निर्णय नं. २७७९ – बण्डापत्र पास बदर
निर्णय नं. २७७९ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.पु.नं. ६९७ फैसला...
निर्णय नं. २७७९ ने.का.प. २०४३ अङ्क ७
डिभिजनबेन्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४१ सालको दे.पु.नं. ६९७
फैसला भएको मिति : २०४३।७।१८।३ मा
पुनरावेदक/वादी : जिल्ला लुवाफु गा.पं.वार्ड नं.४ यानाम ओखर बोटो बस्ने नवाव सिं मरी मु.स. गर्ने ऐ.ऐ.बस्ने पृथ्वीप्रसाद जवेगु लिम्बू
विरुद्ध
विपक्ष/प्रतिवादी : ऐ.ऐ.गैरी गाउँ बस्ने भक्तबहादुर लिम्बूसमेत
मुद्दा : बण्डापत्र पास बदर
(१) आफ्नो दावी पुष्टी गर्न पुनरावेदनको अनुमति प्रदान भएको आदेशमा उल्लेख भए बमोजिम वादी दावीका जग्गाहरू अपर सिंहको हकको भनी देखाएर मात्र पर्याप्त हुँदैन, दावीको जग्गाहरूमा वादीको हक पुगेको पक्का प्रमाणको अनिवार्य आवश्यक हुने ।
(प्रकरण नं. १९)
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालत डिभिजनबेञ्चका आदेशानुसार पुनरोदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. अंश मुद्दामा लेखिएको २६ थला जग्गा दयाकर्नको २ स्वास्नी पट्टीको ५ भाइको सन्तानले आफ्ना पूर्खाको भाग पाउँ भन्ने प्र.गम्भीर हाङ समेतको नाउँमा यही अदालतमा नालिश दिई इन्साफ हुँदा इन्साफ गर्न नपर्ने भई ०२२।७।२५।४ मा फैसला भएको म समेतको पुनरावेदन परी कारवाही हुँदा जग्गा वादी र प्रतिवादीको हो भन्ने इन्साफ नभई ०२३।२।३।२ मा मे.अं.अ.बाट फैसला सो इन्साफ उपर म समेतको सर्वोच्चमा पुनरावेदन परी अं.अ.को इन्साफ मनासिब ठहरी मुद्दा खारेज भएको छ । मेची अञ्चल अदालतको फैसलाको नाता समेतबाट जग्गा मेरो हक पुग्छ भनी मेरो हकको तेम्बेवारी १, चोक्टीवारी १, बभीखोला भन्ने किपट स्वाराबारी १, विजयपुर भन्ने स्वाराबारी १, चुथ्रोबारी १, थेमैजा भन्ने स्वाराबारी १ यांथार्क स्वारा सोमी हाङ खेत १, साप्तुवा भन्ने बारी १, सेवाजिम्वा १, खंू खोलाको टारी खेत १, सेपेनी भन्ने खेत १, परवोटेको सिरवारी १, भोटे गाउँको सक्राती भन्ने डांडा पर्ती बाँझो १, फेनेदोर्माको करमबोटे भन्ने खेत १ समेत १५ थला घुसाई रु.१,०००।– खाई पारित गरिदिने प्र.गंविर हाङ लिने भक्तबहादुरले ०२५।९।९।२ मा पाँचथर मालमा पास गरी लिने दिनु गरेछन् । बण्डापत्र बदर गराई १५ थला जग्गा प्र.हरूको दावी खिचोला मेटाई मेरै सदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद ।
३. प्र.गम्भीर हाङ समेत ४ जनाको नाउँमा नवाफसी समेतले यसै इ.जि.अ.मा फिराद गरेकोमा हाम्रो कागज भई अघि अंश भएको ठहरी वादी नवाफ सिं हाङ समेत हारी ०२२।७।२५।४ मा फैसला भएको फैसला उपर वादी समेतको पुनरावेदन परेबाट ०२३।२।३ मा इन्साफ शुरुको सदर भई मे.अं.अ.बाट फैसला भएको सर्वोच्चमा वादीको पुनरावेदन परी खारेज भई वादी नवाफ सिंहको हक टुटेको जग्गा हो रु.१,०००।– म गम्भीर हाङले लिएको होइन म भक्तबहादुरले दिएको होइन १५ थला जग्गा लिनको नियतले झुठ्ठा कुरासंग पास गरेको बण्डापत्र बदर गराई पाउँ भन्ने बाहाना गरी फिराद गर्छ तापनि ०२६।९।९।२ को पास बण्डा गरी दिएको सदर गराई वादी दावीको १५ थला जग्गाको दावी मेटाई पाउँ भन्ने समेत व्यहोराको भक्तबहादुर, गम्भीर हाङ समेतको प्रतिउत्तर ।
४. १९६५।१०।५ को बण्डापत्र मुचुल्का जालसाज कीर्तेबाट खडा गरेको हो भन्ने वादी वानबहादुरको बयान ।
५. १९६५।१०।५।१ को बण्डापत्र मुचुल्का कीर्ते जालसाजबाट खडा गरेको होइन सक्कली लेखत हो भन्ने प्र.वा.वागेन्द्र हाङको बयान ।
६. वीरबहादुर वादी भएको जग्गा मुद्दामा १ जन प्रतिवादी गम्बीर हाङसंग ०२५।३।१० गते मिलापत्र भई अरु ६ जना नवाफ सिं समेत प्रतिवादीको हकमा मुद्दा दायरै रहेकोमा उक्त जग्गामा मुद्दामा बुझिएको प्रमाणबाट ०२६।३।२२।१ मा खारेजी फैसला भएको देखिन्छ । सो फैसलाबाट पनि वादी नवाफ सिंको बण्डापत्र पास भित्रको जग्गामा हक पुगेको देखिन नआउने हुँदा बुझिएको प्रमाणबाट वादी उजूरी खारेज हुने ठहर्छ भन्ने पाँचथर जिल्ला अदालतको फैसला ।
७. मेरो भाग जग्गा घुसाई पास लिनु दिनु गरेको बण्डापत्र बदर हुने ठहराई खारेज नगरी पूरा इन्साफ गरी फैसला गर्नु पर्नेमा सो नभई खारेज गरेको शुरुको इन्साफ उल्टाई दोहोर्याई इन्साफ गरी पास बण्डा पत्र बदर गरी मेरा वादी दावीको १५ थला जग्गाबाट प्र.हरूको दावी मेटाई जग्गा मेरै सदर थामी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन ।
८. शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतको ०२८।२।१७।२ को फैसला ।
९. सो फैसला उपर वादीको पुनरावेदन पर्दा वादी दावी खारेज हुने भन्ने शुरु र अञ्चल अदालतले खारेजी फैसला गरेको मिलेको देखिएन । सो बदर हुन्छ । यिनै पक्ष विपक्षी भएको अंश मुद्दामा लिखत सद्दे कीर्ते तर्फको ठहर फैसला गर्न बाँकी राखेको काम पूरा गर्नु भनी आजै अञ्चल अदालतमा पठाउने आदेश भएको हुनाले यस मुद्दामा पनि वादी दावी जिकिर अनुसार ठहर्ने के हो ठहर तहकिकात फैसला अञ्चल अदालतबाटै गर्नु भनी मिसिल मेची अञ्चल अदालतमा पठाई दिनु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३०।७।२६ को फैसला ।
१०. अंश मुद्दा अन्तिम किनारा लागेपछि कारवाई गर्ने गरी मुलतवी राख्ने भन्ने मेची अञ्चल अदालतको २०३१।६।२४ को आदेश ।
११. अंश जालसाज कीर्ते मुद्दा ०३२।२।६ मा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट किनारा भएको देखिनाले मुलतवी जगाउने भन्ने समेत २०३५।६।१६ को आदेश ।
१२. वादी पुनरावेदकको जग्गामा हक पुगेको कानुनी लिखत आधारहरू केही नदेखिएबाट वादी दावी पुग्न सक्दैन भन्ने समेत मेची अञ्चल अदालतको ०३६।१२।१८ को फैसला ।
१३. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी मु.स.गर्ने पृथ्वीप्रसाद लिम्बूको पुनरावेदन ।
१४. वादी दावी पुग्न नसक्ने ठहराएको मेची अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३८।१०।२६ को फैसला ।
१५. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा यसमा बण्डा पत्र गरी दिने गम्भीर हाड्ड र लिने भक्तबहादुर भएको ०२५।९।९।२ को बण्डा पत्रमा अपर सिंहको भाग हिस्सा उल्लेख भइराखेको र अपर सिंहको छोरा नबाव सिंह र निजको छोरा पृथ्वीप्रसाद जवेगु देखिनाले वादी दावीको जग्गामा वादीको हक पुगेको प्रमाण नभएकोले वादी दावी पुग्न नसक्ने ठहराएको फैसलामा अ.बं.१८४ र १८५ नं.समेतको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०४०।१२।१६ को आदेश ।
१६. पुनरावेदकको वारिस कूलराज गुरुघरानाले वादीको बाबु अपर सिंह भएको र दावीको बण्डापत्रमा नै दावीका जग्गाहरू अपर सिंहको भागमा परेको भन्ने देखाएको सोही जग्गाहरूमा अपर सिंहका छोरा वादीको समेत हक लाग्नेमा एकलौटी भक्तबहादुरले खान पाउँने गरी बण्डापत्र गरी दिएकोबाट सो बण्डापत्र बदर गरी पाउन यो फिराद गरेकोमा अघि जग्गाको हक बेहकमा केही नबोलेको अंश मुद्दाको नाता देखाई भएको फैसला मिलेको छैन । पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टाई पाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले वादीको फिरादबाट बहस बमोजिमको दावी लिएको नभई आफ्नो हकको दावीको जग्गाहरू बण्डापत्र भित्र पारी बण्डापत्र गरिदिएको हुँदा सो लिखत बदर गरी पाउँ भनी दावी लिएका हुन् भन्ने कुरा फिराद व्यहोराबाट स्पष्ट छ । अपर सिंहका छोराहरू पनि अघि नै भिन्न भइसकेको हुँदा भक्तबहादुरले भोगेको निजको हकको जग्गाको हक कायम गराउने दावी कायम भएको नहुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१७. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१८. यसमा निर्णयतर्फ हेर्दा, बण्डापत्र गरी दिने गम्भीर हाड्ड र लिने भक्तबहादुर भएको ०२५।९।९।२ को बण्डापत्रमा अपर सिंहको भाग हिस्सा उल्लेख भइराखेको र अपर सिंहको छोरा नबाब सिंह र निजको छोरा पृथ्वीप्रसाद जवेगु देखिनाले वादी दावीको जग्गामा वादीको हक पुगेको प्रमाण नभएकोले वादी दावी पुग्न नसक्ने ठहराएको फैसलामा अ.बं.१८४ र १८५ नं.समेतको त्रुटि देखिएको भन्ने आधारमा पुनरावेदनको अनुमति प्रदान भएको देखिन्छ ।
१९. बण्डापत्रको व्यहोराबाट अपर सिंहको भाग मात्र छुट्याई दिएको नदेखिई अपर सिंहको भाग मध्ये बण्डा पाउने भक्तबहादुरले निजले खाई भोगी आएका जग्गाहरू निजले एकलौटी खान पाउने गरी बण्डा गरी दिएको देखिन्छ । प्रस्तुत मुद्दाको फिरादपत्रको व्यहोरा हेरिएमा फिरादपत्रबाट पनि वादीतर्फको जिकिर बमोजिम सो एकलौटी खान पाउने गरी बण्डापत्र गरी दिएको सम्म बदर गरी पाउँ भन्ने दावी नदेखिई वादीका हकको घर सहितको १५ थला जग्गा सो बण्डापत्र भित्र घुसाई दिएको हुँदा सो बण्डापत्र बदर गरी खिचोला समेत मेटाई पाउँ भनी आफ्नै अंशियार प्रतिवादी भक्तबहादुर समेत उपर दावी लिएको पाइन्छ । यस्तो अवस्थामा आफ्नो दावी पुष्टि गर्न पुनरावेदनको अनुमति प्रदान भएको आदेशमा उल्लेख भए बमोजिम वादी दावीका जग्गाहरू अपर सिंहको हकको भनी देखाएर मात्र पर्याप्त हुँदैन । दावीका जग्गाहरूमा वादीको हक पुगेको पक्का प्रमाणको अनिवार्य आवश्यक हुन्छ । तर सो अनुसार वादीको हक पुगेको पक्का प्रमाण वादी पुनरावेदकतर्फबाट आएको देखिँदैन । तसर्थ वादीको हक पुगेको पक्का प्रमाणको अभावमा वादी दावी नपुग्ने ठहराएको मेची अञ्चल अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । कोर्टफी लागी दायर भएको मुद्दा हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इतिसम्वत् २०४३ साल कार्तिक १८ गते रोज ३ शुभम् ।