March 14, 1985
Created by nepalarchives

निर्णय नं. २२०० – उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने पूर्जि जारी गरिपाउँ

निर्णय नं. २२०० ने.का.प. २०४१             अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.नं....

निर्णय नं. २२०० ने.का.प. २०४१             अङ्क १२

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको रि.नं. १३१०

विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने पूर्जि जारी गरिपाउँ

निवेदक : सर्लाही जिल्ला हरीपूर्वा गा.पं. वडा नं. ३ बस्ने नरेन्द्रराय यादव

विरूद्ध

विपक्षी : निर्वाचन अधिकृत जिल्ला कार्यालय सर्लाहीका प्र.जि.अ.श्री राजकुमार दास कक्षपति

सर्लाही निर्वाचन विशेष अदालत सर्लाही जिल्ला अदालतका जि.न्या. श्री नन्द प्रसाद पौड्याल

मतदान अधिकृत जिल्ला कार्यालय सर्लाहीका खरिदार श्री विदुर खरेल

सर्लाही जिल्ला हरीपूर्वा गा.पं. वार्ड नं. ७ बस्ने जयनारायण प्रसाद शाहतेली

आदेश भएको मिति : २०४१।१२।१।५ मा

§  पुनः मत गिन्ती नगरेको कारणबाट निर्वाचन विशेष अदालतको फैसला त्रुटिपूर्ण छ भन्न मिलेन ।

 (प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिबक्ता श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

उल्लिखित मुद्दा : निवेदक बंगाली शाहतेली वि.निर्वाचन विशेष अदालत बारा समेत भएको ०४१ सालको रि.फु.नं. ३० मा मिति ०४१।११।१ मा फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित ।

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : निर्वाचन विशेष अदालत सर्लाहीको ०३९।९।२० को त्रुटिपूर्ण फैसला समेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

          २.   सर्लाही हरीपूर्वा गा.पं.को मिति ०३९।२।२।१ मा भएको प्रधानपञ्चको निर्वाचनमा मैले विपक्षी जयनारायणप्रसाद शाहतेलीले भन्दा १९ मत बढी प्राप्त गरी विजयी भएकोमा प्रतिद्वन्दी जयनारायणको प्रभाव परी मतदान अधिकृतले निजको २८ बदर मतलाई सदर गरी ९ मत बढीले विजय गरेको भनी जयनारायण शाहतेलीलाई प्रधानपञ्चको पदमा निर्वाचित घोषणा गरेकोले सो निर्वाचन सम्बन्धमा भएका अन्याय र धाँधलीलाई समेत इतङ्गी गरी पुनः गन्ती गराई मलाई निर्वाचित घोषित गराइपाउँ भन्ने समेतको उजूरी विपक्षी निर्वाचन विशेष अदालतमा गरेकोमा निर्वाचन विशेष अदालतबाट मतपत्र पुनः गिन्ती नगराई मेरो दावी नपुग्ने ठहर्‍याई मिति ०३९।९।२० मा फैसला भयो ।

          ३.   निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १४(२)(क) अन्तर्गत उजूर परेपछि मत पुनः गणना गरी स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, ०२५ को दफा २२ अनुसार मतदान गरिएका मतपत्रहरू सदर बदर हेरी सदर मतद्वारा निवेदकले बहुमत पाए नपाएको निर्णय गर्न निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १४ को उपदफा (४) अनुसार निर्वाचन विशेष अदालत बाध्य छ । सो बमोजिम जो बुझ्नुपर्ने प्रमाण बुझी पुनः मतगन्ती गरी फैसला गर्नुपर्नेमा सो नगरी निर्वाचन सदर गरेको सर्लाही निर्वाचन विशेष अदालतको फैसलामा निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को दफा १४(२)(क) तथा दफा १४(४) समेत उल्लंघन भई प्रत्यक्षः कानुनी त्रुटिपूर्ण हुँदा उक्त त्रुटिपूर्ण फैसलाले मेरो हक हनन् हुन गएकोले रिट निवेदन प्रस्तुत गर्न आएको छु । उक्त निर्वाचन विशेष अदालत सर्लाहीको मिति ०३९।९।२० को त्रुटिपूर्ण फैसला बदर गरी पुनः निर्णय गराई हक प्रचलन र संरक्षण गरिपाउँ भन्ने समेत दुखिया भन्ने नरेन्द्र राय यादवको मिति ०३९।११।८।१ को रिट निवेदन ।

          ४.   विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति ०३९।११।९।२ को आदेश ।

          ५.  रिट निवेदकको भन्दा ९ मत बढी प्राप्त गर्ने म जयनारायणप्रसाद साहलाई विधिवत रूपमा प्रधानपञ्च पदमा निर्वाचित घोषणा गरिएको हो । बदर मत २८ लाई सदर गरिएको होइन । सर्लाही निर्वाचन विशेष अदालतमा परेको उजूरी उपर निर्वाचन विशेष अदालतबाट सबूत प्रमाण र दावीको यकीन मूल्यांकन गरी कानुन अनुरूप गरेको फैसलामा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जयनारायणप्रसाद शाहतेलीको मिति ०४०।२।२९ को लिखितजवाफ ।

          ६.   स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐनको संशोधित दफा २२ अनुसार मतपत्र बदर हुन “(क) देखि (ट)सम्म ११ वटा कारणहरू उल्लिखित छन् । ती कारणहरू मध्ये के कुन किसिमले कति मतपत्र बदर भए र त्यस्तो मतपत्रलाई सदर मानिएको हो साथै कुन कारणले बदर मत थियो सो कुरा स्पष्ट रूपमा निवेदक वादीले दावी लिन नसकेको हुँदा वादी दावी नपुग्ने ठहर्‍याई गरेको मिति ०३९।९।२० को यस सर्लाही निर्वाचन विशेष अदालतको फैसलामा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत सर्लाही निर्वाचन विशेष अदालत सर्लाही जिल्ला अदालतका जि.न्या. श्री नन्दप्रसाद पौड्यालको मिति ०४०।३।७ को लिखितजवाफ।

          ७.  निर्वाचन विधिवत भएको हो । निवेदकले २८ बदर मतलाई सदर गर्‍यो भन्ने दावी लिए पनि सो मतपत्रहरू कुनकुन कारणबाट बदर हुनुपर्ने सो कुरा दावीमा प्रष्ट नभएको हुँदा पुनः मत पेटिका खोल्ने प्रश्न उठ्न सक्ने होइन । सबूत प्रमाण र दावीको यथार्थ मूल्यांकन गरी गरेको निर्वाचन विशेष अदालतको फैसलामा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मतदान अधिकृत जि.का. सर्लाहीको खरिदार विदुर खरेलको लिखितजवाफ ।

          ८.   रिट निवेदक तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले २८ वटा बदर मतलाई सदर गरी प्रधानपञ्च पदमा जयनारायणप्रसाद शाहलाई मतदात अधिकृतले निर्वाचित घोषणा गरेको गैरकानुनी छ पुनः मत गिन्ती गरी बढी मत ल्याउने म वादीलाई विजयी घोषित गरिपाउँ भन्ने मेरो पक्ष निवेदकको निर्वाचन विशेष अदालतमा दावी परेपछि सो उपर परेको दावी अनुसार पुनः मत गिन्ती गरी फैसला गर्नुपर्नेमा सो नगरी निर्वाचन सदर गरेको निर्वाचन विशेष अदालत सर्लाहीको फैसलामा निर्वाचन ऐन, ०२४ को दफा १४(२)(क) समेतको त्रुटि हुँदा उक्त फैसला बदर हुनुपर्ने भन्ने र विपक्षी निर्वाचन विशेष अदालत तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले वादीले लिएको दावीमा विपक्षी जयनारायणका २८ बदर मतलाई सदर गरी विपक्षी जयनारायणलाई प्रधानपञ्च पदमा विजयी घोषित गरिएको गैरकानुनी हुँदा पुनः मत गिन्ती गरीपाउँ भन्ने छ तर के कसरी कुन कारणबाट मतपत्र बदर हुन गएका र सदर गरिएको दावी स्पष्ट नहुँदा पुनः मत गिन्ती गर्न निर्वाचन अदालत बाध्य छैन । अतः कानुन अनूरूप गर्ने गरेको निर्वाचन विशेष अदालतको फैसलामा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने र विपक्षी जयनारायणप्रसाद शाहतेली तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले निर्वाचनको घोषणा विधिवत भएको छ । बदर मतलाई सदर गरिएको छैन बदर मत सदर गरियो भन्ने निवेदकको दावीमा के कुन कारणबाट कति मत बदर थिए दावी स्पष्ट नहुँदा पुनः मत गिन्ती गर्नुपर्ने अवस्था विद्यमान नहुँदा दावी नपुग्ने ठहराएको निर्वाचन विशेष अदालतको फैसलामा कुनै कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ९.   प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो ? सो कुरा निर्णय दिनुपर्ने हुन आएको छ ।

          १०.  यसमा निर्णयतर्फ हेर्दा हरीपूर्वा गा.पं.को प्रधानपञ्च पदमा भएको निर्वाचनमा म निवेदकले १९ मत बढी प्राप्त गरेको देखी विपक्षी जयनारायणप्रसाद शाहतेलीले प्राप्त गरेको बदर मत २८ सदर गरी गैरकानुनी तवरबाट निज जयनारायणलाई विजयी घोषणा गरेकोले पुनः मत गिन्ती गरी उक्त घोषणा बदर गरी मलाई निर्वाचित भएको फैसला गरिपाउँ भन्ने रिट निवेदकको निर्वाचन विशेष अदालतमा उजूरी परेकोमा सर्लाही निर्वाचन विशेष अदालतले निर्णय गर्दा स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, २०२५ को दफा २२ मा मतपत्र बदर हुने अवस्था उक्त दफाको (क) देखि (ट) सम्म उल्लेख गरिएको छ । सो अवस्था मध्ये के कुन किसिमबाट कुनकुन अवस्थाको कति बदर भएको मत पत्रलाई सदर गरी जयनारायणलाई विजयी घोषणा गरेको हो सो कुराको स्पष्ट किटानी वादी दावी नभएको हुँदा अस्पष्ट दावीको आधारमा पुनः मत गिन्ती गर्न नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भनी मिति ०३९।९।२० मा निर्णय गरेको देखिन्छ । यो यो कारणबाट यति बदर मतपत्र सदर गरेको भन्ने किटानी दावी भएको अवस्थामा मात्र निर्वाचन विशेष अदालतले पुनः मत गिन्ती गर्नुपर्ने अवस्था हुन्छ, तर रिट निवेदकले निर्वाचन विशेष अदालतमा उजूर गर्दा यो यो कारणबाट बदर भएका यो अवस्थाका मतपत्रहरू सदर गरी विजयी घोषित गरेको भनी स्पष्ट दावी गर्न सकेको पाइँदैन । यस अवस्थामा पुनः मत गिन्ती नगरेको कारणबाट निर्वाचन विशेष अदालतको फैसला त्रुटिपूर्ण छ भन्न मिलेन । निवेदक बंगाली शाहतेली विपक्षी निर्वाचन विशेष अदालत बारा समेत भएको ०४१ सालको रि.फु.नं. ३० को रिट निवेदनमा स्पष्ट किटानी पूर्वकको उजूरी परेको स्थितिमा मात्र विशेष अदालतले पुनः मतपत्र गणना गर्न पाउने हुन्छ र विशेष अदालतले त्यसरी मतपत्र गणना गर्नुपर्दा मतगणना गर्नुपर्ने आधार एवं कारणहरू स्पष्ट रूपले खुलाएको हुनुपर्छ । निर्वाचन विशेष अदालतलाई जुनसुकै परिस्थितिमा पनि मतगणना गर्न पाउने अधिकार छ भनी सम्झन मिल्ने देखिँदैन भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चबाट मिति ०४१।११।१ मा निर्णय भई सिद्धान्त प्रतिपादित भएको पाइन्छ ।

          ११.  अतः यस स्थितिमा स्पष्ट दावीको अभावमा पुनः मत गणना गर्न नमिल्ने भनी निवेदकको दावी नपुग्ने ठहराएको सर्लाही निर्वाचन विशेष अदालतको मिति ०३९।९।२० को निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा उपरोक्त कारण र प्रतिपादित सिद्धान्त तथा आधारमा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल चैत्र १ गते रोज ५ शुभम् ।