July 25, 1984
Created by nepalarchives

निर्णय नं. २०४६ – ज्यान

निर्णय नं. २०४६   ने.का.प. २०४१           अङ्क ७ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश धनेन्द्रबहादुर सिंह सम्वत् २०४० सालको डि.फौ.सा.नं....

निर्णय नं. २०४६   ने.का.प. २०४१           अङ्क ७

डिभिजन बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश धनेन्द्रबहादुर सिंह

सम्वत् २०४० सालको डि.फौ.सा.नं. १३०

मुद्दा : ज्यान

वादी :   झपटसिंह आलेमगरको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : रामेछाप जिल्ला गागल्टार गा.वा.पं. वा.नं. १ पिखरी बस्ने श्री सुरवीर तामांग

फैसला भएको मिति :   २०४१।४।१०।४ मा

§  कुटपीट गरी मारेको भनी प्रतिवादीको नाम किटान साथ लेखेको देखन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय गरेको फैसला मनासिव ठहर्ने ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : x

विपक्षी तर्फबाट : x 

उल्लेखित मुद्दा : x

 

फैसला

          प्र.न्या. नयनबहादर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मूलुकी ऐन अ.बं.१८६ नं. अनुसार साधक निकासाका लागि यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

          २.  २०३१।१।२५ का दिन भोटनागीमा लाग्ने जात्रा हेर्न मेरो माइली आमा पट्टीको माइलो छोरा खेकसिं आलेमगर समेत गएको थियो सो जात्रामा मासु चिउरा किनी खेकसिं, निजको सासु नन्दमाया, साला नरबहादुर, भतिजा, भाइ छत्रध्वज, लालबहादुर समेत बसी खाजा खान लागेको अवस्था पहलमान तामाङ, चक्रबहादुर तामाङ, कान्छा तामाङ, डिकमान तामाङ, पदमबहादुर तामाङ, सुरवीर तमाङ, च्यान्टे तामाङ, म्याउचे ग्वावा तमाङ, कोडे भन्ने पहलमान घर्ती, तुले पुलामी समेत जवान ११ ले खेकसिंको कान्छा बाबुको छोरी धनमायाको सुन चूरा अन्याय कौडेले लुटेको कुरामा धनमायाले दोरम्वा चौकीमा उजूर गरी धनमाल दिलाई दियो भन्ने इवी लिई पहले घर्ति, कालु घर्ति समेतले बचन दिई सबै विपक्षीहरूले कुटपीट गरेछन् म घरमा नै छु सोही चोटपिरबाट खेकसिं मरेकोले रुँगालु राखी जाहेर गर्न आएको छु । अपराधीहरूलाई पक्राउ गरी सो मर्नेको लास जाँची विपक्षहरूलाई ज्यान सम्बन्धी ऐन अनुसार सजाय गरिपाउँ भन्ने झपटसिंह आलेमगरको जाहेरी दर्खास्त पत्र ।

          ३.  भोटनागीमा देउराली मूल बाटोदेखि पूर्व, अङगेरीको रुखदेखि उत्तर चौतारादेखि दक्षिण, गोरेटी बाटोदेखि पश्चिम यति ४ किल्लाभित्रको भोटनागी भन्ने स्थान नन्दमायाको बारी डिलदेखि पश्चिम, ओमबहादुरको बारी साँधदेखि दक्षिण जंगबहादुरको घरदेखि उत्तर, हेमबहादुर मगरको बारी साँधदेखि पूर्व यति ४ किल्ला भित्र बनेको नन्दमायाको घरमा रहेको खेकसिंको लास उत्तरपट्टि टाउको दक्षिण गोडा भई पश्चिमउत्तरतर्फ कोल्टो भई देब्रे गोडा थिचिएको, दाहिने गोडा केही तन्के जस्तो भई जमीनमा पैतालाले टेकेको बर्कोले टाउकोदेखि गोडासम्म ढाकेको दाहिने घुँडा केही देखिएको, दाहिने हात उत्तानो जमीनमा पछारिएको, टाउको निर मुख छेउमा बर्कोमा कालो टाटा भई रगत हडेलो पानीले भिजिएको देब्रे हात बर्कोले छोपिएको, लाशले पेटी गन्जी लगाएको, धोति पटुका बाँधेको, रातो अन्डरपेन लगाएको, दाइने नाडी कुइना माथि भाँचिएको, टाउकाको दाहिनेपट्टि कानमाथि ४ इन्च लम्बाई २ इन्च जति गोलाई २ इन्च गहिराई भएको रगत हडेलो पानी बगिरहेको घाउ देखिएको देब्रे हात साबुतै देखिएको, गोडा उत्तानो कोल्टो भई हातखुट्टा सुन्निई कम्बरले भुईमा टेकेको, हातगोडा आकाशतर्फ उठेको, सो घाउदेखि मूनि सर्वाङ्ग किराऔंसा परी सडीगलीसकेको, सर्वाङ्ग जिउ फोकाउठी कालोनिलो भई सडिसकेको, ढाडमा हरियो भई कुही कीरा औंसामात्र देखिएको भन्ने समेत मिति २०३१।२।१।३ को लाशप्रकृति मुचुल्का ।

          ४.  २०३१ साल बैशाख २५ गते भोटनागी जात्रामा गएको सो दिन मर्ने खेकसिंलाई इमानसिंले पहिला टाउकामा हिर्कायो त्यसपछि सुरवीरले कुममा हिर्काएपछि खेकसिं बेहोस भई लडे सोही चोटपिरबाट मरेका हुन् भन्ने दफा १, सो दिन जात्रामा गएका थियौँ मर्ने खेकसिंलाई भक्तबहादुरले पहिला चोट छाडेपछि अरु अभियुक्त सुरवीर, पहले, काले समेतले कुटपीट गरेको हो भन्ने दफा २, भक्तबहादुरले हिर्काएपछि अरु ११ जनाले कुटपीट गरेका हुन भन्ने दफा ३, नाम थाहा नभएका मानिसले कुटेको देखेको भन्ने दफा ४, सुरवीरले हिर्काएपछि इमानसिं, भक्तबहादुर समेत १२ जनाको हुलले कुटपीट गरेको हो भन्ने दफा ६, कुटपीट गरेको देखेको हो भन्ने दफा ११ र कुटपीट गरेको सुनेका हौं भन्ने समेत अन्य दफाका मानिसहरूले समेत बकी लेखाई दिएको ०३१।२।३।५ को सरजमीन मुचुल्का ।

          ५.  जाहेरीमा लेखिएका जवान ११ र जाहेरीमा उल्लेख नभएको बले तमाङ समेत भई कुटपीट गरी निजहरूकै कुटाईको दर्दबाट भोलिपल्ट २६ गते खेकसिं मरेको हो भन्ने समुच्चा सरजमीनका मानिसहरूले लेखी दिएको र मौका अनुसन्धान हुँदा उपरोक्त अभियुक्तहरू खोजतलास गर्दा फेला नपरी भागेको पहलमान, चक्रबहादुर भन्ने भक्तबहादुर नाम नजानेको कान्छा भन्ने बुद्धिबहादुर, डिकमान पहलमान भन्ने पद्मबहादुर, सुरवीर माउचे, कौडे भन्ने पहलमान, कालुमान, तले, बले समेतका मानिहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १३ नं. को देहाय ३ बमोजिम कारवाही हुन प्रस्तुत गर्ने भन्ने समेत २०३१।२।१४।२ को प्रहरी प्रतिवेदन ।

          ६.  टाँसिएको म्यादै गुजारी बसेबाट हाजिर हुन आए वा पक्राउ भई आएका बखत कारवाही किनारा गर्ने गरी अ.बं.१९० नं. अनुसार प्र.सुरवीरका हकमा समेत मुलतवीमा राख्ने र हाजिर भएका प्रतिवादीहरूका हकमा रामेछाप जिल्ला अदालतबाट ०३१।८।२३।१ मा जाहेरी फैसला भएको रहेछ ।

          ७.  फरार रहेका प्रतिवादी सुरवीर तामाङलाई पक्राउ गरी प्र.जि.का.रामेछापका ०३६।११।२९ का पत्रसाथ दाखिल हुन आई रामेछाप जिल्ला अदालतका २०३७।४।२२ का आदेशबाट प्र.सुरवीरको हकमा मुलतवीबाट जगाई कारवाही शुरु भएको रहेछ ।

          ८.  २०३० साल फाल्गुण १४ गतेका दिन नोकरी गर्न भनी घरबाट भारततर्फ गई कलकत्ता पुगी इण्डियन मोटर कम्पनीमा चौंकीदारमा भर्ना भई २०३५ साल माघ सम्म बसी सोही माघ ११ गते मात्र म मेरो घर गागलमा आइपुगेको हुँ । २०३१ साल बैशाख २५ गते म गाउँघरमा नभई कलकत्तामा छु, भोटनागीमा बैशाख चण्डीपूर्णिमामा जात्रा लाग्छ, २०३१ सालमा कति गते जात्रा लाग्यो म नभएकोले थाहा छैन । म गाउँघरमा नभएकोले २०३१ साल बैशाख २५ गते भोटनागीमा गएको छैन । मर्ने खेकसिंलाई मैले चिनेको पनि छैन । कुटपीट गरेको पनि छैन । मैले मारेको पनि होइन, २०३५ साल माघमा घरमा आउँदा म्याद आएको कुरा मलाई कसैले भनेनन् अदालतबाट म्याद जाँदा म घरमा नभएकोले थाहा छैन २०३५ साल माघमा घर आई २ दिन बसी फेरि कलकत्ता गएर वहाँको हिसाब गरी रुपियाँ लिई २०३६ साल फाल्गुण २० गते काठमाडैंमा आई जनता कन्टेक्शन कम्पनीमा पेटीकन्टेक्ट काम गरी बसेको ०३६।११।२३ गते जाउलाखेलमा कुल्लीहरूलाई काम लगाई रहेको अवस्था काठमाडौं प्रहरीले पक्राउ गरी रामेछापमा पठाएकोले बुझ्दा खेकसिं मरेको ज्यान मुद्दामा अभियोग लगाई म्यादमा हाजिर नभएको भनि फरारमा रहेको भन्ने कुरा थाहा पाएको हुँ, मैले खेकसिंलाई कुटपीट गरेको र मारेको समेत होइन, कसले कुटे मारे थाहा छैन । २०३१।२।२५ गते घरमै नभएको, जात्रामा नै नभएको व्यक्तिलाई किन मुद्दा चलाए थाहा छैन । जाहेरी सरजमीनमा रिसइवी परेका मानिसले सिकाई मेरो नाम समेत हालेका होलान । मेरा उपरको उजुरी दावी झुट्टा हो मैले कसूर गरेको छैन मेरा साक्षी सबूत बुझी सफाई पाउँ भन्ने समेत अभियुक्त सुरवीर तमाङले २०३७।४।२३ मा अदालतमा गरेको बयान।

          ९.  २०३१ साल बैशाख २६ गते भोटनागीमा खेकसिंलाई प्र.सुरवीर समेतले कुटपीट गरी मारेका हुन भन्ने समेत धनमाया, रुद्रबहादुर, डम्बरकुमारी, देउमाया समेत वादीका साक्षीको बकपत्र।

          १०.  २०३१ साल बैशाख २५ गते प्र.सुरवीर घर गाउँमा नभई कलकत्तामा हुँदा सुरवीरले खेकसिंलाई कुटपीट गरी मारेको होइन भन्ने समेत प्रतिवादी सुरवीरको साक्षी सुर्जमान, तानदोर्जे, जितबहादुर, उमलसिं, मकरध्वज मानध्वज तमाङ समेतले बकेको बकपत्र ।

          ११.  २०३१ साल बैशाख २५ गते मर्ने खेकसिंलाई प्र.सुरवीर समेतले हिर्काई खेकसिं भोलिपल्ट मरेका हुन भन्ने समेत अकलसिं, डम्बरबहादुर, पदमबहादुर, सुरसिं र खेकसिंलाई कुटपीट गरे भन्ने कुरा सुनेको हुँ भन्ने समेत रहरसिं, कामी तामाङ समेत वादी पक्षका साक्षीहरूले २०३७।७।२९ मा गरेको बकपत्र ।

          १२.  सुरवीर तमाङ ठोस सबूद प्रमाणबाट कर्तव्यवाला देखिन नआएकोले प्रर्याप्त प्रमाणको अभावमा कसुरदार ठहर्‍याउन न्यायोचित नहुने हुँदा प्रहरी प्रतिवेदन दावीसँग सहमत हुन सकिएन, प्रतिवादी सुरवीर तामाङले सफाई पाउने ठहर्छ भन्ने मिति ०३८।३।१६।३ को रामेछाप जिल्ला अदालतको फैसला ।

          १३.  प्रतिवादी सुरवीर तामाङले आफू वारदातको समयमा अन्य स्थानमा रहेको कुरा प्रमाणित गर्न नसकेको र चस्मदिद गवाहहरूले मर्ने खेकसिंलाई इमान सिंह, सुरवीर तमाङ समेतले लौरोले चोट छोडेपछि निज मृतक भुईमा लडेपछि अरु प्रतिवादीहरू भागी गएका हुन् भनी किटानीसाथ बकपत्र गरेबाट निज सुरवीर तामाङले छोडेको चोटबाट खेकसिंको कर्तव्यबाट मृत्यु हुन आएको देखिएकोले निजलाई सफाई दिने ठहराएको शुरु फैसला गल्ती हुनाले बदर हुन्छ । अरु साङघातिक प्रहारबाट मृत्यु भएको हो भन्न शवपरीक्षण प्रतिवेदन नभएबाट पुष्टी हुन नआएको चोट छाडने प्रतिवादी सुरवीर तामाङलाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार जन्मकैदको सजाय हुन्छ भन्ने समेत मिति ०३९।१२।८।३ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          १४. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको उपरोक्त फैसला साधक जाँचको लागि यस बेञ्च समक्ष पेश हुन आएको हुनाले सो फैसला ठीक बेठीक के हो भन्ने निर्णय गर्नु परेको छ । यसमा मर्ने खेकसिं कर्तव्य परी मरेको भन्ने कुरा लाशजाँच मुचुल्काबाट देखिन आएको छ । प्रतिवादी सुरवीर तामाङले आफू वारदातको समयमा कलकत्तामा रहेको थिएँ भने पनि सो अन्यत्र रहेको कुराको विश्वसनीय प्रमाण गुजार्न सकेको छैन । अदालतमा आई बकपत्र गर्ने सरजमीनका व्यक्तिहरू धनमाया, डम्बरकुमारी, देवमाया समेतले वारदातको स्थानमा प्रतिवादी सुरवीर तमाङ समेतले मर्ने खेकसिंलाई लौराले हिर्काएको आफ्नै आँखाले देखेको र सोही चोटले निज खेकसिं मरेको हो भनी किटानी साथ बकपत्र गरेको देखिन्छ । यसका साथै जोहरवाला झपटसिंह आलेमगरको जाहेरीमा पनि सुरवीर तामाङ समेतका व्यक्तिले मृतक खेकसिंहलाई कुटपीट गरी मारेको भनी प्रतिवादीको नाम किटानसाथ लेखेको देखिन्छ । तसर्थ प्रतिवादी सुरवीर तामाङलाई ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०४१ साल श्रावण १० गते रोज ४ शुभम् ।