निर्णय नं. २८४१ – अंश
निर्णय नं. २८४१ ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह...
निर्णय नं. २८४१ ने.का.प. २०४३ अङ्क ९
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको दे.फु.नं. ११२
फैसला भएको मिति : २०४३।९।२९।३ मा
निवेदक/प्रतिवादी : जि.सुनसरी आइतबारे बक्लोरी गा.पं.वार्ड नं. ३ बस्ने गौरीशंकर साहु तेली
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं.९ बस्ने जदु साहु तेलीसमेत
मुद्दा : अंश
(१) अंश भइसकेको भन्ने तथ्ययुक्त सबूद प्रमाण बेगर वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको भन्न मिल्ने अवस्था नहुँदा अंश भइसकेको भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न सक्ने नदेखिने ।
(प्रकरण नं. १३)
निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०४०।१२।७ मा फैसला भएको मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आए अनुसार फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. पूर्खा रामगोविन्दका ४ छोरा जेठा हामी वादी मध्ये सकलदिप समेतको बाबु शिवशंकर माहिला प्र.गौरीशंकर साहिंला वादी म मनौरी कान्छा वादी मध्ये कौशल्याका पति रामवचन समेत ४ अंशियार छोरा भएको दर्तावाला रामगोविन्द र प्र.शिवशंकर मध्ये रामगोविन्द परलोक भएपछि निज दर्ता मौजेको सिक्कापुरको जग्गा चार भाइ छोराका नाममा संयुक्त दर्ता हुन आई सर्भे नापीमा आइतबारे बक्लौरी गा.पं.वार्ड नं. ९(ग) मा संयुक्त नापी दर्ता भई पूर्खा रामगोविन्द र प्रतिवादीका नाममा आर्जन भएको सम्पत्ति सबै अंशियारले सगोलमा खाई भोगी खाएकोमा परिवार ठूलो भई सगोलमा व्यवहार चल्न नसक्ने भएबाट म सकलदिपका बाबु शिवशंकर र म कौशल्याका पति रामबचन परलोक भएपछि प्र.गौरीशंकरले आयस्ता घटी देखाई बेइमान गर्न थाल्नु भएको समेत कारणबाट कानुन बमोजिम अंश भाग छुट्याई दिनुहोस् भनी भन्दा संयुक्त दर्ता रहेको जग्गा बाहेक मेरो नाम दर्ताको चल अचल सम्पत्ति तिमीहरूको हकको अंश लाग्दैन भनी २०३४ साल ज्येष्ठ महीनामा अंश दिन इन्कार भएको हुँदा विपक्षीबाट तायदाती लिई चार अंशबाट प्रतिवादीको एक अंश पर सारी म गनौरीको १ अंश र मर्ने शिवशंकर र रामबचनको एक एक अंश हामीलाई छुट्याई पाउँ भन्ने समेत २०३४।३।१७ को फिरादपत्र ।
३. बाबुराम गोविन्द १९६५ सालदेखि भारतबाट नेपाल आई व्यापार गरी बसी १९८६ सालमा ०–१२–३ जग्गा खरीद गरी भोगी बस्नु भएको हामी ४ भाइ छोरा भारतमै बस्ने गरेको सगोल बस्न नमिल्दा १९९९ सालमा अलग अलग बसी व्यापार गर भनी बाबुले छुट्याई दिनु भएकोले २००५ सालमा भारतबाट आई २०२० सालमा जग्गा खरीद गरी भोगी आएको भारतमा बाबुले आर्जन गरेको जग्गा पनि अंशबण्डा गरी १९६५ सालमा बिक्री गरिसकेको छु । सकलदिपका बाबु २००३ सालमा, विन्दाका बाबु २०२५ सालमा, र गनौरो २०३१ सालमा आई व्यापार गरी बसेको बाबुराम गोविन्द २०१८ सालमा दाजु शिवशंकर २०२६ सालमा, भाइ रामबचन २०२९ सालमा परलोक भएपछि बाबुका नाम दर्ताको जग्गा दाजु शिवशंकरले भोगी आउनु भएको २०२४ सालमा सर्भे हुँदा बकलौरी गा.पं.वार्ड नं. ९(ग) कि.नं. २५१, २५२ र २५५ मा ०–६–३ भएको कि.नं.२५१ मा फिरादी सकलदिप लेखिएको बाबु परलोक हुनु भएपछि वहाँको छोरा सकल दिपहरूले नै उक्त जग्गा भोग गरी आएको भारततर्फको जग्गा शिवशंकर राम बचनले खरीद गरी भोगी आएको छ । पहिले देखि नै अलग बसी आएको हुँदा अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र ।
४. रामगोविन्दको र गौरीशंकरको आर्जन छुट्टाछुट्टै वादीको लेखबाट देखिएकोले रामगोविन्द मरेपछि सबैका नाममा दर्ता भएबाट पनि बाँकी देखिन नआएको छुट्टै बसी बिक्री गरेको र पैतृक सम्पत्ति बाहेक छुट्टै गौरीशंकरले आर्जेको संशोधित अंशबण्डाको ३० नं.ले नपाउने हुँदा अंशमा वादीको दावी पुग्न सक्दैन भन्ने समेत सुनसरी जिल्ला अदालतको २०३५।४।३० को फैसला ।
५. सो फैसलामा चित्त बुझेन वादी दावी बमोजिम अंश पाउने इन्साफ गरी पाउँ भन्ने समेत वादीहरूको पुनरावेदनपत्र ।
६. छुट्टा छुट्टै खरीद व्यवहार गरेको हुनाले समेत अंशमा वादी दावी पुग्न नसक्ने ठहराएको सुनसरी जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३८।४।२८।४ को फैसला ।
७. सो फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा पूर्खा रामगोविन्द परलोक हुँदा निजका नाउँको जग्गा हामी सगोलका अंशियारका नाउँमा दर्ता गरी पाउँ भनी प्र. गौरीशंकर समेतले ०२४।३।१० मा जिमीदारी कचहरीमा संयुक्त दर्खास्त पेश गरेकोलाई प्रमाणमा नलिई प्रमाण ऐन, २०३१ को दफा ३।५ को त्रुटि गरी पू.क्षे.अ.बाट निर्णय गरेकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।११।१८ को आदेश ।
८. बण्डा भएको प्रमाण तथा छुट्टाछुट्टै दर्ता तिरो गरी सम्पत्ति भोग गरेको प्रमाण देखिएन । तसर्थ वादीहरूले दावी बमोजिम अंश पाउने ठहर्छ । वादी दावी नपुग्ने ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेन । फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरी तायदातीलाई कानुन बमोजिम बण्डा गरी दिनु भनी मिसिल सुनसरी जिल्ला अदालतमा पठाई दिने भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४०।१२।७।३ को फैसला ।
९. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४०।१२।७ को निर्णय दोहराई इन्साफ जाँच दिनु भन्ने सर्वोच्च अदालत फुलबेञ्चका नाउँमा हुकुमको प्रमाड्डी बक्स पाउँ भनी गौरीशंकर साहुतेलीले चढाएको बिन्तिपत्रमा यो बिन्तिपत्र जाहेर हुँदा व्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतबाट निर्णय भएको अंश मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहराई हेरी कानुन बमोजिम गर्नु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभाग राजदरबारबाट तोक लागी आएको रहेछ ।
१०. निवेदक प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अभिवक्ता श्री कृष्णप्रसाद पन्तले फिरादीले लेखेको वतनबाट अलग अलग भई अङ्क छुटेको भन्ने देखिन्छ । जग्गा खरीद गर्दा छुट्टाछुट्टै आ–आफ्नो नाउँमा खरीद गरेकोबाट पनि छुट्टिई भिन्न भएको देखिएको छ । बाबु मरी बाबुको दर्ता जग्गा चारै जनाको नाउँमा दर्ता गर्न जरुरत नपर्ने हुन्छ । वादी प्रतिवादीहरू भिन्न भई भोग व्यवहार गरेको देखिएकोमा पनि वादी दावी बमोजिम अंश पाउने ठहर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ नमिलेको हुँदा बदर हुनुपर्छ भन्ने र विपक्षीहरू तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले वादी र प्रतिवादीहरूका बीच अंशबण्डा भएको छैन । सगोलमै रहे भएको कारणबाट रामगोविन्दका नाउँमा दर्ता जग्गा नापीमा सगोलमै नापी भई सगोल जनिई दर्ता भएको हो । वादी प्रतिवादीहरू व्यापारी भएको कारणबाट बसोबास सम्म अलग अलग ठाउँमा भएको सम्म हो अंशबण्डा नभएको हुँदा दावी बमोजिम बण्डा पाउने ठहर गरेको डिभिजनबेञ्चको फैसला सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
११. प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४०।१२।७ मा इन्साफ मिले नमिलेको के छ ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१२. यसमा आज निर्णय सुनाउने तारिख तोकी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा अंशबण्डाको २०।२१ नं.बमोजिम फिराद परेको अघिल्लो मितिसम्मको चल अचल श्रीसम्पत्तिको तायदाती लिई चार भाग गरी १ भाग प्रतिवादीको पर सारी बाँकी तीन भागमा एक भाग वादी गनौरीको र उक्त परलोक हुनुभएका शिवशंकर साहु तेली र रामबचन तेलीको एक एक अंश भाग निजहरूका सन्तान हामीहरूलाई छुट्याई पाउँ भन्ने जदु साहु तेली समेतको फिराद दावी भएकोमा हामी वादी प्रतिवादीका बीच पहिले नै अंशबण्डा भई अलग अलग बसेको अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीले जिकिर लिएको पाइन्छ ।
१३. वादीहरू अंशियार भएकोमा प्रतिवादीतर्फबाट विवाद उठाएको पाइँदैन । वादी प्रतिवादीहरूका बीच पहिले नै अंशबण्डा भइसकेको भए पनि यो यो चल अचल श्रीसम्पत्ति बण्डा हुँदा यो यसको भागमा यो यो सम्पत्ति परेको छ, यो यसरी खरीद बिक्री भोगचलन भएको छ भनी कुनै लिखत प्रमाण, प्रतिवादीले देखाउन सकेको छैन । वादी गनौरी समेतका बाबु रामगोविन्दका नाउँ दर्ताको पैतृक जग्गा नापीमा जि.सुनसरी आइतबारे बक्लौरी गा.पं.वार्ड नं. ९(ग) कि.नं.२५१, २५२ र २५५ मा नापी भई निज रामगोविन्दका छोरा प्रतिवादी गौरीशंकर वादी गनौरी तथा शिवशंकर र रामबचन समेत ४ जनाका नाउँमा सगोल जनिई दर्ता भएको जग्गाधनी दर्ता प्रमाणपूर्जाबाट देखिन्छ । अंशबण्डा भइसकेको भए निज रामगोविन्दका चारै छोराका नाउँमा सगोल जनिई दर्ता हुने अवस्था रहने थिएन । यसबाट पनि अंश भइसकेको भन्ने देखिँदैन । अंश भइसकेको भन्ने तथ्ययुक्त सबूद प्रमाण बेगर वादी प्रतिवादीहरुका बीच अंशबण्डा भइसकेको भन्न मिल्ने अवस्था नहुँदा अंश भइसकेको भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न सक्ने देखिएन ।
१४. तसर्थ वादीहरूले वादी दावी बमोजिम अंश पाउने ठहराई फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई कानुन बमोजिम बण्डा गरी दिनु भनी मिसिल सुनसरी जिल्ला अदालतमा पठाई दिने गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४०।१२।७।३ को फैसला मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.गजेन्द्रकेशरी बास्तोला
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल पौष २९ गते रोज ३ शुभम् ।