निर्णय नं. २०२६ – उत्प्रेषण
निर्णय नं. २०२६ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् ०३९ सालको रि.नं....
निर्णय नं. २०२६ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् ०३९ सालको रि.नं. १४६८
विषय : उत्प्रेषण
निवेदक : का.न.पं. ११ थापाथली बस्ने बाबुकाजी फैजु
विरूद्ध
विपक्षी : श्री प्रधानपञ्च का.न.पञ्चायत
का.न.पं. ११ बस्ने शकुन्तला देवी अग्रवाल
आदेश भएको मिति : २०४१।६।३।४ मा
§ पक्ष विपक्षको बीच विवाद उठेकोमा पक्षहरूले उठाएको प्रश्न र पेश गरेको प्रमाणहरूको विवेचना गरी निर्णयका आधार समेत प्रष्ट रूपमा उल्लेख गर्नुपर्ने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : विपक्षी प्रधानपञ्चले गर्नुभएको ०३९।११।१२।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदन ०३९।१२।११।६ मा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् ।
२. पूर्व १७ फिट आफ्नै जग्गा सो देखि पूर्व ५ को बाटो पश्चिम सोही ठाउँ बस्ने वंशी ओझेनीको जग्गा उत्तर १५ आफ्नै जग्गा सो देखि उत्तर मूल सडक दक्षिण २’ २” आफ्नै जग्गा र सो देखि दक्षिण चौडाइ १२’ को म समेतको साझा बाटो यति ४ किल्ला भित्रको का.नं. पं. वार्ड नं. ११ अन्तर्गत थापाथलीको जग्गामा घर बनाउन पाउँ भनी मेरो अचल सम्पत्तिलाई समेत आफ्नो हो भन्ने झुठ्ठा व्यहोराको नक्सा दर्खास्त विपक्षी शकुन्तला अग्रवालले विपक्षी न.पं.मा दिनुभएछ । विपक्षीको नक्सा दर्खास्त बमोजिम दक्षिणतर्फ २’ २” जग्गा विपक्षीको छँदै छैन । मैले बनाई राखेको पर्खाल छ विपक्षीले यसै जग्गा समेतमा नक्सा पास गराउन दर्खास्त गर्दा छोरा हरिगोपालको उजूर परेकोमा तारेख पैरवीमा रहन नसक्ने बाट नक्सा दर्खास्त नै खारेज गर्ने ठहर्याई नक्सा फाँटबाट निर्णय भएको छ । मेरो दर्खास्तलाई समेत लोपै गराई नक्सा दर्खास्त किल्ला भित्र पारी बाटो विपक्षीको नभएकोलाई भएको भन्ने झुठ्ठो व्यहोरा लेखी दिएको नक्सा दर्खास्त पास हुनु पर्ने होइन भनी उजूरी निवेदन गरेकोबाट तेरो मेरो परी हक बेहक छुट्याउनु पर्ने प्रष्ट देखिएकोलाई विपक्षीवादीको नक्सा बमोजिम घर बनाउने ठहर्याई विपक्षी प्रधान पञ्चबाट ०३९।११।१२।५ मा फैसला भएको छ । हक बेहक तेरो मेरो परेको हुनाले न.पं.ऐन, २०१९ को दफा ४९(२) बमोजिम अदालतबाट हक बेहक गराई ल्याउनु भनी सुनाउनु पर्नेमा नसुनाइ नक्सा पास गर्ने ठहर्याएको निर्णय अ.बं.३५ नं. ले बदरभागी भई प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि हुन गएको छ, जग्गा सर्भे नाप जाँच हुँदा मेरो र छोरा हरिगोपालको नाउँमा कि.नं. ९०, ९२ मा दर्ता भएको छ । विपक्षीको भनाई अनुसार विपक्षीको हकको बाटो देखिएको छैन । घर बनाउनेको ३ नं. अनुसार विपक्षीले आफ्नो बाटो हो भन्न कदापि पाउने होइन विपक्षीको बाटो पूर्वतर्फ छुट्टै छ । २०३२ सालमा नक्सा दिँदा दक्षिण केवल बाटो मात्र गनिएकोमा आफू समेत साझा भनिएबाट झुठ्ठा कुरा लेखेको छ यदि दक्षिणतर्फको बाटो विपक्षी शकुन्तला समेत भए ०३२ सालमा नै साझा लेखिएको हुनु पर्नेमा छैन साझा लेखिएको झुठ्ठा देखिएकोमा शकुन्तलालाई नक्सा पास गरिदिने ठहर्याएको निर्णयबाट मेरो हक हनन भएकोले उत्प्रेषणको आदेश जारी गरी विपक्षी प्रधानपञ्चले ०३९।११।१२ मा गर्नुभएको निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदकको जिकिर रहेछ ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ आएपछि पेश गर्नु भन्ने ०३९।१२।१३।१ को यस अदालतको सिंगलबेञ्चको आदेश ।
४. साँधको जग्गाबारे अदालतबाट निर्णय गराई माग्न सम्बन्धित र मर्का पर्ने पक्षहरू स्वयं अदालतमा जान सक्ने भएको र घर बनाइने खास जग्गामा विवाद नभएको हुनाले यस पञ्चायतले साधारण किसिमले नक्सा पास गरी दिएको सम्म हो पञ्चायतले २’ २” जग्गा र बाटो विषय कुनै हक बेहकको निर्णय गरेको छैन । आवश्यक आधारहीन कानून विपरीतको विपक्षीको निवेदन खारेज हुनुपर्छ भन्ने का.न.पं.का लिखितजवाफ रहेछ ।
५. म प्रत्यर्थीको घरको नक्सा पास गरी दिने भनी का.न.पं.ले ०३९।११।१२ को फैसलाले रिट निवेदकको कुनै मौलिक तथा कानूनी हक हनन हुन गएको छैन । बुझ्नु पर्ने प्रमाण बुझी कानूनबमोजिम गरेको फैसला बदर हुनु पर्ने होइन भन्ने शकुन्तलादेवी अग्रवालको लिखितजवाफ रहेछ ।
६. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको रिट निवेदकको वा सूर्यभक्त फैजुलाई तीनपटकसम्म पुकारा गर्दा बेञ्च समक्ष उपस्थित नभएको र विपक्षी वंशी ओझनीको वा.विष्णुराज र का.न.पं.का वा सिवध्वज थापालाई रोहवरमा राखी रिट निवेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले आफ्नो बहसको सिलसिलामा संशोधन सहित नगरपञ्चायत ऐन, ०१९ को दफा ४८(२) ले हक बेहकको प्रश्न उपस्थित भएमा अदालतमा जानु भनी सुनाउने कानूनी व्यवस्था छैन भन्ने समेतको जिकिर गर्नुभयो र विपक्षी का.न.पं.को तर्फबाट विद्वान व. अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरको बहस जिकिर समेत सुनियो।
७. प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनपर्ने नपर्ने के रहेछ । निर्णय दिनुपरेको छ ।
८. यसमा म समेतको डिभिजन बेञ्चबाट निवेदक चैतमाया सुवाल्नी विपक्षी जि. पं.का.काठमाडौं समेत भएका मुद्दामा सकार गर्न नपाउने कारणबाट ०३९।३।७।२ मा रिट निवेदनपत्र खारेज गर्ने निर्णय गरेकोमा चैतमाया सुवालनीको मु.स.गर्ने श्री राधेश्याम सुवालले न्यायिक समितिमा निवेदनपत्र दिई मुद्दा दोहोर्याउने हुकुम प्रमांगी बक्स भई आएपछि सूचनाको म्यादभित्र हाजिर हुन नआएको कारणबाट ०४१।५।३ मा फुल बेञ्चबाट तामेलीमा राख्ने निर्णय भएको देखिन्छ ।
९. निवेदक सानुमाया श्रेष्ठ उत्तमलाल मरी मु.स.गर्न ऐ बस्ने चन्द्रिका श्रेष्ठ विपक्षी का.न.पं.समेत भएको ०३७ सालको रि.फु.नं. ४९ को मुद्दामा फुल बेञ्चबाट निर्णय हुँदा घर बनाउने जग्गामा तेरो मेरो परी हक बेहक छुट्याई आएमा पछि मात्र नक्सा पास गर्न पर्नेमा सो बमोजिम नगरी साझा बाटो कायम गरी नक्सा पास गरिदिने गरेको निर्णय त्रुटिपूर्ण हुने भनी निर्णय भएको पाइन्छ ।
१०. उपरोक्त मुद्दाहरूको सन्दर्भमा विचार गर्दा सकार गरेको विषयलाई अमान्य नगरी फुल बेञ्चबाट कारबाही किनारा भएको देखिएकोले निवेदक बाबुकाजीको मु.स.निजको हकदार दैयादारले गरेको मिल्दैन भन्न मिलेन ।
११. पूर्व १७—० आफ्नो जग्गा सो देखि पूर्व ५—० चौडाको बाटो पश्चिम सोही ठाउँ बस्ने वेशि औझनीको जग्गा उत्तर १५—० आफ्नै जग्गा र सो देखि उत्तर १००—० चौडाको सडक देखिन २—२ आफ्नै जग्गा र सो देखि दक्षिण १२—० चौ.को म समेतको साझा बाटो यति ४ किल्लाभित्र का.न.पं.११ वडा अन्तर्गत का.जि. थापाथलीको जग्गा मेरो नाउँमा ३ नं. नापी टोलीमा दर्ता भएको म आफैं मोही भई कमाई आएको कि.नं. ८०५ को जग्गा रोपनी ०–४–१–३ मध्येको जग्गामा तल्ला ३ को कोठा ८ आर.वि.सि.ढलान गरी माटोले गारो जोडि नेपाली ढाँचाबाट उत्तर मोहडा गरी साईट प्लानमा देखाएको ठाउँमा नक्सा बमोजिम घर बनाउन पाउँ भन्ने का.न.पं.मा शकुन्तलादेवी अग्रवालको निवेदन परेको र विपक्षीको नक्सा दर्खास्त बमोजिम दक्षिणतर्फ विपक्षीको २–२ जग्गा छैन कम जग्गा छ सो जग्गादेखि दक्षिण मैले अघि नै बनाएको पर्खाल छ र सो देखि पनि दक्षिणमै सो जग्गामा म तथा मेरो छोरा हरिगोपाल फैजुको घरमा आउने जाने बाटो बनाई राखेको हामीहरूको मात्र हक लाग्ने बाटोको हामी बाबु छोरा जना २ को मात्र जग्गालाई साझा बाटो भनी मेरो पर्खाल समेत लोप गराई दक्षिणतर्फ खुला झ्याल समेत राख्ने उद्देश्यले कानून विपरीत दिनुभएको नक्सा दार्खास्त बमोजिम घर बनाउन दिने मेरो मञ्जूर नहुँदा पर्खाल र बाटो मेरै कायम गरी विपक्षीको बन्ने घरमा दक्षिणतर्फ खुला झ्याल राख्न नपाउने गरी विपक्षको नक्सा दर्खास्त बमोजिम घर बनाउन नक्सा पास रोकी पाउँ भन्ने समेत बाबुकाजी फैजुको प्रतिवाद भएको देखिन्छ ।
१२. यिनै पक्ष विपक्षको बीच विवाद उठेकोमा पक्षहरूले उठाएको प्रश्न र पेश गरेको प्रमाणहरूको विवेचना गरी निर्णयको आधार समेत प्रष्टरूपमा उल्लेख गर्नु पर्ने र हक बेहक गर्नुपर्ने देखिन आएमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा यी कुनै कुरा नगरी वादी शकुन्तलादेवी लेखिएको नक्सा बमोजिम घर बनाउन पाउने नक्सा पास गरी दिने भन्ने का.न.पं.को ०३९।११।१२ को निर्णयमा न्यायिक मनको अभाव देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरिदिएको छ । अब पुनः कानूनबमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश समेत काठमाडौं नगरपञ्चायतको नाउँमा दिने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाई नियमबमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. त्रिलोकप्रताप राणा
इति सम्वत् २०४१ साल असोज ३ गते रोज ४ शुभम् ।