निर्णय नं. २०७७ – आगो लगाई ज्यानमार्ने उद्योग
निर्णय नं. २०७७ ने.का.प. २०४१ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी...
निर्णय नं. २०७७ ने.का.प. २०४१ अङ्क ८
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको फौ.फु.नं. १५
मुद्दा : आगो लगाई ज्यानमार्ने उद्योग
पुनरावेदक/प्रतिवादी : जि. ताप्लेजुङ फुङलिङ गा.पं. वा.नं. ५ बस्ने गंगामाया श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : बोधराज गुरुङको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।८।५।३ मा
§ जाहेरवालाले स्कूलको विद्यार्थीबाट थाहा पाई जाहेर गरेकोले त्यस्तो भनाईलाई किटानी भन्न सकिँदैन ।
(प्रकरण नं. ३९)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिबक्ता श्री शुभाष नेम्वाङ
विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा : x
फैसला
न्या. त्रिलोकप्रताप राणा : डिभिजन बेञ्चमा समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. ०३५।१२।२१ गते राति ११:३० बजे हामी सुत्ने गरेको घरको अगाडि मटानमा सुती निदाई सकेको अवस्थामा विपक्षीहरूले ज्यान मार्ने उद्देश्यले आगो लगाएको कुरा समय मै जाहेर गर्दा अपराध पत्ता नलागी नाम खुल्न नसकेको र ०३६।२।२४ मा मात्र भेद खुलेकोले विपक्षीहरूलाई सजाय गरी नोक्सान भएको बिगो रु.७,६०० भराई पाउँ भन्ने समेत बोधराजको जाहेरी दर्खास्त ।
३. ०३५ साल चैत्र हो गते बार थाहा भएन साँझ पख म खाना खाई सुतिरहेका बेला जुगेनी माइली रातको ११ बजेतिर हाम्रो घरमा आई मलाई साथी देउ भनेकोले म, आमा, श्रीमती र कान्छो भाइ देउमान समेत निजकै साथ हिंडी भानु मा.वि.अगाडि पुगेपछि जाहेरवालाको घरमा आगो लगाउनु पर्दछ भन्दा म, आमा र जुगेनी जाहेरवालाको घरमा पुग्यौं घरमा होइन मटानमा आगो लाउनु पर्दछ भनी म र आमाले भनेपछि जुगेनी माइलीले मकैको खोयामा आगो सल्काई मटानको पछाडिपट्टिको एक खुड्किला चढेपछि मैले छाना भेटिन र जुगेनीले हातमा समाती उचाली दिइन् र घरमा आगो लगाई छाना सल्केपछि हामी घरमा गई सुत्यौं जुगेनी माहिली कता गइन् थाहा पाइन भन्ने समेत हर्कबहादुर विश्वकर्माको प्रहरी समक्ष भएको कागज ।
४. रातको समयमा मेरो घरमा आई जुगेनी माइलीले आगो लगाउन पाउँ भनिन् मैले नजाउ भन्दा जो परेको म छँदैछु, तिमीहरूलाई के को डर भनी भन्दा म छोरा हर्कमान, बुहारी, छोरा देउमान र जुगेनी माइली समेत हिंडी उतिस धारीमा पुगेपछि म, जुगेनी र बुहारी त्यहीं बस्यौं छोरा हर्कमान र देउमान जाहेरवालाको घरमा आगो लगाउन गए एक छिन पछि आगो बलेको देखियो सो देख्ने वित्तिकै जुगेनी माइली र बुहारी घर दगुरे म पनि पछि पछि गएँ भन्ने समेत हर्कमायाको प्रहरीमा गरेको कागज ।
५. मिति थाहा छैन खाना खाई सुती झुकाउन लाग्दा जुगेनी माइली आई दिदी भनी सासुलाई बोलाउँदा सासूले ढोका खोली दिइन र मलाई उठाइन अनि म श्रीमान् हर्कबहादुर, सासु, देवर, जुगेनी समेत भई मेरो श्रीमान् र श्रीमान्ले खोया र माचिस बोक्नुभयो र गरामा आइपुगेपछि हामी त्यहीं बस्यौं । मेरो श्रीमान र देवर जाहेरवालाको घरमा आगो लगाउन हिंडे । करीब १५।२० मिनेट पछि आगो उठेको देखियो र म घर तर्फ दगुरें घरमा श्रीमान् अघिनै आई पुग्नु भएको थियो । केही पछि सासु र देवर आई पुगे । त्यसपछि सासु र श्रीमान्ले मलाई कुटेकोले रिसको झोकमा आगो लगाएको पोल उजूर गरेको हुँ भन्ने समेत व्यहोराको सुनिता विश्वकर्माको प्रहरीमा भएको कागज ।
६. आगो लागेको राति हल्ला सुनें मेरो श्रीमती छोराहरू २ भाइ खाना खाई राति बाहिर निस्केका र राति काम्दै आएका थिए किन कामेको भन्दा बोधराज गुरुङको घरमा आगो लगाई आयौं भनी जेठो छोराले भनेको त्यसपछि आ–आफ्नो विस्तरामा सुत्यौं जुगेनी माइली मेरो डेरामा आएको देखिन भन्ने समेत धनमक्त कामीको प्रहरीमा भएको कागज ।
७. बेलुकी खाना खाई सुतेपछि जुगेनी माइली हाम्रो घरमा आई दिदी भनी आमालाई बोलाउँदा मैले आमालाई उठाएर आमाले ढोका खोलेपछि जुगेनी माइली भित्र पसी जाहेरवालाको घरमा आगो लगाउन जान भनिन् । आमा, दाजु र भाउजु आगो लगाउन गए बुबा र म घरमै सुत्यौं आमा दाजु कुन समयमा आइपुगे थाहा भएन । जुगेनी माइलीले मेरो दाजुको हातमा समाई आगो लगाई दिएको हो भन्नु नत्र जेल पर्छौ भनी जाहेरवालाको श्रीमती पार्वतीले भनेको हुँदा मैले यसअघि सिकाएको कुरा भनेको हो म निर्दोष छु भन्ने समेत देउमान विश्वकर्माको प्रहरीमा भएको कागज ।
८. गते वारको याद छैन रातको १० बजेतिर हामी सुतिरहेको अवस्थामा जाहेरवालको घरतिरबाट सुसेली हाल्दै गुहार भनी कराएको सुनी हेर्दा घरमा आगो बलिरहेको देखी म र साहिंली देवरानी पनि घटनास्थल तर्फ लाग्यौं । हर्कमाया, हर्कबहादुर, सुनिता र देउमान समेतलाई लिई गई जाहेरवालाको घरमा मानिस समेत सर्वस्व गर्न आगो लगाएको र लगाउन लगाएको समेत होइन मेरो रुपैयाँ नतिर्ने नियतले फसाउने प्रयास गरी झुठ्ठा कागज गरेका हुन् भन्ने समेत गङ्गामाया श्रेष्ठको प्रहरी समक्ष गरेको कागज ।
९. गङ्गामाया श्रेष्ठ, हर्कबहादुर, हर्कमाया, सुनिता विश्वकर्मा समेत जना ४ लाई ज्यान सम्बन्धीको महलको १५ नं. र आगो लगाउनेको महलको ५ नं. बमोजिम सजाय हुन र देउमान नावालक हुँदा दं.स.का १ नं. बमोजिम तथा अपराध छिपाउने धनभक्त विश्वकर्मालाई ज्यान सम्बन्धीको २७ नं. बमोजिम सजाय हुन र जाहेरवालाको बिगो रु.७६००। अभियुक्तहरूबाट भराई दिन समेत अनुरोध छ भन्ने समेत प्रहरी प्रतिवेदन ।
१०. जुगे माइलीले बोधराजको घरमा आगो लगाउनु पर्दछ भन्दा आमा हर्कमाया, श्रीमती सुनिता म र जुगे माइली समेत भई बोधराजको वारीसाथ जोडिएको ठाउँमा सल्लाह गरी आमा र श्रीमती त्यहीं बसे जुगे माइली र म आगो लगाउन गयौं जो परेको म बुझाउँला तिमीले डराउनु पर्दैन भनी जुगेनी माइलीले भनेको हुँदा आगो लगाएको हुँ भन्ने समेत हर्कबहादुर विश्वकर्माको अदालतमा भएको बयान ।
११. हामी सुतिरहेको बेला जुगेनी माइली आई अघि सल्लाह गरेको जाउँ भन्दा यस्तो काम गर्नु हुँदैन भन्दा पनि जो परेको मै बुझाउँला भनेकोले म, छोरा हर्कबहादुर, बुहारी सुनिता निज जुगेनी माइलीसँग गयौं १०।१२ हात बाँकी हुँदै जुगेनी माइलीले खोया र सलाई समेत हर्कबहादुरालाई दिई आगो लगाई आइज भनी पठाई हामी त्यहीं बस्यौं । आगो लगाएर निज कुन बाटो घर गएछन् आगो लागेको देखेपछि हामी आ–आफ्ना घरतिर लाग्यौं भन्ने समेत हर्कमाया कमेनीले अदालत समक्ष गरेको बयान ।
१२. लोग्ने हर्षबहादुर, देवर देउमान, सासु हर्कमाया जुगेनी माइली र म समेत आगो लगाउन भनी हिड्यौं । लोग्ने र देवर खोया र सलाई लिई आगो लाउन गए हामी ३ जना परै बस्यौं घर फिर्नु पर्यो भनी म हिड्दै थिएँ । सासु र जुगेनी माइली आउँदै थिए । स्कूलको ग्राउण्डमा लोग्ने र देवर बसिरहेका थिए । जुगेनी माइली त्यहाँबाट आफ्नो घरतर्फ लागी देवर र सासु एक बाटोबाट आउँदै थिए लोग्ने घर पुगी सकेका थिए भन्ने समेत सुनिता कमेनीको अदालत समक्ष गरेको बयान ।
१३. गवाहको घरमा मेरो आमा, दाजु, भाउजु र जुगेनी माइलीले आगो लगाएको कुरा घरमा आमा दाजुले कुरा गर्दा थाहा पाए जुगेनी माइलीलाई देखिन दाजुले भाउजुलाई पक्राउ गरी ल्याएकोले भाउजुका मुखबाट आगो लगाएको कुरा प्रकाशमा आएको हो भन्ने समेत देउमान कामीको अदालतमा भएको बयान ।
१४. गवाहको घर मटानमा के कसले कसरी आगो लगाएको हो त्यस बखत मलाई थाहा भएन भोलिपल्ट छोरा र मेरो श्रीमतीले कुरा गर्दासम्म थाहा भएको हो । आगलागी भएको कुरा कताबाट प्रकाश भयो सो पनि थाहा छैन भन्नेसमेत धनभक्त कामीको अदालतमा भएको बयान।
१५. गवाहको घर मटानमा आगो लगाएको र लगाउन लगाएको समेत होइन कसले आगो लगाए सो पनि थाहा छैन रिसइवीमा पोल गरेको हो भन्ने समेत गंगामाया श्रेष्ठको अदालतमा भएको बयान ।
१६. २०३५ साल चैत्र २१ गते राति ११।३० बजेतिर आफू समेत सुतिराखेको घरमा आगो लगाउने मानिस पहिले थाहा भएन पछि हर्कमाया र निजको बुहारीको झगडा हुँदा बुहारी सुनिताले आगो लगाएको कुरा हल्ला खल्ला गरिछन् र स्कूलका छात्रहरूले थाहा पाएछन् र हामीहरूले समेत थाहा पाई दर्खास्त दिएको हो । अभियुक्त गंगामायाले हर्कमाया समेतलाई पूर्ण सहमत दिई आगो लगाएका हुन् भन्ने समेत बोधराज गुरुङको बकपत्र ।
१७. प्रतिवादी मध्येका हर्कबहादुरले आगो लगाएकोमा सवितै भएको हुँदा निजले आगो लगाएको र प्र.हर्कमाया मतलवी मतियारसम्म ठहर्ने हुँदा हर्कबहादुरलाई आगो लगाउनेको ५ नं. र हर्कमायालाई ऐ. को ७ नं. बमोजिम सजाय हुन्छ । ज्यान मार्ने नियतले आगो लाएको नदेखिँदा ज्यान सम्बन्धी महलको १५ नं. को दावी पुग्न सक्दैन । प्र.सुनिता विश्वकर्मा, देउमान विश्वकर्मा, धनभक्त विश्वकर्मा र गंगामाया श्रेष्ठ समेतले आरोपित कसूर गरेको ठहर्दैन भन्ने समेत ताप्लेजुङ जिल्ला अदालतको फैसला ।
१८. हर्कबहादुरलाई ज्यानमार्ने उद्योग गरेतर्फ सजाय नगरिएको हर्कमायालाई मतियार मात्र भनेको र अन्य देउमान सुनिता, गंगामाया र धनभक्तलाई रिहाई गरेको मिलेन प्रहरी प्रतिवेदन दावी अनुसार सजाय गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१९. मुख्य अभियुक्त गंगामायालाई सफाई दिई हामीलाई मात्र सजाय गर्ने गरेको शुरु जि.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत प्र.हर्कमाया, हर्कबहादुर समेतको संयुक्त पुनरावेदन पत्र ।
२०. अभियुक्त हर्कमाया र हर्कबहादुरको हकमा श्री ५ को सरकारको र हर्कमाया, हर्कबहादुरको समेत पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु इन्साफ मनासिव ठहर्छ । अभियुक्त गंगामायाको हकमा सह–अभियुक्त हर्कमाया, हर्कबहादुर समेतले आफू समेत सजायको भागी हुने गरी गंगामायालाई पोलेको र सो कुरा अन्य अभियुक्तहरूको बयानबाट समेत समर्थित हुन आएकोले गंगामायालाई सफाई दिने गरेको शुरु ताप्लेजुङ जिल्ला अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ र निजलाई आगो लगाउनेको ७ नं. बमोजिम २ वर्ष कैद हुने ठहर्छ । अन्य प्रतिवादीहरू देउमान, सुनिता, धनभक्तका हकमा सफाई दिने गरेको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२१. पु.क्षे.अ.को उक्त फैसलाबाट सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि विद्यमान भएकोले न्याय प्रशासन सुधार ऐन ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.गंगामाया श्रेष्ठको निवेदन पत्र ।
२२. गंगामायाले आगो लगाएको भन्ने वा ज्यान मार्न उद्योग गरेको भन्ने कसूर गरेको मिसिल प्रमाणबाट देखिन आएन र आगो लगाउनेको साथमा काम गरेकोबाट मात्र मतियार भन्न नमिल्ने समेत हुँदा आगो लगाउनेको ७ नं. को प्रयोग मनासिव देखिएन क्षेत्रीय अदालतको फैसलामा उक्त कानुनको प्रत्यक्षतः गम्भीर त्रुटि भएको देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३८।८।२४ को आदेश ।
२३. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा पुनरावेदिका प्रतिवादी गंगामाया कसूरमा इन्कार रहेको देखिन्छ । तर बोधराज गुरुङले प्रहरीमा ०३६।२।२५ मा दिएको दोश्रो जाहेरीमा इन्द्र बहादुरको श्रीमती गाउँघरमा प्रचलित नाम मैया श्रेष्ठ भन्ने नाम उल्लेख भएको पाइन्छ । प्रतिवादी हर्कमाया विश्वकर्माको बुहारी सुनिता विश्वकर्माले प्रहरीमा कागज गर्दा मेरो श्रीमान र सासुले मलाई कुटेकोले रिस थाम्न नसकी मैले यो जाहेरवालाको घरमा आगो लगाएको कुराको पोल उजूर गरेको हुँ यो आगो लगाउनमा मुख्य भई आदेश दिने जुगेनी माइली नेवारनी र मेरो सासु नै हुन् भनेकोबाट घटनाको रहस्य खुली प्रचारमा आएको देखिन्छ । निजले अदालतमा गरेको बयानमा आगो लगाउन भनी देवर देउमान, लोग्ने हर्कबहादुर, सासु हर्कमाया, जुगनी माहिली, म समेत गएँ आगो लागी हुने ठाउँ भन्दा धेरै बेर सबै भेला भएपछि खोया र सलाई लिई देवर लोग्ने हर्कबहादुर गए हामी तीन जना त्यहीँ बसी रह्यौं । मेरो लोग्ने, सासू र जुगेनी माइली समेतले आगो लगाएको भनेकोबाट प्रतिवादी पुनरावेदक गंगामाया सो आगलागीको वारदातमा संलग्न रहेको प्रमाणित हुन्छ ।
२४. सह–अभियुक्त हर्कबहादुरले अदालतमा बयान गर्दा जे परेको मै व्यहोर्छु तिमीहरूलाई केही पर्दैन भनेकोले मैले समाती राखेको खोयामा जुगेनी माइलीले सलाई कोरी खोया जलाई दिएकोले आगो लगाई दिए भनेको छ । अर्को हर्कमायाले पनि आगो लगाउने कुरा गंगामायासँग सल्लाह भएको आगो लगाउने साथै गएको भनी पोल गरेको छ । त्यसबाट कसूरमा आफूहरू सावित भई पुनरावेदिका गंगामायालाई पोल गरेकोबाट सो वारदातमा पुनरावेदिका गंगामायाको आगो लगाउने कुरामा मिलेमतो रहेको थियो भन्ने कुराहरू अझ प्रष्ट्याई पुष्ट्याई पुर्याएको देखिन आउँछ । यस स्थितिमा कसूरबाट सफाई पाउनु पर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्तैन । अरु पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत पुनरावेदिका प्र.गंगामायाले आगो लगाउनेको ७ नं. को अपराध गरेको ठहराई निजलाई २ वर्ष कैदको सजाय गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । निजलाई सफाई दिने गरेको सहयोगी माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको रायसँग सहमत नहुँदा नियम बमोजिम सर्वोच्च अदालत फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ।
२५. यसमा ०३५।१२।२१ को वारदातको सम्बन्धमा प्रथम जाहेरीमा कसै माथि शंका लिइएको छैन । यो स्थिति दुई महीना जति कायम रहृयो । अकस्मात सुनिता भन्ने अभियुक्त मध्येका एकजनाले लोग्ने सासूले मलाई कुटपीट गरिरहेको बेलामा रिस उठी आगो लगाएको प्रकाशमा ल्याई दिन्छु भनेको कुरा गाउँको विद्यार्थीहरूले सुनी थाहा पाएकोले जाहेरवालालाई जानकारी हुन आएकोले दोश्रो जाहेरी दर्खास्तबाट नाम खुलाएको तथ्य मिसिलबाट देखिन्छ । प्रहरीबाट यस बीच अनुसन्धान गरेको कुरा देखिएन । जाहेरवाला पनि सन्तोष मानी बसिरहेकै थियो । अब प्रहरीमा कागज हुँदा अभियुक्तहरू मध्येका देउमान लगायत सबै सावित हुँदै अर्को अभियुक्त जुगेनी माइली भन्ने गंगामाया समेत भई आगो लगाएको भन्ने घटना विवरण सामु आउँछ । गंगामाया भने इन्कारी देखिन्छ । अदालतमा आएपछि भने त्यही सुनिता र आगो लगाउने कुरामा हात समाती मलाई उचालेको थियो र मैले आगो लगाएको हो भन्ने त्यही देउमान गंगामाया घटनास्थलमा थिएन भन्दछ । त्यतिमात्र होइन अर्को एकजना देउमान विश्वकर्माले जाहेरवालाकी श्रीमतीले सिकाएर त्यस्तो बयान दिएको हो पनि भनेको पाइन्छ । शुरुले हर्कबहादुर र हर्कमायालाई सजाय दिई सुनिता, देउमान धनभक्त र गंगामायालाई सफाई दिएकोमा क्षेत्रीय अदालतबाट सफाई पाएका चार जना मध्ये गंगामाया एकजनालाई मात्र हर्कबहादुर सह–अभियुक्तले पोलेको एउटा आधारमा मात्र सजाय गर्ने अठोट गरेको देखिन्छ । एक थरी सह अभियुक्तको पोललाई अर्को थरी सह अभियुक्तको बयानबाट समर्थन भएको छ भन्ने पनि क्षेत्रीय अदालतको भनाई छ यस्तो स्थितिमा हाम्रो सामु एउटा सह अभियुक्तको भनाईलाई अर्को सह अभियुक्तबाट समर्थन भएमा सजाय गर्न प्रर्याप्त आधार हुन्छ हुँदैन भन्ने प्रश्न खडा भएको छ । जसको सामाधानमा प्रस्तुत पुनरावेदनमा निर्णय गर्न मिल्ने हुन्छ । यस बाहेक अन्य कुनै प्रमाण परिवन्दबाट सजाय गर्न सकिन्छ कि भन्ने अर्को प्रश्न छ । वादी पक्षको भनाईमा यस विषयमा समर्थन भएकै छ र स्वयंम पुनरावेदिकाले जाहेरवाला र म बीच कुनै रिसइवी छैन भनी स्वीकार गरेको छ यो भेद स्कूलका विद्यार्थीहरूले सुनिताले लोग्ने सासुसँग झगडा हुँदा आगो लगाएको कुरा भनिदिन्छु भनेको सुनेबाट जानकारी हुन आएको हो । प्रतिवादी पक्षको भनाईमा सह अभियुक्तलाई प्रमाण ऐन, २०३१ को दफा ३ ले स्थान दिएको छैन र यसलाई आधार बनाउन निषेध छ साथै सह अभियुक्तहरूको भनाई पनि परस्परमा बाझिएको पाइन्छ । गंगामायाले सह अभियुक्त हर्कबहादुरले मलाई तिनुपर्ने रकम दिनु पर्ला भन्ने इवीले पोलेको हुनु पर्दछ भनेकै छ । जाहेरवाला र गंगामाया बीच रिसइवी थिएन भन्ने भनाईको हकमा प्रथमतः केटाकेटीको कुरा लिएर मन मोटाव परेको देखिन्छ । तर पनि रिस नभए पोल्नु पर्ने कारण थिएन भन्ने भनाई हो भने घरमा आगो लगाउनु पर्ने पनि कारण हुन सक्तैन । यस बाहेक जुन श्रोतबाट कुरा प्रकाशमा आएको भनिएको छ ती विद्यार्थीहरू साक्षीको रुपमा उपस्थित गराइएको पाइएन । यसबाट यो अनुमान गर्न बाध्य हुनुपर्दछ कि विद्यार्थीको कुरा मनगढन्ते हो यसरी सह अभियुक्तको पोल बाहेक टेक्न हुने अरु प्रमाण प्रस्तुत सन्दर्भमा कानुन मौजुद देखिन्न भएको सरजमीन र पुनरावेदिकाको साक्षीहरूले समेत निजलाई सफाई दिएको पाइन्छ ।
२६. अब सह अभियुक्तको पोलको स्थितिमा विचार गर्दा वारत र पोलमा परेको अभियुक्तको संलग्नता र सहभागिताबारे निजको भनाईलाई प्रमाणमा ग्रहण गर्न उक्त ऐनको दफा ८ ले बाधा पुर्याएको देखिन्न । परिच्छेद २ को दफा ३ र साक्षीले अदालत समक्ष बकेका अन्य कुराहरूमा मात्र प्रमाण लिन हुन्छ भन्ने उक्त दफा ८ मा व्यवस्था भएको पाइन्छ । सह–अभियुक्तको भनाईलाई साक्षीको बकाईको रुपमा ग्रहण गर्न र आवश्यक भएमा प्रमाण ऐनको दफा ३८ बमोजिम साक्षीको रुपमा उपस्थित गराउन र निजको विरुद्ध प्रमाण लाग्ने किसिमको बाहेक अन्य कुरामा निजलाई जिरह समेत गर्नमा कुनै बाधा कानुनमा भएको पाइन्न । निजलाई जिरह नगरिएकै कारणबाट अदालतमा निजको भनाईलाई प्रमाणमा लिन नमिल्ने होइन । प्रमाण ऐनको दफा २३(७) को व्यवस्थाले बाधा पुर्याउँदैन । किनभने उक्त दफा विशेषज्ञको रायको सम्बन्धमा मात्र हो । प्रमाण सम्बन्धी उपायहरू पक्षले परित्याग गर्न सक्दछ । प्रमाणको कुरामा अदालतले प्रमाण ऐनको दफा ५०(६) को सीमित अवस्थामा बाहेक कुनै पक्षलाई लाभ वा हानी हुने गरी प्रश्न गर्दा निष्पक्षतामा असर पर्न सक्ने हुन्छ । कुनै प्रमाणको सम्बन्धमा आपक्ति उठाइएको खण्डमा मात्र प्रमाण ऐनको दफा ३ बमोजिम अदाललते निर्णय दिनु पर्ने हुन्छ । प्रस्तुत केशमा सह–अभियुक्तहरूको अदालतमा भएको बयानको पोल खण्डलाई साक्षी कै रुपमा अदालतहरूले ग्रहण गरी आएको छ भने जस्तो अरु साक्षीको हकमा निजले भनेको कुरामा कति हदसम्म भर पर्नु पर्ने हुन्छ मूल्याङ्कनको विषय हुन आउँदछ । यसै गरी सह–अभियुक्तको भनाईको पनि अदालतले मूल्यांकन गर्नुपर्ने हुन्छ । सह–अभियुक्त यस्तो साक्षी हो जसको भनाईलाई असामान्य अवस्थामा बाहेक एक मात्र भरपर्दो आधार बनाउन मिल्दैन । निजले आफ्नो कुकृत्यमा फसाउने उद्देश्यले अरुलाई सरिक थियो भनी भन्न पछि हट्ने होइन । प्रत्यक्ष वा परोक्ष फाइदाको निमित्त निजले निर्दोष व्यक्तिलाई सम्मिलित गराउन संकोच मान्ला र सह–अभियुक्तको पोल स्वतन्त्र रुपमा समर्थित हुनुपर्दछ भनी सर्वोच्च अदालतले व्यक्त गरिसकेको छ । प्रमाण सम्बन्धी कानुनको यस्तो स्थितिमा प्रस्तुत केशमा विचार गर्दा यस मुद्दाको तात्वीक (Material) कुरामा स्वतन्त्र प्रमाणबाट समर्थन भएको देखिएन । सह अभियुक्तको पोल सह अभियुक्तबाटै समर्थन छ भन्न सिद्धान्ततः मिल्दैन । यहाँ त झन सह अभियुक्त कै भनाई पनि बाझिएको छ । त्यसैले ताप्लेजुङ जिल्ला अदालतले पुनरावेदिका समेतलाई सफाई दिएको छ यसमा म कुनै त्रुटि देख्दिन । एकै किसिमका प्रमाणको मौजुदगीमा पूर्वाञ्चल क्षेत्रीय अदालतले आफ्ना निर्णय विवादित तथ्यमा आधारित गरी कानुनको त्रुटिपूर्ण प्रयोग र व्याख्या गर्दै पुनरावेदिका एकजनालाई सजाय अरुलाई शुरुले सफाई दिएको मनासिव भनी ठहर गरेको मिलेको छैन । पुनरावेदिका गंगामायालाई सजाय गरेको बदरभागी छ । अतः ताप्लेजुङ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।
२७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदिका प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, विद्वान अधिवक्ताहरू श्री सुभाष नेम्वाङ, विष्णुबहादुर राउत, शम्भू थापा तथा वादी तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।
२८. यसमा प्र.गंगामाया श्रेष्ठले जाहेरवालाको घरमा आगो लगाएको र आगो लगाउन गएतर्फ प्रहरी अदालतमा समेत इन्कार रहेको पाईन्छ ।
२९. प्र.हर्कबहादुर विश्वकर्माले जुगेनी माइली र म आगो लगाउन गएको र जुगेनी माइलीले भनेको हुँदा मैले आगो लगाएको भनी आफू अपराध गरेकोमा सावित भई जुगेनी माइली भन्ने प्र.गंगामायालाई अदालतमा समेत पोल गरेको पाईन्छ ।
३०. प्र.हर्कबादुरको अदालतमा भएको बयानबाट आमा हर्कमाया, श्रीमती सुनिता समेत उक्त वारदातमा गएको देखिन्छ ।
३१. प्र.हर्कमायाले जुगेनी माइलीले खोया र सलाई समेत हर्कबहादुरलाई दिई आगो लगाई आइज भनी पठाई हामी त्यहीँ बस्यौं र आगो लगाएको देखेपछि हामी घर गयौं भनी अदालतमा बयान गरेको पाईन्छ ।
३२. प्र.सुनिता कमेनीको अदालतमा भएको बयानबाट हर्कबहादुर, देवर देउमान, सासु हर्कमाया, जुगेनी माइली र निज समेत आगो लगाउन गएको र लोग्ने हर्कबहादुर र देवर देउमान खोया र सलाई लिई आगो लगाउन गएको भनी पोल गरेको पाइन्छ ।
३३. प्र.देउमान कामी अदालतमा आगो लगाएको र लगाउन गएतर्फ इन्कार रही जुगेनी माइलीलाई देखिन भनी बयान गरेको देखिन्छ ।
३४. प्र.हर्कबहादुर, प्र.हर्कमाया र प्र.सुनिताको प्र.जुगेनी माइली भनेकी प्र.गंगामाया श्रेष्ठ उपरको अदालतमा भएको पोल हेर्दा आपसमा एक मिलानको देखिएन । प्र.हर्कबहादुरले म र जुगेनी माइली आगो लगाउन गएको भन्नु हुन्छ भने प्र.हर्कमायाले निजको छोरा हर्कबहादुर मात्र आगो लगाउन गएको भन्नु भएको पाइन्छ । प्र.सुनिताले हर्कबहादुर, देउमान आगो लगाउन गएको जुगेनी माइली समेत अरु अन्तै बसेको भनेको देखिन्छ । जाहेरवालाको जाहेरी दर्खास्तमा निजले आगो लगाएको अवस्थामा सो वारदात स्थलमा प्र.गंगामायालाई देखे चिने भनी भन्न सकेको पाइन्न ।
३५. निज जाहेरवालाको अदालतमा भएको बकपत्रबाट उक्त आगो लगाएको कुरा निजले स्कूलका विद्यार्थीहरूको कुराकानीबाट थाहा पाएको भन्ने देखिन्छ । यस्तो स्थितिमा निजको जाहेरी दर्खास्त उपर भर पर्ने स्थिति रहेन ।
३६. अब प्र.हर्कमाया र प्र.हर्कबहादुर अपराध गरेमा आफू समेत सावित भई प्र.गंगामायालाई पोल गरेको देखिन्छ तापनि निजहरूको पोल भनाईमा एक रुपता देखिन्न ।
३७. प्र.गंगामायाले आगो नलगाई उक्त वारदातमा सम्म गएको हो कि भन्नलाई प्र.देउमान कामीले प्र.गंगामायालाई देखिन भनी अदालतमा बयान गरेको पाईन्छ ।
३८. मतियारा सरहको सह–अभियुक्तले प्र.गंगामायालाई सो आगो लगाउने वारदातमा रहे भएको भनी पोल गरेता पनि उक्त पोल स्वतन्त्र प्रमाणबाट समर्थित छैन ।
३९. सरजमीनका मानिसहरूले प्र.गंगामाया श्रेष्ठ वारदात स्थलमा भएको छ भन्न सकेको पाइन्न । जाहेरवालाले स्कूलको विद्यार्थीबाट थाहा पाई जाहेर गरेकोले त्यस्तो भनाईलाई किटानी भन्न सकिँदैन ।
४०. सह–अभियुक्तको पोल यथार्थ रुपमा सबूत प्रमाणबाट समर्थित हुन नआएमा कसूर गरेको ठहराउन मिल्दैन ।
४१. प्र.हर्कबहादुर र प्र.हर्कमायाको पोल सबूत प्रमाणबाट समर्थित भएकोले त्यस्तोलाई आधारभूत प्रमाण मान्न नमिल्ने हुँदा प्र.गंगामायाले सफाई पाउने ठहराएको मा.न्या. श्री हरगोविन्द सिंह प्रधानको राय मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा प्र.गंगामाया श्रेष्ठले वादी दावीबाट सफाई पाउने ठहरेको आगो लगाउनेको ७ नं. बमोजिम २ वर्ष कैदको सजाय गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।२।२५ को फैसला बमोजिम गर्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी शुरु ताप्लेजुङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…………१
प्र.गंगामायाले वादी दावीबाट सफाई पाएकोले पू.क्षे.अ.को ०३८।२।२५ को फैसला बमोजिम बिगो भराई दिनु पर्दैन निजको हकमा लगत कट्टा गरिदिनु र अन्य प्रतिवादीहरूका हकमा शुरु ताप्लेजुङ जिल्ला अदालतका ०३६।४।२८ को फैसला बमोजिम भराई दिनु भनी लेखि ऐ.ऐ. मा पठाउन ऐ.ऐ. मा लगत दिनु………………….२
प्र.गंगामाया श्रेष्ठले पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।२।२५ को फैसलाले हुने ठहराएको कैद वर्ष २ बापत नगद धरौटी दिई तारिखमा बसेको र हाल सफाई पाएकोले निजले यस अदालतका आदेश बमोजिम ०३८।५।३१ मा का.जि.अ.मा धरौट राखेको रु.१०८०। कानुन बमोजिम निजलाई फिर्ता दिनु भनी का.जि.अ.त. मा लेखी पठाई दिनु…………………३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु………………… ४
उक्त रायमा मेरो सहमति छ ।
न्या. बासुदेव शर्मा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय
४२. प्रमाण ऐन, २०३१ भारतीय प्रमाण ऐनको ढाँचामा बनेको छ तर भारतीय प्रमाण ऐनमा भएका धेरै कुराहरू यसमा समावेश भएका छैनन् कारवाहीको सिलसिलामा हामी कहाँ हुनु पर्ने आउने सामान्य खालका कुराहरू पनि यसमा समाविष्ट हुन सकेका छैनन् । मुद्दाको रोहमा घट्न सक्ने खालका तर्कयुक्त घटनाहरूलाई लिएर हुनुपर्ने अवस्थाको त यसमा अभाव देखिएको छ । एङगलोस्याक्सन पद्धति अनुसार ऐनको व्याख्या गर्दै आएको देशमा पनि परिणामको विचार नगरी कोरा शाब्दिक व्याख्या गर्ने परिपाटी पूर्णरुपले बदलिई व्याख्याको प्रक्रिया नै भिन्न प्रकारको भइसकेको कुरालाई हामीले पूर्ण रुपले विचार गर्नुपर्ने अवस्था छ । ऐन अथवा सिद्धान्तको कोरा व्याख्या गर्ने परिपाटी बढ्दै जाँदा कानुन बदमासहरूको बदमासी इजाजतपत्र जस्तो हुन गएको अनुभव हुन गएबाट अदालतले “Legislation must at all cost be interpreted in such a way that it does not operate as a rougue’s charter” भन्नु पर्ने स्थिति पनि आयो र अहिले “Law can’t be made rogue’s charter” भन्ने एउटा व्याख्या सम्बन्धी सिद्धान्त नै बन्न गएको छ । कुनै सिद्धान्त प्रतिपादन गर्दा अथवा प्रतिपादित सिद्धान्तको प्रयोग अथवा व्याख्या गर्दा पनि यही कुरा लागू हुन्छ र गरिनु पर्दछ ।
४३. सह अभियुक्तको पोलको सम्बन्धमा पनि कोरा सिद्धान्तको आधारमा भनिदा–भनिदा अहिले आएर सह–अभियुक्तको पोलको कुनै मूल्य नै छैन भन्ने जस्तो व्याख्या हुन लागेको छ । सह अभियुक्तको पोल विषयमा हाम्रो प्रमाण ऐनमा प्रमाण लिन नहुने नपाइने किसिमको व्यवस्था भएको छ भन्ने पनि तर्क प्रस्तुत गर्न लागिएको देखा परेको छ । हाम्रो प्रमाण ऐनले यस्तो होइन बरु पूर्णरुपले यसको बिपरीत व्यवस्था गरेको छ ।
४४. सह अभियुक्तले पोल गर्दा कसरी गरेको छ त्यसलाई हेरी मात्र यसको न्यायिक मूल्याङ्कन गरिनु पर्दछ । सह अभियुक्तले आफू बच्नको निमित्त मात्र पोल गरेको हो कि अथवा कुनै व्यक्तिलाई पर्दा पछाडि लुकाउन अरुलाई नै अपराधी बनाई पोल गरेको छ । आदि आदि कुराको मूल्याङ्कन न्यायिक मनको प्रयोग गरी एक–एक तथ्य केलाई हेरिनु पर्दछ । यस्ता कुनै कुराको विचारै नगरी ठाडै सह अभियुक्तको पोलले मान्यता नपाउने हुँदा भनी यसलाई शुन्य महत्वको अथवा शुन्य प्रमाणको मानी अरु नभएका प्रमाण खोज्दै जाने प्रवृत्तिको प्रचलन हुँदै जाँदा प्रस्तुत मुद्दामा जस्तै अभियुक्तले आफू समेत सजाय भागी हुने गरी पोल गरेका जस्ता गम्भीर कुराहरूको महत्व नै लोप हुन गई मुद्दाहरूमा सत्य तथ्य पत्ता लागी न्यायको गोरेटे पहिलिने भन्दा न्याय अलमलिने अवस्था हुन जान्छ । त्यसैकारण “It is a well known Principle of law that form should not defeat substance, Procedure must not smother justice.” जस्ता उक्तिहरू भनिन्छन् । सह अभियुक्तको पोल बाहेक अन्य स्वतन्त्र प्रमाणको अनिवार्य आवश्यकता हुन्छ भन्न सकिन्न । मुद्दाको वस्तुस्थितिले सह अभियुक्तको पोल मात्रै पनि पर्याप्त हुन सक्तछ यो कस्तो अवस्थामा हुन्छ भन्ने कुरा मुद्दाको तथ्यमा भर पर्दछ । यस्ता कुरालाई ध्यानमा राखी विचारै गर्दा प्रस्तुत मुद्दाको कानुनी र तथ्यको स्थिति यस प्रकारको देखिन्छ ।
४५. प्रमाण ऐन, २०३१ को वनावट हेर्दा र प्रमाण ऐन, २०३१ को दफा ७(ग), ८ र दफा ३८ समेत हेरी समष्टीगत अध्ययन गर्दा सह अभियुक्तको पोललाई प्रमाण नलगाउने नै गरी व्यवस्था भएको नभई सह अभियुक्तको पोललाई पूर्णरुपले प्रमाण ग्राहृय बनाएको नै देखिन आउँछ ।
४६. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा प्र.गंगामाया श्रेष्ठ बोधराज गुरुङ्गको घरमा आगो लगाएमा प्रहरी तथा अदालतमा इन्कार रहेको देखिन्छ तापनि अनुसन्धान अवस्थामा भएको निजको बयानमा आगो लागेपछि वारदात स्थलमा गई आगो निभाएको भन्ने छ र अदालतमा भएको बयानमा भने आगो लागेको ठाउँमा गई हेरिरहेको भन्ने छ । यसबाट प्र.गंगामायाको बयानमा पनि केही विरोधाभास देखिन्छ । अर्कोतर्फ प्रतिवादी मध्येका हर्कबहादुर, हर्कमाया, सुनिता देउमानको बयानमा जुगेनी माइली भन्ने यी प्रतिवादी गंगामाया आगो लगाउन सँगसँगै गएको भन्ने छ । बोधराज गुरुङ्गको घरमा गंगामाया खूद आफैंले आगो लगाएको हो वा हर्कमायासँग बसि हर्कबहादुरले आगो लगाएको हो भन्ने कुरामा प्रतिवादीहरू बीच मत भिन्नता रहे पनि गंगामायाले आगो लगाउन जाउँ भनी वारदातको रात आइ भनेको र आगो लगाउन गएको भन्ने कुरामा सबैले एक मुख भई बयान गरेका छन् । जाहेरवालाले किटानीपूर्वक जाहेरीमा निजको नाम समेत उल्लेख गरेको छ । हर्कमाया, हर्कबहादुर आगो लगाएमा आफैं सावित छन् भने नभए नगरेको व्यहोरा लेखाई गंगामायालाई फसाउनु पर्ने कारण पनि केही देखिँदैन । जाहेरवालाको जाहेरीमा आगो लगाएको कुरा अपराधीहरूबाटै भेद खुलेको भन्ने र अदालतमा प्र.सुनिताको र सासु हर्कमाया लोग्ने हर्कबहादुरको बीच झगडा हुँदा हर्कमायाले जाहेरवालाको घरमा आगो लगाएको कुरा भनी दिन्छु भनेको कुरा स्कूलका विद्यार्थीले सुनी भन्न आएबाट थाहा भएको भन्ने छ । यसबाट जाहेरीको र अदालतको व्यहोरा बकपत्रको बाझिएको नभई अरु स्पष्ट पारिएको छ । लोग्ने र सासुसँग झगडा हुँदा जाहेरवालाको घरमा आगो लगाएको कुरा भनेको सुनिताको अदालतको बयानबाट र हर्कबहादुरको अदालतको बयानबाट समेत स्पष्ट हुन आएबाट स्कूलका विद्यार्थी बुझिरहनु पर्ने स्थिति रहेन । सुनिताले लोग्ने तथा सासुसँग झगडा हुँदा आवेशमा आई आगो लगाएको कुराको तथ्ययुक्त पोल खोलेको देखिँदा निजले बनावटी कुरा गरेको नभई सत्यको उद्घाटन गरेको भन्न पर्ने स्थिति छ ।
४७. प्रस्तुत मुद्दामा प्र.हर्कमाया, हर्कबहादुर तथा सुनिता समेत जाहेरवालाको घरमा आगो लगाउन गएको र आगो लगाएको कुरामा समेत साविती भएको देखिँदा आफू अपराधबाट उम्की गंगामायालाई फसाउन खोजेको नहुँदा र प्रस्तुत वारदात प्रकृति समेत हेर्दा मिसिल प्रमाणबाट गंगामाया निर्दोष रहेछन् भन्न नसकिने हुँदा आगो लगाउनेको ७ नं. बमोजिम २ वर्ष कैद हुने ठहराएको मा.न्या. श्री धनेन्द्रबहादुर सिंहको रायसँग मेरो सहमति भएको र बहुमतको निर्णयसँग मत भिन्नता भएको हुँदा यो छुट्टै राय व्यक्त गरेको छु । नियम बमोजिम गर्नु ।
इति सम्वत् २०४१ साल मंसिर ५ रोज ३ शुभम् ।