निर्णय नं. २८३७ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २८३७ ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत्...
निर्णय नं. २८३७ ने.का.प. २०४३ अङ्क ९
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको रिट फु.नं. २४
आदेश भएको मिति : २०४३।९।४।६ मा
निवेदक : का.न.पं.वडा नं.२४ बटु गुच्चाटोल बस्ने दीपमान सिंह राजभण्डारी
विरुद्ध
विपक्ष : श्री प्रमुख मालपोत अधिकृत मालपोत कार्यालय काठमाडौंसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) अंशबण्डाबाट भएको आधा घर निखनाई पाउँ भनी प्रत्यर्थीले निखन्न उजूर गरेकोमा निजले मात्र निखन्न पाउँदैन भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
निवेदक/तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
विपक्षतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
आदेश
न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहराई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आए अनुसार पेश हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :
२. भाउजु गणेशकुमारीले पुरुषोत्तम माडवारीलाई रु.४,४०१। मा बटु गुच्चाटोलको घर ०१५।६।२८ मा भोगबन्धकी दिनु भएको उक्त घर म र भाउजूको मिति ०१७।२।११ मा बण्डा हुँदा आधा आधा अंश भएको उक्त बन्धकी लख सबै दीपमान सिंह राजभण्डारीमा रहेकोले मेरो अंश आधा घर निखनाई पाउँ भनी विपक्षीहरूको पति र पिता तिलकमान सिंह राजभण्डारीको विपक्षी कार्यालयमा निवेदन परेकोमा, गणेशकुमारीले भोगबन्धकी दिँदा एकलौटी भन्ने उल्लेख गरी दिएकोले गणेशकुमारीले मात्र निखन्न पाउने भन्ने मेरो प्रतिउत्तर परेकोमा विपक्षी मालपोत कार्यालयले निखन्न पाउने भनी गरेको निर्णयलाई सदर गरी जिल्ला कार्यालयले मिति ०४०।४।१३।६ मा निर्णय गरेको छ ।
३. रजिष्ट्रेशनको ३५नं. बमोजिम मुख नमिलेकोमा अदालतमा नालेश गर्न जानु भनी सुनाउनु पर्नेमा नसुनाई निर्णय गरेको त्रुटि छ । विपक्षी तिलकमानले बण्डामा आधा घर पाएको होइन । निर्णय गर्दा आधार लिएको अंशबण्डाको कागज अ.बं.७८ नं. बमोजिम मलाई सुनाएन । मुद्दा उल्टीने देखि अ.बं.२०२ नं. बमोजिम झिकाइसकेपछि शुरुको फैसला सदर गरेको मिलेन उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश ।
५. लख सरेकोमा पछिल्ला साहू कहाँ गई निखन्न हुन्छ भन्ने कानुनी व्यवस्था भएबाट दावी अनुसार तह तह भई निखन्न आवश्यक नभएको विपक्षीले प्रतिउत्तर पुनरावेदनमा समेत बण्डापत्रको कागज सुन्न पाउँ भन्ने प्रश्न पठाउन नसक्नु भएको हक पुग्ने आफ्नो सम्पत्ति निखन्न पाउने व्यवस्था हुँदा निखन्न पाउने ठहराई गरेको मालपोत कार्यालय काठमाडौंको निर्णय सदर गरेको जिल्ला कार्यालय काठमाडौंको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत वा. समेतको प्रेममान सिंह राजभण्डारीको ०४०।६।१० को लिखितजवाफ ।
६. बण्डापत्रबाट हक हुनआएको घर वादी प्रेममान सिंहले निखन्न पाउने र बण्डापत्र भएको छैन भनी रिट निवेदनमा दावा लिए पनि प्रतिउत्तरमा सो को प्रमाण पेश गर्न नसकेको अंशबण्डामा पनि गणेशकुमारी साक्षी समेत बसेको देखिँदा अ.बं.७८ नं. बमोजिम कार्यविधि अपनाउन बाध्यता नभएको हुँदा कानुन बमोजिम निर्णय भएको हो रिट खारेज गरी पाउँ भन्ने समेत मालपोत कार्यालय काठमाडौंको लिखितजवाफ ।
७. हक पाउने व्यक्तिले निखन्न पाउने नै हुँदा गणेशकुमारीले नै निखन्न पर्ने भन्ने पुनरावेदन जिकिर तर्कसंगत नभएकोले कानुन बमोजिम मालपोत कार्यालयको निर्णय मनासिब ठहराई यस कार्यालयबाट निर्णय भएको हो रिट खारेज गरी पाउँ भन्ने समेत जिल्ला कार्यालय काठमाडौंको लिखितजवाफ ।
८. बण्डापत्र भएको छैन होइन भन्ने समेत रिट निवेदकको प्रतिवाद भएको देखिन्न बण्डा भएकोमा स्वीकार गरेकोले बण्डा भएकोमा विवाद देखिएन । विपक्षीले निखनी लिन चाहेको सम्पत्ति निजको अंशबण्डा भित्रको देखिएकोले निखन्न पाउने ठहराएको मालपोत कार्यालय काठमाडौंको निर्णय फैसला मनासिब ठहराएको जिल्ला कार्यालय काठमाडौंको निर्णय त्रुटिपूर्ण नदेखिएकोेले रिट निवेदन खारेज हुने ठहर्छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको ०४१।३।८।५ को आदेश ।
९. कुनै सम्पत्ति साहूले भोगबन्धकी लिएकोमा असामीहरूले खण्ड खण्ड गरी भाग बण्डा लगाई साहूलाई तिर्नु पर्ने आफ्नो भागको थैली तिरी आफ्नो भाग मात्र निखन्न दिनेमा केही कानुनी र व्यवहारिक कठिनाईहरू देखिन्छन् । भोगबन्धकीमा लिएको सम्पत्तिको कुनै भाग निखन्न दिनु पर्ने हुँदा साहूलाई असुविधा हुने र साहूको भोगमा गएको सम्पत्तिलाई खण्ड खण्ड गरी साहूको थैली बुझाई निखन्न पाउने व्यवस्था कानुनमा नगरिएकोले खण्ड खण्ड गरी निखन्न मिल्ने देखिँदैन । यसरी खण्ड गरी निखन्न पनि पाउँने हुन गएमा एउटै असामीले पनि पटक पटक टुक्रा टुक्रा गरी निखन्न आएमा निखन्न दिनु पर्ने अवस्था पर्न जाने हुँदा साहूको मञ्जूरी बिना यसरी निखन्न मिल्ने देखिँदैन । यहि स्थिति उत्पन्न नहोस् साहूलाई पनि बाधा नहोस्, अंशियारको व्यवहार चलाउने उद्देश्यबाट लेनदेन व्यवहारको महलको २१ नं.अनुसार अंशबण्डा गरिएको सम्पत्ति साहूका भोगमा रहेकोमा अंशियार सबैले भोगबन्धकी थैली व्यहोर्नु पर्ने भन्ने मनसाय अनुकूल प्रस्तुत मुद्दामा रु.४,४००। साहूलाई तिरी निखन्न दुवै अंशियारहरूले एकैपटक निखन्न नगएमा निखन्न नजानेको पनि थैली साहूलाई तिरी एक जनाले निखन्ने र ननिखन्नेका हकको सम्पत्ति निखन्नेले भोगबन्धकी सरह भोग गरी बण्डापत्रमा स्पष्ट एउटा बन्दोवस्ती व्यवस्था गरिएकोले उक्त बण्डापत्र लिखत बमोजिम निखन्नु दिनु पर्नेमा सो को विपरीत साहूको आधा थैली धरौटी राखी आधा घर निखन्न पाउने गरिएकोबाट लेनदेन व्यवहारको महलको २१ नं.अ.बं.को २४ नं.र बण्डापत्रमा गरिएको व्यवस्थाको समेत त्रुटि भएको छ भन्ने समेत न्यायिक समिति राजदरबारको ०४१।१२।२१ को पर्चा रहेछ ।
१०. निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले बण्डापत्र अ.बं.७८ नं. बमोजिम रिट निवेदकलाई सुनाएको छैन । निखन्ने कुरामा मुख नमिलेकोमा प्रमाण बुझी निर्णय गर्नु पर्ने हुन्छ । तसर्थ रजिष्ट्रेशनको ३५ नं.अनुसार हक बेहकमा सुनाउनु पर्ने नसुनाएको अ.बं.३५ नं.को त्रुटि छ । आधा घर निखनाई दिने गरेको निर्णय कानुन प्रतिकूल हुँदा बदरभागी छ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले भोगबन्धकी घर अंशबण्डा भई आधा घर प्रत्यर्थी तिलकमान सिंहको भागमा परी निजको भागको आधा घर निखनाई पाउँ भन्ने दावी परी निखनाई दिने गरेको निर्णयमा कुनै त्रुटि छैन, रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत र प्रत्यर्थीहरू तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले रिट निवेदकले लखबन्धक लिएको घर रिट निवेदकका बाबु कृष्णमान सिंह र तिलकमान सिंह बीच अंशबण्डा हुँदा आधा आधा भई अंश भएको हो । आधाको हकदार स्वयं रिट निवेदकका बाबु भई एकैपटक निखन्न पर्ने अवस्था पर्दैन । तसर्थ आफ्नो भागको थैली धरौट राखी निखन्न गएकोमा निखन्न दिने ठहर गरेको कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नु भयो ।
११. प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१२. यसमा निर्णयतर्फ हेर्दा आधी घर मेरो अंश भागमा परेको आधी थैली धरौट राखेको छु । निखनाई पाउँ भनी प्रत्यर्थीहरूको पति र पिता तिलकमान सिंहको दावी परेकोमा रिट निवेदकले बण्डा भएको छैन भनी प्रतिवाद गरेको देखिँदैन ।
१३. सहन्यायाधिवक्ताले इजलास समक्ष देखाएको मिसिलबाट विवादीत घर रिट निवेदकले लखबन्धक नलिँदै ०१७।२।११ मा रजिष्ट्रेशन पास गरी रिट निवेदकका पिता, र बन्धकी दिने गणेशकुमारीको पति कृष्णभक्त सिंह राजभण्डारी र तिलकमान सिंह बीच अंशबण्डा भई सो बण्डापत्रमा गणेशकुमारी साक्षी बसेको पाइन्छ । त्यसरी अंशबण्डा भइसकेपछि घर रिट निवेदकले ०१८।११।२४ मा मात्र लखबन्धक लिएको कुरा रिट निवेदकको लेखाइबाट देखिन्छ । सो गणेशकुमारी समेत साक्षी बसी भएको बण्डापत्रबाट बन्धकीमा दिने गणेशकुमारीको हक टुटी अंशबण्डाबाट आधा घरमा प्रत्यर्थी तिलकमान सिंहको हक भएको पाइन्छ । विवादको घर भोगबन्धकमा दिने गणेशकुमारीको अंशबण्डाबाट हक टुटेको हुँदा निजले निखन्ने अवस्था रहेन । बण्डापत्रलाई प्रतिवाद गर्दा कुनै खण्डन नगरी निखन्न दिनु नपर्ने मात्र भनेको छ । आधा घर पाउने एक अंशियार कृष्णमान सिंहको छोरा रिट निवेदक स्वयंले सो घर अंशबण्डा भइसकेपछि मात्र लखबन्धक लिएको देखिन्छ । आधा घर अंश पाउने कृष्णमान सिंहको छोरा रिट निवेदक स्वयंले लखबन्धक लिई राखेको अवस्थामा सम्पूर्ण घर एकैपटक धरौट राखी निखन्न पर्ने भन्न रिट निवेदकले भोगबन्धकी थैली तिरी आफैंले लखबन्धकी लिई सम्पूर्ण घर भोग गरी रहेको अवस्थामा सो लखबन्धकी लिएको घर निखन्ने अवस्था आउने परिस्थिति नै पर्दैन । यस्तो अवस्थामा अंशबण्डाबाट हक भएको आधा घर निखनाई पाउँ भनी प्रत्यर्थी तिलकमान सिंहले निखन्न उजूर गरेकोमा निजले मात्र निखन्न पाउँदैन भन्न मिल्ने देखिँदैन । तसर्थ निखन्न पाउने गरेको मालपोत कार्यालयको निर्णय सदर गरेको जिल्ला कार्यालय काठमाडौंको निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने अवस्था रहेन । अतः प्रस्तुत रिट निवेदन खारेज गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय मनासिब छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या.गजेन्द्रकेशरी बास्तोला
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् ०४३ साल पौष ४ गते रोज ६ शुभम् ।