमा खेतीको याम भन्दा कमसेकम एक महीना अगावै जग्गावालालाई स्थानीय पञ्चायत मार्फत लिखित सूचना दिई आफ्नो हक छोड्न पाउने छ’ भन्ने उल्लेख भएको पाइन्छ । जसबाट तत्काल प्रचलित ऐनले कुनै मोहीले मोही हक छोडपत्र गर्न चाहेमा स्थानीय गाउँ पञ्चायत मार्फत जग्गाधनीलाई लिखित सूचना दिई मोही छोडपत्र गर्न सक्ने र स्थानीय गाउँ पञ्चायतले पनि त्यस्तो मोही छोडपत्र लिई स्वीकृत गरी जग्गावालालाई जग्गा आवाद गर्न सूचना दिन पाउने अधिकार उक्त ऐनले दिएको देखिन्छ ।
१३. उक्त जय मंगलापुर गाउँ पञ्चायतबाट रिट निवेदक हरिहर साह कानूको विवादीत जग्गाको मोही छोडपत्र गरेको कुरा बदर गरी पाउँ भनी यी निवेदकले कुनै कारवाही चलाएको र बदर गराएको छ भनी रिट निवेदनमा जिकिर लिन सकेको पाइँदैन ।
१४. यस्तो स्थितिमा भूमिसम्बन्धी दोश्रो संशोधन ऐन, २०२५ आउनु पूर्व कायम रहेको कानुनी व्यवस्था अनुरुप यी रिट निवेदकले २०२३।१०।१० मा स्थानीय जय मंगलपुर गाउँ पञ्चायतमा गई विवादीत जग्गाको मोहियानी हक छोडपत्र गरेको र सो मोही छोडपत्रलाई उक्त गाउँ पञ्चायतबाट स्वीकृत गरी मिति २०२३।१०।२० मा प्रत्यर्थी जग्गाधनी चन्द्रकान्तमणी तिवारीलाई विवादीत जग्गा आफैं जोतकोड गर्नु भनी सूचना दिइसकेको सो मोही छोडपत्र गरेको आधारमा विवादीत जग्गाको मोही लगत कट्टा गर्ने सम्म बाँकी रहेको कार्यलाई उक्त छोडपत्र गरेको आधारमा विवादीत जग्गाको मोही लगत कट्टा गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय पर्साको मिति २०४०।४।१६ को निर्णय कानुन अनुरुप नै भई त्रुटिपूर्ण नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज हुने ठहराएको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।३।१८ को निर्णय मनासिब ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. पृथ्वीबहादुर सिंह
न्या. रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल पौष १८ गते रोज ६ शुभम् ।