निर्णय नं. २२०८ – आयस्ता बहाल
निर्णय नं. २२०८ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं....
निर्णय नं. २२०८ ने.का.प. २०४१ अङ्क १२
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको दे.पु.नं. ४८२, ४८५
मुद्दा : आयस्ता बहाल
पुनरावेदक/वादी : भक्तपुर जिल्ला भ.पु.न.पं. वार्ड नं. १७ दुधपाटी बस्ने हर्षमाया मरी आफ्नो हकमा समेत मु.स. गर्ने जगतमोहन न्याईच्याई
विरूद्ध
पुनरावेदक/प्रतिवादी : ऐ.ऐ. वडा नं. १५ इटाछे टोल बस्ने मोतिरत्न बज्राचार्य
फैसला भएको मिति : २०४१।१२।७।५
§ मोहीले मोहियानीको घरजग्गा बहालमा दिन नपाउने गरी भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भएको देखिएन ।
(प्रकरण नं. १७)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
उल्लेखित मुद्दा : x
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।५।२७ को फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने वादी र प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएकोमा ०४०।८।१४ मा अनुमति प्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. पूर्व महाकाल चौर बाटो पश्चिम बुलाल कसजूले बनाएको जग्गा उत्तर बाटो दक्षिण मूल सडक यति चारकिल्ला भित्रको परापूर्व देखि पक्की घर बनाई जोती कमाई आएको कि.नं. ९३।९४ को जग्गा टिम्बर कर्पोरेशलाई साल १ को रू. १०९३।७५ लिने गरी शर्तनामा लेखी बहालमा दिई आएको ०३०।६।४ का बा.अं.अ. का फैसला समेतबाट जोत बदर नहुने ठहरी अन्तिम फैसला भएकोमा हामीले पाउनु पर्ने बहाल वर्ष ४।१० को हुने बहाल रू. ५३१६।४९ विपक्षी मोतिरत्न बज्राचार्यबाट भराई दिलाइपाउँ भन्नेसमेत व्यहोराको जगतमोहन समेतको फिरादपत्र ।
३. भ.पु.जि.अ.को ०२५।५।१९ गतेका फैसलाले सो बहाल मैले खान पाउने ठहरी फैसला भएकोले समेत बहाल लिने गरेको छु । सो जग्गामा नगदी रू. ५३१६।१२ म बाट दिलाई भराई पाउँ भन्ने झुठ्ठा वादी दावीबाट फूर्सद गराई पाउँ भन्ने समेत व्यहोराको मोतिरत्नको प्रतिउत्तर पत्र ।
४. बा.अं.अ.को ०३१।६।४।५ का फैसलाले दावीको जग्गाको मोही यी वादी नै ठहरेकोले सो जग्गाको आयस्ता बालीमा आधा निजको पनि भाग लाग्नु पर्ने नै हुँदा प्रतिवादी मोतिरत्नले टिम्बर कर्पोरेशनसँग लिएको आयस्ता बहाल बिगो मध्ये आधा बहाल प्रतिवादी मध्येका मोतिरत्न बज्राचार्यबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको भ.पु.जि.अ.को फैसला ।
५. भ.पु.जि.अ.ले आधा मात्र दिलाई दिने गरेको फैसलामा चित्त बुझेन सो बदर गरी दावी बमोजिम पुरै आयस्ता भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको जगतमोहन समेतको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।
६. आधा बहाल मबाट भराई दिने गरेको इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी वादी दावीबाट फूर्सद पाउँ भन्ने प्र.मोतिरत्नको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।
७. यसै लगाउको अर्को मुद्दा किनारा भएपछि जगाउने गरी मुलतवी राखी दिने भन्ने समेत व्यहोराको ०३५।३।२० को आदेश ।
८. अ.बं. १२ नं. बमोजिम मुलतवी जगाई दायरीमा दर्ता गरी बहाल मुद्दामा दुवै पक्ष विपक्ष तारेखमा रहेको हुँदा यस मुद्दामा पनि दुवै पक्षलाई तारिखमा राखी पेश गर्नु भन्ने समेत व्यहोराको ०३७।१०।१० को बा.अं.अ.को आदेशानुसार दुवै पक्ष तारिखमा बसी आएको ।
९. निज मोतिरत्नले वादी पक्ष उपर केवल कूत बाली मात्र भरी खान पाउने हक दायित्व भएको देखिएकोले वादी दावीको बिगो रू. ५३१६।४९ प्र.मोतिरत्नबाट भरीपाउने ठहर्छ र शुरू जि.अ. बाट आधाआधा गरी पाउने ठहराएको इन्साफ कानुनसंगत भएन वादी दावीको बिगो रू. ५३१६।४९ प्र.मोतिरत्नबाट वादीले भरीपाउने ठहर्छ भन्नेसमेत बा.अं.अ.को ०३८।२।११ को फैसला ।
१०. उक्त फैसलामा चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी प्र.मोतिरत्नको म.क्षेत्रीय अदालतमा परेको निवेदनपत्रमा सिङ्गलबेञ्चबाट ०३८।९।१६ मा पुनरावेदनको अनुमति प्राप्त भएको ।
११. प्रतिवादी मोतिरत्नले टिम्बर कर्पोरेशनसँग लिएको आयस्ता बहाल बिगो मध्ये आधा बहाल निज प्रतिवादी मध्येका मोतिरत्न बज्राचार्यबाट भरी पाउने ठहर्याई शुरूले गरेको इन्साफ मनासिव छ बा.अं.अ.को इन्साफ केही उल्टी हुन्छ भन्ने समेतको म.क्षे.अदालतको ०३९।५।२७ को फैसला ।
१२. त्रुटिपूर्ण उक्त फैसलामा चित्त नबुझेको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेतको वादी जगतमोहन न्याईच्याईको निवेदनपत्र ।
१३. गम्भीर कानुनी प्रश्न समावेश भएको म.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेतको प्रतिवादी मोतिरत्न बज्राचार्यको पुनरावेदन पत्र ।
१४. जग्गाधनीले मोहीबाट कूतसम्म उठाई खान पाउनेमा आयस्ता दिलाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(क) समेतको त्रुटि भएको भन्ने समेतको आधारबाट दुवै निवेदनहरू उपर यस अदालत डिभिजन बेञ्चबाट पुनरावेदनको अनुमति प्राप्त भएको रहेछ ।
१५. नियम बमोजिम पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक (वादी) जगतमोहनका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्मा र पुनरावेदक प्रतिवादी मोतिरत्नको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसादले प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
१६. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिव छ छैन सोको निर्णय दिनुपर्ने देखिन्छ ।
१७. निर्णयतर्फ विचार गर्दा यसमा कि.नं. ९३।९४ को रोपनी ३–१४–२ जग्गा हामीहरूका नाउँमा मोहियानी दर्ता भएको जग्गा टिम्बर कर्पोरेशनलाई बहालमा दिई आएकोमा हामीले पाउनुपर्ने बहाल रू. ५३१६।४९ मोतिरत्नले लिएकोले निजबाट भराई पाउँ भन्ने मुख्य वादीको दावी देखिन्छ । वादी विवादित जग्गाको मोही भएमा विवाद देखिन्छ । मोहीले मोहियानीको घर जग्गा बहालमा दिन नपाउने गरी भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भएको देखिएन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३७ मा जग्गावालाले उचित मञ्जूरी नदिई मोहीलाई बेठ बेगारी इत्यादि कुनै किसिमको काम लगाउन वा जग्गा कमाउन दिए बापत कूत बाहेक अरू कुनै किसिमको रकम लिन हुँदैन भन्ने व्यवस्था भएको पाइन्छ । यसरी भूमिसम्बन्धी ऐन अन्तर्गत तोकिएको बाली मात्र प्रतिवादीले पाउन सक्नेमा आधा बहाल प्रतिवादीलाई दिलाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । वादी मोही भएकोले पूरा आयस्ता वादीले पाउने देखिन आयो । वादी दावी बमोजिमको बहाल टिम्बर कर्पोरेशनबाट उठाई खाएकोमा प्र.मोतिरत्न सावितै भएको देखिएकोले निज मोतिरत्नबाट वादी दावी बमोजिमको बहाल आयस्ता वादीले भरी पाउने ठहराएको बागमती अञ्चल अदालतको इन्साफ मनासिव हुँदा सदर ठहर्छ । प्रतिवादी मोतिरत्नले टिम्बर कर्पोरेशनसँग लिएको आयस्ता बहाल बिगो मध्ये आधा बहाल प्रतिवादी मोतिरत्न बज्राचार्यबाट भरी पाउने ठहर्याई शुरू काठमाडौं जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिएकोले केही उल्टी हुन्छ । पुनरावेदक प्रतिवादी मोतिरत्न बज्राचार्यको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरू तपसीलका कलमहरूमा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक (वादी) हर्षमाया मरी आफ्नो हकमा समेत मु.स. गर्ने जगतमोहन न्याईच्याई माथि इन्साफ खण्डमा लेखिए बमोजिमको निजको दावी पुग्ने ठहरेकोले निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू. १७।४४ प्रतिवादी मोतिरत्न बज्राचार्यबाट भराई पाउने हुँदा भराई पाउँ भनी म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई भराई दिनु शुरू भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…………… १
पुनरावेदक (वादी) हर्षमाया मरी आफ्नो हकमा समेत मु.स.गर्ने जगतमोहन न्याईच्याईके म.क्षे.अ.का. मिति ०३९।५।२७ का फैसलाले निजबाट प्र.मोतिरत्नले भरी पाउने ठहराएको कोर्टफी रू. १७।४४ यस अदालत मार्फत का.जि.अ.मा धरौट रहेको देखिँदा र अब सो भराउन नपर्ने हुँदा फिर्ता माग्न आए कानुन बमोजिम फिर्ता दिन का.जि.अ.त.मा लगत दिनु …………………. २
मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।५।२७ को फैसला उल्टी हुने ठहरेकोले सो फैसला कानुन बमोजिम गर्नु नपर्ने हुँदा उक्त फैसलाको सम्पूर्ण लगत कट्टा गरी दिनु भनी भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु………………….. ३
बा.अं.अ.को मिति ०३८।२।११ को फैसला सदर हुने ठहरेकोले सो फैसलाको मिति ०३८।१०।२९।५ का लगत अनुसार नै हुने हुँदा त्यसतर्फ केही गर्नु परेन………४
म.क्षे.अ.को इन्साफ केही उल्टीमा मा.न्या. श्री हरिहरलाल राजभण्डारी मा.न्या. श्री रूद्रबहादुर सिंहको रेकर्ड राख्न प्रशासन शाखामा जनाउ दिनु………………..५
मिसिल नियमानुसार गरी बुझाई दिनु ………………… ६
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल चैत्र ७ गते रोज ५ शुभम् ।