November 11, 1986
Created by nepalarchives

निर्णय नं. २७८६ – लेनदेन

निर्णय नं. २७८६    ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ७०६ फैसला...

निर्णय नं. २७८६    ने.का.प. २०४३ अङ्क ७

डिभिजनबेन्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको दे.पु.नं. ७०६

फैसला भएको मिति : २०४३।७।२५।३ मा

 

पुनरावेदक/प्रतिवादी : रा.बा.बैंक नेपालगञ्ज शाखा

विरुद्ध

विपक्षी/वादी  : जिल्ला बाँके चिसापानी गा.पं.वडा नं.४ बस्ने लक्षेबुढा

 

मुद्दा : लेनदेन

 

(१)         बैंकबाट कीर्ते गरी खातामा रहेको रकम झिकी लगेकोमा भ्रष्टाचार मुद्दा चली बैंकले भरी पाउने ठहर भइसकेपछि उनाउ व्यक्तिले रकम झिकी लगेकोले उनाउ व्यक्तिबाट भराउन वादीले नालेश नगरेबाट वादीको फिराद नै खारेज हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिब नदेखिने ।

(प्रकरण नं. १३)

(२)        कीर्ते गर्नेबाट बैंकले भरी पाउने गरी भ्रष्टाचार मुद्दाबाट किनारा भएको देखिएबाट वादीले प्रतिवादीबाट सामा रकम भरी लिन पाउँदैन भन्न न्यायोचित नदेखिने ।

(प्रकरण नं. १३)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल

विपक्षी/वादीतर्फबाट   : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की

 

फैसला

न्या.बब्बरप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।७।२९ को फैसलामा चित्त नबुझी प्रतिवादी रा.बा.बैंक नेपालगञ्जको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई दर्ता हुनआएको लेनदेन मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२. म फिरादीले प्रतिवादी बैंकमा बचत खाता हि.नं. ७५९५।५१ रु.४२,३६५।जम्मा गरेकोमा ०३९।३।२५ मा रु.७०००।र ०३९।३।२७ मा रु.२०,०००।समेत जम्मा रु.२७,०००।झिकी लिएको भनी मेरो पास बुकमा लेखिदिएकोले मैले लिँदै नलिएको रकम किन लेखिदिएको भन्दा अब सो रकम तिमीले पाउँदैनौं । तिम्रो नाउँबाट उक्त रकम बाँके चिसापानी गा.पं.वा.नं.२ बस्ने गोपाल खड्काले लिएका हुन जस उपर बैंकले उजूर गरी बाँके जि.का.बाट निजलाई भ्रष्टाचारमा कारवाही समेत गरिरहेकोले उक्त रकम तिमीले यस बैंकबाट पाउँदैनौं भनी जवाफ दिएकोले उक्त २,७०००।को ब्याज रु.८३१।१० समेत सावाँ ब्याज रु.२७,८३१।१० भरी भराई हुने मितिसम्मको ब्याज समेत रा.बा.बैंक नेपालगञ्ज शाखाबाट भराई पाउँ भन्ने लक्षबुढाको फिराद ।

३. लक्षबुढाको नाउँमा मिति ०३९।३।२५ गते रु.७०००।र मिति ०३९।३।२७ रु.२०,०००।गरी रु.२७,०००।भुक्तानी लिइसकेकोले विपक्षी फिरादीले झिकी नलिएको र गोपालबहादुर खड्काले झिकेको भन्ने भनाई छ । गोपालबहादुर खड्का उपर भ्रष्टाचार मुद्दा चली अदालतमा विचाराधीन रहेको छ । उक्त रकम बैंक जिम्मा छैन तसर्थ सो सावाँ रकम र व्याज दावी गरेको कानुनसंगत छैन । रकम झिकेको छैन भन्ने निजको भनाई छ । निजले कीर्ते जालसाजी गर्ने भनिएको व्यक्ति उपर ऐन बमोजिम आफ्नो बिगो भरी भराउ गर्ने प्रष्ट कानुनी व्यवस्था कीर्ते कागजको ७ नं. मा गरिएको छ । सो कानुनी प्रकृया नअपनाई लेनदेन व्यवहारको २ नं.आधार लिई वाणिज्य बैंक ऐन, ०३१ को दफा २३ को उल्लेख गरेको पनि गैरकानुनी छ लेनदेनको २ नं. तमसुकी ऋणको हकमा मात्र लागू हुन्छ र वाणिज्य बैंक ऐन, ०३१ को दफा २३ ले खातावालाको परलोक पछि रकम कसैलाई इच्छाएको छैन भन्ने निक्षेप उपर दावी गर्न पाउने नाबालकहरूको क्रम मात्र स्थापित गरेको छ । तसर्थ उक्त वाणिज्य बैंक ऐनको दफा २३ को प्रस्तुत मुद्दासंग सरोकार छैन । उल्लिखित जिकिर र कानुनी आधारमा वादी दावीबाट फुरसद गराई पाउँ फिराद खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर ।

४. फिरादीको हि.नं. ७५९५।५१ मा फिरादीको नाउँमा रहेको रुपैयाँ फिरादी बाहेक अरु कसैलाई दिन नहुने बैंकले लिनु पर्ने सतर्कता लिएको देखिन नआएको कारणबाटै नै लक्षबुढाको रकम गोपालबहादुरले कीर्ते सही गरी भ्रष्टाचार गर्न समक्ष भएको देखिन आएकोले लक्षबुढाको रकम जो बैंकमा जम्मा भएको छ बैंक नियमानुसार लक्षबुढाले जैलेसुकै पनि प्राप्त गर्ने कानुनी अधिकार भएको हुँदा वादी दावीको सावाँ ब्याज रकम लक्षबुढाले प्रतिवादी बैंकबाट पाउने ठहर्छ भन्ने भेरी अञ्चल अदालतको फैसला ।

५. अञ्चल अदालतको इन्साफ चित्त बुझेन भन्ने रा.वा.बैंक नेपालगञ्जको पुनरावेदन ।

६. ब्याज समेत भराउने गरेको भेरी अञ्चल अदालतको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं.बमोजिम विपक्षीलाई झिकाउनु भन्ने ०४१।४।२२ को म.प.क्षे.अ. डिभिजनबेञ्चको आदेश ।

७. वादी लक्षबुढाको खाताबाट गोपाल के.सी.ले कीर्ते दस्तखत गरी रु.२७,०००।झिकेको र सो रकम बैंकले गोपाल के.सी.बाट पाउने भएपछि वादीले उक्त बैंकबाट निजको रु.२७,०००।लिन पाउँदैन भन्न न्यायोचित नभएकोले सो रकम रु.२७,०००।सम्म वादीलाई उक्त बैंकबाट भराउने ठहराएको इन्साफसम्म भेरी अञ्चल अदालतको मनासिब र खातामा मौज्दात नभएको अवस्थामा ब्याज भराउन नमिल्दा वादीले ब्याज पाउन सक्दैन भन्ने म.प.क्षे.अ.को फैसला ।

८. गोपालबहादुर खड्काले भ्रष्टाचार गरी झिकेको रकम बैंकमा जम्मा भएपछि मात्र वादी लक्षेबुढाले वाणिज्य बैंक ऐन अनुसार दावी गर्न पाउनेमा गैरकानुनी नालेशद्वारा उक्त भरी पाउने गरी म.प.क्षे.अ.ले निर्णय गरेकोले सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने रा.वा.बैंक नेपालगञ्ज शाखाको निवेदन ।

९. वाणिज्य बैंक ऐन, ०३१ को दफा ६ ले शेयर होल्डरहरूको साधारण सभाबाट हुने काम बाहेक यस ऐन बमोजिम बैंकले गर्ने सबै काम कारवाई बैंकको नाममा संचालक समितिले गर्ने छ भन्ने उल्लेख भएकोबाट सञ्चालक समिति उपर वादी नपरी राष्ट्रिय वाणिज्य बैंक शाखा नेपालगञ्ज उपर मात्र परेको वादीमा कारवाही तथा निर्णय गरेको म.प.क्षे.अ.को फैसला वाणिज्य बैंक ऐन, ०३१ को दफा ६ को त्रुटि गरेको देखिनाले त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०४१।१२।२८ को आदेश रहेछ ।

१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी प्रतिवादीका वा. समेतलाई पटक पटक बोलाउन लगाउँदा उपस्थित नभएको पुनरावेदक प्रतिवादी रा.वा.बैंकका तर्फबाट उपस्थित अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल र विपक्षी वादीतर्फका अधिवक्ता श्री बद्रीबहादुर कार्की समेतले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

११. सामासम्म वादीले प्रतिवादी बैंकबाट भरी पाउने, ब्याज नभराउने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१२. यसमा विपक्षी वादी लक्षबुढाले प्रतिवादी वाणिज्य बैंक नेपालगञ्जमा विभिन्न मितिमा गरी रु.४२,३६५।जम्मा गरेको र सामा ब्याज जोडी पास  बूकमा चढाई माग्दा रु.२७,०००।झिकी लिएको भनी पास बूकमा लिँदै नलिएको रकम लेखिदिएकोले किन लेखिदिएको भन्दा तिम्रो नाउँबाट उक्त रकम गोपाल खड्काले लिई निज उपर भ्रष्टाचारमा कारवाही समेत भइरहेकोले तिमीले बैंकबाट रकम पाउँदैनौं भन्ने जवाफ दिएकोले ऐन बमोजिम सामा ब्याज रु.२७,८३१।१० र भरी भराउ हुने मिति सम्मको ब्याज समेत प्रतिवादी बैंकबाट भराई पाउँ भन्ने वादीको फिराद दावी भएकोमा उक्त वादीले बैंकमा राखेको रकम गोपालबहादुर खड्काले झिकेको र निज उपर भ्रष्टाचार मुद्दा चलिरहेकोले मुद्दा विचाराधीन रहेको अवस्थामा वादीलाई उक्त रकम दिलाउन बैंक असमर्थ भएको र बैकसँग सो रकम हाल जिम्मा समेत नभएकोले सावाँ ब्याज दावी गरेको कानुनसंगत छैन साथै जालसाजी गर्ने भनिएको व्यक्ति उपर निज वादीको बिगो भरी भराउ गर्ने कीर्ते कागजको ७ नं. मा स्पष्ट व्यवस्था समेत गरिएको र सो प्रकृया नअपनाई लेनदेन व्यवहारको २ नं.को आधार लिई वा.बैं ऐन, ०३१ को दफा २३ को उल्लेख गरेको पनि गैरकानुनी हुँदा फिराद दावीबाट फुर्सद गराई फिराद खारेज गरी पाउँ भन्ने प्रतिउत्तर भएको देखिन्छ । साथै गोपालबहादुर उपर भ्रष्टाचार मुद्दा सोही रकमलाई लिएको देखिँदा सो वादीको सामा ब्याज समेत लक्षेबुढाले प्रतिवादी बैंकबाट भरी पाउने ठहर्छ भनी भेरी अञ्चल अदालतले फैसला गरेकोमा प्रतिवादी बैंकको म.प.क्षे.अ.मा पुनरावेदन परी म.प.क्षे.अ.बाट उक्त रकम रा.वा.बैंकले गोपाल के.सी.बाट पाउने भएपछि वादीले बैंकबाट भरी लिन पाउँदैन भन्न न्यायोचित नभएकोले उक्त रकम २७,०००।सामा वादीले प्रतिवादी बैंकबाट भरी पाउने ठहर्छ भनी गरेको भेरी अञ्चल अदालतका इन्साफसम्म मनासिब ठहर्छ र खातामा मौज्दात नभएको अवस्थामा ब्याज भराउन नमिल्दा वादीले ब्याज पाउन सक्दैन भन्ने म.प.क्षे.अ.ले गरेको इन्साफ उपर चित्त नबुझी प्रतिवादी रा.वा.बैंकको यस अदालतमा पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ६ मा शेयर होल्डरहरूको साधारण सभाबाट हुने काम बाहेक यस ऐन बमोजिम बैंकले गर्ने सबै काम कारवाई बैंकको नाममा संचालक समितिले गर्ने छ भन्ने उल्लेख भएबाट संचालक समिति उपर वादी नपरी रा.वा.बैंक उपर मात्र परेको वादीमा कारवाही तथा निर्णय गरेको म.प.क्षे.अ.को निर्णयमा वाणिज्य बैंक ऐन, ०३१ को दफा ६ को त्रुटि देखिएकोले र त्यस्ता त्रुटि सार्वजनिक महत्वको विषय समेत भएको भन्ने समेत आधारमा अनुमति प्रदान भई आएको देखिन्छ ।

१३. प्रतिवादी राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज शाखाको बचत हि.नं. ७५९५।५१ को खातामा रु.४२,३६५।वादी लक्षेबुढाको रहेको भन्ने कुरामा कुनै विवाद देखिँदैन र उक्त खातामा रहेको वादी लक्षेबुढाको उक्त रकम सो खाताबाट एकपटक रु.७०००।र अर्को पटक अ.रु.२०,०००।गरी जम्मा रु.२७,०००।उनाउ व्यक्ति गोपाल के.सी.ले कीर्ते गरी झिकी लगेको भन्ने कुरामा प्रतिवादीले स्वीकार गरेको, निजको प्रतिउत्तर जिकिर समेतबाट देखिएको छ । उक्त कुरा वादी लक्षेबुढाको नामबाट खातामा रहेको रकम सही दस्तखत कीर्ते रकम गरी रकम रु.२७,०००। प्रतिवादी रा.वा.बैंक नेपालगञ्जले कीर्ते गर्ने गोपाल के.सी.बाट भरी पाउने गरी भ्रष्टाचार मुद्दामा अन्तिम ठहर फैसला भइराखेको मिसिल संलग्न रहेको भ्रष्टाचार मुद्दाको छिनुवा मिसिल समेतबाट प्रष्ट देखिन आएको छ । बैंक खातामा रहेको रकम बैंक नियम बमोजिम आफू सुरक्षा राख्‍नु बैंकको कानुनी दायित्व भित्रको कुरा हो बैंक आफ्नो दायित्वमा सदा सजक हुनुपर्दछ । आफ्नो सजकताको कमिबाट अर्को पक्षको कानुनी हकमा आघात पुगेमा अन्याय पर्न जान्छ । बैंकबाट कीर्ते गरी खातामा रहेको रकम झिकी लगेकोमा भ्रष्टाचार मुद्दा चली बैंकले भरी पाउने ठहर भइसकेपछि उनाउ व्यक्तिले रकम झिकी लगेकोले उनाउ व्यक्तिबाट भराउन वादीले नालेश नगरेबाट वादीको फिराद नै खारेज हुनुपर्ने प्रतिवादीको जिकिर मनासिब देखिँदैन । साथै संचालक समिति उपर उजूर नगरी वाणिज्य बैंकलाई मात्र प्रतिवादी बनाएको भन्ने प्रतिवादीको जिकिर सम्बन्धमा जहाँ वादीले रुपैयाँ जम्मा गरेको हो त्यसलाई प्रतिवादी बनाएकै छ र त्यसप्रकार संचालक समितिलाई प्रत्यर्थी नबनाउँदैमा वादीको हकमा असर पर्नसक्ने होइन । तर मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले वादीलाई सामा मात्र भराई ब्याज भरी नपाउने ठहर गरेको फैसला उपर वादीको पुनरावेदन पर्न आएको देखिएन । तसर्थ ब्याज भराउनेतर्फ केही विचार गरी रहनु पर्ने भएन । सामा सम्बन्धमा वादीको बैंकमा रकम जम्मा राखेको भन्ने कुरामा प्रतिवादीले स्वीकारै गरेको अवस्थामा र कीर्ते गर्ने गोपाल के.सी.बाट बैंकले भरी पाउने गरी भ्रष्टाचार मुद्दाबाट किनारा भएको समेत देखिएबाट वादीले प्रतिवादीबाट सामा रकम भरी लिन पाउँदैन भन्ने न्यायोचित नदेखिएकोले सामा रकम रु.२७,०००।सम्म वादीले प्रतिवादीबाट भरी पाउने ठहर गरेको इन्साफ म.प.क्षे.अ.को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही मुद्दा दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४३ साल कार्तिक २५ गते रोज ३ शुभम् ।