January 16, 1987
Created by nepalarchives

निर्णय नं. २८७० – बाली भराई मोहीबाट निष्कासन गरी पाउँ

निर्णय नं. २८७०    ने.का.प. २०४३            अङ्क  १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल...

निर्णय नं. २८७०    ने.का.प. २०४३            अङ्क  १०

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको दे.फु.नं. ९३

फैसला भएको मिति : २०४३।१०।२।६ मा

 

पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं.वार्ड नं.२१ गावाहाल कुछेननी बस्ने मोती महर्जन मरी मु.स.गर्ने ऐ.ऐ.बस्ने लाल महर्जन

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं. २० जावलाखेल बस्ने लिलाकुमारी रिमाल मरी मु.स. गर्ने र आफ्ना हकमा समेत ऐ.ऐ.बस्ने किरणराज रिमाल

 

मुद्दा : बाली भराई मोहीबाट निष्कासन गरी पाउँ

 

(१)         मोहीको भाइलाई मोही हक प्राप्त हुनसक्ने नदेखिँदा मर्ने प्रतिवादी पुनरावेदकको भाइले प्रस्तुत मुद्दा सकार गर्न हकदैया नपुग्ने ।

(प्रकरण नं. १७)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह  : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२. ल.पु.न.पं.वार्ड नं. २०(क) को कि.नं.१८ को पाखो रोपनी ४० को ०३४ सालको बाली नदिएकोले मकै मुरी २५ को मुरी १ को रु.१००।ले हुने रु.२२९।३१ भराई उक्त जग्गामा खनजोत नगरी बाझो राखेकोले जग्गाबाट मोही निष्कासन समेत गरी पाउँ भन्ने समेत फिराद दावी ।

३. २०३४ सालको बाली बुझाउन जाँदा नबुझेकोले रु.३२४।३६ म्यादभित्र ०३४।१०।२८ मा ल.पु.न.पं.मा धरौट राखेको छु । मैले जग्गा राम्ररी कमाएको छु । जग्गामा बाली लगाई बाली विपक्षीलाई बुझाई पाउँ भनी धरौट राखेको र जीविका चलाई आएको हुँदा मुद्दा खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर ।

४. वादी दावी अनुसारको बाली वादीले भरी पाउने ठहर्छ भन्ने समेत ल.पु.जि.अ.को फैसला ।

५. मोही निष्कासन तर्फ नबोली निर्णय गरेकोले कानुन बमोजिम निर्णय गर्नु भनी शुरु जि.अ.मा पठाई दिने भन्ने समेत बा.अं.अ.को फैसला ।

६. वादी दावी खारेज हुने ठहर्छ र दिन ७ को म्याद दिई सो म्यादमा रीतपूर्वकको निवेदन ल्याएमा लिई कानुन बमोजिम गर्ने भन्ने ल.पु.जि.अ.को फैसला ।

७. उक्त इन्साफ उपर पुनरावेदन परेकोमा खारेज गरेको मिलेन कानुन बमोजिम किनारा गर्न शुरुमा पठाई दिने भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

८. वादी दावी बमोजिम मोहीबाट निष्कासन हुने ठहर्छ र वादीले बाली बुझी लिन पाउने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको फैसला ।

९. उक्त फैसला उपर पुनरावेदन परेकोमा शुरु इन्साफ सदर हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

१०. उक्त फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरिएको रहेछ ।

११. बागमती अञ्चल अदालतको इन्साफ सदर ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१२. उक्त फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत यस अदालत डिभिजनबेञ्चको २०४०।९।१० को आदेश ।

१३. श्री ५ महाराजाधिराजका हजूरमा उक्त आदेश दोहर्‍याई पाउँ भनी न्यायिक समिति मार्फत प्रतिवादीले चढाएको निवेदनपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय आदेश दोहराई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफ सरकारका प्रमुख सचिवालयबाट लेखी ल्याई पेश हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २९(२)(ख) को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत फुलबेञ्चको मिति २०४२।२।४।६ को आदेश ।

१४. निर्णयार्थ पेश हुँदा भूमिसम्बन्धी ऐनको दफा २९(२)(ख) मा एक वर्ष सम्म खेती नगरे मोहिबाट निष्कासन हुनसक्ने अवस्था उल्लेख भएको छ । फिरादपत्रमा यो मितिदेखि यो मिति सम्म गरी जम्मा एक वर्ष सम्म खेती नगरी बाझो राखेको भनी लेखाउन र सो कुरा प्रमाणित गर्नसकेको देखिँदैन । सरजमीन र साक्षीहरूको बकाईबाट जग्गा बाझो रहेको प्रमाणित छैन । वादी लेखबाट एकवर्ष सम्म जग्गा वाँझो रहेको भन्ने देखिन आउँदैन । प्रतिवादी मोहीले आफ्नो दायित्व गरेकै देखिन्छ । अतः मोही निष्कासन समेत गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । मोही समेत निष्कासन गर्ने ठहराएको शुरु जिल्ला अदालत र बागमती अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(२)(ख) को प्रतिकूल हुँदा उल्टी भई बदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

१५. बाली धरौट राख्दैमा खेती गरेको प्रमाणित हुँदैन र धरौटी राखेपछि ऐनले खेती लगाउनु पर्ने बाध्यात्मक व्यवस्थालाई पन्छाउन सकिँदैन । सरजमीनका वडा सदस्य प्रद्युम्नबहादुर मुल्मी लगायत अधिकांश व्यक्तिहरूले विवादको जग्गामा केही वर्ष अघिदेखि हाल सम्म पनि खेती नगरी बाझो रहेको जग्गाको प्रकृतिबाट देखिन्छ भनी लेखाई दिएको पाइन्छ । वादीका साक्षीहरूले पनि जग्गामा खेती नगरी बाझो रहेको भनी किटानी बकपत्र गरी दिएका छन् । उपरोक्त कथनबाट विवादको जग्गामा १ वर्ष भन्दा बढी समय सम्म खेती नगरी बाझो रहेको प्रमाणित हुन आउँदछ । यसरी मोहीले खेतीमा हेलचेक्राई गरी जग्गा बाझो राखेको अवस्थामा केवल बाली धरौट राख्दैमा मोहीले भूमिसम्बन्धी ऐनले बाली लगाउनु पर्ने गरी गरेको कानुनी दायित्व पूरा गरेको भनी मान्न मिल्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को उपदफा (२) को (ख) अनुसार मोही निष्कासन हुनु गर्नु पर्ने नै देखिँदा विवादको जग्गाबाट प्रतिवादी मोहिलाई निष्कासन गर्ने समेत ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई मिति ०४२।११।९ मा फैसला भएको रहेछ ।

१६. पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले पुनरावेदक मोही मोती महर्जन मरेकोले निजको भाइ लाल महर्जनले मुद्दा सकार गर्न पाउने भई मुद्दा सकार गरेको हो । प्रतिवादीले एकवर्ष सम्म खेती गरेको छैन भन्ने फिराद दावीबाट देखिँदैन । यस्तोमा मोही निष्कासन हुने अवस्था हुँदैन । तसर्थ मोही निष्कासन गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन । तसर्थ वादी दावी नपुग्ने ठहराएको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब हुनुपर्दछ भन्ने बहस गर्नु भयो । विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मोही पुनरावेदक मोती महर्जन मरी सक्यो । सो मोहियानी हकको हकदार निजको भाइ लाल महर्जन हुन सक्तैन । निजले मोही हक पाउन सक्दैन । तसर्थ निजले सकार गर्न पाउँदैन । मोही मोती महर्जनले एक वर्ष सम्म जग्गामा खेती नगरी बाझो राखेको छ । सो कुरा साक्षी सरजमीनबाट पुष्टि भई मोही निष्कासन गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१७. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दाको निर्णयतर्फ हेर्दा पुनरावेदक प्रतिवादी मोती महर्जन मरेकोमा निजको भाइले मुद्दा सकार गरेको छ । भाइले मुद्दा सकार गर्न पाउँछ पाउँदैन भन्ने प्रश्‍न उठेकोले त्यस तर्फ हेर्नु परेको छ । प्रस्तुत मुद्दा मोही निष्कासन मुद्दा भएको र मर्ने पुनरावेदक प्रतिवादी मोती महर्जन मोही भन्ने देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) ले मोही सम्बन्धी हक निज पछि निजको पति, पत्‍नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेको पाइन्छ । यसबाट मर्ने मोहीको भाइलाई मोही हक प्राप्त हुनसक्ने नदेखिँदा मर्ने प्रतिवादी पुनरावेदक मोती महर्जनको भाइ, लाल महर्जनले प्रस्तुत मुद्दा सकार गर्न हकदैया पुग्ने देखिँदैन । त्यस्तो सकार गर्न नपाउने मुद्दामा सकार गरेको देखिँदा अरु प्रश्‍नमा विचार गरिरहन परेन । तसर्थ वादी दावी बमोजिम जग्गाबाट प्रतिवादी मोहिलाई निष्कासन गर्ने समेत ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहराएको माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोलाको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरू सहमत छौं ।

न्या. हरिहरलाल राजभण्डारी,

न्या. प्रचण्डराज अनिल

 

 

इतिसम्वत् २०४३ साल माघ १० गते रोज ६ शुभम् ।