निर्णय नं. २१४३ – अंश नामसारी
निर्णय नं. २१४३ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं....
निर्णय नं. २१४३ ने.का.प. २०४१ अङ्क १०
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको दे.पु.नं. ४६४
मुद्दा : अंश नामसारी
पुनरावेदक/प्रतिवादी : जि.रुपन्देही बलरामपुर गा.पं. वार्ड नं. ३ बस्ने सिताराम लोध
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने लोट्न लोध
फैसला भएको मिति : २०४१।१०।२२।२ मा
§ नाता कायम हुने ठहरे पछि अंश नपाउने भन्न मिल्ने स्थिति देखिएन ।
(प्रकरण नं. १३)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री चुडामणि राज सिंह मल्ल
विपक्षी वादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिबक्ता श्री लोकभक्त राणा
उल्लेखित मुद्दा : x
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : प.क्षे.अ.को मिति ०३९।१०।२३ को फैसलाउपर चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्र.पक्षको निवेदन परेकोमा यस अदालत डिभिजन बेञ्चबाट ०४०।८।२२ मा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. मूल पुरुषदेवीको ३ छोरा बेकर, रामचरण र दुखी भई वेकरको छोरा सिताराम, दुखीको छोरा म वादी लोटन हुँ । माहिला रामचरण निसन्तान भई यी सबै मरिसकेका छन् । हाम्रो दुःख आर्जनको र पैतृक सम्पत्ति सितारामका नाउँमा दर्ता छ । ०३६।४।१५ मा अंश माग्दा इन्कारी जवाफ दिएकोले अंशबण्डाको १,२ र ५ नं. अनुसार फिराद गरेको छु । मेरो सबूत प्रमाण बुझी विपक्षीबाट अ.वं.२०, २१, २२ र २३ नं. बमोजिम श्री सम्पत्तिको दुई भागको १ भाग अंश दिलाई नामसारीसमेत गरिपाउँ भन्नेसमेत वादी दावी ।
३. वादी दावी बमोजिम निजलाई अंश दिनुपर्ने कुरा झुठ्ठा हो किनकि वंशावलीमा फरक छ । मेरो बाजे देवी लोध बाबु वेकर लोधनको एक मात्र छोरा म हुँ । देवीको दुखी भन्ने छोरा थिएनन् । मेरो बाजेको नाम र विपक्षको बाजेको नाम संयोगवस मिलेमा अंशियार हुन सक्दैन । मैले भू.सु. कार्यालय भैरहवामा भरेको अनुसूची नं. १ मा वादीको नाम छैन । साथै गा.पं.को मतदाता सूचीमा मेरो परिवारको नाम हुने तर विपक्षीको नाम नहुनु सो सम्पूर्ण कुरा सिद्धनाथ भैयाले अह्राई मेरो सम्पत्ति खाने नियतले यो झुठ्ठा जाल रची नालिस गरेका हुन् । सम्पूर्ण वादी दावी झुठ्ठा हो । प्रमाण बुझी इन्साफ पाउँ भन्ने प्रतिवादी जिकिर ।
४. वा. देवी लोधका ३ छोरा वेकर, दुखी रामचरण हुन् । वेकरको एकमात्र छोरा सिताराम दुखीको एकमात्र लोटन र रामचरणको सन्तान हैनन् । निज पनि मरे । सितारामको बाबु पनि मरिसके सिताराम मेरा जेठा बाबुका छोरा दाजु नाताको हुँदा नाता कायम गरी अंश दिलाई पाउँ भन्ने लोटन लोधको बयान भएको ।
५. बाजे देवी लोधको एकमात्र छोरा वेकर हुन् । वेकरको एकमात्र छोरा म सिताराम हुँ । देवीको रामचरण छोरा नभएको मलाई थाहा भएन । सायद रामचरण नाम गरेको देवीको छोरा जन्मी मरे होलान् । निजको सन्तान स्वास्नी कोही थिएन छैन । मेरा बाजेको दुःखी नाम गरेको छोरा नहुँदा दुःखीको छोरा बनेर आउने मेरो भाइ होइन । निजको मसँग कुनै सम्बन्ध छैन । लोटन कसको छोरा हुन थाहा भएन भन्ने प्र.सिताराम लोधको बयान ।
६. वादी प्रतिवादीहरू दाजुभाई नाताको कायम हुने ठहरी तपसीलमा लेखिएको अचल सम्पत्ति जम्मा बिगो रु.५००५। को दुई भाग लगाई एक भाग अंश वादीले प्रतिवादीसँग पाउने र अंश नामसारी हुने समेत ठहर्छ भन्ने समेतको रुपन्देही जिल्ला अदालतको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन मेरो प्रतिवादी जिकिर बमोजिम हक इन्साफ पाउँ भन्ने समेत सिताराम लोधको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
८. पुनरावेदक प्रतिवादीले विपक्षी वादी अंशियार होइन सम्म भनी को कसका छोरा हुन ? सो भन्न सकेको देखिँदैन । वादी प्रतिवादी दुवै अंशियार हुन भनी अधिकांश सरजमीनले बकपत्र गरी दिएको तथा प्रतिवादीले दाखिला गरेको तायदातीमा उल्लिखित जग्गा आफ्नै आर्जनको भनी देखाउन नसकेको एवं वादीले अंश पाइसकेको छ भन्ने कुराको अभावमा शुरु रुपन्देही जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने पश्चिमाञ्चल क्षे.अ.को ०३९।१०।२३ को फैसला ।
९. सो फैसला उपर चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको प्रतिवादीको यस अदालत समक्ष पेश हुन आएको निवेदनपत्र ।
१०. पिता पुर्खाका पालाको आर्जन नभई आफ्नै आर्जनको सम्पत्ति भएको त्यस्तो सम्पत्ति अंशबण्डाको १८ नं. ले बण्डा नलाग्नेमा पनि क्षेत्रीय अदालतले प्रमाणको मूल्यांकन नगरी गरेको निर्णय त्रुटिपूर्ण हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको यस अदालत डिभिजन बेञ्चको ०४०।८।२२ को आदेश ।
११. नियम बमोजिम पेशी सूचीमा चढी बेञ्चसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्लले वादी प्रतिवादीको अंशियार व्यक्ति नभएको र प्रतिवादीको स्वआर्जनको सम्पत्ति भएकोले वादी दावी बमोजिम बण्डा गर्नुपर्ने होइन भनी र विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री लोकभक्त राणा द्वयले वादी प्रतिवादीको अंशियार भाइ हो । नीजले अंश पाएको छैन साथै प्रतिवादीको स्वआर्जनको सम्पत्ति हो कि भन्न लाई पनि सोकुरा प्रतिउत्तर जिकिरमा उल्लेख छैन भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा प.क्षे.अ.ले गरेको इन्साफ मनासिव बेमनासिव के छ सो को निर्णय दिनुपर्ने देखिन्छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा वादीका साक्षीहरू र सरजमीनका मानिसहरूले वेकरको छोरा प्रतिवादी सिताराम दुखीको छोरा वादी लौटन भनी लेखाई दिएको र दुखीको छोरा नभए वादी कसको छोरा हुन प्रतिवादीले देखाउन नसकेको हुँदा वादी दावी बमोजिम वादी प्रतिवादीहरूको दाजुभाइको नाता कायम हुने ठहर्छ । नाता कायम हुने ठहरेपछि अंश नपाउने भन्न मिल्ने स्थिति देखिएन । वादीले अंश लिइसकेको छ भन्ने कुराको जिकिर प्रतिवादीले लिन नसक्नुका साथै अन्त कतैबाट पनि प्रमाणित भएको देखिँदैन । पुनरावेदन गर्दा स्वआर्जनको हुँदा बण्डा हुनुपर्ने होइन भन्ने सम्म जिकिर लिएको पाइन्छ । तर सो कुरा प्रतिउत्तर पत्रमा उल्लेख गरेको पाइँदैन । यसरी वादीको आफ्नै आर्जनको सम्पत्ति हो भन्ने कुरा प्रमाणित हुन नआएको र पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बूँदा प्रमाणहरू समेतको आधारमा वादी दावी बमोजिम नाता कायम हुने ठहराई अंश नामसारी समेत हुने ठहराएको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव नै देखिएको हुँदा सदर ठहर्छ प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन कोर्टफी रही पुनरावेदनपत्र दर्ता भएको देखिँदा केही गर्नु परेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल माघ २२ गते रोज १ शुभम् ।