November 16, 1984
Created by nepalarchives

निर्णय नं. २०८१ – उत्प्रेषण

निर्णय नं. २०८१ ने.का.प. २०४१               अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४१ सालको रिट...

निर्णय नं. २०८१ ने.का.प. २०४१               अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०४१ सालको रिट नं. १७४०

विषय : उत्प्रेषण

निवेदक : पर्सा जिल्ला मौराटार गा.पं. वडा नं. ९ बस्ने मंगल राउत अहिर

विरुद्ध

विपक्षी : पर्सा जिल्ला विश्रामपुर गा.पं. वडा नं. ९ बस्ने मुसा देवान

ऐ ऐ वडा नं. ७ बस्ने मोजाहिर देवान

भू.सु.अ. भू.सु.का. पर्सा विरगंज

आदेश भएको मिति :  २०४१।८।१।६ मा

§  भोगबन्धकी थैली बुझाई जग्गा रिट निवेदकको हकमा फिर्ता आइसकेपछि विपक्षीहरूले मोहीमा कमाई आएको प्राप्त भरपाइबाट देखिने र उक्त भर्पाईहरूलाई विपक्षीले स्वीकार गरेको र यी विपक्षीहरूले जग्गाधनी यी रिट निवेदकलाई देखाई अनुसूची २ समेत भरी मोहियानी हकको स्थायी प्रमाण समेत पाइसकेको देखिन्छ । यस्तो अवस्थामा मोहीको लगत कट्टा नहुने ठहराएको भू.सु.को निर्णयमा कानुनी त्रुटि नदेखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : x  

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछन् :

          २.   मेरो नाम दर्ताको पर्सा जिल्ला मौराटार गा.पं. वडा नं. ५ कि.नं. १३७ ज.वि.०१० र कि.नं. १४८ को ज.वि.०० जग्गा साविकमा ठाकुर शाह कलवारलाई भोगबन्धकी लेखी दिएकोमा भोगबन्धकी अवस्थामा उक्त कि.नं. १३७ मा मुसा देवान र कि.नं. १४८ मा मोजाहिर देवानलाई मोहियानीमा कमाउन दिई नापीमा विपक्षी मोहीहरू मुसा देवान मोजाहिर देवानको नाम दर्ता हुन गएको रहेछ ।

          ३.   भू.सु.ऐन, ०२१ ले उल्लिखित अवस्थामा सावित जग्गावालाको जोत कायम हुने भएकोले सोही व्यहोरा खुलाई विपक्षी भू.सु.का.पर्सा समक्ष मोही लगत कट्टा गरी पाउन निवेदन दिएकोमा ०३६।२।२२ मा मेरो दावी पुग्न नसक्ने ठहर गरियो सो निर्णयको विरुद्ध सम्मानित स.अ.समक्ष रिट निवेदन दिएकोमा उल्लिखित निर्णय बदर गरी कानुन बमोजिम गर्नु भन्ने आदेश भयो ।

          ४.   सक्कल भर्पाई देखाई जग्गाधनीसँग बयान गराउँदा उक्त भर्पाई सकार हुन आएबाट उक्त जग्गामा बाली बुझी जग्गाधनीले भर्पाई गरेको देखिएकोले विपक्षी मुसा देवान र मोजाहिर देवानको मोहियानी कायमै रहने गरी ०४०।६।१८ मा भू.सु.अ. भु.सु.का.पर्साले ठहर गर्‍यो

          ५.   भोगबन्धकी जग्गामा बन्धकवाला साहुको सीमित अधिकार हुने र यसरी लिएको सम्मतिमा कुनै थप भार सृष्टि गर्न साहुले नसक्ने भू.सु.ऐन, ०२१ को दफा २५(३) मा व्यवस्था छ । भोगबन्धकीको अवस्थामा मैले दिएको भनेको भर्पाईले विपक्षीलाई मोही ठहर गर्न मिल्दैन । भोगबन्धकीको फर्छ्यौट ०३० सालमा माग भएकोबाट उक्त अधिमा मोही कायम हुने गरी गरिएको कुनै पनि कारवाहीले विपक्षीहरूलाई मोही ठहर गर्न नसक्ने स्पष्ट छ । यसको साथै भोगबन्धकीमा दिन अगावै विपक्षीहरूलाई मैले मोहियानी कमाउन दिएको भए भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(१) को मोहीयानी पाउन ऐ. नियमको नियम ३.६ र ७ मा वर्णित कार्यविधिहरू पूरा गरिनु पर्ने थियो । अनुसूची १, २ र ४ को अभावमा विपक्षीको माहियानी कायम गर्ने निर्णय ऐ. ऐनको दफा २५(१) र ऐ. नियमको ३, ६ र ७ को प्रतिकुल हुनुको साथै दफा २५(२) तथा ३४(१) को समेत उल्लंघन भएको छ । तसर्थ ०४०।६।१८ मा विपक्षी भू.सु.अ.भू.सु.का.पर्साले गरेका निर्णय बदर गरी संविधान र कानुन प्रदत्त हक प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

          ६.   विपक्षीहरूबाट लिखितजवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत स.अ. सिंगलबेञ्को आदेश रहेछ ।

          ७.   रिट निवेदकले भोगबन्धकी दिएको जग्गामा भो.व.फर्छ्यौट हुनु अगाडि र पछाडि समेत बाली बुझी भर्पाई गरी लिइसकेपछि यसरी साविकदेखि मोही लेखिएको व्यक्तिको मोही लगत कट्टा गर्न गराउन तर्फ नलागी बाली बुझी लिए दिएको देखिँदा निज अंगल राउत शुरु देखि नै कमाउन दिएको समेत देखिन आउने भई नियम बोजिम उक्त जग्गा मुसा देवान र मोजाहिर देवानलाई मोही कायम नै रहन दिने निर्णय भएको हुँदा निर्णय बदर हुन नपरी रिट निवेदकको निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.पर्साको लिखितजवाफ रहेछ ।

          ८.   हामीले २००९ सालदेखि अद्यापिसम्म जग्गा जोतकोड गर्दै आएको र हामी जोताहा किसान रहेको कुरा विपक्षी जग्गाधनी भोगबन्धकी लिने साहु भूमि सम्बन्धी ऐन तथा नियमहरू लागू हुँदा तदनुकुलको कार्यविधि पूरा गरी प्राप्त गरेको ३ नं. मोही हकको स्थायी प्रमाणपत्रको अतिरिक्त विपक्षी जग्गाधनीले बाली बुझी दिनु भएको भर्पाईसमेतका प्रमाणहरूबाट निर्विवाद रहेकोले भू.सु. अ.को निर्णयम त्रुटि छैन । भोगबन्धकी फर्छ्यौट पश्चात पनि हामी यथावत रुपमा मोही रहेको कुरा विपक्षीले फर्छ्यौटको ६ वर्ष पछि दिनु भएको निवेदन समेतबाट प्रष्ट हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मुसा देवान र मोजाहिर देवानको लिखितजवाफ रहेछ ।

          ९.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकको वा ओमकारमान श्रेष्ठ र विपक्षी मुसा देवान समेतको वा मकरमान श्रेष्ठलाई रोहवरमा राखी विपक्षी मोजाहिर देवान समेतको तर्फबाट बहसम उपस्थित विद्वान अधिवक्ता महादेवप्रसाद यादव र विपक्षी भू.सु.का.को तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता केदारप्रसाद शर्माको बहस जिकिर समेत सुनियो ।

          १०.  यसमा भोगबन्धकी थैली बुझाई जग्गा रिट निवेदकको हकमा फिर्ता आइसके पछि विपक्षीहरूले मोहीमा कमाई आएको प्राप्त भर्पाईबाट देखिने र उक्त भर्पाईहरूलाई विपक्षीले स्वीकार गरेको र यी विपक्षीहरुले जग्गाधनी यी रिट निवेदकलाई लेखाई अनुसूची २ समेत भरी मोहियानी हकको स्थायी प्रमाण समेत पाइसकेको देखिन्छ । यस्तो अवस्थामा मोहीको लगत कट्टा नहुने ठहराएको भू.सु.का.को निर्णयमा कानुनी त्रुटि देखिएन । अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको हुँदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०४१ साल मार्ग १ गते रोज ६ शुभम् ।