निर्णय नं. २०५२ – ज्यान
निर्णय नं. २०५२ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको फौ.पु.नं....
निर्णय नं. २०५२ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३९ सालको फौ.पु.नं. ३६०
मुद्दा : ज्यान
पुनरावेदक/वादी : जोगमाया थरुनीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला कैलाली गा.पं.चौमाला बस्ने खड्गराज पन्त
ऐ ऐ बस्ने भगना डगौरा थारु
फैसला भएको मिति : २०४१।४।२९।२ मा
§ अपराधी ठहर गर्न कसुर गरेको हो भन्ने कुराको शंकारहित तवरबाट प्रमाणित भएको हुनु पर्ने ।
(प्रकरण नं. ३१)
पुनरावेद वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
प्रत्यर्थी प्रतिवादी तर्फबाट :
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : सुदुर पश्चिमाञ्चल क्षे.अदालतको मिति ०३९।५।२५ को इन्साफ उपर श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :
२. यही ०३२ साल कार्तिक २५ गते रोज ३ का दिन अन्दाजी १० बजेको टाइममा म मेरो लोग्नेसँगै धान कटनी गर्न गई म र मेरो साथमा मेरा काम गरी बस्ने मगना डगौराको स्वास्नी नाम थाहा नभएको सँगै खाना बनाउनको लागि घरमा आयौं । लोग्ने साधुराम र भगन डगौरा समेतले धान भएको गाडा खेतबाट खर्यानमा ल्याई धान उल्झिई भगना घरमा आएको र मेरो लोग्ने गाडाको भैंसी ल्याई आउँछु भनेको भन्ने मनराखु डगौराबाट थाहा पाएँ । भैंसा ल्याउँछु भनेकोमा भैंसा समेत सोही खरर्यानमा बाँधी राखेको र अरु समयमा पनि बेसमयमा आउने जाने गरेको र आई हाल्ला भन्ने सोची त्यस दिन सुतें भोलिपल्ट बिहान पानी खाने भूल्कामा निज मरिरहेको देखी जाहेर गर्न आएको छु, कारवाही गरिपाउँ भन्ने समेत जोगमाया थरुनीको ०३२।७।२६।४ को जाहेरी दर्खास्त ।
३. १ फीट जति पानीको गहिराईमा साधुरामको लास घोप्टो परेर रहेको हात पाखुरा खुम्चिई छाती च्यापिरहेको अण्डरवियरको पछाडि गुदद्वारदेखि केही माथि मकैको दाना जत्रो रगतको टाटो उक्त कपडामा लागेको नाकबाट केही रगत आएको पेट फुलको गुदद्वाराबाट केही मल निस्केको कन्धामा सानो २,३ वटा घाउ भएको भन्ने समेत ०३२।७।२७।५ को लासप्रकृति मुचुल्का ।
४. ०३२ साल कार्तिक २५ गते राति कैलाली चौमाला गा.पं. वा.नं. ३ बस्ने चतुरभुज बोगटी ऐ. बस्ने भैरवबहादुर लामिछाने, ऐ. बस्ने विगुवा डगौरा थारु आशाराम डगौरा थारु मैतु डगोरा थारु समेत ५ जनाले मिलोमतो गरी मेरो लोग्नेको घाटी थिची मारेको हाल बुझिएकोले कारवाही गरिपाउँ भन्ने समेत ०३२।८।१४।१ को जोगमायाको दोश्रो दर्खास्त परेको र तिनै व्यक्तिले मारेका हुन भन्ने निज जोगमायाले ०३२।८।१७ मा सनाखत समेत गरेको रहेछ ।
५. ०३२।७।२५ गते आफ्नो जग्गा तिकमा पञ्चायतमा थिए । निज साधुरामलाई मैले मारेको होइन, कसले मारे थाहा छैन भन्ने समेत चतुरभुज बोगटीको ०३२।८।१९को बयान कागज ।
६. ०३२।७।२५ गते म घरमै थिएँ । इश्वरीले सिकाएकोले जोगमायाले झुठ्ठा उजूरी दिएको हुन साधु कर्तव्यबाट मरे जस्तो लाग्छ, मैले मारेको होइन कसले मारे थाहा छैन भन्ने समेत भैरवबहादुर लामिछानेको ०३२।८।१९।६ को बयान कागज ।
७. मैले साधुरामलाई मारेको छैन, इश्वरीले सिकाएकोले जोगमायाले झुठ्ठा उजूरी दिएको हुन साधुराम भगनाको आपसमा झगडा भइरहन्थ्यो, भगनाले नै मारेका जस्तो लाग्छ भन्ने समेत विगुवा डगौरा थारुको ०३२।८।२१ को बयान कागज ।
८. साधुराम र भगनाको झगडा भइरहने हुँदा भगनाले मारेका शंका लाग्छ मैले मारेको होइन भन्ने समेत आशारम थारुको ०३२।८।२१।१ को बयान कागज ।
९. ०३२।७।२६ गते म र साधुराम इश्वरी दत्तको धान काट्न गएका थियौँ । साँझ खरियानमा आयौं, म गद्दीमा दारु लिन जाँदा साधुराम खडगराजको साथमा थियो फर्की आउँदा साधुरामलाई देखिन । सुत्न गयो होला भन्ठाने । भोलिपल्ट लाश देखी जाहेर गर्न पठाएको हो मैले मारेको होइन भन्ने समेत मैतु डगोरा थारुको ०३२।८।२९ को बयान कागज ।
१०. खड्गराज जे.टि.ए.र चौमाला स्कूलको माष्टर समेतले मारेको शंका लाग्छ भन्ने समेत मनराखु डगौरा थारुको ०३२।९।४ को बयान ।
११. ०३२ साल कार्तिक २५ गते म आफ्नो घरमा छु, साधुरामसँग मेरो रिसइवी थिएन । कसले मार्यो थाहा छैन भन्ने समेत जे.टि.ए.भक्तबहादुर मल्लले ०३२।९।४ मा गरेको कागज ।
१२. साधरामसँग मेरो रिसइवी थिएन । साधुरामलाई मैले मारेको होइन भन्ने खड्गराज पन्तको ०३२।९।४।६ को कागज ।
१३. ०३२ साल कार्तिक २५ गते स्कूलमा बसी रक्सी र कुखुराको मासु खाएको हो साधुरामलाई मारेको होइन भन्ने समेत नारायणदत्त भट्टको ०३२।९।४।६ को बयान कागज ।
१४. सरजमीनका मानिसले कर्तव्यमा शंका देखाएको सबूत प्रमाणबाट पनि अभियुक्त हुन् भन्ने खुल्न नआएको हुँदा ती अभियुक्तहरूलाई अदालतले खोजी गरेका बखत हाजिर हुने जमानीमा छाडिएको र पछि अभियुक्त पत्ता लागे ज्यान सम्बन्धी महल बमोजिम कारवाही गर्ने भन्ने समेत प्रहरी प्रतिवेदन ।
१५. खड्गराजले आफ्नै साथमा रहेको साधुरामको घाँटी थिची मारेको र आफू बच्नको लागि आफ्नो प्रभावमा रहेका जाहेरवालीलाई सिकाई अन्य ५ जनाको शंका देखाएका हुँदा चस्मदिद गवाह नभए पनि घटना क्रमको आधारमा निज खडगराज पन्तले ज्यान सम्बन्धी १३(३) को अपराध गरेको सिद्ध हुन्छ, तसर्थ निज माथि सोही दफा १३ को देहाय ३ को सजायको माग दावी लिएको भन्दै स.अ.को छुट्टै राय बाझी भई आएको ।
१६. गाउँमा बुझ्दा मेरो लोग्ने लाही चतुर्भुज समेतले मारेको होइन खड्गराज पन्त र भगना डगौरा मिली मारेको हुन निजहरूमाथि कारवाही गरिपाउँ भन्ने समेत जोगमाया थरुनीको ०३४।३।१ को अदालतमा भएको बकपत्र ।
१७. साधुराम र म समेत ईश्वरी दत्त खड्गराजको कमैयाही साधुरामलाई कसले मार्यो थाहा छैन, प्रहरीमा भएको कागज स्वच्छाले गरेको होइन भन्ने समेत मनराखु डगौराले अदालतमा गरेको कागज ।
१८. प्रहरी चौकी चोमालामा हवल्दारले भगनालाई पक्री बयान गराउँदा साधुरामलाई म र मेरै किसान खड्गराज पन्तले मारेको हो भनी भनेकोले थाहा पाएको हुँ । मृतकलाई मार्ने खड्गराज र भगना उपर नै शंका लाग्छ भन्ने समेत सरजमीनका मुल्लीराना थारु समेतको २१ जना सरजमीनहरूले अदालतमा एकै मिलानको बकपत्र गरेको ।
१९. चतुरभुज समेतका ५ जनाले मृतकलाई मारेको हुनुपर्छ, म प्रहरीमा सावित भएको समेत होइन म र खड्गराजले मारेका होइन भन्नेसमेत भगना डगौराले अदालतमा गरेको बयान ।
२०. म र भगनाले मारेको होइनौं चतुरभुज समेतका ५ जनाले मारेको हुनुपर्छ भन्ने समेत खड्गराज पन्तको अदालतमा भएको बयान ।
२१. चतुरभुज समेत ५ जना उपर शंका लाग्छ खडगराज समेत उपर झुठ्ठा पोल गरेको हुन् खड्राज समेतले मृतकलाई मारेको होइन भन्ने समेत इश्वर दत्त पन्तले अदालतमा गरेको बयान ।
२२. जाहेरवाला इश्वरीदत्तको नोकरनी भएको र इश्वरी दत्त मेरो झगडिया भएकोले म उपर झुठ्ठा उजुरी दिन लगाएको हो, साधुरामलाई मार्नमा खडगराज र भगना माथि नै शंका लाग्छ भन्ने समेत चतुरभुज बोगटीले अदालतमा गरेको बयान ।
२३. जाहेरवालीले इश्वरी दत्तको सिकाईमा लागी म समेत उपर झुठ्ठा पोल उजुर गरेकी हो खड्राज पन्त र भगना समेतले मारेकोमा शंका लाग्छ भन्ने समेत आशाराम डगौराले अदालतमा गरेको बयान ।
२४. इश्वरी दत्तको र मेरो किसानको झगडा हुँदा सोही रिसइवीबाट म समेत उपर झुठ्ठा पोल गरेको हो, मृतकलाई मार्नेमा खडगराज भगना उपर शंका लाग्छ भन्ने समेत मैतु डगोरा थारुले अदालतमा गरेको बयान कागज ।
२५. म र मेरो किसानले मारेको हो भनी हवल्दार समक्ष सावित भएकोले समेत भगना समेत उपर शंका लाग्छ रिसइवीले म उपर झुठ्ठा जाहेरी दिएको हुन् भन्ने समेत भैरवबहादुर लामिछानेले अदालतमा गरेको बयान ।
२६. सरजमीनका समेत व्यक्तिले गरेको बकपत्र तथ्य रहित निराधार भएको प्रतिवादीहरू अदालत र प्रहरीमा समेत स्पष्ट इन्कार रहेको तथ्य सत्य भन्न सकिने अन्य सबूत प्रमाणको पूर्णत अभाव रहेको हुँदा सजाय गर्न न्यायोचित नहुँने हुँदा प्र.खड्गराज र भगना समेतले सफाई पाउने ठहर्छ भन्ने समेत ०३७ श्रावण २३ गतेको कैलाली जिल्ला अदालतको फैसला ।
२७. सो फैसला उपर श्री ५ को सरकार तर्फबाट सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा अ.बं.२०२ नं. बमोजिम बिपक्षी झिकाउने आदेश भई खडगराज भगनाले मारेको हो भन्ने तथ्यको पुष्टि हुने सारभूत सबूत नदेखिएकोले ज्यान जस्तो गम्भीर सजाय हुने कसुरुदार ठहर्याउन न्याय संगत नहुने हुँदा सफाई दिने ठहर्याएको जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने समेत सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।५।२५।६ को फैसला ।
२८. उक्त क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारबाट यस अदालतमा पुनरावेदन पर्न अएको रहेछ ।
२९. पुनरावेदकतर्फबाट वहस गर्न उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्र.भगनाको मृतकसँग रिसइवी भएको भन्ने कुरा मिसिलबाट समर्थित भइरहेको मृतक प्र.हरूको साथमा रहेको भन्ने कुरामा पनि पुष्टी भइरहेको र प्रहरूले आफ्नो साथबाट यो यतिबेला आफ्नो घर गयो भनी खुलाउन नसकेको समेत कारणबाट प्रतिवादीहरूलाई शुरु जिल्ला अदालत तथा क्षेत्रीय अदालतले सफाई दिएको मिलेको छैन उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
३०. प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई सफाई दिने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो तर्फ निर्णय दिनुपर्ने हुन आएको छ ।
३१. यसमा निर्णयतर्फ हेर्दा जाहेरीमा किटान गरिएका व्यक्तिहरू उपर सरजमीनले शंका नदेखाएको र सबूत प्रमाणबाट अभियुक्त हुन भन्ने खुल्न नआएको हुँदा पछि अभियुक्त पत्ता लागे कारवाई गर्ने भन्ने प्रहरीको र घटनाक्रमको आधारमा खडगराज पन्तले ज्यान सम्बन्धीको १३(३) को अपराध नगरेको सिद्ध हुँदा कारवाई गरिपाउँ भन्ने स.स.अ.को छुट्टै राय भई प्रहरी प्रतिवेदन परेको देखिन्छ । जाहेरी दर्खास्तबाट प्रतिवादी खड्गराज उपर अपराधी भनी किटान गरेको देखिँदैन प्रतिवादी खडगराज पन्त र भगना अपराध गरेमा इन्कार रही अदालतमा बयान गरेको पाइन्छ । सरजमीनका व्यक्तिहरूले प्रतिवादीहरूले नै साधुरामलाई यस किसिमसँग कर्तव्य गरी मारेको हो भनी किटान साथ लेखाउन र अदालतमा बकपत्र गर्न सकेको देखिँदैन । अपराधी ठहर गर्न कसुर गरेको हो भन्ने कुराको शंकारहित तवरबाट प्रमाणित भएको हुनुपर्छ । तर प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अपराध गरेको देख्ने चस्मदिद गवाह कोही देखिँदैन । तथ्ययुक्त सबूत प्रमाणको अभावमा प्रतिवादी हरूलाई अपराधी ठहर गर्न न्यायसंगत नहुँदा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी खडगराज भगनालाई सफाई दिने ठहराई कैलाली अदालतले गरेको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल श्रावण २९ गते रोज २ शुभम् ।