November 30, 1984
Created by nepalarchives

निर्णय नं. २११६ – ज्यान

निर्णय नं. २११६  ने.का.प. २०४१               अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको स.अ.डि.फौ.पु.नं....

निर्णय नं. २११६  ने.का.प. २०४१               अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४० सालको स.अ.डि.फौ.पु.नं. ४१८

सम्वत् २०४० सालको फौ.सा.नं. १३२

मुद्दा : ज्यान

पुनरावेदक/प्रतिवादी : जि. बाँके नेपालगन्ज नगरा पञ्चायत वा.नं. १ धुम्बोजी घर भै हाल केन्द्रीय कारागार शाखा बाँके नेपालगञ्जमा थुनामा रहेको रामदीन कोरी

विरुद्ध

विपक्षी/वादी :   तोताराम कुर्मीको जाहेरीले श्री ५ को सरकार

फैसला भएको मिति :  २०४१।८।१५।६ मा

§  मृतक र प्रतिवादीको बीचमा लेनदेन विषयमा विवाद भई मुद्दा चलेको भन्ने कुरा प्रतिवादीले आफ्नो बयानमा समेत स्वीकार गरेको समेत मिसिल संलग्न प्रमाणहरूबाट कर्तव्यबाट मृतकको मृत्यु भएको भन्ने कुरा पुष्टि हुन आयो ।

(प्रकरण नं. २१)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री बिनोद रोका

विपक्षी वादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको जाहेरी फैसला उपर प्रतिवादी रामदीन कोरीको पुनरावेदन परी र साधक निकासा निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ :

          २.   मिति ०३६।११।३ गतेको राति मेरो ठूलो दाजु रामनाथ कुर्मी सहित आफ्नो घरमा सुती निदाएको अवस्थामा नमालुम कहाँका के कति जना चोर बदमासहरू आई दाजु भाउजू समेतलाई मरणासन्न अवस्थामा पारी कुटपीट गरी धनमाल लुटी लगेको खबर पाई आई दाजु भाउजूलाई अस्पताल लगी औषधी उपचार गराई रहेको अवस्था दाजु रामनाथको ०३६।११।४ गते मृत्यु हुन गएकोले अपराधी पत्ता लगाई सजाय गरिपाउँ भन्ने जाहेरी दर्खास्त ।

          ३.   टाउकोमा बाँधेका पट्टी खोली हेर्दा ३ इञ्च लामो २ इञ्च गहिरो घाउ भएको, तालुको दाहिने पट्टी घाउ भएको दाहिने पाखुरामा नीलडाम भई सुनिएको पिठ्यूँमा ठाउँ ठाउँमा हिर्काएको डाम भएको रगत जमेको लिङ्गबाट बिज खसिरहेको भन्ने समेत लासप्रकृति मुचुल्का ।

          ४.   टाउकामा लागेको चोटको फलस्वरुप गिदीको भित्र रक्तश्राव भई मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट ।

          ५.   रामनाथको मिलमा ७।८ वर्ष नोकरी गरी २।२।। वर्ष अघि तलब बढाउने सम्बन्धमा झगडा भई नोकरी छाडी दिएको हुँ । रामनाथ कुर्मीलाई मारी धनमाल लगेको होइन । मैले लगाएको पैजामामा लागेको रगत जाँचको लागि ०३६।११।५ गते कागज साथ दाखिल गरेको छु । रामनाथको स्वास्नी र असर्फीलालले ज्यान मुद्दामा फसाउन कोशिश गरेका हुन् । वारदात कसले गरेको हो मलाई थाहा छैन भन्ने समेत रामदीन कोरीले प्रहरीमा गरेको बयान कागज ।

          ६.   पूर्व पट्टिको झ्यालको सरिया निकाली ०३६।११।३ गते राति रामनाथको घरमा बदमासहरू भित्र पसी रामनाथ र निजको श्रीमती पतिराजा कुर्मीलाई कुटपीट गरी मर्ने सम्मको घाउ चोट पारी धनमाल लिई गए भन्ने सुनी हेर्न जाँदा, रामनाथ मर्ने अवस्थामा हुँदा पतिराजालाई सोधपुछ गर्दा पहिले हाम्रै मिलमा काम गर्ने अरु २।३ जना थिए रामदीनलाई चिने निज रामदीनले नै घटना घटाई धनमाल लिई रामनाथको ज्यान मारेको विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।

          ७.   रामदीन कोरीले आफू र आफ्ना गफमेलका व्यक्तिसँग सम्पर्क गरी रामनाथ कुर्मीको घर कोठामा प्रवेश गरी घातक हतियार प्रहार गरी धनमाल लिएको र सोही चोट पिरबाट रामनाथको मृत्यु भएको प्रमाणित हुन आएकोले निज रामदीन कोरीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३ नं. को (३) बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

          ८.   रामनाथको मिलमा काम गरी रहेकोमा मजुरी काम दिएकोले २ वर्ष अघि छोडी दिएको हुँ । घरमा चोरी गर्न गएको र निजलाई कुटपीट गरेको समेत होइन । पतिराजा समेतले रामनाथसँग चलेको लेनदेन मुद्दाको रिसइवीले मलाई फसाउन झुठ्ठा बयान गरेका हुन् । २ महीना अघि मेरो दाहिने खुट्टामा चोट लागेकोले दाखिल गरेको पैजामा सोही चोटको रगत लागि दाग परेको थियो । मैले रामनाथलाई कुटपीट गरी मारेको र धनमाल लुटी लगेको समेत होइन भन्ने रामदीन कोरीले अदालतमा गरेको बयान ।

          ९.   हामी र प्र.रामदीन कोरी समेत ०३६ साल फाल्गुण ३ गते नोबस्ता मेलामा छौं भोलिपल्ट विहान ७ बजे चिया खाई रामदीन कोरी मिलमा काम गर्न गए । ०३६।११।३ गते रात १२ बजेसम्म भेलामै थिए । रामदीन कोरीले रामनाथ कुर्मीलाई कुटपीट गरी धनमाल लुटेको होइन भन्ने रामदीनको साक्षीहरूको बकपत्र ।

          १०.  ०३६।११।३ गते म लोग्ने रामनाथ र छोरा बुहारी समेत कोठामा सुतिरहेको अवस्था बदमासहरूले लोग्नेलाई पिट्न थाले । रामदीनले लोग्नेलाई पिट्न लागेको देखी किन पिट्छौ भन्दा मलाई पनि सरियाले टाउकोमा हिर्काए पछि बेहोस भएँ । लोग्नेलाई हान्ने तीन मध्ये १ जना रामदीन छन् अरुलाई चिन्दिन भन्ने समेत पतराजा कुर्मीनीको बकपत्र ।

          ११.   ०३६ साल फाल्गुण २ गते राति २।।३ बजे बदमासहरू रामनाथ सुतेको कोठामा पसी रामनाथलाई फलामको सरियाले हानेको रामदीन र अरु नचिनेका मानिस थिए । रामदीनले मारेका हुन् भनी रामनाथले भनेका हुन् । रामनाथको फाल्गुण ३ गते मृत्यु भएको भन्ने समेत असर्फीलालको बकपत्र ।

          १२.  ०३६।११।३ गते राति अं.२।।३ बजे हामी सुतेको कोठामा मेरो बुबालाई पिट्न लाग्दा व्यक्ति हेर्दा रामदीनको फलामे सरियाले पिटी रहेको । त्यसपछि आमालाई पनि पिटे । २ जनालाई चिनिन १ जना रामदीन हुन् भन्ने समेत बुद्धिराजको बकपत्र ।

          १३.  ०३९।११।३ गते राति करीब ३ बजे रामनाथको छोराले डाँका पर्‍यो भनी हल्ला गरेको सुनी म र अरु मानिस समेत जाँदा रामनाथ बेहोस थिए । बोलाउँदा बोलिनन् । कुन बेला होस आयो थाहा छैन । रामनाथलाई कसले हान्यो र रामदीनले कुटपीट गरेको हो होइन मलाई थाहा छैन भन्ने समेत रसुल बेहनाको बकपत्र ।

          १४.  प्रतिवादीको पैजामामा लागेको रगत जाँच भई आएको रिपोर्टबाट प्र.रामदीनको रगत ग्रुप ९इ० भन्ने र रामनाथ कुर्मीको रगत धब्बाको ग्रुप पाइजामाको रगतको धब्बाको ग्रुप समेत एकै ग्रुप भई मिलेकै देखिँदा मर्ने रामनाथको मृत्यु रामदीन कोरीकै कर्तव्यबाट भएको प्रमाणित हुन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) ले सर्वस्व सहित जन्मकैद हुन्छ भन्ने बाँके जिल्ला अदालतको ०३८।५।५ को फैसला ।

          १५.  मलाई पतराजा, बुद्धिराजले चिनेको हो भने सो व्यहोरा जाहेरी दर्खास्तमा पनि हुनु पर्ने, जाहेरीमा मेरो उपर शंका सम्म गरिएको छैन । जाँच रिपोर्टबाट मेरो पाइजामाको रगतको धब्बा ३ (१।) मा बाख्रा खसी मिश्रित रगत भन्ने देखिएको छ । ल् ३ (।) ल् ३ (२) वा बाख्रा खसी मिश्रित हुनु पर्नेमा ल् (।) बाख्रा खसी मिश्रित भनी लेखिएको भ्रमात्मक जाँच रिपोर्टबाट पाइजामाको ग्रुप मिलेको भनी कसूरदार ठहर्‍याएको गलत हुँदा बाँके जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने रामदीन कोरीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

          १६.  टाउकोमा लागेको चोटको कारणबाट गिदी भित्र रक्त श्राव भई सोही कारणले मृतकको मृत्यु भएको भन्ने लास जाँच प्रतिवेदनमा चिकित्सकको राय भएको, प्रतिवादी रामदीनको पाइजामामा लागेको रगत र मृतकको रगतको धब्बा ग्रुप समेत आपसमा मिले भिडेको देखिन आएको साथै मृतकको र प्र.रामदीनको बीचमा लेनदेन विषयमा मुद्दा चली रिसइवी रहेको स्थिति पनि परेकै देखिएको कारण र असर्फीलाल र पतराजा कुर्मीनीले मौकामा गरेका कागज र विशेषज्ञको रिपोर्ट समेतबाट प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको सिद्ध हुन आएकोले शुरु इन्साफ मनासिव ठहर्छ भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।२।२२ को फैसला ।

          १७.  म पुनरावेदक ०३६ साल फाल्गुण ३ गते आफ्नो घरमा नभई बनियाभार गा.पं.अन्तर्गत नौवस्तामा थिएँ । मैले डाँका र खुन गरेको होइन भनी श्री बाँके जिल्ला अदालतमा र प्रहरी समक्ष बयान गरेको र सोही अनुरुप मेरो साक्षीहरूको पनि बकपत्र गरेका र सो को ख्यालै नराखी मेरो कपडामा लागेको रगत बाख्रा खसी मिश्रित रगत हो भनी जाँच रिपोर्टबाट देखिँदा देखिँदै पनि श्री मध्यपश्चिमाञ्चल क्षे.अ.ले म पुनरावेदकलाई रगतको आधार लिई हराई गरेको फैसला तथ्ययुक्त नभएकोले बदर भई सफाई पाउँ भन्ने समेतको पुनरावेदक रामदीन कोरीको पुनरावेदन पत्र ।

          १८.  पुनरावेदक प्रतिवादी तर्फबाट बहसमा उपस्थित हुनु भएका विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोकाले पुनरावेदकले प्रहरी र अदालत समक्ष बयान गरी आरोपित कसूरमा इन्कार छन् । बुद्धिराज बाहेक सरजमीनका अरु मानिसहरूले पुनरावेदकलाई घटनास्थलमा देखेको भन्न सकेका छैनन् । अब चश्मदित गवाह विना शंकाको आधारमा मात्र दोषी ठहर्‍याई सजाय गरेको नमिलेकोले सफाई पाउनुपर्दछ भन्ने समेतको बहस गर्नु भयो ।

          १९.  प्रस्तुत मुद्दामा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

          २०.  यसमा सर्वप्रथम लाश प्रकृति मुचुल्का हेर्दा मृतक रामनाथ कुर्मीको लाशको टाउकोमा अन्दाजी ३ इञ्च लामो र २ इञ्च गहिरो घाउ भएको पिठ्यूँमा ठाउँ ठाउँमा हिर्काएको जस्तो निलडाम भएको भन्ने देखिन्छ । टाउकोमा लागेको चोटको फलस्वरुप गिदीभित्र रक्त श्राव भई मृत्युभएको भन्ने लासजाँच प्रतिवेदनमा चिकित्सकको राय व्यक्त भएको पाइन्छ । सरजमीनका मानिस समेतले मृतक रामनाथको मृत्यु कर्तव्यबाट भएको भनी लेखिदिएकोबाट मृतकको मृत्यु कर्तव्यबाट भएको सिद्ध हुन आएको छ ।

          २१.  अब पुनरावेदक प्रतिवादी रामदीन कोरीले प्रहरी र अदालत समक्ष गरेको आफ्नो बयानमा आरोपित कसूर गरेमा इन्कार रहेको देखिन्छ । तर असर्फीलाल कुर्मीले वर्ष १४ को बुद्धिराजले दौरो दादा चोर आइरे वाप अम्माको मार के बक्सा उठाई लैगेभनी कराएको सुनी रसुक समेत भई सो कोठामा जाँदा रगतपक्ष हुने गरी कसैले कुटेकाले बेहोस रहेछन् पछि होसमा आई कराएकोले कोले हान्यो भनी १,२ चोटि सोद्धा एकजना रामदीन रहौ २ आदमी और रहे नाही पहिचान बाबाभनेको र सोही कुरालाई समर्थन गरी मृतकको श्रीमती पतराजा कुर्मीले रामदीन मिस्त्रीलाई देखेँ चिनेँ अरु दुई जनालाई चिन्न सकिन भनी अदालतमा समेत बकपत्र गरिदिएको देखिन्छ । निजहरूको बकाईलाई अन्यथा भन्न सकिने तथ्ययुक्त आधार कुनै देखिँदैन । पुनरावेदक प्रतिवादी रामदीनले पाइजामामा लागेको दाग आफ्नै चोट लाग्दा परेको हो भनी भनेको छ तर त्यसको जाँच भई आएको विशेषज्ञको रिपोर्टबाट प्र.रामदीनको रगतको ग्रुप (य) भन्ने र मृतक रामनाथ कुर्मीको रगतको धब्बाको ग्रुप समेत (य) ग्रुप नै भई आपसमा मिलेको समेत देखिन आएको छ । घटनास्थलमा वारदात गर्ने पुनरावेदक प्रतिवादी रामदीनलाई देखेको भन्ने मर्नेको श्रीमती पतराजा कुर्मीनीको भनाईलाई विशेषज्ञको रिपोर्टबाट समर्थित भएको पाइन्छ । मृतक रामनाथ कुर्मी र प्रतिवादी रामदीनको बीचमा लेनदेन विषयमा विवाद भई मुद्दा चलेको भन्ने कुरा प्रतिवादीले आफ्नो बयानमा स्वीकार गरेको समेत मिसिल संलग्न प्रमाणहरूबाट पुनरावेदक प्रतिवादी रामदीनको कर्तव्यबाट मृतक रामनाथ कुर्मीको मृत्यु भएको भन्ने कुरा पुष्टि हुन आयो । अतः यस स्थितिमा पुनरावेदकका जिकिर अनुसार निज पुनरावेदक निर्दोष रहेछ भन्न तथ्ययुक्त सबूत प्रमाण बेगर नमिल्ने हुँदा सफाई पाउनु पर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक प्रतिवादी रामदीन कोरीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरेको बाँके जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन तहबाट निर्णय भएको हुँदा साधकको लगत कट्टा गरिदिनु । पुनरावेदन गरेमा सजाय गर्नु पर्छ कि भन्नालाई सर्वस्व सहित जन्मकैद भइसकेको हुँदा थप सजाय गर्नु परेन । मुद्दा निर्र्णय भएको जनाउ पुनरावेदकलाई दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल मार्ग १५ गते रोज ६ शुभम् ।