September 18, 1986
Created by nepalarchives

निर्णय नं. २७८५ – उत्प्रेषण

निर्णय नं. २७८५    ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १५१०...

निर्णय नं. २७८५    ने.का.प. २०४३ अङ्क ७

डिभिजनबेन्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको रिट नं. १५१०

आदेश भएको मिति : २०४३।६।२।५ मा

 

निवेदक : जि.बारा गा.पं.प्रसोना साविक वडा नं.९ हाल ६ बस्ने राजा साह तेली

विरुद्ध

प्रत्यर्थी : भूमिसुधार कार्यालय बाराका भू.सु.अधिकारीसमेत

 

विषय : उत्प्रेषण

 

(१)         जग्गाधनीले देखाएको मोहीको मोहियानी लगत कट्टा गर्नुभन्दा अघि निजलाई म्याद दिई झिकाई प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्ने प्राकृतिक न्यायको सिद्धान्त अनुसार निजलाई नुबझी प्रतिवाद गर्ने मौका नदिई गरेको भू.सु.का.को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. १८)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

आदेश

न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ :

२. कि.नं.९४ को ज.बि. ०१९ र कि.नं.९९ को ज.बि. ०० समेत ज.बि. ०१९ को जग्गा मेरो नाममा दर्ता भई भोग गरी आएको छु । कित्ता नं.९४ को राजा शाह कि.नं.९९ को निजको आमा गुदरी तेली मोही हुनुभएकोमा अब जोत्‍न सक्तिन भनी ०२३ साल बैशाखमा छाडी दिएका छन् । २०२५।१०।१२ मा मोहीले उच्च स्तरीय दौडाहामा निवेदन  दिएका थिए भू.सु.का.बाराबाट कारवाई हुँदा राजा शाहले ०२५ सालमा जग्गा जोत्दीन भनी जेठाजु मोहनप्रसादका नाउँमा लिखित पठाएको र भू.सु.का.बारामा राजा शाहलाई ३ दिने म्याद दिई झिकाई बयान गराउँदा २३ साल बैशाख देखि नै जग्गा जोत्‍न असमर्थ छु भनी बयान गरी जग्गा छाडिएको छ । ०३७।२।२३ देखि उक्त जग्गा जेठाजु मोहनप्रसादबाट पारित गराई सोही मितिदेखि मैले नै जोती आएकोले मोही लगत कट्टा गरी पाउँ भन्ने विपक्षीको भू.सु.का.बारामा परेको निवेदन ।

३. कि.नं.१९४ को ज.बि. ०९ र कि.नं.१९९ को ज.बि. ०० समेत ज.बि. ०१०९ को मोही भई आवाद गरी आएकोमा ०४१ सालको कूतबाली बुझाउन जाँदा बुझी नलिएकोले ०४१।११।३० मा भू.सु.का.बारामा धरौट राखेको छु । विपक्षीले मोही लगत कट्टा गरी पाउँ भनी दिएको निवेदनको सिलसिलामा २०४१।१२।५ मा सरजमीन हुँदा म घरमा नभई बाहिर थिएँ पछि सरजमीन बारे गाउँ घरका मानिसद्वारा थाहा पाएकोले मैले बेग्लै निवेदन दर्ता गरेको थिएँ । विवादीत जग्गा जोती भोगी आइरहेको अवस्थामा मेरो मोहियानी हक समाप्त हुने ठहर निर्णय भएको छ भनी प्रत्यर्थीले भन्दा मिति ०४२।४।७ मा नक्कल सारी हेर्दा वास्तविकतासंग अवगत भएकोले यो निवेदन चढाएको छु ।

४. भू.सु.अधिकारीज्यूले एक व्यक्तिले कार्यालयको रोहवरमा एकचोटी सकारी सकेको एक कुरालाई दोहरी इन्कार गर्न मिल्दैन । गा.पं.को सिफारिश तथा सरजमीनबाट जग्गा छोडेको र जग्गाधनी सरितादेवीको जोत प्रमाणित हुनआएको । कि.नं.१९४, १९९ को जग्गा सरितादेवीको नाउँमा नम्बरी दर्ता नदेखिएको हुँदा राजा साहको निवेदनलाई मान्यता दिइरहन परेन । सरिताको नाउँमा दर्ता रहेको कि.नं.९४ को राजा साह कि.नं.९९ निजको आमा गीदरी तेलीनी मोही समेतको जग्गामा निजको भोग अनुसार लगत राखी रहन भएन भनी मोहियानी हक समाप्त हुने गरी मोही लगत संशोधन गर्नुभएको छ ।

५. प्रत्यर्थी भूमिसुधार अधिकारीबाट मिति ०४२।२।७ मा भएको निर्णय बदरभागी छ भन्ने निम्न लिखित निवेदन गर्दछु ।

६. विपक्षीको निवेदन परेपछी मलाई बुझेको छैन मलाई तारेखमा राखी सबूद प्रमाणको संकलन र मूल्याँकन गरिएको छैन, विपक्षीको मात्र एकतर्फी प्रमाण संकलन गरी भएको फैसला अ.बं.१८४(क) १८५ प्रतिकूल छ । मेरो विरुद्धमा लगाएको प्रमाण अ.बं.७८ नं. बमोजिम मैले नामाकरण गर्ने हक छँदैछ, साथै विपक्षीले खरीद गरेको राजीनामामा नै मोही महलमा नाम अंकित छ यसरी आफूले जग्गा किन्दा बोकेको दायित्व बोक्न पर्ने होइन भन्ने अधिकार विपक्षलाई छैन । कि.नं.९४, ९९ हुनुपर्नेमा १९४, १९९ हुन गएको छ । वास्तविक तथ्य पत्ता लगाउने अभिभारा प्रत्यर्थी अधिकारीको छ भन्ने कुराको निश्चित प्रमाण ऐनको दफा ५ ले गरेको छ ।

७. विवादीत जग्गाको सम्बन्धमा जि.बारा पर्सोनी गा.पं.को सिफारिश समेतलाई आधार मानी प्रत्यर्थी कार्यालयबाट निर्णय भएको छ गाउँ पञ्चायत ऐन, २०१८ ले गाउँ पञ्चायतलाई तत्सम्बन्धमा कुनै अधिकार प्रदान गरेको छैन । प्रत्यर्थी भूमिसुधार अधिकारीज्यूले मोहीको लगत संशोधन गरी गर्नुभएको निर्णयबाट भू.सं.ऐनको दफा २६(१) को उल्लंघन भएको छ । साथै भू.सु.का.मा दफा ३० बमोजिम खडा भएको मोहीको लगत समेतलाई पन्छाई भएको निर्णय बदरभागी छ ।

८. उल्लेख गरे बमोजिम भू.सु.अधिकारीको निर्णयबाट संविधानको धारा १०(१), ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकबाट वञ्चित हुनु परेकोले संविधानको धारा १६।७१ बमोजिम मिति ०४२।२।७ को भू.सु.का.बाराको निर्णय उत्प्रेषणको आदेश वा चाहिने अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरी बदर गरी पाउँ भन्ने रिट निवेदन जिकिर ।

९. यसमा के कसो भएको हो रिट निवेदकको  माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको ०४२ साल भाद्र १० गतेको आदेश ।

१०. रिट निवेदकले जग्गा कमाउन छाडी अड्डामा गई कागज गरी दिएको र सो पछि मैले कमाई आएकी भन्ने कुरा निर्णयमा उल्लेख छ । रिट निवेदकले त्यस किसिमको कागज गरेको होइन भनी रिट निवेदनमा लेख्न सक्नु भएको छैन । आफूले अड्डामा गरेको कागजलाई इन्कार गर्न पाउने होइन इन्कार गरेको पनि छैन । यस्तो कागज अ.बं.७८ नं.ले सुनाउनु पर्ने कानुनी व्यवस्था होइन ।

११. जग्गा छाडेको सूचना विपक्षले सम्बन्धित अधिकारी समक्ष दिनु भएको छ र आफैंले सनाखत गर्नुभएको छ । सनाखत गरी सकेपछि सम्बन्धित अधिकारीले बुझेर निर्णय दिने व्यवस्था कानुनले गरेको छ । भूमिसुधार अधिकारीले यो प्रक्रिया अपनाएको छ यसमा कुनै त्रुटि छैन ।

१२. विपक्षीले निवेदनमा निजको आमाको नाममा मोहियानी रहेको कि.नं.९९ मा आमापछि निजको हक भन्नु भएको छ । आमाले नै जग्गा छाडी दिइसकेपछि विपक्षको हक हुने कुरै भएन । विपक्षले भूमिसुधारमा दिनु भएको निवेदनमा कि.नं.१९४, १९९ भनी लेखेबाट र कुनै रसीद पेश गर्न नसकेबाट पनि जग्गा कमाउन पहिले नै छाडिसकेको प्रष्ट छ तसर्थ भूमिसुधार अधिकारीको निर्णयले मोही लगत कट्टा भएपछि जोतपोत सहित मैले उक्त कि.नं.९४ र ९९ दुबै कित्ता जग्गा मिति ०४२।२।१०।५ मा जादो लाल्सा कानूलाई मालपोत कार्यालय बाराबाट रजिष्ट्रेशन पारित गरी दिइसकेको छु । माथिका कारणबाट भूमिसुधार अधिकारीले गरेको निर्णय कानुन बमोजिम भएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने राजा साहको लिखितजवाफ ।

१३. साविकमा मोहनप्रसाद उपाध्यायको नाउँमा दर्ता रहेको गा.पं पसानी बा.नं. २ कि.नं.८ र ९४ को जग्गामा निज राजा साह तेली र निजकी आमा गीदरी तेलेनीले मोहीमा जग्गा जोत्‍न सक्दिन भनी २०२५ साल बैशाखमा ज.ध.लाई सूचना गरी छोडपत्र गरी दिएकोमा ज.ध.ले सोही छोडपत्र बमोजिम जोत्‍न जाँदा ज.ध.ले मोहियानी खोस्यो कारवाही गरी पाउँ भनी उच्चस्तरीय दौडाहामा उजूरी निवेदन गरेकोमा भएको आदेश बमोजिम तत्कालीन भूमिप्रशासन कार्यालय बाराबाट राजा साहलाई झिकाई बुझ्दा साविक निवेदन बमोजिम मोहियानी छोड्न मञ्जूर छ, उजूरी निवेदन तामेलीमा राखी पाउँ मोहीमा जोत्‍न मेरो सावगास छैन भन्ने समेत व्यहोराको ०२५।१२।२ गते भू.प्र.का.बारामा कागज गरी दिएको ।

१४. सोही जग्गा साविक ज.ध.मोहनप्रसाद उपाध्यायले त्यसै बखत देखि जोति आई आफ्नी भाइ बुहारी सरितादेवीलाई बक्सपत्र दिएको वा निजको हक हुन आई उपरोक्त बमोजिम साविक देखि छाडीएको मोहियानी लगत कायमै रहेकोले गा.पं.को सिफारिशसाथ मोहियानी लगत कट्टा गरी पाउँ भनी मिति ०४१।११।२२ मा हाल ज.ध.सरितादेवीको निवेदन परेकोमा सरजमीन भएको हुँदा राजा साह तेलीले छोडपत्र गरेको सालदेखि नै ज.ध.कै जोतमा छ भन्ने देखिएकोले उपरोक्त प्रमाणको मूल्याँकन गर्दा भू.सं.ऐन, ०२१ को दफा २६(१) को प्रतिबन्धात्मक वाक्यांस (क) अनुसार ०२६ साल बैशाखमा छोडपत्र गरेको मुलुकी ऐन जग्गा पजनीको महलको ३ नं. अनुसार खेतीको याम भित्रकै भएको र उच्चस्तरीय दौडाहामा दिएको निवेदनमा सनाखत गर्दा छोडपत्र बमोजिमकै कारवाई होस् भनेको गा.पं.र सरजमीनबाट पनि निजले छोडपत्र गरी ०२५ सालदेखि नै जग्गा जोत्‍न छाडेको देखिएकोले राजा साह तेलीले ०४१।१२।६ मा गरेको इन्कारी निवेदनमा केही गरी रहन नपरी जग्गाधनीको माग दावी अनुसार पूर्व छोडपत्र बमोजिम लगत  संशोधन गरी राजा साह तेलीको लगत कायम राख्‍न मनासिब नहुँदा मोहीको लगत दर्ता श्रेस्ता किताबमा सुधार गर्ने गरी मिति ०४२।२।७ मा भएको आदेश कानुनसंगत छ । रिट निवेदकको कुनै पनि संवैधानिक एवं कानुनी हक हनन् नभएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने भू.सु.का.बाराको लिखितजवाफ ।

१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत बिषयमा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापा र प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित सहन्यायाधिवक्ता प्रेमबहादुर बिष्ट समेतले गर्नुभएको बहस समेत सुनियो ।

१६. प्रस्तुत विवादमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्नेतर्फ हेर्दा यसमा कि.नं.९४ र कि.नं.९९ को जग्गा मेरो नाउँमा दर्ता भई भोगी आएको छु । कि.नं.९४ राजा साह र कि.नं.९९ निजको आमा गीदरी तेली मोही भएकोमा अब जोत्‍न सक्दिन भनी ०२३ साल बैशाखमा छाडेको र ०२५।१०।१२ मा उच्चस्तरीय दौडाहामा निवेदन दिई कारवाही हुँदा ०२३ साल बैशाख देखिनै जग्गा जोत्‍न असमर्थ छु भनी बयान गरी जग्गा छाडेको हुँदा मोहीको लगत कट्टा गरी पाउँ भन्ने निवेदकको मुख्य दावी पाइन्छ ।

१७. भू.सु.का.को निर्णयमा एकचोटी सकारी सकेको कुरालाई दोहर्‍याई इन्कार गर्न नमिल्ने छोडपत्र गरेपछि दावीको जग्गा कसको जोत रहेछ भनी गा.पं.को सिफारिश मगाउँदा र कार्यालयबाट सरजमीन बुझ्दा मोहीले छोडपत्र गरेदेखि यता जग्गाधनी सरितादेवी खतिवडाकै जोत छ भनी प्रमाणित हुनआएको देखिने र पसौनी गा.पं.वडा नं.२ कि.नं.१९४ र १९९ को जग्गा सरितादेवी खतिवडाका नाउँमा नम्बरी दर्ता नै नदेखिएको हुँदा राजा साह तेलीको निवेदनलाई मान्यता दिइरहन परेन सरितादेवी खतिवडाका नाममा नम्बरी दर्ता रहेको कि.नं.९४ को जग्गा र राजा साह तेलीको स्वर्गीय आमा गीदरी तेलीको नामको कि.नं.९९ को जग्गाको माग अनुसार मोहीको लगत संशोधन गरिदिने गरी निर्णय भएको पाइन्छ ।

१८. अब यसमा निर्णयतर्फ बिचार गर्दा प्रत्यर्थी सरितादेवीले निवेदक राजा साह तेलीलाई मोही देखाई मोहीको लगत कट्टा गरी पाउँ भन्ने निवेदन दिएकोमा सरजमीन भएपछि रिट निवेदकले मोहीको लगत कट्टा नहोस् भन्ने निवेदन दिएको कुरा भू.सु.का.को ०४२।२।७ गतेको निर्णयबाट देखिन्छ । त्यसप्रकार जग्गाधनीले देखाएको मोहीको मोहियानी लगत कट्टा गर्नुभन्दा अघि निजलाई म्याद दिई झिकाई प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्ने प्राकृतिक न्यायको सिद्धान्त अनुसार निजलाई नबुझी प्रतिवाद गर्ने मौका नदिई गरेको भू.सु.का.बाराको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निजलाई समेत बुझी निर्णय गर्नु भनी भू.सु.का.बाराका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको निमित्त मा.न्या.का.मार्फत आदेशको प्रति साथ राखी पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायसंग सहमत छु ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४३ साल आश्विन २ गते रोज ५ शुभम् ।