निर्णय नं. २८४० – अंश
निर्णय नं. २८४० ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत्...
निर्णय नं. २८४० ने.का.प. २०४३ अङ्क ९
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको दे.फु.नं. ७२
फैसला भएको मिति : २०४३।९।१८।६ मा
पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं.वार्ड नं. १९ बस्ने तुलसीलाल गुरुवाचार्य
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने मानिकलाल गुरुवाचार्य
मुद्दा : अंश
(१) अंश मुद्दामा निर्णय गर्दा अदालतमा वादीले फिराद लिई प्रवेश गर्दाको समय बहाल रहेको ऐन बमोजिम निर्णय गर्नु पर्ने हुन्छ ।
(प्रकरण नं. १४)
(२) एकासगोलमा रहे बसेका अवस्था एकासगोलमा कुनै अंशियारले आर्जन गरेको सम्पत्ति अंशबण्डाको १८ नं. ले सगोलको सम्पत्ति मान्नु पर्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यसै बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :
२. बाबु केशवलाल र आमा सिद्धीकुमारीको पाँच छोरा १ छोरी भएकोमा जेठो, माहिलो, काहिंलो, छोराहरू विवाह नहुँदै परलोक भएका बुबा आमा समेत परलोक भइसक्नु भएको प्रतिवादी दाजु र म वादी मात्र छौं । दुई दाजु भाइ मात्र अंशियार भएको र दाजुले घरको मुख्य भई काम गरी आउनु भएको छ । ०३३।८।१९ देखि मानोसम्म छुट्टै बसेको अंश माग्दा नदिएकोले प्रतिवादीबाट फिराद परेको अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती लिई दुई खण्डको एक खण्ड अंश दिलाई पाउँ भन्ने समेत मानिकलाल गुरुवाचार्यको ०३३।९।२६ को फिराद दावी ।
३. हामीहरूको बीचमा अंशबण्डा हुन बाँकी छ । सगोलको धन छ भनी तोक्नेले सगोलको ऋण पनि तिर्नु पर्छ । बण्डा छुट्टाउन मेरो पनि समर्थन छ । वादीले पनि आफ्नो कमाई देखाई इमान्दारीका साथ बण्डा छुट्टाउन तत्पर हुनुपर्छ निजसंगको सम्पत्तिको समेतको तायदाती लिई बण्डा पाएमा मेरो मन्जूरी छ भन्ने समेत तुल्सीलाल गुरुवाचार्यको प्रतिउत्तरपत्र ।
४. वादीबाट ०३५।४।१३ मा र प्रतिवादीबाट ०३५।६।३० मा सम्पत्तिको तायदाती पेश भएको रहेछ ।
५. ०३४ साल पौष २७ गते अघिको अंशबण्डाको १८ नं. बमोजिम प्रतिवादीको जिकिर मनासिब नदेखिँदा आफ्नो आर्जनको भएको खण्डमा पनि बण्डा गर्नु पर्ने देखिँदा वादी दावा अनुसार वादी प्रतिवादीबाट पेश हुनआएको सम्पूर्ण तायदाती फाँटवारी बमोजिमको जम्मा सम्पत्तिको बिगो रु.५५,२१८।– बाट २ खण्डको १ खण्डको अंश पाउने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको मिति ०३६।४।२८ को फैसला ।
६. मैले तत्कालीन श्री ३ महाराजाबाट पाएको १९८४।८।१८ को बहाली चलन पुर्जी अनुसार पाएको सम्पत्ति मेरो स्वआर्जनको हुँदा बण्डा नलाग्नेमा बण्डा गर्ने गरी गरेको शुरु इन्साफ बदर गरी बण्डा नलाग्ने गरी इन्साफ पाउँ भन्ने समेत प्रतिवादी तुल्सीलाल गुरुवाचार्यको बा.अं.अ.मा पुनरावेदन ।
७. दुई भागको १ भाग सम्पत्ति वादीलाई अंश दिलाउने ठहराएको शुरु इन्साफ मनासिब छ भन्ने समेत बा.अं.अ. को फैसला ।
८. उक्त बा.अं.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा तुलसीलाल गुरुवाचार्यले दिएको निवेदनमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने म.क्षे.अ.को ०३९।४।७।५ को आदेश ।
९. इन्साफ जाँच गरी पाउँ भनी प्र.ले श्री ५ महाराजाधिराज सरकारमा चढाएको निवेदनमा इन्साफ जाँची दिनु भन्ने म.क्षे.अ.को नाउँमा प्रमांगी बक्स भई आएकोमा वादीलाई २ खण्डको १ खण्ड अंश दिने ठहराई शुरुले गरेको इन्साफ सदर गरी गरेको बा.अं.अ. को इन्साफ सदर हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४०।३।८।४ को फैसला ।
१०. म.क्षे.अ.को फैसला कानुनी त्रुटिपूर्ण पुनरावेदनको अनुमति पाउँ भनी प्र.तुलसीलालका सर्वोच्च अदालतमा निवेदन परेकोमा अंशबण्डाको १८ नं. को त्रुटि गरी निर्णय गरेको देखिएकोले पुनरावेदनको अनुमति दिएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको मिति ०४०।६।१९ को आदेश ।
११. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा अंशबण्डा नभएको र अंशियार भएको कुरामा विवाद नभएको फिराद परेको अवस्थामा दायर रहेको अंशबण्डाको १८ नं.मा मानो नछुट्टिई संग बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएका धन र लाएको ऋण सबै अंशियारलाई भाग लाग्छ भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । यस्तो स्थितिमा वादी दावी अनुसार प्रतिवादीबाट अंश पाउने ठहराई शुरु तथा बा.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय ।
१२. अंशबण्डा नभएको र वादी अंशियार हो भन्ने कुरामा विवाद गरेको पाइन्न, केवल तत्कालीन श्री ३ महाराजबाट बक्स भए बमोजिम यी प्रतिवादीलाई खड्ग निशाना बमोजिम भनी समय समयमा लागेको रकम कलम कूत बुझाई पाउने शर्तमा कबूलियत गराई १९८४।८।१८ मा तत्कालीन पाटन भादगाउँ मालबाट गरिदिएको चलन बहाली पुर्जी अनुसार मैले प्राप्त गरेको बण्डा गर्न नपर्ने मेरो मात्र हकभोग तिरो चलनको जग्गा बाहेक गरी अरु पैतृक सम्पत्ति बण्डा गर्न मन्जूर छु भनी प्रतिवादीले तायदाती दिएको देखिन्छ । त्यस्तो प्रतिवादीलाई खड्ग निशाना सनदबाट प्राप्त भएको सम्पत्ति सो खड्ग निशानालाई अन्यथा गर्ने कानुनी व्यवस्थाको अभावमा सोही ख.नि.अनुसार प्रतिवादी तुलसीलाललाई मात्र पत्याई कबूलियत गराई दिएका चलन पुर्जीबाट प्राप्त गरेको स्वआर्जन सम्पत्ति बाहेक गरी निज प्र.ले प्राप्त गरेको भनी तायदाती दिएको कुरामा ध्यान नदिई स्वआर्जनको सम्पत्तिमा समेत वादीले अंश पाउने गरी गरेको शुरुको इन्साफ सदर गरी गरेको बा.अं.अ. को निर्णय मनासिब ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको नदेखिँदा खड्ग निशाना बमोजिम वि.सं.१९८४।८।१८ तथा चलन बहाली पुर्जीबाट प्रतिवादीले प्राप्त गरेको स्वआर्जनको सम्पत्ति माथि उल्लिखित कारण समेतबाट वादीलाई अंश लाग्न नसक्ने भएकोले सो बाहेक गरी अरुमा अंश पाउने ठहराएको सहयोगी माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको रायसंग सहमत हुँदा सो राय मनासिब ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४२।२।२३ मा निर्णय भएको रहेछ ।
१३. पुनरावेदक प्रतिवादीबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले तत्कालीन श्री ३ महाराजबाट बक्स भई खड्ग निशाना बमोजिम वि.सं.१९८४।८।७ मा तत्कालीन पाटन भादगाउँ मालबाट गरी दिएको चलन बहाली पुर्जी अनुसार पुनरावेदक तुलसीलाल गुरुवाचार्यले प्राप्त गरेको जग्गा अंश हक नलाग्ने, सो स्वआर्जनको सम्पत्ति समेत बण्डा हुने ठहराएको शुरु ललितपुर जि.अ.को फैसला सदर गरेको बा.अं.अ. को इन्साफ मनासिब ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहराएको मा.न्या. श्री सुरेन्द्रप्रसाद सिंहज्यूको राय अंशबण्डाको १८ नं. को विपरीत भई त्रुटिपूर्ण छ । खड्ग निशानाबाट तुलसीलालले प्राप्त गरेको सम्पत्ति बाहेक गरी अरु पैतृक सम्पत्तिमा मात्र वादीले अंश पाउने ठहराएको मा.न्या. श्री हरगोविन्द सिंहज्यूको राय न्यायसंगत हुँदा उक्त राय सदर हुनुपर्छ भन्ने र विपक्षी (वादी) तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले सगोलमा बसेको अवस्थामा कुनै अंशियारले आर्जन गरेको सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने प्रस्तुत फिराद दायर गर्दाका अवस्थाको अंशबण्डाको १८ नं. मा कानुनी व्यवस्था भए अनुसार वादी दावी बमोजिम सम्पूर्ण सम्पत्तिमा २ भागको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहराएको शुरु इन्साफ सदर गरेको बा.अं.अ.को इन्साफ मनासिब ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको मा.न्या. श्री सुरेन्द्रप्रसाद सिंहज्यूको राय कानुन अनुरुप हुँदा उक्त राय सदर भई इन्साफ हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. यसमा आज निर्णय सुनाउन तोकी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा २०३४ साल पौष २७ गतेमा मुलुकी ऐन सातौं संशोधन हुनुभन्दा अघि तत्काल प्रचलित अंशबण्डाको ऐन बमोजिम प्रदत्त हकलाई लिएर एकासगोलको सम्पूर्ण सम्पत्तिमा २ भागको १ भाग अंश प्रतिवादी तुलसीलाल गुरुवाचार्यबाट दिलाई पाउँ भनी ०३३।९।२६ गते प्रस्तुत अंश मुद्दाको फिराद परेको देखिन्छ । त्यसरी परेको अंश मुद्दामा निर्णय गर्दा अदालतमा वादीले फिराद लिई प्रवेश गर्दाको समय बहाल रहेको ऐन बमोजिम भई निर्णय गर्नु पर्ने हुन्छ ।
१५. प्रस्तुत मुद्दामा प्रतिवादीले तुलसीलाल गुरुवाचार्यले सम्पत्तिको फाँटवारी तायदाती पेश गर्दा वि.सं.१९८४।८।१८ को बहाली पुर्जी अनुसार प्राप्त गरेको मेरो स्वआर्जनको बण्डा गर्न नपर्ने भनी सो सम्पत्ति बाहेक अरु बण्डा हुनुपर्ने सम्पत्ति हो भनी उल्लेख गरी फाँटवारी पेश गरेको देखिन्छ । वि.सं.१९८४।८।१८ को बहाली चलन पुर्जी अनुसारको विवादीत सम्पत्ति तत्कालीन श्री ३ महाराजबाट पाएको हुँदा स्वआर्जनको हो भनी प्रतिवादी तुलसीलाल गुरुवाचार्यको पुनरावेदन जिकिर छ ।
१६. तत्काल प्रचलित अंशबण्डाको १८ नं. मा “मानो नछुट्टी संग बसेका अंशियार छन् भने अंशियारहरूले कमाएको धन र लाएको ऋण सबै अंशियारमा भाग लाग्छ । ऐन बमोजिम अंश गरी लिनु दिनुपर्छ । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा खती उपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासंग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ, त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ” भन्ने कानुनी व्यवस्था भएको पाइन्छ ।
१७. पुनरावेदक प्रतिवादी तुलसीलाल गरुवाचार्यले बण्डा गर्न नपर्ने भनी जिकिर लिएको विवादीत सम्पत्ति मानो छुट्टिई भिन्न हुनुअघि यी वादी प्रतिवादीहरू एकासगोलमा रहे बसेका अवस्था प्राप्त गरेको देखिन्छ । त्यसरी एकासगोलमा रहे बसेका अवस्था एकासगोलमा कुनै अंशियारले आर्जन गरेको सम्पत्तिमा उक्त अंशबण्डाको १८ नं. ले सगोलको सम्पत्ति मान्नु पर्ने हुन्छ । वादी मानिकलाल गुरुवाचार्य र प्रतिवादीका बीच बण्डा नभएको कुरामा र वादी अंशियार भएको कुरामा कुनै विवाद देखिँदैन । यसबाट प्रतिवादीले वि.सं.१९८४।८।१८ को बहाली चलन पुर्जी अनुसार प्राप्त गरेको सम्पत्ति सगोलको देखिएबाट उक्त सम्पत्ति समेतमा वादीको आधा हक लाग्ने देखिन आएकोले बण्डा गर्न नपर्ने भन्ने प्रतिवादीको जिकिर कानुन र न्यायसंगत देखिन आएन ।
१८. अतः तत्कालीन श्री ३ महाराजबाट प्रतिवादी तुलसीलाल गुरुवाचार्यले प्राप्त गरेको भनेको वि.सं.१९८४।८।१८ को बहाली चलन पुर्जी अनुसारको विवादीत सम्पत्ति समेतको सगोलको सम्पत्तिमा २ भागको १ भाग प्रतिवादीबाट वादीले अंशभाग पाउने ठहराएको शुरु ल.पु.जि.अ.को इन्साफ सदर गरेको बा.अं.अ.को फैसला सदर गरी गरेको म.क्षे.अ.को निर्णयलाई मनासिब ठहराएको माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमत छ ।
न्या.पृथ्वीबहादुर सिंह
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल पौष १८ गते रोज ६ शुभम् ।