January 1, 1987
Created by nepalarchives

निर्णय नं. २८४२ – उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २८४२    ने.का.प. २०४३      अङ्क ९ संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं. १८६६...

निर्णय नं. २८४२    ने.का.प. २०४३      अङ्क ९

संयुक्तइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०४२ सालको रिट नं. १८६६

आदेश भएको मिति : २०४३।९।१७।५ मा

 

रिट/निवेदक : धरान नगर पञ्चायत वडा नं.१७ बस्ने भक्तबहादुर राई

विरुद्ध

प्रत्यर्थी : जि.सुनसरी पकली गा.पं.वा.नं.६ बस्ने सोमन चौधरी थारुसमेत

 

विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)         मोही मरेपछि सो मोही हक निजको नातिलाई प्राप्त हुनसक्ने ऐनले व्यवस्था गरेको नदेखिने ।

(प्रकरण नं. १३)

 

रिट/निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सुनसरीको मिति २०४२।८।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२. प्रत्यर्थी सोमन चौधरीले जनकलालका नाउँमा सुनसरी जिल्ला एकम्बा गा.पं.वडा नं.३(ग) को कि.नं.४९, ६८ र ७३ का सोनालालका नाउँको ऐ.ऐ.को कि.नं.५०, ६९ र ७९ सुन्दरलालका नाउँको ऐ.ऐ.को कि.नं.५१, ७० र ७५ का जग्गा बाजे कारी चौधरीले अधियामा मोहीमा जोती कमाई आउनु भएकोमा बाजे कारी चौधरी र खुसीलाल चौधरी मर्नु भएकोले निजको हक खाने मोहियानीमा जोती बुझाउनु पर्ने अधिया बाली साविक जग्गाधनी जनकलाल सुन्दरलालबाट भक्तबहादुर राईलाई बुझाई आएको छु । १ नं.र २ नं.लगत र फिल्डबूक कार्यालयमा छ । बाजे कारीका नाउँबाट मेरा नाउँमा नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने समेत विपक्षी भूमिसुधार कार्यालय सुनसरीमा निवेदन गर्नुभएकोमा कि.नं.४९, ६८, ७३, ५१, ७० र ७५ समेतका जम्मा ६ कित्ता जग्गाहरू मात्र मेरा नाउँमा दर्ता भएको र उक्त कित्ताहरू मध्ये १०० जग्गा मात्र विपक्षीले एक सालको लागि मात्र जोतेका हुन निज कारी चौधरीले जोत्‍न छोडेपछि मेरो दाताहरू र त्यसपछि म आफैंले जोती आएकोले  विपक्षी वादी मोही कायम हुनसक्ने होइन भन्ने समेत प्रतिवाद मैले गरेको थिएँ । उक्त विवादमा प्रतिवादीले आफ्नो प्रतिउत्तरमा कि.नं.४९, ६८, ७३, ५१ र ७० मध्ये ०१०० जग्गा एक सालको लागि जोत्‍न दिएको भनी आंशिक रुपमा स्वीकार गरेको फिल्डबूकमा कैफियत महलमा निजको बाजे कारी चौधरीले जोतेको भन्ने उल्लेख भएको भन्ने समेत आधारमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा १(क) बमोजिम वादी दावी अनुसार मोही कायम हुने ठहर्छ भनी मिति २०४२।८।४ मा विपक्षी कार्यालयबाट निर्णय गरियो ।

३. मैले प्रत्यर्थी सोमन चौधरी थारुलाई उक्त कित्ता नम्बरहरूको ११११५ सम्पूर्ण जग्गा नभई ०१०० जग्गा मात्र मोहियानी हक नदिने गरी १ वर्षको लागि मात्र जोत्‍न दिएको हो । विपक्षीसंग मेरो जग्गा जोत्‍न दिएको कुनै कबूलियत र भर्पाई छैन । विपक्षी सोमन चौधरी थारुको भूमिसम्बन्धी ऐनको दफा २६(१) बमोजिम दावी भएकोले दफा २५(२) आकर्षित हुन सक्दैन । विपक्षीको बाजे कारी चौधरीको नाउँमा १, , ३ र ४ नं.अनुसूची नहुँदा केवल फिल्डबूकको भरमा कारी यादवको मोहियानी हक स्थापित हुन सक्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा बाजेको मोहियानी हक नातिमा सर्न सक्ने व्यवस्था नभएकोले प्रत्यर्थी सोमन चौधरीको हकमा उक्त दफा २६(१) आकर्षित हुन सक्दैन । अतः भूमिसुधार कार्यालय सुनसरीले प्रत्यर्थी सोमन चौधरी थारुको मोही हक कायम हुने ठहर्‍याई गरेको निर्णयबाट मेरो संविधान तथा कानुनद्वारा प्रदत्त सम्पत्ति सम्बन्धी हकमा आघात पुर्‍याएकोले उक्त भूमिसुधार कार्यालयको उक्त मिति ०४२।८।४ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति ०४२।८।१४।४ को आदेश ।

५. विपक्षी मोही सोमन चौधरी थारुका बाबु बाजेकै पालादेखि विवादीत जग्गा जोत आवाद गरी आएको भन्ने फिल्डबूकको श्रेस्ताबाट देखिन आउँछ । रिट निवेदक स्वयंले निजलाई एक वर्षको लागि जग्गा जोत्‍न दिएको भन्ने कुरा स्वीकार गर्नुभएको छ । यसरी बाली बाँडफाँड गरी खाई कबूलियत र साल बसालीको भर्पाई नहुँदैमा जग्गा जोती आएका मोहीलाई मोही होइन भनी मोही हकबाट वञ्चित गराउँदा प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन जाने हुँदा यस कार्यालयको मिति ०४२।८।४ को निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफ ।

६. जग्गाको जग्गाधनी परिवर्तित हुँदैमा मोहीलाई असर पर्न नसक्ने र रिट निवेदक स्वयंले ०१०० जग्गा मलाई कमाउन दिएको तथ्य स्वीकार गर्नु भएबाट पनि सो जग्गाको म हक प्राप्त मोही भएको सिद्ध नै छ । अतः अधिकार प्राप्त अधिकारीज्यूले सो जग्गाको मोहियानी हकको प्रमाणपत्र मेरा नाउँमा बनाई दिने गरी गरेको निर्णय विलकूल कानुनसंगत हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी सोमन चौधरी थारुको लिखितजवाफ ।

७. रिट निवेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले प्रत्यर्थी सोमन चौधरीले मोही नामसारी गरी पाउँ भनी दावी लिएको रिट निवेदकका नाउँको दर्ता जग्गामा प्रत्यर्थीका बाजे कारी चौधरी मोही थिएनन् । त्यसमा पनि मोही भएकै खण्डमा पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले बाजेको मोहियानी नातिमा नामसारी हुन सक्दैन । प्रत्यर्थीले दावी जग्गा, जग्गाधनीबाट मोहियानीमा कमाउनको जोत भोग गर्नुभएको पनि छैन, यस्तो अवस्थामा मोही कायम हुने ठहराएको प्रत्यर्थी भू.सु.का.सुनसरीको मिति २०४२।८।४ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने र  प्रत्यर्थी भू.सु.का.तर्फबाट उपस्थित हुुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह तथा प्रत्यर्थी सोमन चौधरीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले रिट निवेदकको दावी जग्गा मध्ये ज.वि.०१०० जग्गा जोत्‍न दिएको वादी दावी आंशिक रुपमा स्वीकार गर्नुभएकोबाट पनि जग्गा जोतेको कुरा देखिएको छ । फिल्डबूकमा बाजे कारी चौधरीले जोतेको भन्ने उल्लेख भएको प्रत्यर्थीका बाबु, बाजे जीवित छँदै परलोक हुनुभएको र मोहीको हैसियतले जोती आएका हुँदा दावी जग्गामा सोमन चौधरीलाई मोही कायम हुने ठहराएको भू.सु.का.सुनसरीको मिति २०४२।८।४ को निर्णय कानुनअनुरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

८. प्रस्तुत रिट निवेदनबाट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

९. यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी सोमन चौधरीले मोही नामसारीमा दावी लिएको निवेदकको जोत भोगको जग्गा प्रत्यर्थी सोमन चौधरीका बाजे कारी चौधरी प्रथमतः मोही नै नभएको कारी चौधरी दावी जग्गाको मोही भएकै भए पनि भू.सं.ऐन, २०२१ को दफा २६(१) मा बाजेको मोहियानी हक नातिमा नसर्ने व्यवस्था भएकोमा पनि जोत भोगको अभावमा प्रत्यर्थी सोमन चौधरीलाई दावी जग्गामा मोही कायम हुने ठहराएको प्रत्यर्थी भू.सु.का.सुनसरीको मिति २०४२।८।४ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ ।

१०. बाजे कारी चौधरीले मोहीको हैसियतले भू.सं.ऐन लागू हुनुभन्दा अघिदेखि नै अविछिन्न रुपले जोती कमाई आएको बाजे कारी चौधरी र बाबु सुखीलाल चौधरी दुवैजनाको स्वर्गे भएको र मैले जोती कमाई आएको हुँदा हालका जग्गाधनी भक्तबहादुर राई भएको जग्गाको बाजेका नाउँको मोहियानी बाजेका नाउँबाट मेरा नाउँमा नामसारी गरी भू.सं.ऐन, ०२१ को दफा २६(१) बमोजिम मोही हकको प्रमाणपत्र पाउँ भनी प्रत्यर्थी सोमन चौधरीको प्रत्यर्थी भू.सु.का.मा निवेदन परेकोमा सो निवेदनबाट कारवाही चलाई प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीबाट दावी जग्गामा मोही कायम हुने ठहराई मिति २०४२।८।४ मा निर्णय गरेको देखिन्छ ।

११. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्‍नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछभन्ने उल्लेख भएको पाइन्छ । यसबाट जग्गामा रहेको मोहियानी हक मर्ने मोही पछि मोहीको लोग्ने स्वास्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेको देखिन्छ । मर्ने मोहीको मोहियानी हक निजको मृत्यु पछि नातिलाई प्राप्त हुने व्यवस्था उक्त दफाले गरेको देखिँदैन ।

१२. प्रत्यर्थी सोमन चौधरीको बाजे कारी चौधरी जीवित छँदै प्रत्यर्थी सोमन चोधरीको बाबु सुखीलाल चौधरीको मृत्यु भएको भन्ने कुरा निजतर्फका विद्वान अधिवक्ताले स्वीकार गर्नुभएको छ । मोही कारी चौधरी मरेपछि सो मोही हक निजको नाति प्रत्यर्थी सोमन चौधरीलाई प्राप्त हुनसक्ने ऐनले व्यवस्था गरेको देखिएन । प्रत्यर्थी सोमन चौधरीले विवादीत जग्गा भूमिसम्बन्धी ऐन लागू भएपछि मोहियानीमा कमाएको भन्नलाई पनि भू.सं.ऐन, ०२१ को दफा ३४(१) बमोजिम कूत कबूलियत गरी जग्गा कमाई आएको भन्ने पनि देखिँदैन ।

१३. यस्तो स्थितिमा बाजेका नाउँको मोहियानी हक निजपछि नातीमा सर्ने कानुनी व्यवस्था नभएकोमा पनि प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीले प्रत्यर्थी सोमन चौधरीका बाजे कारी चौधरीको नाउँको मोहियानी हकको विवादीत जग्गामा प्रत्यर्थी सोमन चौधरीलाई मोही  कायम गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको मिति २०४२।८।४ को निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) को कानुनी व्यवस्थाको विपरीत भई त्रुटिपूर्ण देखिन आयो ।

१४. अतः प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको मिति २०४२।८।४ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ता कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमती छ ।

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४३ साल पौष १७ गते रोज ५ शुभम् ।

 

