September 25, 1984
Created by nepalarchives

निर्णय नं. २०२१ – उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. २०२१   ने.का.प. २०४१           अङ्क ६ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद...

निर्णय नं. २०२१   ने.का.प. २०४१           अङ्क ६

फुल बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको रि.फु.नं. ४०

विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निवेदक : काठमाडौं जिल्ला का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने रत्नदास प्रकाश

विरूद्ध

विपक्षी   : ऐ ऐ बस्ने तुलसी दास

काठमाडौं नगर पंचायत, काठमाडौं

आदेश भएको मिति :   २०४१।६।९।३ मा

§  पक्ष विपक्ष बीच मोहियानी हकको सम्बन्धमा विवाद रहेको र सोको निरोपण हुन बाँकी रहेको स्थितिमा सोमा असर पर्ने गरी नक्सा पास गरी दिनु नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को प्रतिकूल हुन जाने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री बासुदेव प्रसाद ढुङ्गाना

विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री यादव प्रसाद खरेल ।

उल्लेखित मुद्दा : x

आदेश

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : डिभिजन बेञ्चका माननीय न्यायधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

          २.  विपक्षी तुलसीदासले का.न.पं. वार्ड नं. २ लाजिम्पाटको कि.नं. २५२ को जग्गा ०१ मा घर बनाउन दर्खास्त दिएकोमा निवेदकले उक्त जग्गा मेरो मोहियानी घरबारी हक भोगको जग्गा हो सो जग्गामा मुद्दा चली रहेको हुँदा नक्सा रोक्का गरिपाउँ भन्ने उजूर परेकोमा नगरपञ्चायतबाट प्रतिवादीले आफ्नो हक प्राप्त भएको कुनै सबूत प्रमाण पेश गरेको नदेखिएको हुँदा नक्सा पास हुने ठहर्छ भनी २०३९।४।१४ मा निर्णय गरेको रहेछ ।

          ३.  विवादित जग्गाको मोही म हुँ । तलसिं पृथ्वीबहादुरलाई बाली बुझाएको २०३१ सालसम्मको भर्पाई मसँग छ । त्यसपछि झगडा परेपछि धरौटी राखी आएको छु । मोहीमा विवाद उठ्दा विपक्षी तुलसीदासले पनि मलाई मोही भनी बकी दिएका छन् । यसभन्दा अघि विवादित जग्गामा मुद्दा पर्दा मैले नै सबै कुरा गरी आएको छु । म मोही भएकोमा विपक्षीले नाहकमा ३ नं. नापी गोश्वारामा मोहीमा खिचोला उठाई दिए । ०३५।१।२७ मा भू.प्र.का.बाट मोहियानी अनिर्णित नै रहृयो । यस्तो अवस्थामा विपक्षी र तलसिं मिली विपक्षी तुलसीदासलाई पास गरी मोहीमा निजको नाम लेखी दिए । त्यसमा जालसाजी मुद्दा परेको छ तलसिं र विपक्षी बीच तलसिंको बेच बिखन भएको हो मोहियानीको होइन उनीहरूले मोही लेख्दैमा मोही कायम हुने पनि होइन । हक बेहकको प्रश्न उठेपछि नगरपञ्चायतले निर्णय गर्ने अधिकार छैन यस्तो स्थितिमा हक बेहक छुट्याई आउनु भनी सूचना दिनु पर्दछ सो नगर पञ्चायतको निर्णय गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।

          ४.  विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको मिति २०३९।५।२१ को आदेश ।

          ५.  विवादित कि.नं. २५२ को जग्गा जग्गाधनी पृथ्वीबहादुरले तुलसीदासलाई ०३५।२।३ गते बकसपत्र दिएबाट कायम हुन गई घर बनाउन पाउने कुरा स्पष्ट छ । सो बकसपत्र बदर गराउन सकेको छैन । निवेदकले आफ्नो नाममा निर्विवाद रूपले दर्ता रही आएको निजको हक भोगको हो भनी देखाउन पनि सक्नु भएको छैन । यस पञ्चायतले कानूनको अधिकार प्रयोग गरी निर्णय गरेको हुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेत काठमाडौं नगरपञ्चायतको लिखितजवाफ ।

          ६.  निवेदकले ०३५।१।२७ मा मोहीमा अनिर्णित रहृयो भनी उल्लेख गरेको छ तर मोहियानी कायम गराई सकेको छु भन्न सकेको छैन । जोत कायम गरिपाउँ भन्ने विपक्षको उजूरीमा भूमिसुधार शाखामा मैले बयान गर्दा आफ्नो घर ग्यारेज आदि बनाई भोगी आएको हामी भिन्न भइसकेको २०२४ सालमा घरको छाना भत्किदा जग्गाधनीसँग स्वीकृति लिई घर बनाएको हाल नापी हुँदा पनि कित्ताकाट गरी कि.नं. २५२, २६१ कायम भई जग्गाधनीलाई बाली बुझाई आएको छु भन्ने बयान भई निर्णय हुँदा घर भएको मोहीया जग्गा बिक्री बण्डा हुन सक्ने अंशियार हुन् भन्ने कुरामा विवाद नभएकोबाट अंश स्वामित्वको बण्डाको कारणले नै यो झगडा उल्झन गएको भन्ने कुरा देखियो । अंश स्वामित्व सम्बन्धित अड्डाबाट कायम गरी सकेपछि निर्णय दिन मिल्ने भनिएको र विपक्षले आफ्नो अंश भागमा परेको भनी हक कायम गराउन सक्नुभएको छैन विवादित जग्गामा मेरो घर भएको कुरा विपक्षी स्वीकार गर्नु हुन्छ भने हक बेहकको प्रश्न समावेश नभएको हुँदा नगरपञ्चायतले गरेको निर्णय कानूनबमोजिम नै हुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेत तुलसीदासको लिखितजवाफ ।

          ७.  निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा विपक्षी तुलसीदासको नक्सा पास गरिपाउँ भन्ने दर्खास्त परेकोमा रिटनिवेदकले उक्त जग्गा मेरो मोहियानी हकको भनी उजूर गरेको पाइन्छ । त्यसरी मेरो मोहियानी हकको भनी उजूर गर्नेले सो उजूरी साथ मोहियानी हकको सबूत प्रमाण पेश गर्नुपर्ने हुन्छ । तर रिट निवेदकले सो जग्गाको आफ्नो हक भएको मोहियानी हकको सबूत प्रमाण पेश गर्न सकेको देखिँदैन । जग्गाधनी हकमा तेरो मेरोको प्रश्न उठेको पनि छैन । तसर्थ मेरो मोहियानी हक हो भनी रिट निवेदकले उजूर गरेकोमा मोहियानी हकको सबूत प्रमाण दाखिल नगरेको भन्ने समेत आधारमा नक्सा पास हुने ठहर्छ भनी विपक्षी काठमाडौं नगरपञ्चायतले गरेको निर्णयमा कानूनी त्रुटि देखिन नआई कानूनबमोजिम निर्णय गरेको देखिन आएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ।

          ८.  निवेदक र विपक्षको विवादित जग्गामा आफ्नो हक दावीलाई लिएर मुद्दा परापर भएको र भू.प्र.का.काठमाडौंले आफ्नो हक स्थापित गरेर आउनु भनी सुनाएको कुरा दुवै पक्षको वहसबाट देखिन्छ । उक्त कुराको निरोपण भएको पाइन्न । यसरी तेरो मेरोको प्रश्न देखिएपछि सर्वोच्च अदालतको आजसम्मको अनेकौं फुल बेञ्च लगायतका निर्णयबाट पञ्चायतले नक्सा पास गर्ने निर्णय गर्न नपाउने सिद्धान्त बसेको छ । कानूनले पनि यो कुरा प्रष्ट रूपमा भनेको छ नगरपञ्चायत ऐन, २०१९ को दफा ४५(२) मा उक्त व्यवस्था भएको पाइन्छ । उक्त ऐनको कुनै दफाले हक बेहकको कुरामा प्रारम्भिक सन्तुष्टिको लागि भए पनि प्रमाण हेरी निर्णय दिने व्यवस्था गरेको देखिन्न । त्यसमा पनि बाली बुझाएको भर्पाई छ भनी निवेदक भन्दै छ र पक्षहरू बीच मुद्दा परापरको अवस्था छ भने अपवादको स्थान रहँदैन । सर्वोच्च अदालतबाट त्यस्तो निर्णय भएको छ भनी कतैबाट आएको छैन । हो यदि परोक्ष रूपमा तेरो मेरोको प्रश्न देखिन्छ भने सो कुरा विचारणीय छ ।

          ९.  अब प्रश्न रहृयो जग्गाधनी हकमा तेरो मेरोको प्रश्न उठेको छैन भन्ने कुरा विपक्षी र निवेदकको मोही म हुँ भन्ने प्रश्न बाँकी छँदाछँदै विपक्षले जग्गा पनि हक पनि प्राप्त गरेको देखिन्छ । तथापि घर समेत जनाई सकेको म मोही हुँ भन्ने निवेदकलाई जग्गा धनी नै भए तापनि निवेदकको दावी जिकिरको व्यवस्था गरी नक्सा पास गर्न मिल्छ भन्ने तर्फ भूमिसम्बन्धी ऐन ९क्उष्चष्त० भन्दा बाहिरको कुरा हुन आउँछ । जग्गाधनीलाई मोही रहेको अवस्थामा पनि घर बनाउन पाउने अधिकार छ भन्ने हो भने पनि त्यसको निमित्त कुनै प्रकृया निश्चित छ । भूमिसम्बन्धी ऐनको दफा २७ मा व्यवस्था भएकै छ । सो बमोजिम भएको छ भनी प्रत्यर्थीतर्फबाट कुनै सबूत प्रस्तुत भएको पनि छैन । यस स्थितिमा रिट निवेदकले सो जग्गा मेरो मोहियानी हकको भनी काठमाडौं नगरपञ्चायतमा उजूर गरेबाट तेरो मेरोको प्रश्न उपस्थित भएको छँदाछँदै सबूत गुजार्न नकेको भनी नगरपञ्चायतले नभएको अधिकार ग्रहण गरी प्रमाणको मूल्याङ्कन गर्ने गरी नक्सा पास गरेको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजन बेञ्चबाट ०४०।२।१५ मा निर्णय भएको रहेछ ।

          १०.  निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले नगर पञ्चायतमा तुलसीदासले नक्सा पास गरिपाउँ भनी दर्खास्त दिएकोमा यो जग्गा मेरो मोहियानी हकको हो भन्ने रत्न दासको उजूरी परेकोमा भूमिसुधारको निर्णय पनि साथै पेश गरेको थियो, जग्गाधनी पृथ्वीबहादुरले तुलसीदासलाई बकसपत्र दिँदा मोही तुलसीदास भनी लेखेको सम्बन्धमा जालसाजी मुद्दा दायर भई मुलतवीमा छ यस्तो स्थितिमा नक्सा पास हुने ठहर्‍याएको नगरपञ्चायतको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुनपर्छ भन्ने बहस गर्नुभयो विपक्षी तुलसीदासको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल रिट निवेदकको विवादको जग्गामा हक स्थापित छैन कतैबाट मोहियानी कायम हुनसकेको छैन यस्तो स्थितिमा नक्सा पास हुने ठहर्‍याएको नगरपञ्चायतको निर्णय कानून अनुरूप हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्ने भयो ।

          ११.  आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनपत्रमा निर्णयतर्फ हेर्दा तुलसीदासले का.न.पं. वा.नं. २ को कि.नं. २५२ मा घर बनाउन नक्सा पासको लागि काठमाडौं नगरपञ्चायतमा निवेदन गरेकोमा रिट निवेदक रत्नदास प्रकाशले सो कि.नं. २५२ को जग्गा मेरो एकलौटी घरवारी समेत भएको हक भोगको मोहियानी जग्गा हो भनी प्रतिवाद गरी मोही विषयमा विवाद पर्दा भूमिसुधार कार्यालयबाट भएको निर्णयको प्रतिलिपि र जग्गाधनी पृथ्वीबहादुर शाक्यले मिति ०३५।२।३ मा जग्गा धनी हक बकसपत्र गरी तुलसीदासलाई दिँदा मोही समेत भनी उल्लेख गरेको सम्बन्धमा जालसाजी मुद्दा चलेको भनी तारेख पर्चा समेत राखी काठमाडौं नगरपञ्चायतमा उजूर गरेको पाइन्छ । नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) मा जग्गामा तेरो मेरो परी हक बेहक छुट्यानु पर्ने देखिन आएमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाई गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनु पर्ने व्यवस्था रहेको पाइन्छ । कि.नं. २५२ को जग्गामा निवेदक तथा विपक्षी मध्येको तुलसीदास समेतको बीचमा विवाद पर्दा जिल्ला कार्यालय भूमिसुधार शाखाबाट पक्ष विपक्षहरू बीच बण्डापत्र पेश हुन नसकेको, अंशको कारणले मोहियानीमा तेरो मेरो परेको देखिएको भनी अंश स्वामित्वमा निर्णय दिन यस कार्यालयको क्षेत्राधिकार भित्र नपर्ने हुँदा यकीन साथ आफ्नो अंश स्वामित्व सम्बन्धित अदालतबाट कायम गरिसकेपछि जग्गाको मोहियानी तेरो मेरोमा निर्णय दिन मिल्ने भनी सुनाई दिने भन्ने समेत ०३५।१।२७ मा निर्णय भएको देखिन्छ । त्यस्तै जग्गाधनी पृथ्वीबहादुर शाक्यले तुलसीदासलाई दिएको बकसपत्रमा मोही तुलसीदास भनी उल्लेख गरेको सम्बन्धमा रत्नदास प्रकाशले जालसाजी मुद्दा दिएको र सो मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मोहियानी विषयको निर्णय नभएसम्म जालसाजी मुद्दामा निर्णय दिन नमिल्ने भनी अ.बं.१० बमोमिज मुलतवी रहेको देखिन्छ । उक्त निर्णय तथा आदेशहरूबाट विवादको जग्गाको मोहियानी हक सम्बन्धमा रिट निवेदक तथा विपक्षी तुलसीदासका बीचमा तेरो मेरोको स्थिति रहेको स्पष्ट रूपले देखिन आएको छ । यसरी पक्ष विपक्ष बीच मोहियानी हकका सम्बन्धमा विवाद रहेको र सोको निरोपण हुन बाँकी रहेको स्थितिमा सोमा असर पर्ने गरी नक्सा पास गरी दिन नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को प्रतिकूल हुन जाने देखिन्छ ।

          १२.  अतः उपर्युक्त कारणहरूबाट ऐन विपरीत नक्सा पास गर्ने गरेको काठमाडौं नगरपञ्चायतको ०३९ ।४।१४ का निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । उत्प्रेषणको आदेश जारी गरेको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या. बब्बरप्रसाद सिंह,

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०४१ साल आश्विन ९ गते रोज ३ शुभम् ।