November 24, 1986
Created by nepalarchives

निर्णय नं. २८४७ – उत्प्रेषण

निर्णय नं. २८४७    ने.का.प. २०४३      अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. १६७७ आदेश...

निर्णय नं. २८४७    ने.का.प. २०४३      अङ्क ९

संयुक्तइजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको रिट नं. १६७७

आदेश भएको मिति : २०४३।८।९।२ मा

 

निवेदक : कुन्तादेवी गा.पं.वडा नं.९ बस्ने टंकनाथ उपाध्याय

विरुद्ध

प्रत्यर्थी : श्री प्रहरी प्रधान कार्यालय नक्शाल काठमाडौंसमेत

 

विषय : उत्प्रेषण

 

(१)         पुनरावेदन परेकोबाट त्यसबाट कानुन अनुसार निर्णय हुने नै हुँदा पुनरावेदनको निर्णय बाँकी छँदाछँदै निवेदकको माग बमोजिम पु.क्षे.प्र.का.को निर्णय उपर रिट क्षेत्रबाट हाल निर्णय गर्न मिलेन ।

(प्रकरण नं. २२)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

आदेश

न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ :

२. मैले ०२३ सालदेखि प्रहरी सेवामा प्रवेश गरी २०२६ र २०२९ मा प्रमोशन समेत भई हाल जिल्ला प्रहरी कार्यालय खोटाड्ड अन्तर्गत छोटी प्रहरी ठाना ऐसेलु खर्कमा प्र.स.नि.पदमा कार्यरत रहेको अवस्था ०३९।४।४ को जिल्ला कार्यालय खोटाड्डको पत्रद्वारा सोही मितिदेखि मलाई सस्पेण्ड राखियो । सगरमाथा अञ्चल  प्रहरी कार्यालय राजविराजको ०३९।५।६ च.नं. २०२ को समेत स्पष्टीकरण पेश गर्ने पत्रहरू मैले पाई यथा समयमा म्यादै भित्र स्पष्टीकरण पेश गरेको थिएँ ।

३. विभागीय कार्यबाहीको सिलसिलामा प्रहरी नियमावली, ०३३ को (संशोधन सहित) परिच्छेद ९ नियम ९.५ को देहाय (ङ) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको कसूरमा ऐ.नियम ९.१० को उपनियम ३ को देहाय (ग) ले दिएको अधिकार प्रयोग गरी ऐ.नियम ९.१ को देहाय (च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहर्ने गरी सेवाबाट बर्खास्त गर्ने पू.क्षे.प्र.का.विराटनगरको ०३९।६।१७ को पर्चाबाट नोकरीबाट अवकाश भएकोले पुनरावेदनको जनाउ दिनु भनी लेखी आएको भनी ०३९।६।२० को जनाउ जि.प्र.का.खोटाड्ड मार्फत ०३९।७।१७ मा प्राप्त गरें ।

४. प्रहरी महानिरीक्षकज्यू समक्ष जिल्ला प्रहरी कार्यालय खोटाड्ड मार्फत म्यादै भित्र मिति ०३९।८।२०।१ मा मैले पुनरावेदन दायर गरेको थिएँ सोही २० गते उक्त पुनरावेदनपत्र पू.क्षे.अ.का.विराटनगरमा चलान गरेको जि.प्र.का.खोटाड्डको च.नं. ८०९ प.सं.१७२ को मलाई बोधार्थ दिएको देखिन्छ ।

५. मैले दिएको पुनरावेदनमा कारवाही भएको जानकारी नपाउँदा प्रत्यर्थी १ नं.समक्ष मेरो पुनरावेदन उपर अविलम्ब कारवाई किनारा गरी पाउँ भनी मिति ०४०।१०।२६ मा निवेदन दिएको थिएँ ।

६. तत्पश्चात पनि कारवाही भएको जानकारी नपाउँदा श्री ५ महाराजाधिराज सरकारमा निवेदन चढाएकोमा यसबारे ०४२।४।७।२ को जि.प्र.का.खोटाड्डद्वारा मलाई पठाएको मैले ०४२।४।२० मा पाएको पत्रानुसार पुनरावेदन गर्नु पर्नेमा रीतपूर्वक पुनरावेदन गर्न नसकेको बिन्तिपत्रको आधारमा मात्र निजको नोकरी थामी दिने तर्फ कारवाही चलाउन नमिल्ने भनी उल्लेख भएको रहेछ ।

७. यस अघि रीतपूर्वकको पुनरावेदन दिनु भनी मलाई जि.प्र.का.ओखलढुड्डाबाट ०४१।१२।१७ मा लेखिएको पत्र ०४१।१२।२९ मा प्राप्त भई उक्त पत्रमा उल्लेख भए अनुसार ०४२।१।५।४ मा जि.प्र.का.खोटाड्ड मार्फत पुनरावेदनपत्र दिएको थिएँ ०४२।१।६ मा सम्बन्धित कागज सहित चलान भएको रहेछ ।

८. मैले वास्तविक रुपमा रीतपूर्वक पुनरावेदनपत्र ऐनका म्यादभित्र दिएको छु । पुनः दिनु भन्ने निर्देशन शिरोपर गरी फेरी दिएको हुँ । पुनरावेदनपत्र सहितको मिसिल संलग्न सबुद प्रमाण हेर्दै नहेरी मूल्याङ्कन नै नगरी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मैले चढाएको बिन्तिपत्रलाई मात्र आधार लिँदै प्रत्यर्थीले गरेको निर्णयबाट कानुन बमोजिम पुनरावेदन सुन्ने तहबाट समेत अ.बं.१८४ क.नं., अ.बं.१८५ नं.लगायत प्रमाण ऐन, ०३१ दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको प्रत्यक्ष प्रतिकूल हुन गएको छ । अधिकार क्षेत्रको अभावमा भए गरेको दोषपूर्ण निर्णय तथा काम कारवाही समेतले रिट निवेदकको नेपालको संविधानको धारा १०(१) द्वारा अभिनिश्चत कानुनी समानताको हक धारा ११(४) द्वारा प्रत्याभूत मौलिक हक लगायत प्रहरी ऐन, २०१२ को दफा १० समेत अन्तर्गतको कानुनी हक अधिकारको प्रचलनमा अबरुद्व भएकोले अन्य कानुनी उपचारको मार्ग समेत नभएको हुँदा संविधानको धारा १६, ७१ अन्तर्गत उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थीहरूको मिलोमतो पूर्ण अधिकार क्षेत्रात्मक त्रुटिको निर्णय तथा सम्पूर्ण काम कारवाही समेत बदर गरी मेरो पूर्ववत नोकरीमा रही सेवा गर्न पाउने हक संरक्षित र प्रचलित गरी पाउँ भन्ने निवेदन जिकिर ।

९. यसमा के कसो भएको हो रिट निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने मिति ०४२।६।२०।१ को सिंगलबेञ्चको आदेश ।

१०. कुनै पनि प्रहरी कर्मचारीले गरेको कसूर अनुसार अग्रिम कारवाहीको लागि माग गरेको स्पष्टीकरण  कानुन बमोजिम नै भएको छ । निवेदक विरुद्ध भएको कारवाही उपर चित्त नबुझी ऐन नियमको म्यादभित्र ऐन नियमको रीत पुर्‍याई पुनरावेदन सुन्ने अधिकार प्राप्त अधिकारी समक्ष प्रहरी नियमावली, ०३३ को परिच्छेद ९ को नियम ९, ९ को उपनियम (३) बमोजिम पुनरावेदन दिनु पर्ने सो बमोजिम पुनरावेदन पेश गर्न नसकेकोले निज निवेदक उपर यस कार्यालयबाट कुनै कारवाही नै नभएकोले निजको माग बमोजिमको आदेश जारी हुन नपर्ने हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने प्रहरी महानिरीक्षक दिलबहादुर लामा प्रहरी प्रधान कार्यालयको लिखितजवाफ ।

११. निवेदक टंकनाथ उपाध्यायको घर ठेगाना यस जिल्ला अन्तर्गत कुन्तादेवी गा.पं.वडा नं.९ झगरपुरमा भएको हुँदा जि.प्र.का.खोटाड्डबाट आएको पत्रसम्म निजलाई बुझाएको निज उपर कुनै कारवाही नभएकोले यस कार्यालय माथि कुनै कारवाही गरी रहनु नपर्ने भन्ने जि.प्र.का.ओखलढुड्डाको लिखितजवाफ ।

१२. यस कार्यालयबाट रिट निवेदकसंग प्रष्टीकरण मागसम्म गरिएको प्रहरी नियमावली, ०३३ (संशोधन) को नियम ९.१० बमोजिम यस कार्यालयलाई प्रष्टीकरण सोध्ने अधिकार उक्त नियमावलीले प्रदान गरेको नै देखिन्छ । निजको बर्खासी पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरबाट भएको यस कार्यालयबाट प्रष्टीकरण माग गरिएको बाहेक अरु कारवाही नभएकोले निवेदन खारेज गरी पाउँ भन्ने सगरमाथा अञ्चल प्रहरी कार्यालयको लिखितजवाफ ।

१३. निवेदकले यस कार्यालयलाई विपक्ष बनाउँदा पू.क्षे.प्र.का.विराटनगरको निर्णय उपर निवेदकले यस कार्यालय मार्फत पुनरावेदनपत्र प्रस्तुत गरेको हुँदा यस कार्यालयको ०३९।८।२० को पत्र साथ पू.क्षे.प्र.का.विराटनगरमा प्रस्तुत गरिएकोमा नियम बमोजिम कागज नभएकोले रीतपूर्वक पठाउनु भन्ने मिति ०३९।१।२७ को पत्र साथ फिर्ता भएकोले पुनः निजलाई जानकारी गराई दिई निजले आफ्ना घर इलाका अन्तर्गत पर्ने जि.प्र.का.ओखलढुड्डा मार्फत पुनरावेदन प्रस्तुत गरेको भन्ने निजको भनाइबाटै बुझिएकै छ ।

१४. मिति ०४२।१।६।५ गते निवेदक यस कार्यालयमा उपस्थित भई श्रीमान प्रहरी महानिरीक्षकज्यूलाई संशोधन गरी प्रस्तुत गरेको पुनरावेदनपत्र समेत यस कार्यालयको मिति ०४२।१।६।५ को पत्रसाथ स.अ.प्र.का.राजविराजमा प्रस्तुत गरिएकै छ । निवेदकको मौलिक हक हनन् हुने किसिमका यस कार्यालयबाट काम कारवाही नभएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने जि.प्र.का.खोटाड्डको लिखितजवाफ ।

१५. निवेदकलाई निजले गरेको कसूर सम्बन्धमा प्रहरी नियमावली अनुसार निज माथि विभागीय कारवाही गर्न कानुन बमोजिम प्रहरी नियमावली, ०३३ को परिच्छेद ९ को नियम ९, ६ को देहाय (२) अनुसार सफाई पेश गर्न बराबर तिन पटकसम्म मौका दिँदा पनि निजले सन्तोषजनक जनाउ पेश गर्न नसकेको कारण निज माथि लगाइएको अपराध ठहरिन आएकोले अवकाश सदर भएको । यस कार्यालयबाट भएको निर्णय विरुद्ध प्रहरी नियमावली, ०३३ को परिच्छेद ९ को नियम १०.३(ग) बमोजिम प्रहरी महानिरीक्षक समक्ष यस कार्यालय मार्फत पुनरावेदन गरेको देखिँदैन भन्ने समेत पू.क्षे.प्र.का.विराटनगरको लिखितजवाफ ।

१६. दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा तारेखमा रहेका निवेदकका वा डिल्लीराज उपाध्यायलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री हरिशंकर निरौला र विपक्षी कार्यालयतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१७. यसमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो कुराकै निर्णय दिनु पर्ने देखियो ।

१८. यसमा रिट निवेदकको निवेदन जिकिर हेर्दा मैले रीतपूर्वकको पुनरावेदनपत्र ऐनको म्यादभित्र दिएको हुँ पुनः दिनु भन्ने आदेश सिरोपर गरी फेरी दिएको पनि हुँ यी तथ्यगततर्फ आँखा चिम्ली मेरो पुनरावेदन सहितको मिसिल संलग्न सबूद प्रमाण हेर्दै नहेरी मूल्यांकन नगरी गरेको निर्णयबाट मलाई आघात पुगेकोले सम्पूर्ण काम कारवाही बदर गरी सेवामा रहने आदेश गरी पाउँ भन्ने समेत जिकिर लिएको पाइन्छ ।

१९. निवेदकलाई पू्.क्षे.प्र.का.को ०३९।६।१७ को निर्णय अनुसार नोकरीबाट हटाउने निर्णय गरे उपर निवेदकले जि.प्र.का.खोटाड्ड मार्फत ०३९।८।२०।१ मा पुनरावेदन दायर गरेको सम्म देखिन्छ तर पुनरावेदनको निर्णय भएको निवेदकको निवेदन जिकिरबाट देखिँदैन, त्यस सम्बन्धमा लिखितजवाफ हेर्दा प्रहरी प्रधान कार्यालयको लिखितजवाफमा निवेदकले पुनरावेदन पेश गर्न नसकेकोले निज निवेदक उपर यस कार्यालयबाट कुनै कारवाही नभएको भन्ने समेत उल्लेख भएको । पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको लिखितजवाफ हेर्दा यस कार्यालयबाट भएको निर्णयको विरुद्ध प्रहरी नियमावली, ०३३ को परिच्छेद ९ को नियम १०.३(ग) बमोजिम प्रहरी महानिरीक्षक समक्ष यस कार्यालय मार्फत पुनरावेदन गरेको देखिँदैन भन्ने उल्लेख भएको र जि.प्र.का.खोटाड्डको लिखितजवाफबाट पू.क्षे.प्र.का.विराटनगरको निर्णय उपर निवेदकले यस कार्यालय मार्फत पुनरावेदनपत्र प्रस्तुत गरेका हुन् यस कार्यालयको मिति २०३९।८।२० को पत्रसाथ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा प्रस्तुत गरिएको त्यसपछि निवेदक यस कार्यालयमा उपस्थित भई प्रहरी महानिरीक्षकज्यूलाई सम्बोधन गरी दिनु भएको पुनरावेदन ०४२।१।६।५ मा स.अं.प्र.का.राजविराजमा प्रस्तुत गरिएको भन्ने समेत उल्लेख भएको पाइन्छ ।

२०. यसप्रकार निवेदकको निवेदन जिकिर अनुसार पू.क्षे.प्र.का.को ०३९।६।१७ को निर्णय उपर निवेदकको पुनरावेदन परेको छ छैन र परेको भए त्यसको किनारा भएको छ छैन भन्नेतर्फ नै सर्वप्रथम हेर्नु पर्ने हुन आयो त्यसतर्फ हेरिएमा मिसिल संलग्न रहेको पत्रको प्रतिलिपिबाट जि.प्र.का.खोटाड्ड दिक्तेलको मिति ०३९।८।२० को च.नं. ८०९ प.सं.१७२ को पत्र सहित पुनरावेदन पू.क्षे.प्र.का.विराटनगर चलान गरी त्यसको बोधार्थ प्र.प्र.का.व्य.उपशाखा नक्शाल स.अ.प्र.का.राजविराज निवेदक टंकनाथ समेतलाई दिएको देखिन्छ । पू.क्षे.प्र.का.विराटनगरको प.स.पू.क्षे.प्र. १६१८७ मिति ०३९।१०।२७ को पत्रद्वारा पुनरावेदन जि.प्र.का.खोटाड्डलाई फिर्ता पठाएको देखिन्छ र पुनः जि.प्र.का.ओखलढुड्डाको मिति ०३९।११।१७ को च.नं. ११५४ को पत्र सहित प्रतिवेदन र संलग्न कागजहरू जि.प्र.का.खोटाड्ड चलान भएको पाइन्छ ।

२१. उपरोक्त उल्लेख भए बमोजिम निवेदकलाई पू.क्षे.प्र.का.बाट सरकारी नोकरी निमित्त भविष्यमा अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरेको निर्णय उपर निवेदकले पुनरावेदन गरेकोमा पुनरावेदन सुन्ने अधिकार प्राप्त निकायबाट पुनरावेदनको निर्णय भएको मिसिलबाट पाइँदैन ।

२२. यसप्रकार निवेदकको कानुनी उपचार समाप्त भएको पाइँदैन, पुनरावेदन परेकोबाट त्यसबाट कानुन अनुसार निर्णय हुने नै हुँदा पुनरावेदनको निर्णय बाँकी छँदाछँदै निवेदकको माग बमोजिम पू.क्षे.प्र.का.को मिति ०३९।६।१७ को निर्णय उपर रिट क्षेत्रबाट हाल निर्णय गर्न मिलेन ।

३. तसर्थ निवेदकले दिएको पुनरावेदन उपर कानुनको रीत पुर्‍याई अविलम्ब किनारा गर्नु भन्ने विपक्ष प्रहरी प्रधान कार्यालयको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारी निमित्त आदेशको प्रतिलिपि साथ राखी  म.न्या.का.मा लेखी पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४३ साल मार्ग ९ गते रोज २ शुभम् ।

 

