December 27, 1984
Created by nepalarchives

निर्णय नं. २१३२ – जग्गा खिचोला पर्चा र दर्ता बदर

निर्णय नं. २१३२   ने.का.प. २०४१                   अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको...

निर्णय नं. २१३२   ने.का.प. २०४१                   अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको दे.पु.नं. ५२५

मुद्दा : जग्गा खिचोला पर्चा र दर्ता बदर

पुनरावेदक/वादी : नुवाकोट जिल्ला बेलकोट गा.पं. वडा नं. ५ तल्लोती गाउँ बस्ने तिर्थबहादुर थपलिया

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. होमनाथ मुडवरी

फैसला भएको मिति :  २०४१।९।१३।५ मा

§  नक्साको किल्लामा दुवैथरले विवाद उत्पन्न गरेको यस स्थितिमा २०० गज फरकमा जग्गा रहेको देखिन नआएको र फिल्डबुक उतारबाट पनि किल्लामा मिल्न भिड्न आएको प्रमाणित हुन आएकोले विशेष अदालतको फैसलामा लेखिएको सबूत प्रमाणबाट समेत वादी दावी पुग्न नसक्ने ।

(प्रकरण नं. १०)

पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ

उल्लेखित मुद्दा : x

फैसला

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् :

          २.  विर्ता जग्गा हुँदा हाल बेलकोट गा.पं.मार्फत नु.मालमा बुझाउनु पर्ने सो मालमा विर्तातर्फको लगत नं. ६३ मा दाता उत्तरकुमारीको खसम देवदत्त पनेरुका नाममा दर्ता भई निज देवदत्त वितेपछि यी उत्तरकुमारीको हक भई देवदत्तका नामबाट उत्तरकुमारीले आफ्नो नाममा नामसारी दर्ता गरी भोग चलन गरी आएको पूर्व भवनाथको खेत भनी लेखिएको विष्णुप्रसादको खेत पश्चिम खोलाको दोभान उत्तर बेतनी खोला दक्षिण भवनाथको खेत भनेको विष्णुप्रसादको खेत ५। मध्ये सिहान खण्डतर्फ रोपनी २।। विष्णुप्रसादले र पुच्छर खण्ड तर्फको रोपनी २।। प्रचलित तिरो रु.६।७१ लागेको सिमले भन्ने खेत कित्ता १ नु.जि.मदानपुर गा.पं.पाखुरे बस्ने उत्तरकुमारी पनेरुबाट मौखिक शर्तमा लेखाए बमोजिम खाने गरी विष्णुप्रसादले रु.५००। र मैले ५००। समेत एउटै राजीनामाबाट ०३१।१०।९ मा रु.१०००। मा ०३१ सालका बाली देखिलाई जोताहाको अस्थायी निस्सा समेत एउटै राजीनामाबाट पारित गरी लिई मेरो हक हुन आई यो ०३४ सालको समेत साल सालै स्थानीय बेलकोट गा.पं.समेतमा तिरो तिरी रसिद प्राप्त गरी आएको मेरो हकको जग्गामा सबूत प्रमाणको अलावा नापी टोली नं. ५ फिल्डबुक भरी कि.नं. २२१ लेखाउनु देखाउनु गरी लालपूर्जा प्राप्त गर्ने अवस्थामा विपक्षीले विर्ताबाट सूर्यजंग समेतको जिम्मावाला तारेणबहादुर मार्फत विर्तावालालाई तिरो बुझाई आएको ०१३ सालदेखि विर्तावारले खोजी नगरेकोले मेरो नाममा रैकरमा परिणत गरेको जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी ७ नं. नापी गोश्वारामा उजूरी निवेदन गरेको कुरा प्रकाशमा आई विपक्षका नाममा दर्ता नहोस् भनी उक्त गोश्वारामा मेरो उजूरी परी कारवाई चल्दै जाँदा आखिर ०३५।१।७ मा आएर जग्गा नाप जाँच ऐनको दफा ६ को उपदफा ७ अनुसार होमनाथको प्रमाण बलियो देखिएकोले गा.पं.बेलकोट वा.नं. ५ को कि.नं. २२१ नं. निजका नाममा अस्थायी दर्ता गरी दिने गरी पर्चा गरी दिएको छ । सो न्यायसंगत नहुँदा मेरो हकको जग्गालाई सो जग्गादेखि करीव २०० गज फरकको हेरफेरमा रहेको जग्गाको नाताले विपक्षले आफ्नो जग्गा भनी लिखत खिचोला गर्नु भएकोले विपक्षीको परिणत दर्ता र त्यसैको माध्यमबाट ना.गो.ले गरेको पर्चा बदर गरी सो लिखत खिचोला समेत मेटाई पाउँ भन्ने वादी दावी रहेछ ।

          ३.  वादीले दावी लिनु भएको उक्त जग्गाको सबूत प्रमाण पेश गर्न सक्नु भएको छैन । देवदत्त पनेरुकी श्रीमती उत्तरकुमारीबाट विपक्षी र विष्णुप्रसादले लिएको जग्गा दुवैको ४ किल्ला एउटै राखी दर्ता गराएको दर्तालाई कानुनी दर्ता भन्न मिल्दैन र वादीले दाङ मै कालिका गा.पं.जिम्मा भूमि कर लागेको जग्गा राजीनामा गरी लिएको जग्गाले मेरो बेलकोट गा.पं.जिम्माको लगतमा मेरो नाममा दर्ता भएको जग्गामा वादी देवदत्तको जग्गामा भनी दावी लिएको मिल्दैन । नु.जि.बेलकोट गा.पं. वार्ड नं. ५ तल्लोती गाउँ बस्ने गंगाप्रसाद र नन्दप्रसादको र वादीको दाताको छोरा इन्द्रप्रसाद र विष्णुप्रसाद समेतको जग्गा मुद्दामा वा.अं.अ बाट नक्सा हुँदा झगडा परेको जग्गाको उत्तर सिमाना म प्रतिवादीको जग्गा भनी देखाएबाट वादी दावीको जग्गा मेरो हो भन्ने प्रष्ट छ । सो जग्गा वादीका दर्ताका छोरा इन्द्रप्रसाद समेतको मुद्दा परी जिल्ला अदालतबाट निज हार्नु भएको सो हारेको जग्गा र मेरो जग्गा समेत किल्ला भित्र पारी उत्तरकुमारीले विपक्षीलाई राजीनामा गरी दिन मिल्दैन र नु.जि.बेलकोट पाखुरे बस्ने हरिदत्त ढकालको र देवदत्तको एकाघरको दाजु भवनाथ पनेरु समेत भएको तिरो दपोट मुद्दामा निज भवनाथले बयान गर्दा समेत सिमले मध्ये माटो १२।१० सेरजंग थापाको विर्ता जग्गा र म मोही भन्ने उल्लेख छ । सो जग्गामा जग्गा दपोट नठहरी विर्ता नै ठहरी नु.मालबाट ०२४।७।२१ मा फैसला समेत भएको हुँदा मेरो दर्ताको विर्ता जग्गाको सबूत पेश गर्न नसकेको भन्ने वादी दावी निराधार छ र मेरो दर्ताको जग्गा पूर्व टिकादत्त पश्चिम ठाडो खोल्सी उत्तर घट्टेखोला भनेका वेतनी खोला दक्षिण सिमले भनेकोमा हाल कुलो छ । सो ४ किल्ला भित्रको मध्ये पूर्व धर्मदत्तको साँध पश्चिम दशरथ खोल्सो उत्तर वेतनी खोला दक्षिण नन्दप्रसाद गंगाप्रसादको खेत समेत ४ किल्लाभित्रको शेरजंग थापाको विर्ता जग्गाको म मोही भई कमाएको जग्गा हुँदा विर्ता उन्मूलन ऐन, २०१६ (संशोधित २०२४) को दफा ७ ले तोकिदिएको म्याद भित्र विर्तावालाले दर्ता नगर्नु भएबाट उक्त ऐनको दफा ७ को उपदफा (४) बमोजिम मैले आफ्नो नाममा खोला लगी बाँकी रहेको सिमले खेत माटो मुरी ।१० दर्ता ०१६ सालदेखि भूमिकर बुझाई सो भन्दा अघि बाबुको पालादेखि विर्तावालाको तालुकदार रहेको बखत निजलाई नभए विर्तावालालाई आयस्ता बाली बुझाई अविछिन्न भोग चलन गरी आएको छु । भूमिसम्बन्धी ऐन, ०२१ को नियम बमोजिम १४ र १ नं. फाराम समेत लिएको हुँदा हाल सर्भे नापीमा मेरो नाममा दर्ता छ । विपक्षीले भोग चलन गर्न सक्नु भएको छैन । अतः यो जग्गा मैले नै खिचोला गर्‍यो भन्न मिल्दैन । वादी दावी झुठ्ठा हो भन्ने प्रतिउत्तर जिकिर रहेछ ।

          ४.  जग्गामा प्रतिपक्षीको बलियो प्रमाण देखिँदा प्रतिवादीले जग्गा खिचोला गर्‍यो खिचोला मेटाई पाउँ परिणत दर्ता गर्‍यो सो दर्ता बदर गरी ७ नं. नापी कार्यालयबाट निजकै नाममा दर्ता गर्ने गरी गरिएको पर्चा निर्णय समेत बदर गरिपाउँ भनी वादी दावीमा प्रमाणित पुष्टी गर्न नसकेकोले वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने विशेष अदालत नुवाकोटको फैसला ।

          ५.  उक्त फैसलामा चित्त नबुझेकाले वादी तिर्थबहादुर थपलियाको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

          ६.  वादीले फिरादपत्रमा से २१२० मेरो जग्गा भन्ने उल्लेख गरी फिराद दिएको र निजले बेलकोट गा.पं.बाट लिएको रसिदमा २।। मात्र जनिएकोले रसिदबाट दावा पुष्टि हुन आएन । विवादको जग्गामा वादीको भोग देखिएन । प्रतिवादीको रसिद जोताहा अस्थायी र निस्सा निजको प्रतिवादी जिकिर अुनसार कर्णेल शेरजंगको तहविलबाट बाली बुझाई लिएको २०११।२०१२ सालको रसिदबाट समेत प्रतिवादीकै भोग रहेको पुष्टी हुन आएकोले विवादको हाल नापीबाट कायम हुन आएको कित्ता नम्बर २३१ को जग्गामा प्रतिवादीको हक भोग रहेको र दर्ता प्रमाण समेतबाट कानुनी स्वामित्व समेत प्रतिवादीकै देखिन आयो । नक्साको किल्लामा दुवैथरले विवाद उत्पन्न गरेको यस स्थितिमा २०० गज फरकमा प्रतिवादीको जग्गा रहेको देखिन नआएको र फिल्डबुक उतारमा उल्लिखित किल्लाबाट समेत प्रतिवादीकै जिल्ला मिल्न भिड्न आएको यथार्थ रुपबाट प्रमाणित हुन आएकोले शुरु विशेष अदालतको फैसलामा लेखिएको सबूत प्रमाणबाट समेत वादी दावी पुष्टि हुन नसक्ने ठहराएको उक्त विशेष अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३८।११।१० को फैसला रहेछ ।

          ७.  उक्त इन्साफमा चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा वादी दावीको जग्गा ल.नं. ६३ मा वादीका दाताका लोग्ने देवदत्त पनेरुका नाममा ०३०।७।१५ मा रैकरमा परिणत भई सो जग्गा उत्तरकुमारीबाट ०३१।१०।९ मा वादीले रजिष्ट्रेशन पास गरी खरीद गरी लिएको देखिन्छ । उक्त जग्गा विर्ता जग्गा हो भन्ने कुरामा विवाद देखिन्न । वादीका दाता विर्तावाल उत्तरकुमारी नबुझी वादी दावी पुग्न नसक्ने ठहराएको विषेश अदालतको फैसला मनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अ.बं.१३९ नम्बर अनुसार जग्गा मिच्नेको १८ नम्बर र लेनदेन व्यवहारको ४० नम्बर समेतको प्रत्यक्ष कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति २०४०।१०।११।१ को आदेश ।

          ८.  पुनरावेदकतर्फका विद्वान वरिष्ठअधिवक्ता श्री मुकुन्द रेग्मीले क्षे.अदालतको फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी होमनाथको मु.स.गर्ने गोकुलकुमारी तर्फका विद्वान अधिवक्ता श्री जगन्नाथले कानुनी रुपमा क्षेत्रीय, अदालतले गरेको इन्साफ मनासिव हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

          ९.  प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव या बेमनासिव के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।

          १०. यसमा निर्णयतर्फ विचार गर्दा विशेष अदालतबाट जग्गा प्रतिवादी पक्षकै बलियो प्रमाण देखिँदा नापी कार्यालयबाट दर्ता गर्ने गरी गरिएको पर्चा निर्णय समेत बदर गरिपाउँ प्रतिवादीको जग्गा २०० गज फरकमा छ भनी वादीले जिकिर लिएको सो कुरा नक्साबाट र प्रमाणबाट समेत प्रतिवादीको अन्यत्र जग्गा भएको देखिन आएन । अघि भएको नक्सामा वादी प्रतिवादी सही नभएको भनी पुन नक्सा हुँदा वादीले रोहवरमा सही नगरेको भनी जनिई नक्सा भई आएको, चित्त नबुझेको भए कारण जनाई सही गर्नुपर्ने सो पनि भएको देखिँदैन । सिर्फ चित्त बुझेन भनी निवेदन दिएको देखिन्छ । फिराद पत्रमा २१२० मेरो जग्गा भनी उल्लेख गरेको रसिदमा २। मात्र देखिएकोले वादीको भोग देखिन आएन । प्रतिवादीबाट प्राप्त हुन आएको रसिद जो.अ.नि.२०११।२०१२ सालको बाली बुझाएको रसिद समेतको सम्पूर्ण प्रमाणबाट विवादको कित्ता नं. २२१ को जग्गामा प्रतिवादीकै हक भोग रहेको देखिन आयो । नक्साको किल्लामा दुवैथरले विवाद उत्पन्न गरेको यस स्थितिमा २०० गज फरकमा प्रतिवादीको जग्गा रहेको देखिन नआएको र फिल्डबुक उतारबाट पनि धनी प्रतिवादीकै किल्लामा मिल्न भिड्न आएको प्रमाणित हुन आएकोले विशेष अदालतको फैसलामा लेखिएको सबूत प्रमाणबाट समेत वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको २०३८।११।१०।१ को इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल पौष १३ गते रोज ५ शुभम् ।