September 15, 1986
Created by nepalarchives

निर्णय नं. २८०६ – दर्ता बदर

निर्णय नं. २८०६     ने.का.प. २०४३  अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.वि.नं.१३६ फैसला भएको मिति...

निर्णय नं. २८०६     ने.का.प. २०४३  अङ्क ७

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको दे.वि.नं.१३६

फैसला भएको मिति : २०४३।५।३०।२ मा

 

निवेदक/प्रतिवादी : जुद्धबहादुर दरैको हकमा आमबहादुर कार्की

विरुद्ध

विपक्षी/वादी : जिल्ला तनहुँ महेन्द्रपुर गा.पं.वडा नं.६ बस्ने प्र.पं.भोजराज खनालसमेत

 

मुद्दा : दर्ता बदर

 

(१)         एक व्यक्तिका नाउँमा दर्ता कायम रहेको जग्गा अर्को व्यक्तिका नाउँमा भएको दोहोरो दर्ता कायम रहन सक्दैन ।

(प्रकरण नं. १३)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

न्या.रुद्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी श्री ५ महाराजाधिराज सरकारमा विशेष जाहेरी विभाग मार्फत निवेदक जुद्धबहादुर दरैका हकमा ओमबहादुर कार्कीको विन्तिपत्र जाहेरी हुँदा मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई विविधको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत दर्ता बदर मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ ।

२. म भोजराजका बाजे हामी निलकण्ठ, कोमलनाथका बाबु पिताम्बरका नाउँमा ५९ सालमा दर्ता भई हामीहरूको भोग भएको लक्ष्मीप्रसादको विरौटो देखि उत्तर बेल भएको ठूलो डील देखि पूर्व रिठ्ठाको रुख देखि दक्षिण गंगा देखि पश्चिम यति ४ किल्ला भित्र दर्ता भएका खेत भेरी ।४ र ११।१३।२।६ समेत मुरी १५।१३।२।६ दर्ता भई भोगचलन समेत हाम्रो भएकोमा ०३० सालको धानबाली खिचोला गरेमा र जालसाज गरेमा तनहुँ जिल्ला अदालतमा मुद्दा परी राखेको छ सो जग्गा ०२९।७।७ मा दर्खास्त दिई ०३०।८।५ मा नापी भई खेत ।४५ मुरी म जुद्धबहादुरका नाउँमा दर्ता भएको भन्ने प्रतिवाद दिएबाट थाहा भएकोले सो जग्गा दर्ता बदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी दावी ।

३. वादी दावी बमोजिम जग्गा हाम्रो भोग तिरोको पाखो जग्गालाई वादीहरूले अर्को कित्ता राखी नालेश दिनु भएको हो, वादी दावी बमोजिम लक्ष्मीप्रसादको दर्ता विरौटे खेत सागे खोली भिन्न छँदैछ सो दावी गरेको जग्गा तिरो रु.।५५ लागेको हाम्रो पाखो जग्गा खेतमा दर्ता गराउन दर्खास्त दिई नापी जुद्धबहादुरका नाउँमा खेत मुरी ।१५ दर्ता भएको हो जालसाजीबाट दर्ता भए गराएको होइन वादी दावी झुठ्ठा हुँदा जुद्धबहादुरको नाउँमा दर्ता भएको खेत मुरी १५। दर्ता कायम राखी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४. यिनै वादी प्रतिवादी भएको जग्गाखिचोला मुद्दामा भई आएको नक्शा हेर्दा वादीको किल्ला भित्रको नक्शा नं. ५ लक्ष्मीप्रसादको जग्गादेखि पूर्व मादी गंगा नं. २ देखि पश्चिम न.नं.३० मा प्रतिवादीको दर्ता खेत मुरी ।१५ न.नं.१२ देखि पूर्व न.नं.११ देखि पश्चिम न.नं.१३ देखि दक्षिण झगडा परेको जग्गा नक्शामा जनिएको कि.नं.११०११ को जग्गा देखिन आएकोले प्रतिवादीले हाम्रो दर्ताको गराए भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको तनहुँ जिल्ला अदालतको फैसला ।

५. उक्त शुरु फैसलामा चित्त नबुझी भोजराज खनालको गण्डकी अञ्चल अदालतमा पुनरावेदन परेको ।

६. तनहुँ जिल्ला अदालतले दर्ता बदर हुन नसक्ने भनी गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको फैसला । गण्डकी अञ्चल अदालतको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको भोजराज पाध्यायको म.क्षे.अ.मा परेको निवेदनपत्र ।

७. यसै लगाउको नि.द.नं. २१५ को जग्गाखिचोला मुद्दामा आजै अनुमति दिइएको हुँदा सोही लगाउको हुँदा यसमा पनि अनुमति दिइएको छ । विपक्षी झिकाई पेश गर्नु भन्ने ०३५।६।२२ को प.क्षे.अ.का सिंगलबेञ्चको आदेश ।

८. वादीको श्रोत पिताम्बर भन्ने देखियो र प्रतिवादीको श्रोत जुद्धबहादुर दरै भन्ने देखिएको छ । मालपोत कार्यालय तनहुँको प्रतिलिपिबाट वादी दर्ताको १९९८ सालको नम्बरी तनहुँ पर्‍यानी मादी गंगा सिर लक्ष्मीप्रसाद पाध्यायको विरौटो देखि पूर्व र रिठ्ठा रुख देखि दक्षिण मादी गड्डा देखि पश्चिम मादी गड्डाको डरानी पाखा खगर बगर विरौटो बिराउने मोही पिताम्बर पाध्याय हाल मोही विश्वामित्र, निलकण्ठ, कोमलनाथ पाध्याय समेत खेत ।४ को र ऐ.बगर बिराउन मोही पिताम्बर पाध्याय अं.खेत ।८ भनी लेखिएकोमा हाल नाप जाँच ठहर ठेके ऐ.ऐ.विश्वामित्र, निलकण्ठ पाध्याय समेत खेत ।११।१३।२।६ को भन्ने दर्ता देखिएको प्रतिवादीको ०२९ सालदेखि बाली आउने पूर्व चौरको घांच पश्चिम मेरै पाखो उत्तर मादी गंगा दक्षिण गुह खोल्सी यति ४ किल्ला भित्रको रु.।२५ तिरोको पत्यानी भन्ने पाखो जग्गामा बगरे खोलाको बेलटोला भन्ने बाँधबाट पानी ल्याई खेत आवाद गर्न मोही जुद्धबहादुर दरै खेत ।१५ भन्ने उल्लेख भएको देखिन्छ । एक व्यक्तिका नाउँमा दर्ता भएको जग्गा उक्त जग्गा बदर नभई अर्को व्यक्तिका नाउँमा भएको दोहोरो दर्ता कायम रहन सक्दैन । प्रतिवादीहरूको दर्ता बदर हुने ठहर्छ । अञ्चल अदालत र तनहूँ जिल्ला अदालतको इन्साफ उल्टी हुन्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३६।८।३।२ को फैसला ।

९. प.क्षे.अ.ले गरेको इन्साफमा चित्त नबुझी निवेदकले श्री ५ महाराजाधिराज सरकारमा विशेष जाहेरी विभाग मार्फत बिन्तिपत्र जाहेर हुँदा इन्साफ जाँची निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आएको । प्रस्तुत मुद्दा विविधको लगतमा दर्ता भई बेञ्च समक्ष पेश हुनआएको रहेछ ।

१०. नियम बमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदकको तर्फबाट विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र विपक्षी वादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस समेत सुनियो ।

११. यसमा ५९ सालमा दर्ता भई हामीहरूको भोग भएको लक्ष्मीप्रसादको विरौटो देखि उत्तर बेल भएको ठूलो ढौक देखि पूर्व रिठ्ठाको रुखदेखि दक्षिण गंगा देखि पश्चिम यति ४ किल्ला भित्र दर्ता भएको खेत मुरी ।४ र ११।१३।२।६ मा समेत मुरी १५।१३।२।६ दर्ता भई भोगचलन समेत हाम्रो भएकोमा मिति ०३०।८।५ मा नापी भई खेत ।१५ मुरी म जुद्धबहादुरको नाउँमा दर्ता भएको भन्ने प्रतिवाद दिएबाट सो जग्गा दर्ता बदर गरी पाउँ भनी वादीले फिरादमा उल्लेख गरेको पाइन्छ ।

१२. यिनै पक्ष विपक्ष भएको दे.वि.नं. १३५ को जग्गाखिचोला मुद्दामा वादीको ५७ साल मोठ दर्ताको मिति ०३२।३।१८ को नक्शा मुचुल्काको न.नं.१, १० र ११ को जग्गामा वादीको कायम भई प्रतिवादीहरूले खिचोला गरेको ठहराई आज यस बेञ्चबाट फैसला भएको पाइन्छ ।

१३. मिसिल संलग्न फा.नं. ३० को प्रतिवादीको ०२९ सालको दर्ता हेर्दा ०२९ सालदेखि बाली आउने पूर्व चौरको घाँच पश्चिम मेरै पाखो उत्तर मादी गड्डा दक्षिण गुहे खोल्सी यति ४ किल्ला भित्रको रु.।२५ तिरोको  भत्येरी भन्ने पाखा जग्गामा सगी खोलाको बेटोला भन्ने बाँधबाट पानी ल्याई खेत आवाद गर्ने मोही जुद्धबहादुर दरै खेत ।१५ भन्ने उल्लेख भएको देखिन्छ । एक व्यक्तिका नाउँमा दर्ता कायम रहेको जग्गा अर्को व्यक्तिका नाउँमा भएको दोहोरो दर्ता कायम रहन सक्दैन । प्रतिवादीहरूको दर्ता बदर हुने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत २०४३ साल भाद्र ३० गते रोज २ शुभम् ।

