निर्णय नं. २०५७ – जवरजस्ती घर बनायो
निर्णय नं. २०५७ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको...
निर्णय नं. २०५७ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको दे.पु.नं. ४३३
मुद्दा : जवरजस्ती घर बनायो
पुनरावेदक/वादी : जिल्ला बाँके नेपालगञ्ज न.पं. वार्ड नं. ६ फुलटेका लार्इन बस्ने सूर्यलाल कूर्मी
विरुद्ध
विपक्ष/प्रतिवादी : ऐ.ऐ. वार्ड नं. ७ बस्ने सावित्रीदेवी त्रिपाठी
फैसला भएको मिति : २०४१।७।४।१ मा
§ वादीको कुनै दावीको हकमा बोल्दै नबोली कुनै दावीको हकमा मात्र गरेको निर्णयलाई कानुन अनुरुप भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
उल्लेखित मुद्दा : x
फैसला
न्या. बब्बरप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. मेरा नाउँमा दर्ता भएको बाँके ने.गं न. पं. वार्ड नं. ११(क) को कि.नं. ३९४ को ज.वि.०–०–११ मा विपक्षीले २०२९।११।१५ गते म भारत गएको अवस्थामा जबरजस्ती घर बनाउन जग हाली ऐ. चैत्र १५ गते म आई किन घर बनाएको भन्दा यो मेरो जग्गा हो नक्सा पास गराई सकेकी छु भनी ०३१।१।११ गते जबरजस्ती घर बनाई सकी खिचोला गरेकोले जग्गा छाड्न र घरको मोल दिई लिन मन्जुर नहुँदा घर बनाउनेको ४ नं. बमोजिम पञ्चकीर्ति मोलको सयकडा ५ ले हुने रुपैयाँ समेत दिलाई घर हटाउन लगाई जग्गा चलन चलाई पाउँ भन्ने समेत फिरादपत्र ।
३. वादीको जग्गामा मैले घर बनाएको छैन । सुन्दर कवर तिवारीको भोगचलन दर्ताको हाल सर्भे नापीमा घरबास छाडेको निजको भोग चलनको ०–१०–११ मध्ये ०–१–१७¬१/२ निज सुन्दर कवरबाट २०२९।१।१२।२ मा राजीनामा लिई २०२९।५।२ मा नक्सा पास गराई ०२९ साल माघ महीना भित्रै घर तैयार गरेको हुँ । घर बनाउनेको ११ नं. को म्याद १ वर्ष नघाई परेको यो दावा खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर पत्र ।
४. प्रतिवादीबाट पेश भएको धनी सावित्रीदेवी ऋणी सुन्दर कवर भएको रु.२,५००। को ०२९।१।१२ को राजीनामा मेरो जग्गा लिने उद्देश्यले गलत चौहदी राखी जालसाजबाट गरे गराएकोले सजाय गरिपाउँ भन्ने समेत सूर्यलाल कूर्मीको बयान ।
५. उक्त लिखत जालसाजीबाट खडा गरेको नभई सद्दे हो वादीले झुठ्ठा बयान गरेको हुन भन्ने समेत सावित्री देवीको वा जय मंगल तिवारीको बयान ।
६. जालसाजी तर्फ उजूर खारेज हुने र प्रतिवादीले बनाएको घर हटाई जग्गा वादीलाई छाडी चलन दिनु पर्ने ठहर्छ भन्ने समेत बाँके जि.अ.को फैसला ।
७. राजीनामालाई मान्यता नदिने गरिएको उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन ।
८. जालसाजीतर्फ खारेज गरेको उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
९. वादी र्सूलालले तारिख गुजारी बसेकोले निजको पुनरावेदन डिसमिस हुने र घर तैयार गरेको ०२९ साल माघबाट १ वर्षको हदम्याद नघाई ०३१।९।७ मा मात्र फिराद परेकोले खारेज गर्नु पर्नेमा ईन्साफ गरेको शुरुको फैसला बदर हुनेठहर्छ भन्नेसमेत भेरी अं.अ.को २०३७।१०।१० को फैसला ।
१०. भेरी अञ्चल अदालतको उक्त फैसला उपर इन्साफ जाँची दिनु भनी सु.प.क्षे.अ.का नाउँमा हु.प्र.बक्स पाउँ भनी वादीको विन्तिपत्र परेकोमा सम्बन्धित क्षेत्रीय अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने समेत हु.प्र.बक्स भएको ।
११. हदम्याद नघाई परेको फिराद दावी खारेज गर्ने गरेको भेरी अञ्चल अदालतको ईन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३९।४।३१ को फैसला।
१२. उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भिर कानुनी त्रुटि विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा वादीले जग्गा मिच्नेको १८ नं. का म्यादभित्र नालिस गरेकोमा त्यसतर्फ केही नबोली घर बनाउनेको १० नं. को हदम्याद नाघेको भनी खारेज गर्ने गरेको म.प.क्षे.अ.को फैसला अ.बं.१९२ नं. का प्रतिकूल हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिईको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २०४०।७।९ को आदेश ।
१३. पुनरावेदक वादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले वादीले फिराद गर्दा ज.मि.का.१८ नं. र घर बनाउनेको ११ नं. को हदम्याद भित्र नालिस गरेकोमा जग्गा तर्फ ज.मि.का.१८ नं. को व्यवस्था नहेरी घर बनाउनेको ११ नं. को हदम्याद नाघेको भनी सम्पूर्ण दावी नै खारेज गरेको क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी भन्ने समेत र विपक्षी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमनारायण दासले घर तैयार गरिसकेको मितिबाट १ वर्ष नघाई फिराद परेको हुँदा खारेज गर्ने गरेको फैसला सदरै हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. प्रस्तुत मुद्दामा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव वा बेमनासिव के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।
१५. निर्णयतर्फ विचार गर्दा यसमा मेरो हक भोग दर्ताको जग्गामा विपक्षीले जबर्जस्ती घर बनाई खिचोला गरेकोले घर बनाउनेको ११ नं. र जग्गा मिच्नेको १८ नं. का म्यादभित्र नालेस गरेको छु बनाएको घर हटाउन लगाई मेरो जग्गा समेत चलन चलाई पाउँ भनी फिरादपत्रमा उल्लेख भएको हुँदा वादीले घर जग्गा दुवैमा दावी लिएको देखिन्छ । शुरु बाँके जिल्ला अदालतबाट फैसला हुँदा समेत घर जग्गा दुवै दावी तर्फ फैसला भएको देखिन्छ । तर भेरी अञ्चल अदालतले फैसला गर्दा वादीको दावी मध्ये जग्गातर्फ केही बोल्दै नबोली घर तर्फमात्र घर बनाउनेको ११ नं. बमोजिम घर तैयार भएका मितिले १ वर्षको हदम्याद नघाई फिराद दायर भएकोले वादी दावी खारेज गर्ने गरेको छ र सोही फैसलालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरी निर्णय गर्नु पर्ने हुन्छ वादीको कुनै दावीको हकमा बोल्दै नबोली कुनै दावीको हकमा मात्र गरेको निर्णयलाई कानुन अनुरुप भन्न मिल्दैन । यसरी वादी सूर्यलाल कुर्मीले आफ्नो फिरादपत्रमा घर जग्गा दुवैमा दावी लिएकोमा जग्गातर्फ केही उल्लेख नै नगरी घरतर्फ मात्र घर बनाउनेको ११ नं. बमोजिम हदम्याद नाघेको भनी खारेज गर्ने गरेको भेरी अञ्चल अदालतको फैसला सदर गर्ने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय वादी दावी बमोजिम नभई आंशिक रुपको हुँदा अ.बं.१६२ नं. को प्रतिकूल देखिन आएकोले उक्त दुवै फैसलाहरू उल्टी भई बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम जग्गातर्फ समेत निर्णय गर्नु भनी दुवै पक्षलाई तारिख तोकी मिसिल मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिने ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल कार्तिक ५ गते रोज १ शुभम् ।