निर्णय नं. २०२५ – ज्यान
निर्णय नं. २०२५ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको...
निर्णय नं. २०२५ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको फौ.पु.नं. ४२८
फैसला भएको मिति : २०४१।६।१।२ मा
पुनरावेदक/वादी : चन्द्रबहादुर थापाको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : स्वीजरलैण्ड निवासी पिरे एनेकसडी च्यानूड
मुद्दा : ज्यान
§ कर्तव्य गरी मारेको भन्ने सबूत प्रमाणको अभावमा किटानी गर्न नसकिने ।
(प्रकरण नं. १४)
पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार
प्रत्यर्थी प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं संक्षिप्त जिकिर यस प्रकार रहेछ ।
२. महीनाको रु.५०। भाडामा १ जना विदेशी बसेको कोठमा ०३५।३।१४ गते १ जना स्वास्नी मानिस मरी राखेको अवस्थामा फेला परेकोले निज विदेशी उपर कारबाही गरिपाउँ भन्ने चन्द्रबहादुर थापाको ०३५।३।१५ को जाहेरी ।
३. उक्त कोठामा मर्ने नाउँ गाउँ थाहा नभएकी अं.वर्ष २४ को नेपाली स्वास्नी मानिस मरी रहेकी र निजको हात गोडाका नङ र पूरा जिउ निलो भएको, मुत्रद्वारबाट रगत बगिरहेको कोठामा विभिन्न किसिमको औषधीहरू समेत बरामद भएको भन्ने लाश प्रकृति मुचुल्का ।
४. ०३५।३।१३ गते झोछेंतर्फ घुम्दै जाँदा फेम्ली होम लजमा निज मर्ने केटी छन् भने कुरा थाहा पाई जाँदा सो कोठामा फ्रेन्च नागरिक सुजर रूजी भन्ने र सुजी नेपाली केटी समेत रहेछन् त्यस ठाउँमा गई मर्फिङ्ग इन्जेक्सन बनाई मैले पनि लाएँ निज सुजीले पनि लिइन बेलुकी ६ बजे त्यहाँबाट आफ्नै डेरामा हामी दुवैजना आई पुग्दा रातको ९ बजेको थियो कोठामा आई हामी दुवैको बीच करणी लिने दिने काम भयो । अनि मैले २५० मि.ग्रा.को इन्जेक्सन बनाई म आफैंले लिएँ सो लिएको चिज सुजीले देखि म पनि इन्जेक्सन लिन्छु भनी १०० मि.ग्रा.को इन्जेक्सन निजलाई पनि दिएँ अनि पुनः करणी लिने दिने भयो राति अं.१२, १ बजे सुत्यौं र भोलिपल्ट ०३५।३।१४ गते निज सुजीको जिउ सितांग भएकोले कोठामा ताला लगाई मोटर लिन भनी गएँ मोटर नआउने हुँदा फर्की कोठामा आउँदा निज मरी सकेकी रहिछन् निज मर्नाको कारण मर्फीङ इन्जेक्सनको बढी डोजबाट हुन सक्छ म आफूले मरफिङ र एम.फिटामिन मिलाई इन्जेक्सन दिन थालेको ७ वर्ष भयो भन्ने मिष्टर एनेकसडी च्यानूडको ०३५।३।१६ मा प्रहरी अधिकृत समक्ष भएको बयान ।
५. रसायनिक एवं सूक्ष्मपारदर्शक यन्त्रिक परीक्षणको प्रतिवेदन प्राप्त नभई केटीको मृत्युको कारण यकीन गर्न नसकिने भन्ने पोष्टमार्टम रिपोर्ट ।
६. सुजी मर्फिङ्ग इन्जेक्सनबाट मात्र मर्न असम्भव र निज पिरेले आफ्नो डेरामा मर्फिङ्ग एम फिटामिन मिलाई इन्जेक्सन दिँदा मर्न गएको हुन सक्छ भन्ने सोरा सज रजिमेरी कल्डको बयान ।
७. निज विदेशी जाहेरवाला चन्द्रबहादुरको घरमा डेरा गरी बसेको हुन भने केटीलाई कुन मितिमा ल्याएर के कस्तो परिबन्दबाट मर्न गइन र निजको नाउँ गाउँ के हो थाहा छैन ०३५।३।१४ गते निज पिरेको कोठामा मरी राखेको देखेका छौं निजको कोठामा विभिन्न औषधीहरू बरामद भएको हुँदा र लासको गती हेर्दा कुनै विषालु औषधिद्वारा मृत्यु भएको हुन सक्छ भन्ने विभिन्न मानिसहरूको भनाई भएको ०३५।३।२५ को सरजमीन मुचुल्का समेतबाट निज पिरेले अं.वर्ष २४ को केटीलाई कर गरी कोठामा ल्याई मरफिङ्ग र एम फिटामिन मिलाई बढी डोज बनाई इन्जेक्सन दिई मारे मराएको प्रष्ट हुँदा निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको नं. १३(३) अनुसार कारबाही भई सजाय हुन माग सहितको प्रहरी प्रतिवेदन ।
८. ०३५।३।१३ गते पिरे, सुजीलाई दिनको ४ बजेको समयमा स्नोम्याद कफि बारमा भेटेको र हामीले ठण्डा चिज खाएका थियौं, लागू पदार्थ खाएको थिएन । सुजीले मर्फीङको इन्जेक्सन बनाई आफैंले ४० मि.ग्राम स्वयं लिएकी हुन् अरूले दिएको थिएन । इन्जेक्सन लिएपछि पिरेसँग सुजी बाहिर गइन कहाँ गइन थाहा छैन भन्ने सरकारी यवाई रजिम्यादाकडडी–१, सोफसूरज १ समेत जना २ ले अदालत समक्ष गरेको बयान ।
९. मैले सुजीलाई मेरो डेरामा कर गरी लगेको नभई उनकै मञ्जूरीबाट लगेको हुँ, मिति ०३५।३।१६ मा गराएको प्रहरी प्रतिवेदनमा उल्लिखित मर्फिन र एम फिटामिन मिलाई बढी डोज बनाई इन्जेक्सन दिई मारे मराएको होइन एम फिटामिन मात्र मैले आफूलाई प्रयोग गर्ने गरी आएको छु सुजी भन्ने केटीलाई ३ महीना जति अघि दिल्लीमा भेट भएको थियो नेपालमा आएपछि ०३५।३।१३ गते पनि एकपटक भेट भएको थियो सोही दिन अपरान्हतिर झोंछे स्थित डेन्ट पास मिवाई रेष्टुराँ दोस्रो तलामा निज सुजीलाई नेपाली २ जना केटाहरूसँग बसिरहेकी रहिछ र तिनीहरू गएपछि सुजी म भएको ठाउँमा आई सोही दिन बेलुकी फेन्डली लज भन्ने ठाउँमा मले एम फिटामिन खाएँ सुजीले मर्फिनको इन्जेक्सन आफैंले लगाई त्यसपछि डेरामा जान्छ्यौ भनी सोद्धा जान्छु भनी भनेकीले दुवै जना रातको ९, १० बजेतिर डेरामा पुग्यो त्यसपछि चिया र चप खायौं, त्यसपछि करणी लिनुदिनु गर्यौं मैले एम फिटामिन ट्याप्लेट आफैंलाई मर्फिङ्ग इन्जेक्सन दिइन अली अली पगाली आफैंलाई प्रयोग गर्न इन्जेक्सन दिएर सुजीले चल्ने अवस्थामा नै करणी गरे सो रात दुवैजना नाङ्गै सुतेका थियौं । भोलिपल्ट बिहान ११,१२ बजेतिर म उठी चिया खाई सुजीको हात छाम्दा चिसो रहेछ र मुटुको चाल अलि–अलि चलिरहेको थियो । तत्कालै मैले अस्पतालमा फोन गरी एम्बुलेन्स बोलाएँ र डेरासम्म एम्बुलेन्स नआउने हुँदा केटीलाई बोकी ल्याउँ भनी पुलिसले भनेकोले लिन जाँदा सुजी मरी सकेकी रहिछे । निज सुजीको योनीबाट आएको रगत रजस्वला भएको र भोको पेट हुँदा २ पल्ट मर्फिङ्ग प्रयोग गरेर मरेकी होली, प्रहरीमा गरेको कागजमा सरिजर मर्फिङ्ग सुजीको खल्तीमा मैले राखी दिएको भनेको कारण प्रहरीले दुःख दिने र धम्काउने गरेकोले हो मर्ने सुजीसँग कुनै किसिमको रीस इवी थिएन निजलाई बचाउनु कृत्रिम श्वास क्रियाद्वारा प्रयास गरेको थिएँ भन्ने समेत अभियुक्त पिरे एलेक्सडी च्यानूलले काठमाडौं जिल्ला अदालत समक्ष गरेको बयान कागज ।
१०. सबूत प्रमाण विश्वासनीय नदेखिएकोले यस्तो स्थितिको मुद्दामा पिरे एनेक्सडी स्वीस नागरिकले सुजीलाई कर्तव्य गरी मारेको हो भनी ठहर्याई सजाय गरी दिन न्यायोचित नेदखिँदा यस मुद्दामा प्रहरी प्रतिवेदन दावी नपुग्ने निज पिरेलाई सफाई दिने ठहर्छ भन्ने समेत ०३८।११।१९ को काठमाडौं जिल्ला अदालतको फैसला ।
११. उक्त इन्साफमा चित्त बुझेन भनी म.क्षे.अ.मा श्री ५ को सरकारको पुनरावेदन पर्न आएको रहेछ । मृत्कलाई मार्नै पर्ने सम्मको परिस्थिति पनि विद्यमान नरहेको निजले कर्तव्य गरी मारेको हो भन्ने प्रत्यक्षदर्शी पनि कोही नभएको, मौकाको लाश प्रकृति मुचुल्काबाट मृतकको आंग जीउ तथा शरीरको कुनै भागमा चोट पुगेको पनि नदेखिएको र किटानी साथ उजूरी पनि नभएको प्रहरीमा भएको सावितीलाई समर्थित गर्ने ठोस सबूत वादी पक्षबाट केही पनि पेश हुनसकेको छैन । सुजी भन्ने नेपाली केटीको मृत्युको कारण नै यकीन गर्न थप सबूत पुनरावेदक तर्फबाट पेश हुन नआएको आधारमा प्रतिवादी स्वीस निवासी पीरे एनेक्सडी च्यानुडलाई सफाई दिने ठहर्याएको शुरू काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब देखिन्छ भन्ने समेत म.क्षे.अ.को मिति ०३९।११।२४।३ को सदर फैसला ।
१२. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत ज्यान मुद्दामा श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारको बहस जिकिर समेत सुनियो ।
१३. प्रस्तुत ज्यानमुद्दामा म.क्षे.अ.बाट गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनुपरेको छ ।
१४. यसमा मर्फीको इन्जेक्सनको बढी डोज लिएकोबाट सुजीको मृत्यु भएको हुन सक्छ मर्ने सुजीसँग कुनै रीस इवी थिएन । निजलाई कृत्रिम श्वास कृयाद्वारा बचाउन प्रयास गरेको थिएँ भनी प्रहरी र जिल्ला अदालत समक्ष पिरे एनेक्सडी च्यानुडले गरेको साविती बयान भएकोमा सुजीलाई कर्तव्य गरी पिरे एनेक्सडीले मारेको भन्ने सबूत प्रमाणको अभावमा किटानी गर्न नसकिने हुँदा पिरेलाई सफाई दिने गरेको का.जि. अ.को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भनी म.क्षे.अ.ले गरेको फैसलामा उक्त लेखिएका बुँदा प्रमाण समेतबाट इन्साफ सदर ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमबमोजिम फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल आश्विन १ गते रोज २ शुभम् ।