निर्णय नं. २१०३ – उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय नं. २१०३ ने.का.प. २०४१ अङ्क ९ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री...
निर्णय नं. २१०३ ने.का.प. २०४१ अङ्क ९
फुल बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४१ सालको रि.फु.नं. ५०
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निवेदीका : का.जि.का.न.पं. वा.नं. १९ याटखा दमार्इ टोल बस्ने न्हुछेमाया खड्गी
विरुद्ध
विपक्षी : ऐ.ऐ. वार्ड नं. २९ सामाखुसी बस्ने सोवीर लामा
आदेश भएको मिति : २०४१।९।२५।३ मा
§ न्यायिक वा अर्धन्यायिक अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्यांकन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने र निर्णयमा पुग्दा तत्सम्बन्धी कारणहरू स्पष्ट रुपमा खुलाएको हुनुपर्छ र ती कारणहरू सबूत प्रमाणमा आधारित हुनुपर्छ ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षी तर्फबाट : विद्वान वरिष्ठअधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिबक्ता श्री गोविन्दकुमार उपाध्याय
उल्लेखित मुद्दा : x
आदेश
प्र.न्या. नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदीकाको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी अनुसार पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. विर्तावाला न्हुछेमायाको का. यटखा ९५७ नं. को पोता लगतको जग्गा नापीमा काठमाडौं गोंगबु गा.पं. वार्ड नं. ४(ग) कि.नं. ४०५ को जग्गा रोपनी ७–५–२ तथा कि.नं. ४०६ को ०–९–० जग्गामा म मोही रहेको निर्विवाद छ । सो जग्गामा कि.नं. ४०५ का २–४–२ तथा कि.नं. ४०६ को ०–९–० जग्गा रैकर परिणत गरिपाउँ भनी निज न्हुछेमायाको वारेस नन्द ढकालले मालपोत कार्यालयमा २०३८।९।२४ मा निवेदन गर्नुभयो । म निवेदकले पनि कि.नं. ४०५ र ४०६ को पूरै जग्गा आफ्नो नाउँमा रैकर परिणत गरिपाउँ भनी ०३८।१०।२६ मा निवेदन गरेको थिएँ ०३८।११।१३ मा सो बारे ताकेता र कानुनको आधारको साथ अर्को निवेदन सोही कार्यालयमा गरेको थिएँ । तथापि मेरो निवेदनको कुनै वास्ता नगरी मलाई मिसिल पक्ष नबनाई न्हुछेमायाको माग बमोजिम रैकरमा परिणत गर्ने टिप्पणीं २०३८।११।२५ मा त्यस कार्यालयका प्र.मा.अधिकृतबाट सदर भयो ।
३. विर्ता उन्मूलन ऐन, २०१६ (दोस्रो संशोधन, ०२४) को दफा ७(४) को म्याद पछि विर्तावालले रैकर परिणत गरिपाउँ भनी निवेदन गर्ने कुनै कानुनी आधार छैन, त्यसमा पनि म मोही विर्तावालको नाउँमा रैकर परिणत हुनु अगाडि नै आफ्नो नाउँमा रैकर परिणत गरिपाउँ भनी निवेदन दिएकै थिएँ सो कुरालाई उल्लेखै नगरी मलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्तको बिपरीत निर्णय भएकोछ । मुलुकी ऐन अ.बं.१८५ नं. ले व्यवस्था गरेअनुसार तेरो मेरो सम्बन्धी अर्धन्यायिक विषयमा निर्णय गर्दा आधार खुलाउनु पर्ने बाध्यता छ साथै सम्मानित स.अ.का अकाट्य रहेका विभिन्न नजीरहरूबाट पनि सो कुराको पुष्टी भएको छ । विर्ता उन्मूलन ऐन, २०१६ (दोस्रो संशोधन २०२४) को दफा ७(४) ले मोही छँदाछँदै, मोहीले दावी गर्दा गर्दै विर्तावालले रैकरमा परिणत गर्ने हकदैया नै नभएको, यस्तो कानुनी कुरामा कसैको स्वीकृतिले मात्र अधिकार दिन नसक्ने निर्विवाद छ । अर्को दावीको कि.नं. ४०५ मा विर्तावालले रोपनी २–४–२ जग्गा रैकर परिणत गरिपाउँ भन्ने माग गर्नु भई सोहीमा निर्णय भएको छ । तर सोही कि.नं. को बाँकी रोपनी ५–०–० मेरो नाममा रैकर परिणत गरी एकैसाथ निर्णय गर्नुपर्नेमा केही काम गरी केही बाँकी राखी निर्णय भएको छ । साथै विर्तावाल स्वयंले का.यटखा ९५७ नं. को पोता लगत भिडाई पाउँ भन्ने जिकिर लिएकोमा सो पनि नभिडाई खाली फिल्डबुकलाई आधार मिलाई भएको निर्णय त्रुटिपूर्ण छ ।
४. उपरोक्त उल्लिखित त्रुटिहरूको अतिरिक्त ०३८।११।२५ को टिप्पणीं र आदेशले नेपालको संविधान, २०१९ को धारा १०(१), ११(२)(ङ) तथा धारा १५ ले प्रदान गरेको हक हनन् भएको र सो को प्रचलन अन्य कुनै उपचार नभएकोले धारा १६ र ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी मा.पो.का.को ०३८।११।२५ को टिप्पणीं र आदेश बदर गरी मोहीकै नाउँमा उक्त ख.श्रेणीको विर्ता जग्गा रैकरमा परिणत गर्नकोलागि विपक्षी कार्यालयको नाउँमा परमादेश आदेशसमेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
५. यसमा विपक्षीहरूद्वारा लिखितजवाफ मगाई नियमानुसार पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०३८।१२।१८ को आदेश ।
६. यस कार्यालयमा का.जि.यटखा दमाई टोल बस्ने न्हुछेमाया खड्गीले आफ्नो नाउँमा का.यटखा ९५७ नं. का पोता लगतमा रोपनी ४–८–० जग्गा नापी हुँदा गोंगबु गा.पं. वा.नं. ४(ग) कि.नं. ४०५, ४०६ कायम भएको जग्गा मेरो नाउँमा रैकर परिणत गरिपाउँ भनी द.नं. ८२०९ मिति ०३८।९।२४ मा वारेस नन्दलालद्वारा निवेदन दर्ता भई उक्त निवेदनमा कारवाही हुँदा मे.ना.शाखाबाट फिल्डबूक उतार माग गरी भिडाई हेर्दा उतारको कि.नं. ४०५, ४०६ को किशानको व्यहोरामा मोही सोबिर लामाले ज.ध.का.ई.दमाई टोल बस्ने न्हुछेमाया खड्गीको हो मैले कूतमा जोती कमाई आएको भनी उल्लेख गरेअनुसार मोहीको सम्बन्धमा को व्यक्ति कायम रहेछ भन्ने सम्बन्धमा भू.सु.शाखा, काठमाडौंमा सोधनी गर्दा गोंगबु गा.पं. वार्ड नं. ४(ख) कि.नं. ४०५ र ४०६ को २ नं. अनुसूची हेर्दा मोही सोविर लामा ज.ध. न्हुछे खड्गीनी दमाईटोल भन्ने देखिएको र मोही सोविर लामाले त्यस कार्यालयमा ०३८।१०।२५ मा उल्लिखित ज.ध.को माग दावी भएको जग्गाको जग्गाधनी न्हुछेमाया खड्गी र मोही सोविर लामा भएको जग्गा यटखाको ९५७ नं. पोता लगत भिडाई निजैलाई जग्गाधनी कायम गरी जग्गाधनी प्रमाणपूर्जा दिएमा मेरो मञ्जूर छ भनी निवेदनमा सनाखत सहीछाप गरेकोले ज.ध.न्हुछेमाया खड्गीको नाउँमा रैकर परिणत गरी दिने यस कार्यालयबाट निर्णय भएको हो । रिट निवेदनकले रीतपूर्वक यस कार्यालयमा उल्लिखित मितिमा रैकर परिणत गरी ज.ध.को नाउँमा ज.ध.प्र.पूर्जा दिएमा मेरो मञ्जूर छ भनी निवेदन दिई सनाखत भएको तथ्यमा कुनै तेरो मेरोको विवाद उठाउनु उपयुक्त र कानुनसंगत नदेखिँदा मोहीको स्वीकृतिबाटै रैकर परिणत भएको निर्णयलाई गैरकानुनी भन्नु औचित्यहीन कुरा हो । प्रचलित कानुनी व्यवस्था अनुसार रैकर परिणत हुने जग्गा विवरण पहिले पेश गर्ने जग्गाधनी वा मोहीको नाउँमा रैकर परिणत गर्नु पर्ने र यस सम्बन्धमा रिट नं. ६६८ बाशुदेव वि.भूमिप्रशासन कार्यालय मिति ०३४।१२।२३।४ मा सिद्धान्त प्रतिपादित भएकोले उक्त रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोरा भएको प्रमुख मालपोत अधिकृतको लिखितजवाफ ।
७. साविक का.यटखा ९५७ को हाल का.जि.गोंगबु गा.पं. वडा नं. ४(ग) कि.नं. ४०५ को ७–४–२ र कि.नं. ४०६ को ०–९–० भई नापी भएको जग्गामा म धनी र विपक्षी मोहीमात्र हो । उपरोक्त कि.नं. ४०५ र ४०६ को जग्गा रैकर परिणत गरिपाउँ भन्ने मेरो निवेदन २०३८।९।२४ र विपक्षीको ०३८।१०।२६ मा परेकोमा रैकरमा परिणत गरी दिने भन्ने कुरा मेरो बसको कुरा नभई अड्डाको कुरो हो मेरो तर्फबाट गर्नुपर्ने कर्तव्य पूरा गरी रैकरमा परिणत भइसकेको छैन भनी विपक्षी मोहीले रैकरमा परिणत गरिपाउँ भनी भन्न मिल्ने कुरो होइन, विर्ता उन्मूलन ऐनको दफा ७ (४) ले पनि मिल्दैन भन्ने समेत व्यहोरा भएको विपक्षी न्हुछेमाया खड्कीनीको लिखितजवाफ ।
८. २०३३ सालको रि.नं. १०४२ निवेदक दामोदरप्रसाद उपाध्याय वि.भू.प्र.कार्यालय, काठमाडौं समेत भएको मुद्दामा विर्ता उन्मूलन ऐनको उक्त कानुनी व्यवस्था अनुसार विर्तावालाले (ख) श्रेणीको जग्गा रैकरमा परिणत नगराएमा सो गराउने म्याद नाघेपछि मोहीको नाउँमा दर्ता गरी दिनुपर्ने कानुनीव्यवस्था भएको पाइन्छ । यस स्थितिमा उक्त कानुन बिपरीत विर्तावाललाई जग्गाधनी प्रमाण पूर्जा दिने भनी प्रत्यर्थी कार्यालयले गरेको निर्णय कानुनबिपरीत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने सिद्धान्त प्रतिपादित भएकोले सोहीअनुरुपको प्रस्तुत मुद्दामा पनि विर्ता उन्मूलन ऐन, २०१६ (संशोधन सहित) को दफा ७(४) बमोजिम मोहीको हैसियतले विर्तावालको नाउँमा रैकरमा परिणत हुनु अगाडि नै रिट निवेदकको नाउँमा रैकरमा परिणत गरिपाउँ भनी प्रत्यर्थी कार्यालयमा निवेदन दिएकोमा उक्त सम्बन्धमा कुनै पनि कारवाही नै नगरी कानुनको बिपरीत न्हुछेमाया खड्गीनीलाई जग्गाधनी प्रमाणपूर्जा दिने गरी मिति ०३८।११।२५ को प्रत्यर्थी मा.पो.का.काठमाडौंको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरिदिने ठहर्छ भन्ने डि.बे.को ०३९।१२।२४ को निर्णय ।
९. रैकरमा परिणत गरिपाउँ भन्ने न्हुछेमायाको ०३८।९।२४ मा निवेदन परी यिनै रिट निवेदक सोबिर लामा मालपोत कार्यालयमा आफैं उपस्थित भई यो जग्गाको जोताहा हुँदा न्हुछेमायाको नाउँमा रैकरमा परिणत गरी पूर्जा दिएमा मेरो मञ्जूर छ भनी ०३८।१०।२५ मा निवेदन दिई सो सनाखत भएको देखिएको छ । त्यसपछि ०३८।१०।२६ मा मोही सोबिर लामाले दिएको निवेदनमा आफूले अघिल्ला दिन विर्तावारको नाउँमा दर्ता गर्न निवेदन दिई सनाखत मञ्जूरी गरेको कुराको उल्लेखसम्म गरेको देखिँदैन । सर्वोच्च अदालतले नजीर लिएको निवेदक दामोदरप्रसाद उपाध्याय विपक्षी भूमिप्रशासन कार्यालय काठमाडौं भएको रिट निवेदनमा प्रतिपादित भएको नजीर यस मुद्दामा मिल्न आउँने देखिँदैन भन्ने समेत न्यायिक समितिको पर्चा ।
१०. निवेदीकातर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले न्हुछेमायाले रैकरमा परिणत गरिपाउँ भनी ०३८।९।२४ मा निवेदन दिएपछि कारवाई चलिरहेकै अवस्थामा ०३८।१०।२५ मा मोही सोबिर लामाले जग्गाधनीको नाममा रैकरमा परिणत गरी दिएमा आपत्ति छैन भनी निवेदन दिई सनाखत पनि गर्यो । आफैं आई स्वीकृति दिएपछि फेरि निजलाई बुझ्नु पर्ने अवस्था रहेन । डि.बे.को निर्णय मिलेको छैन भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो । विपक्षी सोबिर लामाको तर्फबाट विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवालीले विर्ता उन्मूलन ऐन, २०१६ को म्यादभित्र विर्तावालले रैकरमा परिणत नगराएपछि रैकरमा परिणत गर्न पाउँदैन । मोहीलाई रैकरमा परिणत गराउने म्याद छैन जहिले पनि परिणत गराउन पाउँछ । मोहीको रैकरमा परिणत गरी पाउँ भन्ने निवेदन परिरहेको स्थितिमा जग्गाधनीको नाउँमा रैकरमा परिणत गरेको मा.पो.का.को निर्णय मिलेको छैन भन्नेसमेत बहस गर्नुभयो । सोबिर लामातर्फकै अर्को विद्वान अ.श्री गोविन्दकुमार उपाध्यायले मा.पो.का.बाट न्यायिक मनको प्रयोग नगरी टिप्पणीं सदर भएको छ भन्नेसमेत बहस प्रस्तुत गनुभयो ।
११. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनमा निर्णय तर्फ हेर्दा रिट निवेदकले बदर गराई पाउँ भनेको मिसिल संलग्न मालपोत कार्यालय काठमाडौंको ०३८।११।२५ को निर्णय हेर्दा याट्खा ९५७ नं. को पोता लगतमा दर्ता भएको रोपनी ४–८–० जग्गा नापी हुँदा गोंगबु गा.पं. वा.नं. ४(ग) कि.नं. ४०५।४०६ कायम भएको जग्गा रैकरमा परिणत गरी दर्ता गरिपाउँ भन्ने न्हुछेमायाको निवेदन परेकोमा उक्त जग्गा न्हुछेमाया खड्गीका नाममा रैकर परिणत गरी जग्गाधनी दर्ता पूर्जा दिने गरी उठेको टिप्पणीं प्रमुख मालपोत अधिकृतबाट सदर भएको पाइन्छ ।
१२. न्यायिक वा अर्धन्यायिक अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्यांकन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने र निर्णयमा पुग्दा तत्सम्बन्धी कारणहरू स्पष्ट रुपमा खुलाएको हुनुपर्छ र ती कारणहरू सबूत प्रमाणमा आधारित हुनुपर्छ । सबूत प्रमाणको मूल्यांकन गरी तर्कसंगत आधार एवं कारणहरू नखुलाई गरेको निर्णयलाई न्यायिक तरीकाले गरेको निर्णय भन्न नमिल्ने हुन्छ । प्रस्तुत रिट निवेदनमा फिल्डबूकबाट विवादको जग्गाको मोही सोबिर लामा देखिएको भन्ने उक्त मालपोत कार्यालयको टिप्पणीं आदेशबाट देखिएको छ । मालपोत कार्यालय काठमाडौंबाट ०३८।११।२५ मा निर्णय हुनुभन्दा पहिले ०३८।१०।२६ मा उक्त जग्गा आफ्नो नाममा रैकरमा परिणत गरिपाउँ भन्ने सोबिर लामाको मालपोत कार्यालयमै निवेदन परी रहेको छ जुन कुरा विपक्षी न्हुछेमायाको लिखितजवाफ समेतबाट समर्थित भइरहेको छ । तर उक्त निवेदनमा कुनै किसिमको कारवाही भएको पाइएन । यस स्थितिमा मालपोत कार्यालयबाट सोबिर लामाको निवेदन समेतमा कारवाही गरी सबूत प्रमाण मूल्यांकन गरी विर्तावाल न्हुछेमाया वा जोताहा सोबिर लामा कसका नाउँमा रैकरमा परिणत गर्नुपर्ने हो सो कुराको निर्णय गर्नु पर्नेमा न्यायिक मनको प्रयोग नगरी फाँटवालाले उठाएको टिप्पणीं सदर गरेको देखियो ।
१३. अतः मालपोत कार्यालय, काठमाडौं ०३८।११।२५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराएको डिभिजन बेञ्चको निर्णय मनासिव ठहर्छ । कानुन बमोजिम पुनः निर्णय गर्नु भन्ने मालपोत कार्यालय, काठमाडौंका नाममा परामादेशको आदेश समेत जारी हुने ठहर्छ । यो आदेशको एक प्रति प्रतिलिपि विपक्षीकहाँ पठाउन म.न्या. कार्यालयमा पठाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. त्रिलोकप्रताप राणा,
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल पौष २५ गते रोज ३ शुभम् ।