निर्णय नं. २०२२ – कर्तव्य ज्यान
निर्णय नं. २०२२ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९...
निर्णय नं. २०२२ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको डि.फौ.पु.नं. ३९६
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/प्रतिवादी : लुम्विनी अंचल नबलपरासी जिल्ला रुपौलिंया गा.पं. वा.नं. १ पौटाहा घर भै हाल केन्द्रीय कारागारमा बन्दी विरबहादुर पंजियार
विरूद्ध
विपक्षी/वादी : नन्द किशोरको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।३।२९।५ मा
§ सरजमीनका मानिसहरूको शंका र प्रहरी समक्ष साविती बयान दिएको र सो साविती बयानलाई आफ्नो ईच्छाले साविती बयान गरेको होइन भन्ने समेत कुनै प्रमाण पुर्याउन नसकेकोबाट निजले अपराध गरेको पुष्टी भएकोमा ज्यानसम्बन्धीको महलको १३(३) अनुसारको सजाय गर्ने गरेको फैसला मनासिब हुँदा सदर हुने ।
(प्रकरण नं. २३)
पुनरावेदक प्रतिवादी तर्फबाट : x
विपक्षी वादीहरु तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
प्र.न्या. नयनबहादुर खत्री : शुरू नवलपरासी जिल्ला अदालतले ज्यानसम्बन्धीको महलको १३(३) को सजाय गर्ने, गरी गरेको फैसलालाई नै सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा प्र.विरबहादुर पंजियारले चित्त बुझेन भनी पर्नआएको पुनरावेदनको संक्षिप्ततथ्य र विवरण निम्न प्रकारको छ ।
२. २०३५ साल आश्विन २७ गते बिहान घरमा श्रीमती र नावालक छोराछोरीहरू छाडी खरियानमा धान दाँई गर्न जाँदा अं.१०:३० बजेको समयमा बन्दुक फायर भएको आवाज आएकोले घर आई हेर्दा नावालक छोरी चन्द्रकुमारी काकाको छोरा पशुपतिराम पंजियार, जयकुमारी, तोफबहादुर समेत पल्टि रोई कराई रहेको निजको शरीरमा छर्रा लागेको फलामका टुक्राहरू फेला पारेकोबाट बम विष्फोटन भएको देखियो । छोरी चन्द्रकुमारीको मृत्यु भएको र अरूलाई साधारण चोट लागेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने जाहेरी ।
३. ०३५ साल आश्विन २४ गते धनिरामले बम ल्याई मलाई दिएपछि जाहेरवालाको घरको उत्तर पट्टि खाल्डो बनाई सोही खाल्डोमा बम राखी माथिबाट केही माटोले पूरी आएपछि बम पड्की जाहेरवालाको छोरीको तत्काल मृत्यु भयो र अरू वालकहरू घाइते भएका हुन् । बम भारत भैसालोटन बस्ने शंकर बाबुबाट ल्याई चन्द्रप्रकाश समेतको सल्लाहबाट बम पड्केको हो भन्ने समेत प्र.विर बहादुरले प्रहरी समक्ष गरेको ठाडो कागज ।
४. विरबहादुर भेट भई भारत भैसालोटनको शंकर बाबु कहाँबाट बम ल्याई देउ भनेपछि म गई बम ल्याई विरबहादुरलाई दिएको हुँ । ०३५ साल आश्विन २७ गते जाहेरवालाको घरमा बम पड्की निज जाहेरवालाको छोरी चन्द्रकुमारी समेतको वालकहरूलाई छर्रा लागि चन्द्रकुमारीको मृत्यु भएको भन्ने कुरा थाहा पाएको हुँ भन्ने समेत प्र.धनिराम थारूले प्रहरी समक्ष गरेको ठाडो कागज ।
५. ०३५ साल आश्विन २७ गते राति हरिनारायणको घरमा सुतेको हुँ जाहेरवालालाई मार्ने नियतबाट विरबहादुरको साथमा गएको होइन र बम ल्याउनमा पड्काउनमा समेत सहमति भएको छैन । बिरबहादुर र धनिरामले मलाई झुठ्ठा पोल गरेका हुन् । जाहेरवालालाई मैले चिनेको पनि छैन भन्ने समेत प्र.राधेश्याम गुप्ताले प्रहरी समक्ष गरेको ठाडो कागज ।
६. जाहेरवालाको छोरीलाई मार्न विरबहादुरसँग सल्लाह गरेको पनि होइन । बम जाहेरवालाको घरको किनारा राख्न लगाएको पनि होइन र राखेको पनि छैन । जाहेरवालाको छोरी बम विस्फोटन भई मरेको भन्ने सुनेको हुँ भन्ने समेत प्र.चन्द्रप्रकाश चौधरीले नन्दकिशोर समेतलाई मार्ने सल्लाह गरी म सहितका मानिस भई बम लिई गई नन्दकिशोरको घरको सुरमा राखी आएको समेत कुनै कुरा होइन बिरबहादुरको भनाई झुठ्ठा हो भन्ने समेत विरखबहादुरले प्रहरी समक्ष गरेको बयान ।
७. राधेश्याम विरखबहादुर, चन्द्रप्रकाश समेतको चाल चलन राम्रो छ । निजहरूले जाहेरवालाको छोरीलाई मार्ने मराउने रिसइवी केही छैन धनिराम र विरबहादुरले बम लगी जाहेरवालाको घर नजिक राखी दिंदा सो बम पड्की चन्द्रकुमारीको मृत्यु भएको जस्तो लाग्छ भन्ने समेत सरजमीन ।
८. बुझिए सम्मको सबूत प्रमाणबाट बम बिष्फोटन गरी जाहेरवालाको छोरी चन्द्रकुमारीको मृत्यु भएकोले बिरबहादुरलाई ज्यान सम्बन्धीको १३(३) र धनिरामलाई ऐ महलको १७ को (१) र चन्द्रप्रकाश, राधेश्याम गुप्ता, विरखबहादुर थारू समेत ३ लाई सोही १७ नं. को देहाय ३ अनुसार सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
९. बम राख्न जाने एकै साथ एउटै कसूर गर्ने कसैलाई घटी कसैलाई बढी सजायको माग दावी भएको प्रहरी प्रतिवेदनसँग सहमत नभएकोले प्र.बिरबहादुर चन्द्रप्रकाश, बिरखबहादुर, राधेश्यामलाई मु.ऐन ज्यान सम्बन्धीको १३(३) बमोजिम कैद र धनिरामलाई ऐजन १७ को १ दफा बमोजिम सजाय हुने भनी दावी लिएको भन्ने समेत स.स.अ.को छुट्टै राय ।
१०. ०३५ साल आश्विन २६ गते घर गई जाहेरवाला समेतलाई बमले मार्न बम लगि राखेको होइन । विरबहादुरले झुठ्ठा पोल गरेको हुन् भन्ने समेत प्र.बिरखबहादुर थारूले अदालतमा गरेको बयान ।
११. म समेत भई जाहेरवालाहरू समेतलाई बम पडकाई मार्न सल्लाह गरेको होइन । जाहेरवालाको छोरी बम पड्की मरे भन्ने सुनेको हुँ । सो दिन म मेरै घरमा छु भन्ने समेत प्र.चन्द्रप्रकाश चौधरीले अदालतमा गरेको बयान ।
१२. ०३५ साल आश्विन २७ गते दिन रात घरमा नै छु । प्रहरीमा भएको बयान मलाई कुटपिट गरी गराएको हो मैले कुनै अपराध गराएको छैन । प्रहरी प्रतिवेदन दावी झुठ्ठा हो बम बिस्फोटन भई बच्चाको मृत्यु भएको छ तापनि बम कसले कसरी ल्याई राखे र कसरी पड्किन गयो थाहा छैन भन्ने समेत प्र.बिरबहादुर पंजियारले अदालतमा गरेको बयान ।
१३. मलाई बिरबहादुरले भारत भैसालोटनमा शंकर बाबुको घरबाट केही सामान ल्याई देउ भनेपछि ८।१० दिनपछि शंकरको घरमा जाँदा निजले कागजमा पोको पारेर ल्याई यो सामान बिरबहादुरलाई देउ भनी त्यहाँबाट सो सामान ल्याई बिरबहादुरलाई दिएँ । बिरबहादुरले सो सामान के के गरे थाहा छैन मैले कुनै अपराध गरेको छैन । बिरबहादुरको भनाई झुठ्ठा हो भन्ने समेत प्र.धनिराम थारुले गरेको बयान ।
१४ २०३५ साल अािश्न २६, २७ गते टोहाल बस्ने हरिनारायणको घरमा छु जाहेरवालाको छोरी कसरी मर्यो मलाई थाहा छैन मैले बम पड्काई मारेको होइन । बिरबहादुरको बयान झुठ्ठा हो भन्ने समेत प्र.राधेश्याम गुप्ताले अदालतमा गरेको बयान ।
१५. टाइम बम योजनाबद्ध तरिकाबाट मार्न निमित्त घर पछाडि फिट गरेकोबाट सो टाइम बम आश्विन २६ गते राति १० बजे फिट गरेको भोलिपल्ट विस्फोटन भई सोबाट उछिट्टिएको गोली मर्ने चन्द्रकुमारीको निधारमा लागी मृत्यु हुन गएको कुरा पोष्टमार्टमबाट समेत समर्थित हुनआएको र धनिरामले पहिलो पटक भैसालोटनमा बिरबहादुरसँग साथ गई बम पछि लिन आउने कुरामा प्रहरीमा स्वीकार गरी अदालतमा समेत सो ल्याई दिएमा स्वीकार गरेकोबाट मार्नमा सल्लाह पुर्याउने बम ल्याई बिरबहादुरलाई दिएको कुरा टाइम बमलाई सनाखत गरेको समेत देखिन आएकोले प्र.विरबहादुरलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वसहित जन्मकैद र प्र.धनिरामको हकमा ज्यानसम्बन्धीको १७(१) अनुसार कैद वर्ष १० गर्ने र विदेशी बाहेक अरू प्रतिवादी राधेश्याम, चन्द्रप्रकाश, विरबहादुर समेतको हकमा बुझिएको साक्षीहरूले निजकै बयानको मिलान बकपत्र गरेको अन्य प्रमाण समेतबाट दोषी प्रमाणित हुन नआएकोले प्र.राधेश्याम गुप्ता, चन्द्रप्रकाश चौधरी र विरखबहादुर थारूले सफाई पाउने ठहर्छ भन्ने शुरू नवलपरासी जिल्ला अदालतको फैसला ।
१६. उक्त फैसला उपर चित्त बुझेन प्रहरी प्रतिवेदन बमोजिमको सजाय होस् भनी श्री ५ को सरकारतर्फबाट र चस्मदिद गवाह कोही नभएको गैरकानूनी किसिमबाट जाहेरवालाले बयान गरेको, सरजमीनको शंका सम्म देखाएको र अदालतमा हाम्रो इन्कारी बयान हुँदा हुँदै पनि अभियुक्त ठहर गरेको शुरू नवलपरासी जिल्ला अदालतको इन्साफ मुनासिव नहुँदा सफाई पाउँ भनी धनिराम थारु र विरखबहादुर पंजियारले प.क्षेत्रीय अदालतमा दिएको पुनरावेदन पत्र ।
१७. प्र.बिरखबहादुरले अधिकार प्राप्त अधिकारी समक्ष कागज गरी प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेकोमा सावित भएको साथै अदालतमा बयान गर्दा पनि बम विष्फोटन भई बच्चीको मृत्यु भएको भनी स्वीकार गरेको साथै पोष्टमार्टम रिपोर्टमा मृतक बच्ची चन्द्रकुमारी बमको विस्फोटनबाट मरेको भन्ने उल्लेख भएकोबाट प्र.विरबहादुर पंजियारलाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार सजाय गर्ने गरेको, र धनिरामले प्रहरी र अदालतमा समेत प्र.विरबहादुरले भारत भैसालोटन बस्ने शंकर बाबुको घरबाट बम ल्याई देउ भनेकोले सो बम ल्याई निज प्र.बिरबहादुरलाई दिएको हुँ भन्ने साविती बयान गरेको समेतबाट निजलाई ज्यानसम्बन्धीको १७(१) अनुसार कैद वर्ष १० गर्ने गरेको शुरू नवलपरासी जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१८. सरजमीनको शंकाको भरमा मात्र मलाई दोषी ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला न्यायोचित नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.बिरबहादुर पंजियारको यस अदालतमा पर्न आएको पुनरावेदन ।
१९. चन्द्रकुमारीलाई मार्नको लागि बिरबहादुर पंजियारले बम राखेको र उक्त बम टाइम बम नै हो भन्ने समेत कुनै प्रमाण देखिन नआउनुको साथै अपराध गरेमा समेत अदालतमा इन्कार देखिएकोमा प्र.विरबहादुरलाई ज्यान सम्बन्धको १३(३) को सजाय गर्ने ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।
२०. नियमबमोजिम पेश हुनआएको प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी बिरबहादुर पंजीयारलाई ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजाय गर्ने गरेको फैसला मनासिब बेमनासिब के रहेछ सो तर्फ निर्णय दिनु पर्ने हुन आयो ।
२१. यसमा निर्णयतर्फ विचार गर्दा जाहेरवाला र प्रतिवादीको बीचमा चुनाव सम्बन्धी रिसइवी भएको देखिने साथै जाहेरवालाले प्रतिवादीको पैसा लिएको र सो पैसा दिन इन्कार गरेको रिसबाट जाहेरवालाको हत्या गर्ने योजना बनाएको सोको कार्यान्वयन गर्नको लागि भारत भैसालोटन बस्ने शंकरबाबुसँग बम ल्याउने कुरा मिलाई सो बम ल्याउन प्रतिवादी मध्येको धनिरामलाई पठाई सो बम ल्याई जाहेरवालाको घरको उत्तरतर्फ चक्कुले खाल्डो बनाई पुरेर आएकोमा सोही बम विस्फोटन हुँदा जाहेरवालाको छोरी मृतक चन्द्रकुमारी समेतका अरू बालकरूलाई छर्रा लागेको कुरा अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान दिएको पाइन्छ । साथै पोष्टमार्टम रिपोर्टमा पनि बमको टुक्रा लागि निज मृतक बच्ची चन्द्रकुमारीको मृत्यु भएको भन्ने प्रष्ट रूपमा उल्लेख भएकोबाट बम विष्फोटनबाट बच्ची चन्द्रकुमारीको मृत्यु भएको कुरामा शंका गर्ने स्थिति देखिँदैन ।
२२. अब सो बम वीरबहादुरले नै राखेको हो होइन भन्ने तर्फ विचार गर्दा प्र.मध्येको धनिरामले प्रहरी समक्ष बयान गर्दा वीरबहादुरले भारत भैसालोटन भन्ने ठाउँबाट शंकरप्रसादको घरबाट बम ल्याई देउ भन्दा मैले सो बम ल्याई वीरबहादुरलाई दिएको भन्ने साविती बयान दिएको र अदालतमा बयान गर्दा पनि वीरबहादुरले भारत भैसालोटनमा शंकर बाबुको घरबाट केही सामान ल्याउ भनेपछि सो ठाउँमा गई शंकरले कागजमा पोको पारेर ल्याई यो सामान वीरबहादुरलाई देउ भनि दिएबाट मैले सो सामान ल्याई विरवाहादुरलाई दिएपछि वीरबहादुरले सो सामान के गरे थाहा छैन भन्ने बयान दिएको पाइन्छ । भारत भैसालोटन बस्ने शंकर बाबुको घरबाट कुनै सामान ल्याएको कुरालाई निज प्र.धनीरामले अदालतमा समेत इन्कारी लिन सकेको देखिँदैन । यस्तो अवस्थामा बम बिष्फोटनबाट मृतक बच्चीको मृत्यु भएको कुरा पोष्टमार्टम रिपोर्ट समेतबाट प्रष्ट देखिन्छ । यद्यपि प्रतिवादी विरबहादुरले अदालतमा बयान गर्दा इन्कारी लिएको देखिन्छ । तापनि प्रहरीमा भएको बयानलाई अन्यथा प्रमाणित नभएसम्म प्रमाण ऐनको दफा ९ को अधीनमा रही प्रमाणमा लिन मिल्ने नै हुन्छ सो बाहेक प्रहरीमा कुटपिट गरी साविती बयान दिएको हो भन्नलाई पनि प्र.ले घा–जाँचसम्म गराएको मिसिलबाट देखिँदैन । सोबाट पनि प्रहरीको डरले साविती बयान दिएको भन्न मिल्ने मनासिब देखिन आएन ।
२३. बम ल्याई दिएको प्र.मध्येको धनिराम प्रहरीमा र अदालतमा साविती बयान दिई स्वीकार गरेकोमा ज्यानसम्बन्धी महलको १७(१) अनुसारको कैद वर्ष १० गर्ने गरेको शुरू नवलपरासी जिल्ला अदालतको फैसला उपरमा क्षेत्रीय अदालतसम्ममा पुनरावेदन गरी क्षेत्रीय अदालतले शुरूको इन्साफ नै सदर गरेकोमा पुनरावेदनको कारबाही नगरी चित्त बुझाई बसेको देखिन्छ । यस प्रकार सरजमीनका मानिसहरूको शंका र निज वीरबहादुर पंजियारले प्रहरी समक्ष साविती बयान दिएको र सो साविती बयानलाई आफ्नो इच्छाले साविती बयान गरेको होइन भन्ने समेत कुनै प्रमाण पुर्याउन नसकेकोबाट निजले अपराध गरेको पुष्टी भएकोमा ज्यानसम्बन्धीको महलको १३(३) अनुसारको सजाय गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन ।
उक्त रायमा मेरो सहमत छ ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल आषाढ २९ गते रोज ५ शुभम् ।