निर्णय नं. २७८३ – उत्प्रेषण
निर्णय नं. २७८३ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४२ सालको रि.नं. १४२८ आदेश भएको...
निर्णय नं. २७८३ ने.का.प. २०४३ अङ्क ७
डिभिजनबेन्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४२ सालको रि.नं. १४२८
आदेश भएको मिति : २०४३।५।१०।३ मा
निवेदक : अञ्चल बागमती जिल्ला भक्तपुर भ.पु.न.पं वार्ड नं. १४ नासमना टोल बस्ने पशुपति भक्त पुलाछें
विरुद्ध
विपक्षी : ऐ.ऐ.भक्तपुर न.पं.का प्रधानपञ्च ज्ञानबहादुर न्याईच्याईसमेत
विषय : उत्प्रेषण
(१) विवादको जग्गा प्रत्यर्थीको नाममा नापी भई निजको हक देखिएको जग्गामा निवेदकले निजको हकको भन्ने कुरा देखाउन नसकेको र हक बेहकको प्रश्न समावेश नभएको भन्ने समेत आधारमा नक्शा पास गरी दिने ठहर्याई अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ।
(प्रकरण नं. ११)
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान वरिष्ठ अधिवत्ता श्री सर्वज्ञरत्न तुलाधर
आदेश
न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त विवरण तथा रिट निवेदन जिकिर निम्न प्रकारको रहेछ :
२. भक्तपुर नगर पञ्चायत वडा नं.१० थालाछें टोलको पूर्व राधाकृष्ण पुलाछेंको घर र म पशुपतिभक्तको घर पश्चिम बाटो र म पशुपतिभक्तको पाताल उत्तर बाटो, म पशुपतिभक्तको घर र पाताल यति ४ किल्ला भित्रको हाल भक्तपुर नगर पञ्चायत वडा नं.१० को कि.नं.३६५ को घर जगसम्म भत्काई दक्षिणतर्फ पातालमा बढाई नक्शा बमोजिम घर बनाउन विपक्ष न.पं.मा नक्शा दर्खास्त दिएको रहेछ । विपक्षी निर्मला धौमडेलले दक्षिण पूर्व पश्चिम ६ फिट उत्तर दक्षिण ६ फिट पातालमा बढाई घर बनाउन भनिएको पाताल मेरो हक भएको मिति २०१०।११।२५ को पारित बण्डापत्रबाट देखिएको भक्तपुर नगर पञ्चायत वडा नं.१० कि.नं.३६६ को पाताल कायम भएको मेरो हकको पाताल मेरो कायम गरी नदिएसम्म नक्शा पास नहोस् भन्ने मेरो विपक्ष न.पं.कहाँ उजूर परेको थियो ।
३. वादीले पेश गरेको नक्शाको घर र पाताल नापीबाट नाप नक्शा हुँदा कि.नं.३६५ कायम भई स्ववासी दर्ता भई प्राप्त अस्थायी प्रमाणपत्र ट्रेशनक्शा पेश भएकोले सो पाताल प्रतिवादीको भए सो नापीको मौकामा प्र.ले उजूरी गरी हक कायम गर्न सक्नु पर्ने नगरी वादीको स्वीकारी बसेको, पेश भएको मिति २०१०।११।२५ गते पारित बण्डापत्रबाट पनि उजूर गरेको पाताल प्रतिवादीको भागमा परेको नदेखिएको भन्ने समेत आधारमा नक्शा अनुसार घर बनाउन पाउने ठहर गरी न.पं.ले निर्णय पर्चा गरेको छ ।
४. यसरी नगर पञ्चायत ऐन, २०१९ को दफा १७ को (ढ) तथा ऐ.को दफा ४९ को (२) ले हक बेहक परेकोमा अदालतमा पठाउन पर्ने कानुनी व्यवस्था भएको घर बनाउने पाताल जग्गामा तेरो मेरो विवाद भएकोमा घर बनाउन पाउने गरी संविधानको धारा ११(२)(ङ) र धारा १५ को सम्पत्ति सम्बन्धी हक समेतमा आघात पुर्याई गरेको २०४२।४।३।५ को निर्णय पर्चा उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी बदर गरी संवैधानिक हक प्रचलन गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।
५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको सिंगलबेञ्चको आदेश ।
६. भ.पु.न.पं.ले नक्शा पास गर्दा हक बेहकमा निर्णय गरेको छैन म प्रत्यर्थीबाट पेश भएका निर्विवाद लिखतले मेरो हक पुष्टि गरेको र विपक्षीको मौखिक भनाइको आधारमा अदालतमा जानु भनी सुनाउनु पर्ने हैन साथै हकै नपुग्ने विषयमा लिएको दावी हक दैया विहीन हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको निर्मला धौमडेलको लिखितजवाफ ।
७. प्रेशित प्रमाणपत्र सर्भे नक्शा सरजमीन समेतबाट हक बेहकमा पठाउन पर्ने वा पठाउन मिल्ने नदेखिएकोले नक्शा पास गरी दिएको यस न.पं.को निर्णय कानुनसंगत हुँदा विपक्षको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत भ.पु.न.पं.को लिखितजवाफ ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकलाई रोहवरमा राखी विपक्षी निर्मला धौमडेलको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विपक्षी भ.पु.न.पं को तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
९. प्रस्तुत विषयमा रिट निवेदकको मागबमोजिम आज्ञा, आदेश जारी हुने हो होइन निर्णय दिनु पर्ने हुन आयो ।
१०. यसमा घर बनाउने विवादको पाताल जग्गामा तेरो मेरो विवाद परेकोमा नगर पञ्चायत ऐन, २०१९ को दफा १७ को (ढ) तथा ऐ.को दफा ४९(२) ले हक बेहकमा अदालतमा पठाउनु पर्नेमा नक्शा पास गरी दिने ठहराएको नगर पञ्चायतको निर्णय बदर गरी पाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ ।
११. प्रत्यर्थीले घर बनाउने भनेको जग्गामा प्रस्तुत भएका प्रमाणहरूबाट हक बेहकमा पठाउन पर्ने नदेखिएकोले नक्शा पास गरी दिने ठहर्याई न.पं.बाट भएको निर्णयमा कुनै कानुनी त्रुटि नभएको भन्ने भ.पु.न.पं.समेतको लिखितजवाफमा उल्लेख भएको पाइन्छ । विवादको जग्गा प्रत्यर्थीको नाममा नापी भई निजको हक देखिएको उक्त जग्गामा निवेदकले निजको हकको भन्ने कुरा देखाउन नसकेको र हक बेहकको प्रश्न समावेश नभएको भन्ने समेत आधारमा नक्शा पास गरी दिने ठहर्याई अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४३ साल भाद्र १० गते रोज ३ शुभम् ।