निर्णय नं. २७७३ – जग्गा खिचोला
निर्णय नं. २७७३ ने.का.प. २०४३ फुलबेन्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.फु.नं....
निर्णय नं. २७७३ ने.का.प. २०४३
फुलबेन्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४१ सालको दे.फु.नं. ६९
फैसला भएको मिति : २०४३।६।१४।६ मा
निवेदक/वादी : जि.मकवानपुर हेटौंडा नगर पञ्चायत वडा नं.१ बस्ने गणेशलाल श्रेष्ठ
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.वडा नं.४ बस्ने हिराकाजी राना मगरसमेत
मुद्दा : जग्गा खिचोला
(१) आफ्नो हकको जग्गा अरुले वादीको स्वामित्व रहेको कुरा इन्कार गरी आफ्नो स्वामित्वमा रहेको भनी दावी लिएपछि तत्काल प्रचलित जग्गा मिच्नेको १८ नं. मा भएको व्यवस्थाबाट त्यस्तो खिचोला दावी लिएको मितिले २ वर्षभित्र फिराद दिनु पर्ने ।
(प्रकरण नं. १२)
निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको जग्गाखिचोला मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसुफका विषेश जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. १९९३ सालको नापीमा शेरबहादुर सो पूर्व, लालबहादुर सो पश्चिम, कृतिलाल सो दक्षिण, जड्डल सो उत्तर, अर्ध ४४ तुल ९ को जग्गा विगहा ।।।४।।१ हेटौंडा बस्ने पुड्के राईका नाउँमा दर्ता भई निजले ९४ सालदेखि मालपोत तिरी भोगी आएको आवादी जग्गा विगहा ।।।४।।।१ मैले रु.९९९।– मा २०१६।८।३०।३ मा पास गरी लिई राजीनामा लिएको सालदेखि मालपोत समेत तिरी भोगचलन गरी आएको ०२८।२०।२१।२४।३० सालको मालपोत र २०२१ सालदेखि २३ सालसम्मको बचत तिरी ७ नं. फाराम भरी १३ सालमा नापी हुँदा १७ सालमा मेरो नाउँमा पुर्जी दिएको र नापीका सम्बन्धबाट मुद्दा चल्दा श्री ५ को सरकार मध्यमाञ्चल सर्भे सर्कल विरगञ्जबाट ०१७।७।११ मा पर्चा हुँदा उक्त जग्गाको राजीनामा समेत पेश भएको र बुझिएका इन्द्रबहादुरले जोताहा मात्र म हुँ जग्गा पुड्के राईसंग गणेशलालले खरीद गरी लिएको देखि आजसम्म यो जग्गाको बाली अधिया गरी बाँडी लिने गरी आएको छु । जोताहा समेतले पाउने पूर्जा पाउँ भनी किटानी कागज गरी दिएकोबाट निस्सा भिडाई फिल्डबूकको कैफियतमा व्यहोरा जनाई दर्ता पुर्जी दिने भन्ने निर्णय भएको सो बमोजिम मोही भनी उल्लेख भएको निज इन्द्रबहादुरले जोताहा हकबाट ०१८।२।३ मा कागज गरी छाडेको दाता पुड्के राईका नाउँमा अठसरा समेत खडा भइरहेको र पुड्के राईका राजीनामा भोग दर्ताको लगत जिमिदार पटवारीले मकवानपुर मालमा दाखिल गरिराखेको र इन्द्रबहादुरले जोताहा हक छाडे पछि कि.नं.७ र रै.नं.४ को जग्गा विगहा ।।।४।।।१ मध्ये हर्ष धरान र हरि धरान २ जनालाई कमाउन दिई बाँकी जग्गा विगहा ।।४।।।१ विपक्षमा लेखिए मध्ये फडेन्द्रराज र रुद्रप्रसाद बाहेक अरु हिराकाजी समेतलाई कमाउन दिएकोमा ०२४ सालको बाली हिराकाजी राना मगर समेत ८ जनाले नबुझाएकोले बाली बिगो रु.३३००।– भराई मोहीबाट निष्कासन गरी पाउँ भनी दिएको उजूरी भू.सु.का.मकवानपुरमा आएको उक्त मुद्दामा हिराकाजी समेतले उक्त जग्गा हामीले कमाएको नहुँदा जग्गा ऐलानी हो भन्ने समेतको प्रतिवादी भएकोमा बाली भराई मोही निष्कासन गर्ने दावी पुग्न सक्दैन खारेज हुने ठहर्छ भनी ०३१।४।२० मा जिल्ला भू.सु.का.बाट फैसला भएको सो खारेजी फैसला बदर गरी पाउँ भनी सर्वोच्च अदालतमा रिट निवेदन चढाइसकेकोले राजीनामाबाट प्राप्त गरेको जग्गा मोही हिराकाजी समेतलाई भन्न जाँदा यो जग्गा तपाइको रजिष्ट्रेशन दर्ता भित्रको होइन, यो खास ऐलानी जग्गा हो भनी विपक्षहरूले खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत फिराद ।
३. वादीले पुड्के राईबाट १६।९।३ मा लिखत गरी लिएको रैती नं.४ कि.नं.७ को जग्गा हो वादीले जिकिर लिँदा कहिले कि.नं.४ कहिले कि.नं.७ को जग्गा भनी जिकिर लिएकोबाट कहाँको कुन जग्गा हो भन्ने वादीलाई ज्ञात नभएको बिना भोगको किल्लाबाट दोहरो दर्ता भएको बेपत्ते जग्गा हो भन्ने स्पष्ट देखिएकै छ । पुड्के राईको नाउँमा दर्ता भएको निजले हकभोग गरेको कि.नं.४ को जग्गा निजले भीतज्वती, हर्कज्वती र जमुनादेवीलाई ०१४ सालमै पटक पटक बिक्री गरी बाँकी दक्षिणपट्टिको जग्गा रु.३६,२५१।– मा ०१७।७।२१ मा रघुवीर राम कलवारलाई राजीनामा पास गरी बिक्री गर्दा सो लिखतमा यीनै वादी गणेशलाल साक्षी बसेका हुन् ४ नं.र ७ नं. दुई कित्ता देखाए पनि एकै कित्ता जग्गा दोहरो दर्ता भएको ४ नं.बाहेक ७ नं. को छूट कित्ता ४ नं.देखि दक्षिणपट्टि भए सो लिखतमा दक्षिण किल्लामा गणेशलाल भनी खुलाउनु पर्ने अहिले हामीले जोतफोड गरी बसोबास गरेको जग्गा मृग तृष्णा लिई हाम्रो जग्गामा यो वादी दावी गर्न आएका हुन । सेते मगरले फणेन्द्रराजको नम्बरी कमाएको भनी प्रतिवाद गरेपछि उसै बखत म उपर उजूर गर्नु पर्ने नगरी म फडेन्द्रराज समेतलाई झुठ्ठा फरेव उजूर गरेका हुन बासुदेव भण्डारीको श्रीमती लक्ष्मीदेवी समेतका नाउँमा यो जग्गा दर्ता गरी पाउँ भनी मालमा दर्खास्त दिएका छांै उडुवा जग्गा राजीनामा लिएपछि सोही जग्गा मध्ये मिलेमतोबाट डिल्लीबहादुर समेतलाई राजीनामा गरी दिएका छन् सो सेतेले कमाएको जग्गा नम्बरी दर्ता तिरो तिरान भित्रको हो । उक्त जग्गा वादी दावीको क्षेत्रभित्र पर्दैन अर्दतुल देखि बाहिर पर्छ, नाप नक्शा भएमा स्पष्ट हुन्छ बेपत्ते जग्गा भनी बहाली निस्सा पुर्जी लिई गरी दिएको रीसइवी लिई झुठ्ठा फरेवी नालेश गरेका हुन् भन्ने समेत व्यहोराको प्र.हिराकाजी मगर समेत १० जनाको संयुक्त प्रतिउत्तरपत्र ।
४. अदालतबाट भई आएको नक्शा नं. ९ देखि ३४ नं.सम्म झगडा जनिएको नक्शा नं. १२, १३, १४, १८, २४, २५, ३०, ३१ र ३२ का जग्गाहरूमा वादीले प्रतिवादी बनाएका व्यक्तिहरू घरवास गरी बसी आएको देखिन आएको वादीले दावी गरेको धेरै जसो झगडा जनिएको जग्गाहरूमा अरु व्यक्तिहरूको जग्गा देखिन आएको ती व्यक्तिहरू उपर वादीको उजुर नभएको वादी दावीको रै.नं. ४ नं.कि.नं.७ को जग्गा छ भन्ने स्पष्ट हुनआएको देखिएन वादीको कि.नं.७ को जग्गा १३ सालमा क्याडस्टरले सर्भे नापीमा पुड्के राईले देखाई लेखाई नाप नक्शा गराउन नकसेकोले र वादीको दाता पुड्के राईले रघुवीर रामलाई दिएको राजीनामाबाट देखिन्छ । कि.नं.४ र कि.नं.७ को कित्ताको चौहदी एकै देखिन आएको भई आएको नाप नक्शा समेतबाट वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत ०३४।६।१७।२ को मकवानपुर जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत गणेशलालको म.क्षे.अ.मा परेको पुनरावेदन ।
६. कि.नं.७ को जग्गा पुड्के राईबाट पुनरावेदक वादी गणेशलालले ०१६।८।३०।३ मा राजीनामा गरी लिएको र मध्यमाञ्चल सर्भे सर्कल वीरगञ्जबाट पर्चा खडा भई विवादास्पद जग्गा वादी पुनरावेदकका नाउँमा दर्ता भई ७२ नं.मौजा हेटौंडा ४ नं.रैती गणेशलाल भनी विपक्षी मध्येको जि.रुद्रप्रसादले ०१८ सालदेखि गणेशलालबाट मालपोत बुझी लिएको रसीद नक्कल बचत तिरेको रसीद नक्कल उक्त झगडा परेको जग्गाको ७ नं. फाराम पाइन्छ सो दर्ता तिरोको आधारबाट विवादको जग्गा मध्ये निज पुनरावेदक गणेशलालले डिल्लीबहादुर सिलवाल धनकुमारी श्रेष्ठ, तेजकुमारी, राधीकादेवीलाई राजीनामा पास गरी दिए उपर निज प्रतिवादी हिराकाजी समेतले उजूर गरी बदर गराउन सकेको पाइँदैन । ०२५ सालको नापीमा विपक्षहरूले नापीमा लेखाएका दर्ता कायम गराई तिरो भरो पनि गराएको नदेखिएकोले उक्त नापीमा विपक्षहरूले फडान गरी भोगेको भन्ने लेखिएकोले बैध रुपमा जग्गामा हक प्राप्त गरेको भन्न पनि नसकेको र विवादको जग्गा अदालतबाट नापी नक्शा गराउने आदेश बमोजिम भई आएको नक्शा मुचुल्का अनुसार अठसठाको झगडा परेको ७ नं. को जग्गाको किल्लाहरू नक्शामा रातो चिन्ह अंकित भएको झगडा परेको जग्गा संगै मिल्न भिड्न आएकोले वादी दावीको ४ किल्ला भित्रको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको र वादीले चलन पाउने समेत ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने हिराकाजी राना मगर समेतको यस अदालतमा परेको निवेदनमा निवेदक प्रतिवादीहरूले भूमिसुधार कार्यालय, मकवानपुरमा प्रतिउत्तर दिँदा विवादीत जग्गा ऐलानी भनी जिकिर लिएको पाइन्छ । यसरी यो निवेकहरूले जिकिर लिएकोमा तत्कालीन जग्गा मिच्नेको १८ नं. को २ वर्ष हदम्याद नाघी फिराद परेकोबाट वादी गणेशलाल श्रेष्ठको नालेश खारेज गर्नु पर्नेमा सो नगरी वादी दावीको ४ किल्ला भित्रको जग्गा प्रतिवादीहरूले चलन पाउने समेत ठहराई म.क्षे.अ.बाट गरेको निर्णय त्रुटिपूर्ण देखिएको त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत डिभिजनबेञ्चको आदेश ।
८. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा वादीले उल्लेख गरेको जग्गाको पूर्व पश्चिम र उत्तर किल्ला नक्शाको न.नं.८ को जग्गाको किल्लासंग मिलेको देखियो । वादीले उल्लेख गरेको नक्शामा रातो रड्ड लगाइएको झगडा जनिएको न.नं.९ देखि ३४ सम्मको जग्गाको पूर्व, उत्तर तथा पश्चिम किल्ला समेत नक्शामा झगडा जनिएको जग्गासंग मिल्न आएन । यसबाट पनि वादी दावीको जग्गा न.नं.९ देखि ३४ सम्मको जग्गा हो भन्न मिलेन । वादी गणेशलालले कि.नं.७ को पुड्के राईबाट राजीनामा गरी लिएको जग्गाको जिमिदारबाट दाखिल खारेज गरी लिँदा ०१८।२।२४ मा उक्त ७ नं. कित्ता ०१३ सालको रा.दु.वि.क्याडेस्ट्रल सर्भे नापीमा पुडके राईले देखाई लेखाई नाप नक्शा गराउन नसकेको बेपत्ताको उडुवा कित्ता जग्गा तपाइले ०१३ सालको नापी पछि खरीद गरी लिनुभएको देखिएको भन्ने समेतको व्यहोरा उल्लेख गरेको देखिएको सो उपर वादीले उजूर गरी बदर गराउन सकेको नदेखिएको समेतबाट वादीले दावी गरेको जग्गाको अस्तित्व नै नभएपछि प्रतिवादीहरूले वादीको जग्गाखिचोला ठहराएको म.क्षे.अ.को इन्साफ मिलेको देखिएन भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।३।६।१ को फैसला ।
९. बक्स भई आएको हुकुम प्रमांगी बमोजिम इन्साफ जाँचको लागि यस बेञ्च समक्ष पेश भएकोमा निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा अधिवक्ता श्री चुडामणी राज सिंह मल्लले पुड्के राईको नाममा दर्ता रहेको दुई कित्ता जग्गा मध्ये रै.नं. ४ कि.नं.७ को जग्गा गणेशलालले खरीद गरिलिएको छ । त्यसको मालपोत जिमिदार रुद्रप्रसाद रिजालले बुझेको छ । कि.नं.४ र ७ को ४ किल्ला एउटै भए पनि क्षेत्रफल फरक छ वादी दावीको जग्गाको किल्ला नक्शामा जगडा जनाइएको जग्गाको किल्लासंग भिड्छ नक्शामा देखिएका घर कच्ची हुन् पक्की हैनन् वादीले पुड्के राईबाट खरीद गरेको जग्गा ०१३ सालको सर्भे नापीमा कि.नं.१४० कायम भएको छ र सर्भे सर्कल वीरगञ्जको ०१७।७।११।५ को पर्चाले दर्ता भएको समेतबाट वादी दावी नपुग्ने ठहराएको डिभिजनबेञ्चको इन्साफ उल्टी भई म.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादी हिराकाजी राना मगर समेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल तथा प्रतिवादी फणिन्द्रराज रिजालको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्माले फणिन्द्रराज, रुद्रप्रसाद विवादीत जग्गालाई आफ्नो दर्ताको भन्छन् अरु ऐलानी भन्छन् जग्गामा अलग अलग भोग हुँदा फिराद अ.बं.७२ नं.विपरीत परेको छ नक्शामा झगडा जनाइएका कतिपय व्यक्तिहरूको नाममा नालिश नै छैन । बाली विषयमा भू.सु.का.मा वादीको उजूर परेको अवस्थामा नै हिराकाजी समेतले ऐनाली जग्गा भोग गरेको वादी दावीको जग्गा मोहीमा कमाएको भनी जिकिर लिएबाट नै हक बेहक परेको र हक बेहकमा अदालतमा जानु भनी ०२७।१२।२५ मा वादीलाई सुनाइएकोमा वादीको फिराद ज.मि.को तत्कालीन १८ नं. को हदम्याद नघाई परेको हुँदा खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१०. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा निवेदक वादीले दावीको जग्गा दर्तावाला पुड्के राईबाट २०१६।८।३० मा राजीनामा लिई तिरोभरो गरी भोगी आएबमोजिम २०१३ सालको नापीमा नापी गराई पूर्जा समेत लिई आएको जग्गा साविक मोही इन्द्रबहादुरले छोडेपछि विपक्षी मध्येको हिराकाजी समेतलाई कमाउन दिएकोमा २०२४ सालको बाली नबुझाएकोले बाली दिलाई पाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालयमा फिराद दिएकोमा विपक्षी हिराकाजी समेतले दावीको जग्गा मोहियानीमा कमाएको नभई ऐलानी जग्गामा बसोबास गरी आएको हो भनी प्रतिवाद गरेकोमा बाली भराई मोही निष्कासन गरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भनी ०३१।४।२० मा खारेज गरे उपर सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशद्वारा सो फैसला बदर गरी पाउँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दिई राखेको राजीनामाको जग्गा छाडी देउ भनी हिराकाजीलाई भन्दा यो जग्गा राजीनामाको होइन ऐलानीको हो भनी २०३१।५।१२ मा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भनी २०३१।५।२३ मा यो फिराद पर्न आएको देखियो ।
११. वादीले आफ्नो फिरादमा लेखी देखाएको यिनै वादीले यिनै विपक्षी हिराकाजी समेत उपर २०२४ सालको बाली दिलाई पाउँ भनी भूमिसुधार कार्यालयमा दिएको मुद्दा र भूमिसुधार कार्यालयको फैसला उपर यिनै वादीले सर्वोच्च अदालतमा दिएको भनेको रिट निवेदनमा सर्वोच्च अदालतबाट भएको फैसलाहरू हेरिएमा सो मुद्दामा वादीले यिनै विपक्षी हिराकाजी समेत उपर दिएको २०२४ सालको बाली दिलाई मोही निष्कासन गरी पाउँ भनी भू.सु.का.मकवानपुरमा फिराद दिएकोमा प्रतिवादी यी विपक्षी समेतले वादी दावीको जग्गा वादी दावी बमोजिम मोहियानीमा कमाएको नभई ऐलानी जग्गामा जड्डल फँडानी गरी बसोबास गरी आएको हाम्रो जग्गा हुँदा बाली बुझाउनु पर्ने होइन भन्ने समेत व्यहोराको जिकिर लिई प्रतिउत्तर फिराएकोबाट वादीले मोहियानीमा कमाउन दिएको भनेको हाल यो मुद्दाबाट खिचोला मेटाई चलन चलाई पाउँ भनेको जग्गामा तेरो मेरो परी हक पर्न आएको र आफ्नो अधिकार क्षेत्रभित्रको दावीको कुरामा हक बेहक पर्न आई सो कुरामा निर्णय दिने कुरा आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएबाट भू.सु.का.ले सो प्रतिउत्तरको व्यहोरा २०२७।१२।२५ मा सुनाई दिएको देखियो ।
१२. यसरी आफूले मोहियानीमा कमाउन दिएको भनी दावी लिएको जग्गामा प्रतिवादी यी विपक्षी समेतले दावी बमोजिम मोहियानीमा कमाएको कुरालाई इन्कार गरी आफू बसोबास गरी आएको ऐलानी जग्गा हो भनी दावी लिई परेको प्रतिउत्तर व्यहोरा सुनी पाएपछि वादीले आफ्नो भनी दावी लिएको जग्गामा यी प्रतिवादी समेतले लिखित रुपमा खिचोला गरेको वादीले सोही मौका अर्थात् यिनी विपक्षी समेतको प्रतिउत्तर सुनाएको मिति २०२७।१२।२५ मा नै थाहा पाइसकेको देखिन आउँछ । वादीले यो कुरा आफ्नो फिराद व्यहोराबाट पनि स्वीकार गरेको देखिन आउँछ यसरी आफ्नो हकको जग्गामा अरुले वादीको स्वामित्व रहेको कुरा इन्कार गरी आफ्नो स्वामित्वमा रहेको भनी दावी लिएपछि तत्काल प्रचलित जग्गा मिच्नेको १८ नं. मा भएको व्यवस्थाबाट त्यस्तो खिचोला दावी लिएको मितिले २ वर्ष भित्र फिराद दिनु पर्ने थियो । तर वादीले सो बमोजिम फिराद गरी आफ्नो हक कायम गराई राखेको देखिन आएन । उसमा पनि भूमिसुधार कार्यालयमा परेको मुद्दामा भू.सु.का.बाट यिनी विपक्षी समेतका प्रतिवादीहरू मोही नदेखिएको भनी २०३१।५।२० मा खारेज गरी फैसला भए उपर यिनी वादीको रिट निवेदनमा पनि स.अ.बाट खारेज भई फैसला भएको देखिन आउँछ । यसरी कानुनले व्यवस्था गरे बमोजिम कानुनको म्यादभित्र कानुन बमोजिम उजूर गरी आफ्नो हक कायम गराई लिन नसकेको जग्गा सम्बन्धमा हाल मात्र जग्गा छाडिदेउ भन्दा ऐलानी जग्गा भनी नछाडी खिचोला गरेको भनी काल्पनिक वारदात देखाई खिचोला परेको ३ वर्ष ४ महीना १७ दिनपछि यो फिराद पर्न आएको देखिएकोले निवेदक वादीतर्फको यस सम्बन्धी जिरह मनासिब नदेखिई विपक्षीतर्फको जिकिर मनासिब देखिन आएकोले म्याद नाघी परेको यो फिराद खारेज गर्नु पर्नेमा इन्साफ गरी ठहर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।३।६ को इन्साफ मिलेको देखिन आएन । वादीको फिराद नै म्याद नाघी परेको देखिन आई खारेज हुने ठहरेकोले पक्ष विपक्षको प्रस्तुत दावी सम्बन्धी अरु जिरहहरूमा विचार गर्नु पर्ने देखिन आएन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमती छ ।
न्या.सुरेन्द्रप्रसाद सिंह
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४३ साल आश्विन १४ गते रोज ३ शुभम् ।