November 21, 1984
Created by nepalarchives

निर्णय नं. २०८२ – उत्प्रेषण

निर्णय नं. २०८२     ने.का.प. २०४१                        अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट...

निर्णय नं. २०८२     ने.का.प. २०४१                        अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको रिट नं. १८६८

विषय : उत्प्रेषण

निवेदक : जिल्ला धनकुटा धनकुटा न.पं. वार्ड नं. ६ बस्ने रामकृष्ण श्रेष्ठ

ऐ साने गा.पं. वार्ड नं. १ बस्ने वर्ष ६० को जिवनाथ निरौला

ऐ ऐ बस्ने गणेश प्रसाद निरौला

विरुद्ध

प्रत्यर्थी : जि.धनकुटा साब्रे गा.पं. वार्ड नं. १ बस्ने टेककुमारी न्यौपाने

जिल्ला कार्यालय भू.सु. शाखा धनकुटा

आदेश पाएको मिति : २०४१।८।६।४ मा

§  भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२(१) (ख) मा जालसाजी गरी वा धोका, दिई वा अरु किसिमबाट बेइमानी गरी मोहीलाई निजको भोग चलनको जग्गाबाट हटाएमा त्यस्तो गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु.१०००। एक हजारसम्म जरीवाना हुने छभन्ने व्यवस्था भएको पाइने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री नारायणराज खरेल

उल्लेखित मुद्दा : x

आदेश

            न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४०।३।१२।१ मा दर्ता हुन आएको रिट निवेदकको निवेदन जिकिर तथा केशको व्यहोरा यस प्रकार छ ।

            २.    धनकुटा जिल्ला अन्तर्गत साने गा.पं. वार्ड नं. १ स्थित कि.नं. २२५ र २३० को नाम साविकमा खैरेनी भन्ने गैरी खेत हो भन्दै ०४० सालमा भू.सु.लागू हुँदा पति चुडामणीको नाउँमा जो.अ.नि.समेत प्राप्त भएको ०३३ साल बैशाख २२ गते पतिको मृत्यु भएकोले सावित बमोजिम कूत बुझाई खनजोत गर्दै आइरहेकोमा ०३९ सालमा बाली लगाउँदा बेदखल गरेकोले पतिको नामबाट मेरो नाउँमा नामसारी गरिपाउँ भनी टेककुमारीले जि.का.भू.सु. शाखा धनकुटामा निवेदन दिएकोमा कि.नं. २२५ को जग्गा मेरो नाममा दर्ता छैन कि.नं. २३० को सम्बन्धमा मेरो साविक कि.नं. ६०५ को सर्भेमा कि.नं. २३० र २५० मध्ये कि.नं. २३० को जग्गा टेककुमारीको पतिले कमाएको र निजको मृत्यु पछि कमाउन नसक्ने भई टेककुमारी र निजको देवर समेतलाई साक्षी राखी जीवनाथ उपाध्याय निरौलासँग मिति ०३३।१०।२९।६ मा भू.सं.ऐन, २०२१ को दफा ३४(१) अन्तर्गत कबुलियत गरी निज जीवनाथलाई कमाउन दिएको हो भन्ने समेत व्यहोरा म रामकृष्ण, जीवनाथ समेतले व्यक्त गरेका थियौँ ।

            ३.    तर भू.सु.शाखा अधिकृतज्यू ज्ञानेन्द्रबहादुर बस्नेतले २३० र २५० कि.नं. मा जग्गाको मोही चुडामणी न्यौपाने देखाई टेककुमारीलाई जग्गा जोत्न नदिई भू.सु.ऐन, २०२१ को दफा ३२ उल्लंघन गरेकोले सोही ऐनको दफा ३२ को उपदफा १ खण्ड (ख) बमोजिम रामकृष्णलाई रु.९५०। र म जीवनाथलाई रु.७५। जरीवाना गरी निवेदिकाको नाममा नामसारी गर्ने मोहीको प्रमाणपत्र दिने एवं जग्गा जोत्न दिने आदेश जारी गर्ने मिति ०३९।१२।१७ मा फैसला गर्नुभयो ।

            ४.    निवेदकको उजूरीमा २२५ र २३० मा दावी लिनु भएको तर निर्णय २५० र २३० मा मोही ठहर गरी त्रुटि गरिएको छ साथै विपक्षीलाई २ नं. अनुसूचीको अभावमा ४ नं. जो.अ.नि.को आधारमा मात्र मोहीको स्थायी प्रमाणपत्र दिन मिल्दैन यस सम्बन्धमा सर्वोच्च अदालतबाट कतिपय नजीर समेत प्रतिपादन भएका छन्, यसरी भू.सु.ऐन २०२१ को दफा २६(१) र २५(१) को प्रत्यक्ष उल्लंघन भएको र चुडामणीको स्वर्गारोहण पश्चात विपक्षी टेककुमारीले जग्गा कमाउन सकिने भनेकीले निजलाई साक्षी राखी २०३३।१०।२९।६ मा म जीवनाथसँग भू.सु.ऐन, २०२१ को दफा ३४(१) अन्तर्गत कबुलियत भएको तदअनुरुप म जीवनाथले रामकृष्णलाई बाली बुझाउँदै आएको र विपक्षी टेककुमारीले आफू साक्षी बसेको तथ्यलाई इन्कार गर्न आफ्नो हक परित्याग गरी सक्नु भएकोले प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम पूर्ण बिवन्धित छन् । निज टेककुमारीको मोहियानी हक छ भनी अनुमान गर्न मिल्दैन जीवनाथ रामकृष्ण बीचको कबुलियतको मान्यता छैन भन्ने ठहर पनि गरेको छैन अ.बं.१८४क. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विपक्षी भू.सु.शाखाको निर्णय स्वतः बदर हुनुपर्ने हो ।

            ५.    मोहियानी बेदखल गरेको ठहर गर्दै जरीवाना गरेको भू.सु.ऐन दफा ३२ को पूर्ण विरुद्ध जरीवाना गर्दा के कस्तो अपराध हो उल्लेख भएको अन्र्तवस्तु समेतलाई प्रमाणित गर्नु पर्छ । उपयुक्तानुसार भू.सु.शाखा धनकुटाबाट मिति ०३९।१२।१७ मा भएको निर्णय र कारवाहीले संविधानको धारा १०(२) द्वारा कानुनको सम्मान संरक्षणको हक तथा धारा ११(२)ङ एवं धारा १५ द्वारा प्रदत्त मौलिक हक समेतमा कुण्ठित भएकोले धारा ७१ अन्तर्गत ०३९।१२।१७ को निर्णय र तत्सम्बन्धित कारवाही उत्प्रेषणको आदेश वा अन्य उपुर्यक्त आज्ञा, आदेश जारी गरी बदर गरी कुण्ठित हकको संरक्षण र प्रचलन गरिपाउँ भन्ने रिट निवेदन जिकिर रहेछ ।

            ६.    यसमा के कसो भएको हो विपक्षी कार्यालय समेतबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिङ्गलबेञ्चको ०४०।६।७ को आदेश रहेछ ।

            ७.    जि.धनकुटा न.पं. वडा नं. ६ बस्ने रामकृष्ण श्रेष्ठको नाममा दर्ता भएको सान्ने गा.पं. वार्ड नं. १ को कि.नं. २२५ र २३० को २ कित्ता जग्गा मेरा ससुराको पालादेखि मोही भई आएको भू.सु. लागू हुँदा मेरो पति चुडामणिको नाममा अस्थायी निस्सा समेत पाएको पति ०३३ साल बैशाख २२ गते परलोक भई पछि पनि मैले कूत बाली तिर्दै कमाउँदै आएको ०३९ सालको बाली लगाउन जाँदा प्रतिवादीले मोहीयानी हकमा दखल गरेकोले प्रतिवादीहरूलाई कारवाही गरी पतिको नामबाट मेरो नाममा नामसारी गरी मोही कायम गरिपाउँ भन्ने टेककुमारीको यस कार्यालयमा निवेदन परी प्रतिवादी गणेश निरौला र जीवनाथ निरौलालाई बुझ्दा दावी परेको जग्गा मध्ये कि.नं. २२५ को जग्गा थाहा छैन । कि.नं. २३० र २५० को रामकृष्ण श्रेष्ठको नाममा दर्ता भएको जग्गा ०३४ सालको बाली देखि निवेदिकाको पति चुडामणिको मृत्यु पछि निवेदिका र निजको देवरको मञ्जूरीले कबुलियत गरी कूत मुरी ९।१० पाथी बुझाउने शर्तमा जग्गा जोती आएको हुँ भन्ने प्रतिवादी जीवनाथ समेतको वारेस भई गणेशप्रसादले बयान गरेको साथै निवेदिकाको निवेदन झुठ्ठा हो भनी रामकृष्ण श्रेष्ठको वा ध्रुवलालले समेत एकै मिलानको बयान गरेको रहेछन् । निवेदिकाले कि.नं. २५० नभई भूलबाट २२५ हुन गएकोले २२५ लाई सच्याई २५० गरिपाउँ भनी सनाखत गरेको देखिन्छ । निवेदिकाले कि.नं. २२५ र २३० वा जग्गामा मोही बेदखल मेटाई नामसारी गरी मोही कायम गरिपाउँ भन्ने निवेदन परेको भए तापनि २२५ को सट्टा भूल सच्याई २५० कारवाही गरिपाउँ भनी सनाखत गरेकोले वादी जिकिर मान्न वेगरको कि.नं. मा निर्णय भएको भन्न नमिल्ने भएकोले र भू.सु.लागू हुँदा चुडामणि न्यौपानेले ४ नं. जोताहा अस्थायी निस्सा परेको मोही सम्बन्धी शुरु प्रमाण ४ नं. जोताहा अस्थायी निस्सासाथ भएको देखिन्छ । साथै भू.सु.ऐन नियम, २०२१ को दफा २५(४) खण्ड (क) बमोजिम कारवाही गरी प्रमाणपत्र लिई जग्गा कमाउनु पर्ने रिट निवेदन जीवनाथ समेतले सो नगरेको देखिन्छ । मोहीको परलोक पछि पति पत्नीको नाताबाट मोहीको उत्तराधिकारी निज टेककुमारी हुने व्यवस्था समेत ऐनमा भएकोले झुठ्ठा निवेदन खारेज गरिपाउँ । जग्गाधनी रामकृष्ण श्रेष्ठले र जीवनाथ समेत मिली भू.सु.ऐन, २०२१ को दफा ३२ उल्लंघन गरेको देखिएकोले भू.सु.ऐनको दफा ३२ उपदफा (१) को खण्ड (ख) बमोजिम कृष्ण श्रेष्ठलाई ९५०। र मोही हुँ भनी तथाकथित प्रमाणको आधारमा मोही खिचोला गर्ने जीवनाथ निरौलालाई रु.७५। जरीवाना गरिएको हुँदा रिट निवेदकहरूको झुठ्ठा दावी खारेज गरिपाउँ भन्ने समेत भू.सु.शाखा धनकुटाको लिखितजवाफ रहेछ ।

            ८.    पति चुडामणिको नाउँमा मोही भएको ०४० सालमा भू.सु.लागू हुँदा निजले (४) नं. जोताहा अस्थायी निस्सा पाएको सान्ने गा.पं. वार्ड नं. १ को साविक ६०५ को सर्भे नापीमा २३० र २५० जग्गा पतिको मृत्यु पछि मैले कमाई आएको निवेदन दिंदा २२५ लेख्न गएको भए पनि पछि भू.सु.कार्यालयमा भूल सुधारको निवेदन दिई ०३९।७।३ मा सनाखत भई २५० कि.नं. दावी भइसकेको मिसिल प्रमाणबाट देखिएपछि भू्.सु.कार्यालयबाट भएको निर्णय वादी दावी भन्दा बाहिरको भन्ने निवेदकको जिकिर मिल्नै नआउने प्रष्ट छ । पतिको मृत्यु पछि मेरो मोहीयानी भएको कुरा स्वयं निवेदकले स्वीकार गरेका र ०३३।१०।२९ को कबुलियतमा भू.सु.ऐन, २०२१ को दफा २६ को व्यवस्था बिपरीत निवेदककै विरुद्ध प्रमाण लाग्ने भई ऐ. ३२ अन्तर्गत निवेदकको कसूरको पुष्टि भइरहेकोले पतिको मृत्युपछि निजको मोहियानी हकमा भू.सु.ऐन, २०३१ को २६(१) बमोजिम मेरो हक कायम हुनेछ । पतिको मृत्युपछि मेरो मोहियानी भएकोमा निवेदकले स्वीकार गरेका छन् । कुनै किसानलाई जग्गा कमाउन दिएको वा कुनै मोही वेपत्ता भएमा दफा २६(१)(ख) (ग) बमोजिमको कार्यविधि गरेको भन्ने कुनै प्रमाण छैन । मेरो मोहियानी हक पाएको कुरामा विपक्षी जीवनाथ निरौलालाई मोही बनाउन कबुलियत गर्छन भने ऐनको दफा ३२ ले जग्गावाला विपक्षी कसूरदार ठहर्न आई दण्ड सजायको भागी भए अनुसार भू.सु.कार्यालयबाट गरेको निर्णय कानुन अनुरुप छ । अनुसूची १, २ को अभावमा अनुसूची ४ मोहीलाई दिइने सम्भावना नै नभएकोले अनुसूची २ प्रकाशित भएको थिएन भन्ने झुठ्ठा हो । भू.सु.नियम ९२ र ३ ले जो.अ.नि.मोहियानी हकको प्रमाणपत्र सरह मान्ने स्पष्ट व्यवस्था छ साथै जोताहा अस्थायी निस्सा बदर नभए मोहीको हक कायम हुने ०३४।१।२८।३ को रि.१२६१ गुल्टेन बि.भू.प्र.सप्तरीको उत्प्रेषणमा निर्णय भएको छ । मोही कायम हुँदाहुँदै मलाई मोहीबाट हटाउन खडा गरिएको ०३३।१०।२९ को कबुलियतनामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ साथै दफा ३४(क) समेतको प्रतिकूल छ । अतः भू.सु. कार्यालयबाट भएको निर्णय कानुन अनुरुप भएकोले र उक्त निर्णयबाट विपक्षीहरूको संविधान बमोजिमको कुनै पनि हक कुण्ठित नभएको हुँदा रिट निवेदकको निवेदन माग खारेज गरिपाउँ भन्ने टेककुमारी न्यौपानेको लिखितजवाफ रहेछ ।

            ९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत केशमा रिट निवेदकतर्फको वा यमबहादुर महतलाई रोहवरमा राखी रिट निवेदकतर्फको विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी भू.सु.कार्यालयको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे तथा टेककुमारीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलको बहस जिकिर समेत सुनियो ।

            १०.    यसमा भू.सु.शाखा धनकुटाले रामकृष्ण श्रेष्ठलाई जग्गाको प्रमाण पेश गर्न लाउँदा जग्गा दर्ता सम्बन्धी मालपोत कार्यालय धनकुटामा कारवाही चलिरहेको भन्ने जवाफ तथा देखाइएका प्रमाणहरूबाट रामकृष्ण श्रेष्ठ र जीवनाथ निरौला समेतले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा १ को (ख) बमोजिम रामकृष्ण श्रेठलाई रु.९५०। र मोही हुँ भनी खिचोला गर्ने जीवनाथ निरौलालाई रु.७५। जरीवाना हुने ठहर्‍याई कि.नं. २३० र २५० जग्गाको चुडामणि न्यौपानेको नामबाट टेककुमारीको नाममा मोही नामसारी गरी मोहीको प्रमाणपत्र दिने भनी मिति ०३९।१२।१७ को भू.सु.शाखा धनकुटाले गरेको निर्णय उपर अ.बं.१८४ (क) र प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत त्रुटि भई भू.सु.का.ले गरेको निर्णयमा बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२(१) (ख) मा जालसाजी गरी वा धोका, दिई वा अरु किसिमबाट बेइमानी गरी मोहीलाई निजको भोग चलनको जग्गाबाट हटाएमा त्यस्तो गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु.१०००। एक हजारसम्म जरीवाना हुनेछभन्ने व्यवस्था भएको पाइन्छ ।

            ११.    तर भू.सु.का.धनकुटाले भू.सु.अधिकारीले गरेको ०३९।१२।१७ को निर्णयमा रिट निवेदकहरूले जालसाजी गरे वा धोखा दिए वा बेइमानी इत्यादि के गरे त्यसको उल्लेख भएको नदेखिएकोले निवेदक रामकृष्ण श्रेष्ठलाई रु.९५०। नौ सय पचास र जीवनाथ निरौलालाई रु.७५। जरीवाना गरेको देखिँदा जरीवाना गरेको हदसम्म उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ । महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षीलाई सूचना दिन नियम बमोजिम फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४१ साल मंसिर ६ गते रोज ४ शुभम् ।