March 15, 1985
Created by nepalarchives

निर्णय नं. २१९८ – अंश दपोट

निर्णय नं. २१९८ ने.का.प. २०४१            अङ्क १२ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर...

निर्णय नं. २१९८ ने.का.प. २०४१            अङ्क १२

फुल बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४० सालको दे.पु.नं. ५४

मुद्दा : अंश दपोट

पुनरावेदक/वादी : का.जि.का.न.पं. वा.नं. २६ को हाल वा.नं. १ अन्तरगत कमल पोखरी बस्ने पद्‌मबहादुर राजकर्णिकार

विरूद्ध

विपक्षी/प्रतिवादी : गणेशबहादुर राजकर्णिकारको मु.स.गर्ने ऐ.ऐ. बस्ने अमर राजकर्णिकार

ऐ ऐ बस्ने महाजन राजकर्णिकार

ऐ ऐ बस्ने घनश्याम राजकर्णिकार

फैसला भएको मिति :   २०४१।१२।२।६ मा

§  दपोट गरेको ठहरेमा दपोट गरेको भनेको सम्पत्ति जे जस्तो अवस्थामा छ त्यो नै दपोट नगर्ने पक्षले पाउने हो ।

 (प्रकरण नं. २१)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी र बरिष्ठ अधिबक्ता श्री लक्ष्मण अर्याल र विद्वान अधिबक्ता श्री यादव खरेल

उल्लेखित मुद्दा : x

फैसला

        न्या. सुरेन्द्रप्रसाद सिंह : डिभिजन बेञ्चसमक्ष पेश हुँदा मा.न्या. हरूबीच मतैक्यता हुन नसकी स.अ.नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

        २.  विपक्षी मध्ये गणेशबहादुर मेरा दाजु महाजन र घनश्याम मेरा भाइ हुन् । हामीहरू ४ जना कृष्णबहादुरको छोरा हौं र एका उदरबाट जन्मेका हौं । हामीहरू सबैले बाबुको सल्लाह अनुसार पाउरोटीको काम मैले गरी आएको र २०१२।६।१८।३ मा मेरै नाउँमा नेपाल प्राइभेट कम्पनी कानुन बमोजिम रजिष्टरी दर्ता गरी पाउरोटी उत्पादन गरी आएकोमा पछि आमा प्राणमाया र हामी ४ जनाका नाउँमा साझेदारी ऐन बमोजिम दर्ता गरिएपछि आमा प्राणमाया स्वर्गीय भएको हुँदा आमाको नाम कट्टा गरी हामी ४ भाइका नाउँमा चालु भइरहेको अवस्था हामी चारै जनाको सल्लाहबाट कम्पनीमा परिणत गराई बैंकमा रहेको रुपैयाँ झिकी नयाँ कारखानामा लगाउनु पर्‍यो, सबैले आफ्नोफ्नो रुपैयाँ झिक्ने होला भन्ने सम्झी मेरो र मेरा परिवारका नाउँमा बैंकमा रहेको रुपैयाँ झिकी लगी दाजुभाइहरूलाई दियौं । आफ्नो नामको रुपैयाँ नझिकेबाट र कृष्ण पाउरोटी भण्डार प्रा.लि. को शेयर पनि आफ्नाफ्ना नाममा मात्र रहने परिवन्द मिलाएको कुरा थाहा पाई यस्तो किन गरेको भन्दा भनाभन भई घरबाट जाउ भनेकोले अंश मुद्दा परी ०३१।४।१७ मा मानो छुट्टिएकोमा मानो छुट्टिएको मिति कायम गरी फैसला भयो । विपक्षीले अंश मुद्दामा तपसीलको फाँट दिँदा माल सामान र बैंकमा राखेको नगदी समेत जम्मा बिगो रू. २०,५०,९८७।९ बण्डा हुने गरी लुकाई अरू सम्पत्तिको मात्र फाँटवारी दिएको छ । कृष्ण पाउरोटी भण्डारको शेयर सम्बन्धमा र बैंकको डिपोजिट सम्बन्धमा निजहरू मिली मलाई खबर नदिई कुनै कागज मिलाएका छन् या रकम झिकी हिनामिना गरेछन् भने पछि नामाकरण गर्न पाउने हुँदा निजहरूले दवाएको माथि लेखिएको चल सम्पत्ति मेरो एकलौटी हुने हुनाले विपक्षीहरूबाट दिलाई भराई र नाम दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

        ३.  विपक्षी र म समेत सबै अंशियारले चल धनमाल बुझी लिई खडा गरिएको ०३०।८।२३ को हो बण्डापत्र कागज अंश मुद्दामा विपक्षीलाई सुनाउँदा सद्दे हो भनी स्वीकार गरेको छ । सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा ०३०।८।२३ गते घरसारमा चल सम्पत्ति ४ दाजु भाइले लिए दिएको भनेको चल सम्पत्ति दाखिल भएको तायदातीमा नपरेकोले त्यस सम्बन्धमा सो कटाई भन्ने उल्लेख गर्न नपर्ने हुँदा सो शब्द झिकी दिने भन्ने उल्लेख भएको छ । हामी दाजुभाइ सबै एक ठाउँमा सगोलमा बसी खानपीन गर्न असुविधा महसुस गर्नुका साथै साझेदारमा दर्ता भइरहेको कृष्ण पाउरोटी भण्डार कम्पनी ऐन, २०२१ अन्तर्गत सीमित दायित्व भएको प्रा.लि.मा परिणत गरी अलगअलग राखी नोक्सानी आम्दानी समेत गर्ने कार्य सञ्चालन गर्ने भन्ने सल्लाह अनुसार कम्पनीमा दर्ता गर्ने दर्खास्त दिइसकेको अब हामीहरूको जो भएको चल धनमाल बैंकमा रहे भएको बाँडी खती उपती आफ्नो गरी मानु छुट्टिई भिन्न भई अलगअलग बस्ने तथा कम्पनीमा समेत आफ्नो गर्ने विचारमा विपक्ष म तथा भाइहरू महाजन, घनश्याम समेत सहमत भयौं । विकास ऋण खरीद गरी लिएको रुपैयाँहरू सबैका नाउँमा बराबर रकम हुनाले आफ्नो नाउँमा र परिवार समेतका नाउँमा रहेको आआफूले झिक्ने व्यहोर्ने सल्लाह मञ्जूरी गरी सो बाहेक बण्डा गर्न पर्ने हाम्रासँग साथको मौज्दात गरेको र भारत बैंकमा रहेको हिसाब समेत जोड्दा एक भाइको नाउँमा रू. ६३९०२९। नगदी हुन आएका र पितल धार्नी १० समेत भाग लगाई २०३०।८।२३।७ मा लिखत खडा गरी लिई दिई विपक्षी समेत हामी चारै भाइले सहिछाप गरेका छौं । सो मितिदेखि आफ्नो व्यवहार चलाई आएका छौं । एक पटक अंशबण्डा गरी आफ्नो भागमा परी सकेको चल सम्पत्ति दोवारा मिलाई बाँड्नु पर्ने कानुनी व्यवस्था छैन । कम्पनी ऐन, ०२१ र कम्पनी नियमावली र प्रबन्ध पत्रमा उल्लेख भए अनुसारको शेयर विपक्षीले नराखेको हुनाले प्रचलित कम्पनी ऐन, २०२१ अनुसार बारम्बार मौका सूचना दिँदा पनि वास्ता नराखेबाट श्री ५ को सरकार उद्योग विभागको प्रतिनिधि भई बसेको ०३१।६।१३ को बैठकले विपक्षीलाई कम्पनीको सञ्चालकबाट हटाएको र २०३१।६।२५।६ को बैठकले विपक्षीले शेयर जफत गर्ने गरी निर्णय भइसकेको छ । कम्पनी पाइन भन्ने रिस लिई यो दपोट मुद्दा दिएको हो । मैले दपोट गरेको छैन । दपोट भन्ने कुरा नदेखाई लुकाइएको दवाएकोलाई मान्नुपर्ने हुन्छ । अंश मुद्दाको प्रतिवादीमा लेखी देखाई प्रमाण समेत दिइसकेको सो प्रमाण पनि सद्दे नै ठहरी सकेकोलाई दपोट भन्न मिल्ने होइन भन्ने समेत व्यहोराको गणेशबहादुरको प्रतिउत्तर ।

        ४.  हाम्रोसँग साथमा मौज्दात रहेको रुपैयाँ र भारत बैंकमा रहेको समेत हिसाब जोड्दा एक भाइको भागमा रू. ६२९०२९। हुन आएकोले र अरू पितल, सुन समेत माल समेत पाउने भाग बण्डा लगाई २०३०।८।२३ मा लिखत खडा गरी लिई दिई विपक्षी समेत हामी चारै भाइले सहिछाप गरेको हो सो कागज अदालतबाट ०३१।८।१८।३ मा सुनाउँदा लिखत खडा गरी सहिछाप गरी लिई दिएमा विपक्षी सावित भई स्वीकार गरी बयान गर्नु भएको छ । यसरी आफ्नो भाग बुझी लिखत समेत खडा भइसकेकोमा दपोट भन्ने वादी दावी झुठ्ठा हो । आमा प्राणमाया र हामी ४ भाइ साझेदार बनी साझेदारी कृष्ण पाउरोटी भण्डारलाई प्रा.लि.मा परिणत गराई आआफूले बाँडी लियौं दिएका चल सम्पत्तिबाट छुट्टाछुट्टै शेयर गराई लिने दिने विचारले संस्थापक शेयर होल्डर बनी खती उपती आफ्नो गरेको हो, विपक्षी तथा विपक्षीका परिवारका नाउँमा रहेको रुपैयाँ म समेतले झिक्न लगाएको होइन । आफू खुसीले झिकेको हो । कृष्ण पाउरोटी प्रा.लि. नेपाल औद्योगिक विकास कर्पोरेशनको ऋणबाट चलेको छ । यस्तोलाई दपोट भन्न मिल्दैन । कृष्ण पाउरोटी भण्डारको ज्यथा रू. २५००००। भएको प्रा.लि. कम्पनीमा शेयर बापत राख्ने भनिएको हो । विपक्षीले रू. १२५००। राखेको छन् । कम्पनी ऐन, २०२१ र कम्पनी नियमावली र प्रबन्ध पत्रमा उल्लेख भए अनुसारको शेयर विपक्षीले नराखेकोले र प्रचलित कम्पनी ऐन अनुसार विपक्षीलाई बराबर सूचना दिँदा पनि वास्ता नराखिएबाट ०३१।६।१३।१ को उद्योग विभागको प्रतिनिधि समेत भइ बसेको बैठकले विपक्षीलाई कम्पनीको सञ्चालकबाट हटाइएको र २०३१।६।२५।६ को बैठकले विपक्षीको शेयर जफत गर्ने गरी निर्णय भइसकेको छ । सोही रिसले यो मुद्दा लगाएको हो । विपक्षीले हाम्रा नाउँमा रहेको रुपैयाँ दावी गर्न आएका छन् मैले दपोट गरेको छैन भन्ने महाजन राजकर्णिकारको प्रतिउत्तर ।

        ५. वादीको दावीमा प्रतिवादी गणेशबहादुर, महाजन, घनश्याम तर्फ देखाएको क्रम संख्या १ देखि ६ सम्म र क्रम संख्या ७ देखि १४ सम्मको रकमहरू २०३०।८।२३ को घरसारको लिखत अनुसार सबैले बाँडी लिएको देखिन्छ । पुनः वादीले २०३०।८।२३ को लिखत अनुसारको बैंकमा जम्मा भएको रकमहरू मात्र आफ्नो अंशमुद्दाको तायदातीमा देखाएको सुन चाँदी तथा आदि बुझी लिएको सम्पत्ति देखाएको देखिन आएको छैन, साथै वादी लेख अनुसार मेरा र मेरा परिवारका नाउँमा बैंकमा रहेको रुपैयाँ मात्र झिक्न लगाई दिएको कथन तर्फ वादीले सो कुराको प्रमाण समेत गुजार्न नसकेको स्थितिमा र अंशबण्डाको २७ नं. दवाए छपाएको छैन भनी कागज गरी सकेपछि दवाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दवाउनेले पाउँदैन नदबाउनेले ऐन बमोजिम अंश गरी खान पाउँछ भन्ने उल्लेख हुँदामाथि उल्लेख भएको कुरा र अवस्थाको परिप्रेक्षमा अंश मुद्दामा तायदातीमा हाल वादीले दावी गरेका दपोटका कुराहरू अंशबण्डाको २७ नं. अन्तर्गत दवाए छपाएको भन्न न्यायोचित नपर्ने हुँदा वादी दावीको प्रतिवादी हरूको नाउँमा खुलाइएका क्रमसंख्या १ देखि १४ सम्म दपोट ठहर्ने अवस्था पुगेन । कृष्ण पाउरोटी भण्डारको कायम रहेको दुई लाख पचास हजार रुपैयाँलाई प्रत्येकले आफ्नो शेयर बापत भुक्तान गर्ने भई ०३१।६।१३।१ को बैठकले वादीलाई कम्पनीको सञ्चालकबाट हटाइएको र ०३१।६।२५ को बैठकले शेयर जफत गर्ने गरी निर्णय प्राप्त माइन्युट बुकको उतारबाट देखिन्छ । यस प्रकार मानो छुट्टिएको मिति पछि भएको र कम्पनीको उपरोक्त कारवाही तर्फ पक्षलाई मर्का पर्न आएमा कम्पनी ऐन, २०२१ अन्तर्गत छुट्टै उपचारको व्यवस्था हुँदा सो तर्फ प्रस्तुत मुद्दाबाट बोली रहन नपर्ने । घनश्याम तर्फको क्रमसंख्या १७ को बैंक खाता १३६०५ को पछि १३५०६ भएको संशोधित भएको खाता बैंक बुझ्दा ६।८।०३० मा खाता खोलिएको र ३७६। मात्र बाँकी रहेको रकम सम्बद्ध प्रतिवादीको प्रतिउत्तरमा उल्लेख नभएकोले वादीको दावी सो तर्फ पुग्ने र सुवारू कार ०३१।१२।३।१ मा प्रतिवादीको नाउँमा दर्ता भएको देखिँदा मानो छुट्टिएको मिति पछिको दर्ता हुँदा यस तर्फ वादी दावी नपुग्ने र अन्य कारहरूको लगत २०२७।७।२६ र २०३५।८ ।१९ मा लगत कट्टा भइसकेको भन्ने देखिएकोले लगत कट्टा भई सम्पत्ति नै मौजुदा नरहेको अवस्थामा सोतर्फ बोली रहन नपर्ने भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।

        ६.  शुरू जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी र प्रतिवादीहरू दुवै थरीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको छुट्टाछुट्टै पुनरावेदन जिकिर ।

        ७. वादी दावीका कलमहरूको चल सम्पत्ति दपोट नठहराएको का.जि.अदालतको फैसला मनासिव ठहर्छ । का.जि.अदातबाट ०३०।८।२३ का चल बण्डा हुनुभन्दा अगावै ०३०।८।६ मा प्रतिवादी मध्येका घनश्याम र महाजनका नाउँमा खातामा जम्मा रहेको रू. ५९७०७।८९ प्रतिवादीहरूले दपोट ठहराएको सो हद सम्मको इन्साफ हेर्दा प्रस्तुत मुद्दामा खाता नं. को सम्बन्धमा नं. १३६०५ र १३५०६ भनी फरक परेको विषयमा दुवै पक्षबाट विवाद उठाएकोले खाता नं. १३५०६ मा जम्मा रहेको उक्त रकम प्रतिवादी महाजन र घनश्यामकै नाउँमा रहेको मिसिल सामेल रहेको जवाफबाट प्रमाणित हुन आएकोले मुख्य विवाद चल सम्पत्ति दपोट गरे भन्ने हुनाले सो दपोट गरे भनी दावी लिएको सम्पत्तिलाई लिएर निर्णय दिनुपर्ने हुनाले खाता नम्बरको विवादले विशेष अन्तर ल्याएको पाइएन । वादी तर्फबाट बैंक बेलेन्स समेत दपोट गरे भन्ने फिराद जिकिर लिएको र सो रकम २०३०।८।२३ को चल बण्डापत्रमा नपरेको र अंश मुद्दाको तायदातीमा समेत प्रतिवादीहरूले उल्लेख गरेको देखिएन । सो तायदातीमा उल्लेख नगरेको के कति दपोट ठहर्नु पर्ने हो भन्ने तर्फ विचार गर्दा अंशबण्डाको २७ नं. को ऐनमा दवाए छपाएको छैन भनी कागज गरी सकेपछि दवाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दवाउनेले पाउँदैन । नदवाउने अरू अंशियारले ऐन बमोजिम गरी खान पाउँछन् भन्ने लेखिएकोले अंश मुद्दाको तायदातीमा उक्त रकम रू. ५९७०७।८९ बण्डा हुने भनी तायदाती दिनुपर्ने कर्तव्य प्र.घनश्याम र महाजनको हुनाले निजहरूले नै उक्त रकम रू. ५९७०७।८९ दपोट गरेको ठहर्न आएको र नदबाउने प्र.गणेशको भाग ४ खण्डको १ खण्ड रू. १४९२६।९७ निजले नै ऐन बमोजिम पाउने हुँदा सो कटाई बाँकी ठहर्न आउने रू. ४४७८०।९२ प्रतिवादी घनश्याम र महाजनले अंश मुद्दाको तायदातीमा दवाए छपाएको ठहरेकोले वादीले एकलौटी गरी खान पाउने ठहर्छ । उपरोक्त १४९२६।९७ समेत दपोट ठहराएको सो हदसम्मको इन्साफ का.जि.अ.को गल्ती ठहर्छ । सम्पूर्ण दपोट ठहराउनुपर्ने भन्ने वादी पुनरावेदकको पुनरावेदन जिकिर सो रकम समेत दपोट ठहर्न नपर्ने भन्ने प्र.पुनरावेदकहरूको जिकिर समेत पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

        ८.  मध्यमाञ्चल क्षे.अदालतले गरेको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने पुनरावेदक वादी पद्मबहादुर राजकर्णिकारले यस अदालतमा दिएको पुनरावेदन जिकिर ।

        ९.  यसमा मानो छुट्टिनु भन्दा अघिको गोश्वारा सम्पत्ति अंशबण्डाको १८ नं. ले बाँड्नु पर्ने भई त्यसको तायदातीमा नलेखेको अंशदपोट हुनआउने हुँदा क्षेत्रीय अदालतको फैसला उक्त अंशबण्डाको नं. १८ को बिपरीत भएको देखिन आएको सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएको हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति यस अदालतको डिभिजन बेञ्चको ०३८।८।२९।२ को आदेशबाट प्राप्त भएको रहेछ ।

        १०. यसमा पछि मुद्दा किनारा हुँदा ठहरे बमोजिम गर्ने गरी हाल लाग्ने कोर्टफीमा पक्राउ नगरी कानुन बमोजिम गर्नु भन्ने यस अदालतको ०३८।९।१५।४ को सिंगलबेञ्चको आदेश ।

        ११. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा तायदातीमा नदेखाएको सम्पत्ति दपोट हुने हुँदा वादी पद्मबहादुर राजकर्णिकारको उजूरी कानुनसंगतको देखिन्छ । अंश मुद्दामा मानो छुट्टिएको मिति ०३१।४।१७ गते कायम भएको पाइन्छ । मानो छुट्टिएको मिति कायम हुनुभन्दा अगावैको ०३०।८।२३ को लिखत निष्क्रिय भएकोले उक्त मितिमा नै बण्डा भइसकेको भन्ने जिकिर युक्तिसँगत देखिएन । कम्पनीको शेयर, बैंक खाता इत्यादि बण्डा भएको भन्ने कुरा ०३०।८।२३ को कागजले देखाउँदैन । ०३१।४।१७ मा मानु छुट्टिएको मिति कायम भएपछि सो भन्दा अगाडि सम्म सगोलमा भएको पाइन्छ । सगोलमा छँदा ०३०।८।६ मा सुवारू कारको इम्पोर्ट (लाइसेन्स) (Import Licence) लिएको देखिन्छ । कम्पनीको शेयर र मोटरबारे मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको देखिँदैन । रू. १४९२६।९७ समेत दपोट ठहराएको सो हद सम्मको इन्साफ का.जि.अ.को गल्ती ठहर्छ भनी गरेको म.क्षे.अ.को इन्साफमा केही नमिलेको देखिन्छ । तसर्थ वादी दावीबमोजिम बिगो रू.२०,५०,९८७।९ बण्डा नहुने गरी लुकाएको सम्पत्ति प्रतिवादी हरूले दपोट गरेको ठहर्छ भन्ने का.मु.सं.माननीय प्रधान न्यायाधीश श्री बासुदेव शर्माको राय ।

        १२. प्रस्तुत मुद्दामा पक्ष विपक्षहरूको बीचमा भएको ०३०।८।२३ को कागज र अंश मुद्दामा मानो छुट्टिएको मिति ०३१।४।१७ कायम भई फैसला भएकोबाट विवादको सिर्जना भएको देखिन आउँछ । यस स्थितिमा मुलुकी ऐन अंशबण्डाको महलको २७ नं. र ३५ नं. मुख्य रूपले यस विवादसँग सम्बन्धित हुन आउँछ ।

        १३. ०३०।८।२३ मा पक्षहरूले कागज गरी चल बण्डा गरेको र अचल घर जग्गा इत्यादि पछि लिने दिने छौं भनी उक्त कागजमा स्पष्ट उल्लेख गरेको देखिन्छ । सो कागज अंश मुद्दामा वादीलाई देखाउँदा सुनाउँदा उक्त लिखतमा उल्लेख मेरो नामको सहिछाप मेरो हो सो हुँदा कागज सद्दे नै हो भनी काठमाडौं जिल्ला अदालतमा बयान गरेको देखिन्छ । यस स्थितिमा सो कागजमा बण्डा गरिएको सम्पत्ति अघि नै बण्डा भइसकेको भन्ने नै मान्नुपर्ने देखिन आयो । सो अंश मुद्दामा प्रतिवादीहरूले प्रतिवादी फिराउँदा सो ०३०।८।२३ को लिखत लाई प्रमाण लगाएको र धनमालको तायदाती दिँदासमेत चल सम्पत्ति बण्डा भइसकेको भनी यसै कागजलाई प्रष्ट उल्लेख गरेको पाइन्छ । म.क्षे.अ.बाट ०३४।२।२३ मा माग भएको सो अंश मुद्दाको फैसलामा वादीले घरसारमा ०३०।८।२३ मा लिई दिई सकेको भन्ने उल्लेख गरेको पाइन्छ । मिति ०३९।८।२३ को घरसामा लिए दिएको भनेको चल सम्पत्ति दाखिल भएको तायदातीमा नपरकोले त्यस सम्बन्धमा सो कटाई म नै उल्लेख नै गर्न नपर्ने हुँदा सो शब्द झिकी दिने भन्ने ०३५।४।१८ को स.अ.डिभिजन बेञ्चको फैसलाबाट देखिन्छ । यसरी स.अ.बाट भएको अंश मुद्दाको आधारले प्रस्तुत मुद्दाको फिरादपत्र पर्न आएको देखिन्छ । अदालतबाट मानो छुट्टिएको मिति ०३१।४।१७ लाई कायम गरी अंश मुद्दामा फैसला भएको हुनाले ०३०।८।२३ को उपरोक्त चल बण्डाको सम्पत्ति दवाएको भन्ने वादीको मुख्य जिकिर देखिन आयो ।

        १४. अंश मुद्दामा माथि उल्लेख भएको तथ्यलाई हेर्दा प्रतिवादीहरूले ०३०।८।२३ को बण्डाको सम्पत्तिलाई दवाएको भन्न सकिने अवस्था देखिँदैन । अंशबण्डाको ३५ नं. हेर्दा पनि सबै सम्पत्तिको एकै पटक बण्डा हुन्छ र गर्नुपर्छ भन्ने बाध्यता भएको पाइँदैन ने.का.प. २०२६ अंक २ पृ.सं. ४१ नि.नं. ४६६ मा निवेदक मेहरमान खड्गी विपक्षी हिरामान खड्गी समेतको फु.नं. ४१ को अंश दपोट मुद्दामा ०२५।९।६।६ मा अंशबण्डा भइसकेकोमा पनि केही बण्डा गर्नुपर्ने बाँकी भएमा उक्त बाँकी अंश मुद्दाको ठहर अनुसार भाग लगाई छुट्याई दिन मिल्ने भन्ने सर्वोच्च अदालत फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भएको पनि पाइन्छ ।

        १५. ०३०।८।२३ को चल बण्डा अंश मुद्दाबाट बदर भएको देखिँदैन । अंशण्डाको ३५ नं. अनुसार सो बण्डा कायम रहन सक्ने हुनाले वादी पद्मबहादुर राजकर्णिकारको दावी पुग्न नसक्ने हुँदा मानु छुट्टिएको मिति ०३१।४।१७ सालमा कायम भएपछि ०३०।८।२३ को त्यस्तो लिखत निष्क्रिय भई हाल्यो भन्ने विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको जिकिरसँग सहमत हुन सकिएन । तसर्थ रू. १४९२६।९७ सम्म दपोट ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव देखिँदा यसमा परिवर्तन गर्नुपर्ने स्थिति देखिएन भन्ने मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

        १६. डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी यस फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विपक्षी प्रतिवादी घनश्याम राजकर्णिकार तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, महाजन राजकर्णिकार तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल तथा विद्वान अधिवक्ता श्री यादव खरेलले गर्नुभएको बहससमेत सुनियो ।

        १७. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा अंश मुद्दामा तायदाती दिँदा प्र.हरूले बण्डा नहुने गराई लुकाएको हुँदा निजहरूले दवाएको चलसम्पत्ति मेरो एकलौटी हुने हुनाले विपक्षीहरूबाट दिलाई भराई र नाम दर्ता गराई पाउँ भन्ने समेत उल्लेख गर्दै वादीले प्र.गणेशबहादुर महाजन र घनश्यामले दवाएको भनी पितल, तामा, ढलौट, स्टील, चाँदी, सुन आदि धातु बैंकमा रहेको रकम, विकास ऋण पत्र, शेयर तथा कार समेतको फाँटवारी दिएको पाइन्छ । वादी दावी झुठ्ठा हो वादी समेत सबै अंशियारले चल धनमाल बुझी लिई खडा गरिएको २०३०।८।२३ को बण्डापत्र अंश मुद्दामा विपक्षीलाई सुनाइदा सद्दे हो भनी स्वीकार गर्नु भएको छ । बराबर लिए दिएको सम्पत्तिलाई दपोट गरे भनी विपक्षीले फिराद गर्न स.अ.को फैसलाबाट दिंदैन । वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ ।

        १८. कृष्णबहादुरको छोरा जेठा गणेशबहादुर, माइला पद्मबहादुर, साँहिला महाजन र कान्छा घनश्याम समेत भई सम्पत्ति चल वर्तन सुना चाँदी समेत लिनुदिनु गरी र अचल घर जग्गा धनमाल पछि बण्डा गर्ने भन्ने उल्लेख गरी २०३०।८।२३ मा कागज खडा गरेको देखिन्छ । अ.बं ७८ नं बमोजिम बयान गर्दा वादी पद्मबहादुरले सो कागजमा भएको सहिछाप मेरो हो भनी स्वीकार गरेको देखिन्छ । उक्त कागजको व्यहोराबाट वादी प्रतिवादीहरूले चल बण्डा गरी लिएको देखिन्छ । त्यसरी अचल पछि बण्डा गरी लिने गरी चल सम्पत्ति अंश बण्डा गर्न अंश बण्डाको ३५नं. बमोजिम मिल्ने देखिन्छ । रजिष्ट्रेशनको १ नं. बमोजिम त्यस्तो चल सम्पत्ति बण्डाको लिखत रजिष्ट्रेशन हुनुपर्ने पनि देखिएन ।

        १९. अब प्रतिवादीले दपोट गरे भन्ने वादी दावी तर्फ हेर्दा अंशबण्डाको २७ नं. मा दवाए छपाएको छैन भनी कागज गरी सकेपछि दवाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दवाउनेले पाउँदैन । नदबाउने अरू अंशियारले ऐन बमोजिम अंश गरी खान पाउछन् भन्ने व्यवस्था रहेको पाइन्छ । प्र.ले दवाए छपाएको भनी वादीले एउटा फिहरित फिरादमा दिएको देखिन्छ । प्रत्येक प्र.ले खाएको भनी दिएको सूचीको क्रमसंख्या ६ सम्म सुन चाँदी स्टील, ढलौट, तामा पितल आदि धातुहरू उल्लेख भएको छ । ती धातुहरूको परिमाण २०३०।८।२३ को लिखतमा निजहरूका नाममा परेको परिमाणसँग ठ्याक्क मिल्छ । २०३०।८।२३ को लिखतबाट जति परिमाणमा ती धातु प्रतिवादीहरूले फेला पारेका छन् त्यति नै धनमाल वादीले पनि पाएको देखिन्छ । उक्त सूचीको ७१४ सम्म र घनश्यामको कलमको क्रमसंख्या समेतका विभिन्न बैंकमा प्र.हरू तथा निजका स्वास्नी छोराहरूका नाममा रहेको रकम तथा विकास ऋणपत्रहरू उल्लेख भएको पाइन्छ । उक्त रकमहरू पनि ०३०।८।२३ को कागजबाट सबै अंशियारलाई भाग लागी सकेको देखिन्छ । जुन बैंकमा जुन मितिमा प्रतिवादीहरूका नाममा ती रकमहरू रहेका छन् वादीका नाममा पनि ती बैंकमा तीनै मितिमा त्यति कै रकम रहेको भन्ने प्रतिवादीहरूको कथन छ । उक्त भनाइलाई वादीले अन्यथा भन्न सकेको छैन । २०३०।८।२३ को लिखतबाट रू. ६,३९,०२९। रुपैयाँ प्रत्येक अंशियारले पाएको देखिन्छ । तसर्थ उक्त रकमलाई प्रतिवादीहरूले दवाएको भन्न मिलेन ।

        २०. कृष्ण पाउरोटी प्रा.लि.को रू. २,५०,०००। को शेयर दपोट गरेको भनी वादीले उक्त सूचीको क्रमसंख्या १५ मा उल्लेख गरेका छन् । कृष्ण पाउरोटी २०३०।८।२७ मा कम्पनीमा परिणत भएको कुरालाई वादीले फिरादपत्रको प्रकरण एकमा स्वीकार गरेको देखिन्छ । २०३०।८।२३ मा आफ्नोफ्नो भागमा पर्ने रकम लिए पाए पछि उक्त रकम मध्येबाट कृष्ण पाउरोटीको शेयर खरीद गरेको देखिँदैन, उक्त रकमलाई दवायो भन्न मिल्ने देखिएन ।

        २१. प्रतिवादीले दपोट गर्‍यो भनी वादीले तीनवटा कारको उल्लेख गरेको देखिन्छ सर्वप्रथम घनश्यामले दपोट गर्‍यो भनेको सुवारू कारको सम्बन्धमा हेरौं । उक्त कार अंश मुद्दामा वादीहरू मानो छुट्टिएको कायम भएको मिति ०३१।४।१७ पछि मात्र खरीद भएको हो भन्ने प्रतिवादीको भनाई छ । उक्त कार मिति ०३१।१२।३ मा मात्र प्र.घनश्याम राजकर्णिकारको नाममा दर्ता भएको देखिन्छ । सगोल रहँदैको अवस्थामा खरीद भएको हो भन्ने सबूत प्रमाण वादीले दाखिल गर्न सकेको पाइँदैन । तसर्थ उक्त कारलाई प्रतिवादी घनश्यामले दपोट गर्‍यो भनी मान्न मिल्ने देखिएन । गणेशबहादुरको जिम्मा रहेको बा.अं. ७२४ को क्यासलर कारको सम्बन्धमा हेर्दा उक्त कार २०२७।७।२६ मा लगत कट्टा भइसकेको भन्ने बागमती अञ्चल प्रहरी कार्यालयको ०३६।५।३१ को पत्रबाट देखिन्छ । सगोलकै अवस्थामा लगत कट्टा भइसकेको देखिँदा अस्तित्वमा नै नरहेको भन्नु पर्ने हुँदा उक्त कार दपोट गर्‍यो भन्ने मिलेन । गणेशबहादुर जिम्माको बा.अं. ६६२ को कारको सम्बन्धमा हेर्दा उक्त कार मिति ०३५।८।१९ मा मात्र लगत कट्टा भएको देखिन्छ । अर्थात मानो छुट्टिएको मिति सम्म अस्तित्वमा रहेको देखिन्छ । तर भाइ भाइमा बण्डा लागेको पाइएन । तसर्थ उक्त कारलाई प्र.गणेशबहादुरले दपोट गरेको भन्नु पर्ने हुन आयो । दपोट गरेको ठहरेमा दपोट गरेको भनेको सम्पत्ति जे जस्तो अवस्थामा छ त्यो नै दपोट नगर्ने पक्षले पाउने हो । तसर्थ उक्त कार जे जस्तो अवस्थामा छ दपोट नगर्ने पक्ष वादी पद्मबहादुर, प्र.महाजन, प्र.घनश्याम समेतले बण्डा गरी लिन पाउने ठहर्छ । सो कार दपोट गरेको ठहर्छ । कार दपोट गरेको नठहराएको सम्म गल्ती अरू कुरामा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा बा.अं. ६६२ को कार मात्र प्रतिवादी गणेबहादुरले दपोट गरेको ठहरेको हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३८।५।२।३ का फैसला हुँदा प्रतिवादीबाट वादीलाई भराई दिने गरेको कोर्टफी रू. १६१३।४० अब भराई दिनुपरेन व्यहोरा जनाई लगत कट्टा गरी दिनु र बिगो रू. ५०००। को गाडी मात्र प्र.गणेशबहादुरले दपोट गरेको ठहरेको हुँदा सोको हुने कोर्टफी रू. २२०। मात्र प्र.गणेबहादुरबाट भरी पाउने हुँदा भरिपाउँ भनी ऐनका म्यादभित्र वादीको दर्खास्त परे ऐन बमोजिम वादीलाई भराई दिनु भनी का.जि.अ.त.मा लगत दिनु…………………१

कोर्टफीको हकमा शुरू का.जि.अ.को ०३७।६।१४।३ र म. क्षे.अ.को ०३८।५।२ को फैसलाबमोजिमको लगत कायमै राखी सोहीबमोजिम गर्नु भनी ऐ.ऐ.मा लगत दिनु…………२

वादी पद्मबहादुर राकर्णिकार के माथि इन्साफ खण्डामा वादी दावी नपुग्ने ठहरी फैसला भएकोले मध्यमञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्दा लाग्ने कोर्टफी रू. ३७१६।८६ लाग्नेमा पछि ठहरे बमोजिम हुने गरी हाल कोर्टफीमा पक्राउ नगरी पुनरावेदन दर्ता गरी दिनु भन्ने सिंगलबेञ्चको ०३८।९।१५ का आदेश अनुसार पुनरावेदन दर्ता भएको देखिएकोले उक्त कोर्टफी वादीले बुझाउनु पर्छ बेरूजु हुँदा जरिवाना सरह असूल उपर गर्नु भनी ऐ.ऐ. मा लगत दिनु……………..३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु………………४

 

उक्त रायमा हाम्रो सहमत छ ।

 

न्या. त्रिलोकप्रताप राणा,

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल चैत्र २ गते रोज ६ शुभम् ।