निर्णय नं. २१९७ – पर्वते रजौटा कायम
निर्णय नं. २१९७ ने.का.प. २०४१ अङ्क १२ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप...
निर्णय नं. २१९७ ने.का.प. २०४१ अङ्क १२
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४० सालको दे.पु.नं. ४४
मुद्दा : पर्वते रजौटा कायम
निवेदक : का.जि.का.न.पं. वा.नं. ३३ बस्ने जयन्द्रबम मल्ल
विरूद्ध
विपक्षी : जि.पर्वत पाङ गा.पं. वा.नं. ४ नुवार बस्ने दुर्गाबहादुर मल्ल
फैसला भएको मिति : २०४१।१२।९।६ मा
§ पर्वते राजा मलाई कायम गरिपाउँ भन्ने प्रमाणको अभावमा दावी पुग्न सक्ने देखिएन ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजुरमा श्री जयन्द्रबम मल्लले मिति २०३८।११।२४ मा पर्वते रजौटाको नाम नेपाल राजपत्रमा प्रकाशित गरी पर्वते रजौटाले पाउनुपर्ने पहिले देखिको भत्ता दिनु भन्ने हुकुम प्रमांगी पाउँ भन्ने विषयमा चढाई पठाउनुभएको बिन्तिपत्र र सोही विषयमा पर्वते राजा भएकोले भत्ता पाउन अर्थ मन्त्रालयको फाइलमा संलग्न रहेको श्री दुर्गाबहादुर बम मल्लले मिति ०३६।१२।२४ मा सम्माननीय प्रधानमन्त्री कहाँ दिनुभएको निवेदनबाट एउटै पदको लागि दुई व्यक्तिको दावी देखिन आई विवाद खडा हुन आएको कुरा जाहेर हुँदा सर्वोच्च अदालतको फुल बेञ्चले पर्वते राजा को हुन् भन्ने कुरा कानुन बमोजिम निर्णय गरी टुङ्गो लगाउन मौसुफ सरकारबाट हुकुम बक्सेको छ भन्ने समेत श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट लेखी आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भए बमोजिम प्रस्तुत मुद्दा फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. प्रमाण मुकररको लागि पेश गर्नु भन्ने ०४०।८।२३ को फुल बेञ्चको आदेश अनुसार पेश हुँदा श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहबाट राज्य विजय गर्दा पर्वतमा कीर्ति बम मल्ल राजा हुनुहुन्थ्यो त्यसपछि पर्वत राज्यमा १९८७ साल सम्म कुनै राजा भएनन् म समेतका बाजे चन्द्रबहादुर बमले चौतारिया जंगप्रताप शाहकी दिदी तथा तत्कालीन श्री ३ भिमशमशेरका नाताकी मेरी बज्यै नरराजेश्वरीलाई कान्छी श्रीमती बनाई विवाह गर्नु भएछ कान्छी पट्टि जेठा राजा देवेन्द्रबहादुर, माहिला मेरा बुबाले गजेन्द्रबहादुर र कान्छा नरेन्द्रबहादुर समेत ३ छोरा हुनुभएको, जेठी पट्टि दुर्गाबहादुरका बुबा पृथ्वीबहादुरको जन्म भएको रहेछ । तत्कालीन राणाशासनका नाताकी व्यक्ति नरराजेश्वरी हुनाले वहाँका जेठा छोरा देवेन्द्रबहादुर बमलाई पर्वत राजा कायम गरी १९८७।५।१६।२ मा ख.नि.सनद भएको थियो । सो ख.नि. समेत पेश गरी मैले भत्ता बारे बिन्ती चढाएको फाइल समेत सिंहदरबार आगलागीमा परेकोले सो मिसिल आगलागीमा परेको कुरा समेत दर्शाई मैले ०३६।८।२१।६ मा बिन्ति चढाएको छु । नरराजेश्वरीलाई रानी भन्ने सम्बोधन गरी राजाले खान पाउने माना चामल बारे वहाँ र वहाँका सन्तान दर सन्तानले खान पाउने गरी २००३।९।१८ मा सनद भएको हो । उक्त सनदले मेरो बज्यै र वहाँको सन्तानले नै खान्गी खान पाउने भएको हुनाले समेत पर्वते राजाको राज पदवी पाउने देवेन्द्रबहादुरको हक भयो । राजा देवेन्द्रबहादुर सन्तान नभई २००६ साल जेष्ठ महीनामा परलोक हुनुभयो । कान्छा बुबा परलोक हुनुभएको र जेठा बुबा देवेन्द्रबहादुर परलोक भएपछि हाम्रो परम्परा अनुसार राजा पदवी छोरामा सर्ने भएकोले उक्त राजा पदवीमा मेरो हक हुन आएको हो । स्याङजा मालको तीन महलेमा देवेन्द्रबहादुरलाई राजा देवेन्द्रबहादुर भनी सम्बोधन गरेको र यसै ३ महलेमा विपक्षीका बुबा पृथ्वीबहादुरको नाम पनि अंकित छ, तर वहाँलाई राजा भनेको छैन । यसबाट विपक्षीका बुबाले राजा पदवी पाएको नभई मेरा बज्यैका सन्तान पट्टि राजा पदवी रहेको स्पष्ट हुन्छ भन्ने समेत जयन्द्र बम मल्लको वारिस मेदिनीदेवी मल्लले ०४०।८।२३ मा फुल बेञ्च समक्ष गरेको बयान ।
३. पुस्तावारीमा पूर्खा कीर्ति बमका सन्तान हामी दुवै हौं, हामीहरूका साझा बाजे राजा चन्द्रबहादुरका दुई श्रीमती मध्ये जेठी चन्द्रकुमारी कान्छी नरराजेश्वरी हुनुहुन्छ, जेठी चन्द्रकुमारी तर्फबाट जन्मेका चन्द्रबहादुरका जेठा छोरा राजा पृथ्वीबहादुरको छोरा म दुर्गाबहादुर एक मात्र छोरा हुँ । कान्छी नरराजेश्वरीतर्फ देवेन्द्रबहादुर, गजेन्द्रबहादुर र नरेश भई तीन भाई छोरा भए पनि यी तिनै भाइ मेरा पिताजी पृथ्वीबहादुर पछि जन्मेका हुँदा बाजे चन्द्रबहादुरका माहिला छोरा देवेन्द्रबहादुर, साहिला गजेन्द्रबहादुर कान्छा नरेशबहादुर र गजेन्द्रबहादुरका छोरा यी विपक्षी निवेदक जयन्द्र बम मल्ल हुनुहुन्छ । जेठी पट्टिको सन्तानमा राजाको पदवी जाने तथ्यलाई स्वयं विपक्षीले स्वीकार गर्नु भएकै छ । जेठा पृथ्वीबहादुर हुँदा हुँदै माहिला देवेन्द्रबहादुर साहिंला गजेन्द्रबहादुरको छोरा विपक्षीतर्फ पर्वते राजाको पदवी जान सक्ने अवस्थै छैन । पृथ्वीबहादुरको एकमात्र छोरा भएको निजको शेषपछि म नै पर्वते राजा बनेको हुँ । स्वयं विपक्षी जयन्द्र बम मल्ल प्रतिवादी र वादी विपक्षी कै पिताजी गजेन्द्रबहादुर बम मल्ल भएको लिखत जालसाजी मुद्दामा फिराद गर्दा चन्द्र बहादुरको जेठी पट्टिका छोरा जेठाराजा पृथ्वीबहादुर कान्छी पट्टिका माहिला देवेन्द्रबहादुर, साहिंला आफू गजेन्द्रबहादुर कान्छा नरेन्द्रबहादुर ४ भाइ मध्ये जेठा राजा पृथ्वीबहादुरको छोरा म दुर्गा बहादुर भन्नु भएको छ । गृह पञ्चायत मन्त्रालयको ०३७।१०।९ को पत्रानुसार दुर्गाबहादुर मल्ल पर्वते राजा यकीन गरी भत्ताको व्यवस्था गर्न राजपत्रमा नाम प्रकाशन गर्ने भनिएको छ र त्यसैमा पर्वतेराजा दुर्गाबहादुर बम मल्ल नै भएको व्यहोरा प्रमाणितसाथ अनुरोधगरिन्छ भनी गृह पञ्चायत मन्त्रालयको ०३७।१०।१० को पत्रबाट यकीन भएको भनी अर्थ मन्त्रालयको ०३७।१०।२३ को श्री ५ को सरकारको निर्णय अनुसार पर्वते राजा दुर्गाबहादुर बम मल्ल नै कायम भएको देखिन्छ भन्ने उल्लेख भएकै छ । म पर्वते राजा भएर नै स्व. श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको शुभराज्याभिषेकमा राजा रजौटा भनी मलाई सम्बोधन गरी ०१३।१।२०।४ मा शुभराज्यभिषेकको पास दिइएको छ र सोही अवसरमा विशेष तक्मा मलाई प्रदान गरिएको छ । मलाई राजा भनी सम्बोधन गरी २००७ सालको क्रान्ति पछिको संकटकालीन सरकारले ००७।१२। २२।४ मा मलाई पत्र दिएको छ । त्यस्तै जि.पर्वत मौजे पर्वत ततरकोट रैकर जि.समरबहादुर खत्री क्षेत्री जिम्मा खान्गी भनेकोमा राजा दुर्गाबहादुर भनी लेखिएको, राज्यरजौटा उन्मुलन हुँदा मु. नन्दराम फकामी मगरले दावी गरेको लगतमा पर्वते राजा दुर्गाबहादुर मल्लका मानाचामलको भन्ने व्यहोरा उल्लेख गरिएकोछ । भीमशमशेरका नामबाट १९६९।२।१० मा मेरा स्व.पिताजी पृथ्वी बहादुर बममल्ललाई पर्वतका राजापृथ्वीबहादुर बममल्ल भन्ने रूक्का दस्तखत गरीपठाएको रूक्का बाटसमेत पिताजी नै राजा देखिनु हुन्छ । कुलो खन्ने सम्बन्धमा १९९५।९।१७ गते भएको कागजमा मलाई राजा दुर्गाबहादुर भनी सम्बोधन गरिएको छ । त्यसको शीर भागमा स्वयं देवेन्द्रबहादुर कै हस्ताक्षरले २००। रुपैयाँ खर्च भएको हामीबाट पनि सदर भयो भन्ने लेखिएको छ । तसर्थ मलाई नै पर्वतेराजा कायम गरिपाउँ भन्ने दुर्गाबहादुर बम मल्लको ०४०।८।२३ गते फुल बेञ्च समक्ष बयान ।
४. ०४०।१०।१३।६ को आदेश बमोजिम दावीबाट दाखिल भएका सक्कल कागजहरू मध्ये १९८७।१२।४ मिति १९८२।१।१० र १९८६।१२।७ को कुबलियत कागज प्रतिवादीलाई र प्रतिवादीबाट पेश भएको कागजहरू मध्ये पर्वते राजा पृथ्वीबहादुर मल्ल उल्लेख भएको खाम थान १, पर्वतको राजा पृथ्वीबहादुर बम भन्ने उल्लेख भएको खाम र २००७।१२।२२।४ क्रान्तिकारी सरकारबाट राजा दुर्गाबहादुर भनी दिइएको पत्र सक्कल कागज मगाई सो समेत वादीलाई अ.बं. ७८ नं. बमोजिम सुनाउन पेश गर्नु भन्ने ०४१।२।१९।६ को आदेश ।
५. पर्वतका राजा पृथ्वीबहादुर बम भन्ने खामको सम्बन्धमा विपक्षको स्व.पिता पृथ्वीबहादुरलाई पर्वतका राजा पृथ्वीबहादुर भनी कम्याण्डर इनचीफ जनरल भीम शमशेर ज.ब.रा. १९६९।२।१० भनी पठएको एक छापे सक्कलमा विपक्षले कपटपूर्ण तरीकाबाट उक्त एक छापेको खाम भनी उक्त खाम पेश गरेको छ विपक्षले पेश गरेको यो खाम एक छापको खाम होइन उक्त खाममा पठाउने व्यक्तिको नाम अंकित लेखिएको छैन उक्त खाम एक छापेको हो भन्ने विपक्षको दावा झुठ्ठा हो एक छापेमा पृथ्वीबहादुरको नाम छैन त्यसो हुँदा प्रमाण लाग्ने भएन । पर्वते राजा पृथ्वीबहादुर मल्ल भनी उल्लेख भएको खामको सम्बन्धमा उक्त खाममा पठाउने व्यक्तिको नामै छैन त्यस प्रकारले कपटपूर्ण जालसाजी तरीकाले विपक्षले खाम पेश गरेको छ । अर्को कुरा १९७९ सालमा दरवाङको पहिरोमा परी मृत्यु भएको नै नहुँदा विपक्षको पिता पृथ्वीबहादुर मल्ललाई पत्र लेख्ने अवस्था नै नहुँदा विपक्षीलाई पर्वते राजाको हक कायम गर्न मिल्दैन । २००७।१२।२२ को क्रान्तिकारी सरकारको पत्रको सम्बन्धमा उक्त पत्रमा विपक्ष खाद्य मन्त्री भएको प्रष्ट छ । नेपाली काँग्रेसले आफ्नो दलगत व्यक्तिलाई त्यसरी राजा दुर्गाबहादुर भनी पत्र लेख्दैमा विपक्ष दुर्गाबहादुर पर्वते रजौटा हुन सक्ने होइन भन्ने समेत जयन्द्र बम मल्लको ०४१।३।१६ मा फुल बेञ्च समक्ष बयान ।
६. उक्त खामहरू सद्दे साँचो हो उक्त खाममा पठाउने व्यक्तिको नाम देवेन्द्रबहादुर भनी लेखिएको र ठाउँ ज्ञानेश्वर जनिएको छ । २००७ सालको क्रान्तिमा सबै एक दल भई काम गरेका थिए । त्यसकारण दुर्गाबहादुरलाई काँग्रेसी भनेर दोषारोपण गर्न मिल्दैन । भीमशमशेरले लेखेको भनेको पत्र बन्दी खाममा त्यसै बेलाको मोहर लागेको छ र पृथ्वीबहादुर मल्लको मृत्यु हुनुभन्दा अघि नै सो पत्र लेखिएको हो त्यसकारण ती कागजहरू जालसाजी होइनन् भन्ने समेत प्रतिवादीको वारिस इन्द्र बम मल्लले ०४१।३।१६।६ मा फुल बेञ्च समक्ष गरेको बयान ।
७. वादीले पेश गरेको १९८२।१।१०, १९८६।१२।७, १९८७।१२।४ को व्यहोरा अवगत भयो उल्लिखित व्यहोराबाट वहाँ पर्वते राजा देखिनु हुन्न वहाँले ०४०।८।६ मा दिएको बयानमा १९८० साल सम्म कुनै राजा थिएनन् त्यस समय भन्दा अघि देखिएका भएका कागहरूबाट वहाँलाई राजा कायम गर्न मद्दत पुग्दैन, कबुलियतमा राजा देवेन्द्रबहादुर मल्ल भनी लेखिएका शब्दहरू जालसाजबाटै लेखाएका हुन्, राजा पृथ्वीबहादुर परलोक भएपछि दुर्गा बहादुर राजा हुनुभएको हो भन्ने समेत प्र.वा.इन्द्र बम मल्लको फुल बेञ्च समक्ष बयान ।
८. पृथ्वीबहादुर मल्लको मृत्यु भएको अवस्थामा रैतीले गरेको कबुलियतलाई जालसाज भन्नु झुठ्ठा हो दुर्गाबहादुरको निवेदन दावा ऐन कानुन बिपरीत हुँदा विपक्षीलाई कानुन बमोजिम सजाय गरिपाउँ भन्ने जयन्द्र मल्लको फुल बेञ्च समक्ष बयान ।
९. नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले चन्द्रबहादुरको जेठीश्रीमती तर्फबाट पृथ्वीबहादुर र कान्छी श्रीमती नरराजेश्वरीतर्फबाट देवेन्द्रबहादुर, गजेन्द्रबहादुर र नरेन्द्रबहादुर जन्मिए । नरराजेश्वरी भीमशमशेरको नातेदार भएकोले देवेन्द्रबहादुर राजा भएको हो । वहाँ निसन्तान भई मरेपछि गजेन्द्रबहादुर जीवित नहुँदा जयन्द्र बम मल्ल राजा भए । २००२ को सनदबाट देवेन्द्रबहादुर राजा देखिन्छ । अतः दावी बमोजिम वादी पर्वते राजा कायम हनुपर्छ भन्ने समेत र प्रत्यर्थी दुर्गाबहादुर बम मल्लतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीको बाबुले दिएको लिखत जालसाजी मुद्दामा पुस्तावारी लेख्दा राजा पृथ्वी बहादुर भन्ने उल्लेख गरेको छ । सबै बुझी प्रतिवादी पर्वत राजा कायम भई भत्ता पाउने गरी टिप्पणींबाट निर्णय भएको छ । शुभ राज्याभिषेकमा प्रतिवादीले पर्वते राजा भनी शुभ–राज्याभिषेक तक्मा पाएको छ । मालको लगतमा राजा दुर्गाबहादुर भन्ने उल्लेख छ । देवेन्द्र बहादुले राजा पृथ्वीबहादुर भनी चिठ्ठी लेखेको छ । चन्द्रबहादुर मरेपछि पृथ्वीबहादुर राजा भएको देखिन्छ । चन्द्रबहादुरको जेठा छोरा पृथ्वीबहादुर हो भन्ने कुरामा विवाद छैन । राजाको जेठा छोरा राजा हुने परम्परा वादीले स्वीकारेको छ । गजेन्द्रबहादुर राजा थिए भन्न सकेको छैन । बाबु नै राजा नभए पछि छोरा कसरी राजा हुने अतः प्रतिवादी दुर्गाबहादुर बम मल्ल पर्वते राजा कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१०. प्रस्तुत मुद्दामा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम पर्वत राजा को हुन् ? भन्ने कुरामा निर्णय दिनुपर्ने हुन आएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा वादी प्रतिवादीहरूले आ–आफ्नो प्रमाण भनी कागजहरू पेश गरेको छ । वादीबाट पेश गरेका कागज मध्ये १९८७।१२।४ मिति १९८२।१।१० र १९८६।१२।७ को कबुलियत प्रतिवादीलाई र प्रतिवादीबाट पेश गरेको पर्वते राजा पृथ्वीबहादुर मल्ल उल्लेख भएको खाम १ पर्वतको राजा पृथ्वीबहादुर बम भन्ने उल्लेख भएको खाम र ००७।१२।२२ मा क्रान्तिकारी सरकारबाट राजा दुर्गाबहादुर भनी दिइएको पत्रको सक्कल वादीलाई देखाई बयान गराइएकोमा प्रतिवादीले पेश गरेको सो खामहरू र पत्रलाई वादीले जालसाजी हो भनी र वादीले पेश गरेको कबुलियत समेतको लिखतहरूमा राजा देवेन्द्रबहादुर मल्ल भनी प्रतिवादीका शब्दहरू जालसाजबाट लेखे लेखाएका हुन भनी प्रतिवादीहरूले बयान गरेको देखिन्छ । तर वादीबाट पेश भएका कागजातबाट वादी राजा हो भन्ने निष्कर्षमा पुग्ने स्थिति छैन । प्रतिवादीबाट पेश भएको कागजातलाई वादीले जालसाजी भनेकोमा त्यसरी जालसाज गरेको हो भन्ने कुराको कुनै सबूत प्रमाणहरू आउँन सकेको छैन । यस्तो अवस्थामा सबूत प्रमाण बेगर ती कागजहरूलाई जालसाजी भन्न सकिने स्थिति रहेन ।
१२. अब पर्वते राजा को हो भन्ने तर्फ हेर्दा वादी प्रतिवादीका बाजे चन्द्रबहादुर पर्वते राजा भन्ने कुरामा विवाद छैन । चन्द्रबहादुर मल्लको २ श्रीमतीमा जेठी चन्द्रकुमारी, कान्छी नरराजेश्वरी देवी हुन् भन्ने कुरामा वादी प्रतिवादी दुवैले स्वीकार गरेको पाइन्छ । जेठी चन्द्रकुमारी तर्फबाट जेठा छोरा पृथ्वीबहादुर र कान्छी नरराजेश्वरी देवी तर्फबाट छोरा देवेन्द्रबहादुर, वादीका बाबु गजेन्द्रबहादुर र नरेन्द्रबहादुरको जन्म भएको भन्ने देखिन्छ । वादीले बयान गर्दा देवेन्द्रबहादुरलाई पर्वते राजा कायम गरी १९८७।५।१ मा ख.नि. सनद भएको खड्ग निशान समेतको फाइल सिंहदरवार आगलागीमा परेको भनी प्रकरण (४) मा र पर्वते राज्यमा १९८७ साल सम्म कुनै राजा भएनन् भनी प्रकरण (३) मा लेखाएको पाइन्छ । यसबाट वादीको भनाई एकरूपता नभई विश्वसनीय देखिँदैन । २००२।६।१४ को सनदबाट देवेन्द्रबहादुर राजा देखिन्छ भनी वादीले सनदको नक्कल पेश गरेको पाइन्छ । तर सो सनदबाट माना चामलको कुरा मात्र उल्लेख भएको देखिन्छ । देवेन्द्रबहादुर राजा भएको भन्ने देखिँदैन । वादीका बाबु गजेन्द्रबहादुर पर्वतका राजा थिए भनी वादीले भन्न सकेको छैन । निज गजेन्द्रबहादुरले राजा हुँ भनी दावी गरी उजूर गर्न सकेको पनि छैन । पृथ्वीबहादुर चन्द्रबहादुरको जेठा छोरा भन्ने प्रतिवादीको बयानबाट देखिन्छ । सो कुरा होइन भनी वादीले कहीँ खण्डन गर्न सकेको देखिँदैन । प्रतिवादीले पेश गरेको कम्याण्डर ईनचीफ जनरल भीम शमशेर ज.ब.रा.बाट १९६९।२।१० मा पठाएको रूक्का दस्तखतको खाममा भनेकोमा पर्वतका राजा पृथ्वीबहादुर बम मल्लकै भनी संबोधन गरेको देखिन्छ । त्यस खाममा मुलुकी अड्डाको छाप लागेको पाइन्छ । प्रतिवादीले पेश गरेको जिल्लै पर्वत ततरकोट रैकरको दर्ता उतारमा हाल मोही पर्वते राजा दुर्गाबहादुर मल्ल भन्ने उल्लेख भएको देखिन्छ । राजाका जेठा छोरा राजा हुने परम्परालाई वादीले स्वीकार गरेको पाइन्छ । यसबाट चन्द्रबहादुर पछि निजका जेठा छोरा पृथ्वीबहादुर बम मल्ल र त्यसपछि निज पृथ्वीबहादुरको जेठा छोरा प्रतिवादी दुर्गाबहादुर बम मल्ल पर्वतका राजा भन्ने देखिन आयो । यस्तोमा पर्वते राजा मलाई कायम गरिपाउँ भन्ने प्रमाणको अभावमा वादी जयन्द्र बम मल्लको वादी दावी पुग्न सक्ने देखिएन । तसर्थ उपरोक्त आधारमा प्रतिवादी दुर्गाबहादुर बम मल्ल पर्वते राजा कायम हुने ठहर्छ । बक्स भई आएका हुकुम प्रमांगी बमोजिम निर्णय भएको हुँदा कसैलाई केही गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हाम्रो सहमत छ ।
न्या. सुरेन्द्रप्रसाद सिंह,
न्या. त्रिलोकप्रताप राणा
इति सम्वत् २०४१ साल चैत्र ९ गते रोज ६ शुभम् ।