January 6, 1985
Created by nepalarchives

निर्णय नं. २१२४ – उत्प्रेषण

निर्णय नं. २१२४   ने.का.प. २०४१           अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.नं....

निर्णय नं. २१२४   ने.का.प. २०४१           अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको रि.नं. २०९४

विषय : उत्प्रेषण

निवेदक : जि. संखुवासभा चैनपुर गा.पं. वा.नं. २ बस्ने पद्मकुमारी श्रेष्ठ

विरुद्ध

विपक्षी : भूमिसुधार कार्यालय झापा

जि. झापा गरामनी गा.पं. वा.नं. ५ बस्ने कुकुर सिंह राजवंशी

आदेश भएको मिति :   २०४१।९।२३।१ मा

§  कानुनले तोकेको प्रावधान बमोजिम कूत बुझेको देखिन्न । साक्षीको बकपत्रको आधारमा कूत बुझेको भन्ने स्थिति नहुने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ

उल्लेखित मुद्दा : x

आदेश

          न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र जिकिर निम्नप्रकारको छ :

          २.  म निवेदक समेतको नाउँमा दर्ता रहेको गरामुनी गा.पं. वा.नं. ५ को कि.नं. १९५ र २११ को ज.वि.३१४० जग्गाको ०३६ सालको ठेक्का नदिएकाले बाली दिलाई मोही निष्कासन गरिपाउँ भन्ने विपक्षी कार्यालयमा उजूर पर्दा वादी दावीको जग्गाको ०३९ सालको ठेक्का बापत बहर गोरु बिक्री गरी रु.७००। जग्गाधनीको मानिस सोमबहादुर मगर जिम्मा दिएर धान मन १५ वादीकै कारोबार खेमबहादुरलाई बुझाई बाँकी धान मन ७।२८ सुख्खा लागेकोले बुझाउन सकेको छैन भन्ने प्रतिवादी परेको थियो । विपक्षी भूमिसुधार कार्यालयले निर्णय गर्दा वादी प्रतिवादीका साक्षी बुझ्दा धान बुझाएको होइन गोरु बिक्री गर्दा रु.५००। मा बिक्री गरी लगेको भनी बकपत्र गरेको अन्य सबूत पेश गर्न नसकेकाले वादी दावीको कूतको हुने बिगो मध्ये रु.२८६७। वादीले प्रतिवादीबाट भराई लिन पाउने र ०४० सालको बालीबाट बाँकी रहेको कूत बुझाउन तयार छु भन्ने सावित हुँदा अटेर गरेको भन्न नमिल्ने हुँदा मोही निष्कासन गर्न नपर्ने भन्ने ठहर गर्नुभयो जुन निर्णय निम्नलेखिएको बुँदाप्रमाण समेतको आधारमा बदर योग्य छ ।

          ३.  जिकिर : मोही निष्कासन गर्न नपर्ने भन्ने जुन निर्णयाधारको उल्लेख विपक्षी कार्यालयले गर्नु भएको छ सो नै आत्मनिष्ट भएको प्रष्ट छ । विपक्षीले ०४० सालमा बाँकी बाली बुझाउँदछु भन्ने कुरा उल्लेख गरेता पनि अद्यावधी सम्म बाँकी बाली र ०४० सालको बाली पनि मलाई बुझाएको छैन । त्यसकारण मोही निष्कासन नगर्दाको लागि प्रयोग गराएको कारण वस्तुनिष्ट छैन । विपक्षी सोमबहादुरले सो रुपैयाँ खेमबहादुरलाई दिएको भन्ने छ तर खेमबहादुर आफूलाई जग्गाधनीको काम गर्ने व्यक्ति होइन भनी व्यक्त गरेका छन् । यस स्थितिमा विपक्षीको भनाई नै प्रमाणित भएको छैन । विपक्षीले बाली सुख्खा भएको जानकारी जग्गाधनीलाई दिनुपर्दथ्यो सो जानकारी हामीलाई दिएको छैन । यस्तो स्थितिमा राम्रोसँग फसल भएकोमा जानाजान विपक्षीले दुरासाय राखी बाली नबुझाएको यथार्थता रहेको छ । प्रत्यर्थी भू.सु.का.ले बकपत्रलाई आधार बनाई रु.५००। गोरु बिक्री गरी बुझाई सकेको ठहर गरिएकोले कानुनको अतिशय उल्लंघन भएको छ । त्यसमा साक्षीको भनाई विवादपूर्ण रहेको छ । यथार्थमा बाली भराई मोही निष्कासन सम्बन्धी मुद्दामा बकपत्र र सरजमीन जस्ता कुराहरू न्यायको मूलधारा हुन सक्दैन भन्ने सिद्धान्त रमेशकुमार श्रेष्ठ वि.भू.सु.का.सुनसरीको मुद्दामा प्रतिवादीहरू बाली बुझाउने र भूमिसम्बन्धी २०२१ को दफा ३४(२) र दफा ३६(१) मा व्यवस्थित छ । यो कानुनी व्यवस्था अनुरुप बाली बुझाएको कुरा स्थापित भएको अवस्थामा मैले पाउने यो कूतको बिगो मध्येबाट रु.५००। प्राप्त गरी सकेको भन्ने ठहर गर्न मिल्दैन । अतः उक्त विपक्षी भू.सु.का.झापाको निर्णयले निवेदकको संविधान प्रदत्त हक हितमा आघात पुगेको हुँदा संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदन ।

          ४.  विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश ।

          ५.  निवेदक तेजबहादुर श्रेष्ठ समेतका नाउँमा दर्ता रहेको गा.पं. वा.नं. ५ को कि.नं. १९५, २११ को ज.वि.३१४० को मोही कुकुरसिंह राजवंशीले जोतभोग गरी आएकोमा ०३९ सालको कूत नदिएकोले दिलाई भराई मोही हकबाट समेत निष्कासन गरिपाउँ भन्ने उजूरी परी कुकुरसिंह बुझ्दा ०३९ सालको कूत बापत बहर गोरु बिक्री गरी नगद रु.७००। जग्गाधनीको मानिस सोमबहादुर जिम्मा दिएको र धानमन १५ जग्गाधनीको दामकाम गर्ने खेमबहादुरलाई बुझाएका छु बाँकी धान मन ७।२८ सुख्खा लागेकोले बुझाउन सकिन भनी प्रतिवाद गरी पुर्पक्षमा रहेको साक्षी बुझ्दा गोरु बिक्री लिएकोले रु.५००। हो धान बुझाएको छैन भनी बकपत्र गरेको हुँदा सो रु.५००। कटाई बाँकी कूत भराई लिन पाउँने ठहरी यस कार्यालयबाट निर्णय भएको हो । मोही हकबाट निष्कासन गर्न कूत बापत गोरु बिक्री गरेको कुरा लुकाई उजूर गरेको केहीहदसम्म झुठ्ठा हुन आएको र आफ्नो सालको बाली वा कूत बुझाउन मोहीले स्वीकार गरेको मोही निष्कासन नगर्ने ठहर भएको यस कार्यालयको निर्णय कानुनसंगत नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय झापाको लिखितजवाफ ।

          ६.  विपक्षीहरूको नाममा रहेको जग्गाको म संवैधानिक मोही हुँ र साल सालै बाली बुझाउँदै आएको छु । ०३९ सालको ठेक्का बापत बहर गोरु बिक्री गरी रु.७००। जग्गाधनीको मानिस सोमबहादुर मगर जिम्मा दिएर धानमात्र मन १५ वादीकै कारोबारी मानिस खेमबहादुरलाई बुझाई बाँकी धान सुख्खा लागेकोले बुझाउन सकेको छैन भनी प्रतिउत्तर दिएको थिएँ । बहर बिक्री गरेको रु.७००। र धान मन १५ वादीकै कारोबारी मानिस खेमबहादुरलाई बुझाएको छु र धान मन ७।२८ सुख्खा लागेकोले बुझाउन बाँकी छ भन्ने प्रतिउत्तरमा उल्लेख गरेको नै छ । पछि बाली बुझेर लाने खेमबहादुर निवेदकका प्रतिनिधि हुन् पहिले बुझाएको र रसिद नदिएको जग्गाधनीको कलुषित मनसायलाई ध्यानमा राखी भू.सु.का.झापाबाट मोहियानी निष्कासन नगर्ने भन्ने निर्णय न्यायसंगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको कुकुरसिंह राजवंशीको लिखितजवाफ ।

          ७.  नियम बमोजिम पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक पक्षबाट रहनु भएको विद्वान अधिवक्ता श्री राजारामा कर्माचार्य र विपक्षी कार्यालय झापाको तर्फबाट खटिई आउनु भएको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले गर्नु भएको बहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा भू.सु.का.झापाले गरेको मिति ०४०।१०।२३ को निर्णय मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

          ८.  यसमा निर्णयतर्फ विचार गर्दा कि.नं. १९५ र २११ को ज.वि.३१४० जग्गाको ०३९ सालको ठेक्का नदिएकोले बाली भराई मोहीबाट निष्कासन गरिपाउँ भन्ने तेजबहादुर श्रेष्ठ समेतको भू.सु.का.झापामा निवेदन परेकोमा २०३९ सालको ठेक्का बापत बहर गोरु बिक्री गरी रु.७००। जग्गाधनीको मानिस सोमबहादुर मगर जिम्मा दिएको र धान मन १५ वादीकै कारोबारी मानिस खेमबहादुरलाई बुझाएको र बाँकी धान मन ७२८ सुख्खा लागेकोले बुझाउन सकेको छैन भन्ने प्रतिवाद भएकोमा भू.सु.का.झापाले रु.२८६७ वादीले प्रतिवादीबाट भराई लिन पाउने र मोही निष्कासन गर्न नमिल्ने भन्ने ०४०।१०।२३ मा निर्णय गरेको पाइन्छ ।

          ९.  कूत बुझाउने सम्बन्धमा भू.सु.ऐन, २०२१ को दफा ३६ मा व्यवस्था गरेको पाइन्छ । उक्त कानुनले तोकेको प्रावधान बमोजिम कूत बुझेको देखिन्न । साक्षीको बकपत्रको आधारमा कूत बुझेको भन्ने स्थिति छैन । मोही निष्कासन गर्नेतर्फ भू.सु.अधिकारीको तजबिजी अधिकार भए पनि त्यस्तो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरीकाले गर्नुपर्ने स्थिति हुन्छ । न्यायिक निर्णय गर्ने अधिकारीले सबूत प्रमाणको मूल्यांकन गरी निश्चित ठहरमा पुग्नु पर्दछ । तर मोही निष्कासन नगर्ने भन्ने भू.सु.का.को निर्णयमा कुनै न्यायिक आधार खुलेको पाइँदैन । अतएव भू.सु.का.झापाको मिति ०४०।१०।२३ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गुर्न भनी विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४१ साल पौष २३ गते रोज १ शुभम् ।