निर्णय नं. २०१६ – उत्प्रेषण
निर्णय नं. २०१६ ने.का.प. २०४१ अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट...
निर्णय नं. २०१६ ने.का.प. २०४१ अङ्क ५
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको रिट नं. १२८८
विषय : उत्प्रेषण
निवेदक : जिल्ला सप्तरी गा.पं. कोइलाडी वार्ड नं. ३ बस्ने प्रद्युम्नप्रसाद सिंह
विरूद्ध
विपक्षी : ऐ ऐ हरिहरपुर गा.पं. वार्ड नं. ५ बस्ने अमरसिंह चौधरी
भूमि सुधार कार्यालय सप्तरी
आदेश भएको मिति : २०४१।५।२१।५ मा
§ कुनै व्यक्तिको हकमा भनी वारिसनामा बेगर उनाउ व्यक्तिले नालिश दिन पाउने व्यवस्था देखिँदैन र यस्तो नालिशबाट कारबाही हुन सक्तैन ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री रमानन्दप्रसाद सिंह र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे
उल्लेखित मुद्दा : x
आदेश
न्या. महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ ।
२. भूमिसम्बन्धी कार्यक्रम प्रारम्भ भएको बखत अधियाँ शर्तमा कमाएको ज.बि.१–३–० को मोही लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि.समेत पाएको छु । हाल सत्रुघनप्रसाद सिंहले प्रद्युम्नप्रसाद सिंहको नाममा जग्गा सारी गा.पं.हरिहरपुर वार्ड नं. ७(क) कि.नं. २५५ को १–०–९ कायम भएको छ । नापीका बखत बिरामी परेकोले जनाउन सकिन स्थायी प्रमाण पूर्जा पाउँ भनी अमरसिंह चौधरीको हकमा इन्द्रलालले निवेदन दिएकोमा मैले इन्कारी प्रतिवाद गरेको थिएँ । यस्तो अवस्थामा कि.नं. २५५ को जग्गाको स्थायी प्रमाणपत्र पाउने ठहर्छ भनी भूमिसुधार कार्यालय सप्तरीबाट मिति २०३९।१२।२८ मा निर्णय भयो ।
३. अमर सिंहका भतिजा इन्द्रलालले वारिसनामा बेगर उजूर गर्नुभएको छ । बिना वारेसनामाको उजूरीबाट भएको निर्णय अ.बं.८२ नं. प्रतिकूल छ । विपक्षीले पेश गरेको २ नं. अनुसूची हरिहरपुर गा.पं. वार्ड नं. ४ मा प्रकाशित भएको छ जबकी जग्गा ७ नं. वार्डमा छ वडा नं. ४ मा प्रकाशित अनुसूचीको आधारमा वडा नं. ७ को जग्गामा दावी गर्न नपाउने अनेकौं सिद्धान्त प्रतिपादित भएका छन् । विपक्षीले जग्गा जोतेको भए बाली बुझाएको भर्पाई पेश गर्न सक्नु पर्ने थियो । २०२६।२०२७ सालमा सर्भे भएको बखत आफ्नो नाम लेखाउन सकेको छैन । २०२६ सालदेखि चूप लागी बसेको देखिन्छ । यस्तो अवस्थामा विपक्षीलाई मोही कायम गर्न नमिल्ने हुँदा विपक्षी भूमिसुधार कार्यालय सप्तरीको मिति २०३९।१२।२८ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफहरू यस प्रकार छन् ।
५. भूमिसुधार टोलीले मोही भएको वार्डमा गई जग्गाको लगत लिँदा मोहीले त्यस पञ्चायत भरी कमाएको जग्गाको एउटै फाराम भर्नुपर्ने र सोही वार्डमा २ नं. लगत प्रकाशित हुने र प्रकाशित लगतमा कसैको उजूर नपरेको साथै विवादको जग्गा सत्रुघनप्रसादबाट प्रद्युम्नप्रसादको नाममा ०३४।२।२६ को निर्णयले सरी गएको भन्ने मालपोत कार्यालय सप्तरीको पत्र समेतबाट देखिँदा वादीले मोहियानी प्रमाणपत्र पाउने गरी कानूनबमोजिम यस कार्यालयबाट निर्णय भएकोले रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ ।
६. मैले भूमिसम्बन्धी ऐन लागू हुनु अघि देखि सत्रुघनप्रसाद सिंहको कि.नं. २५५ को ज.बि.१–३–९ मोही भई जोती आएको र भू.सं.ऐन लागू हुँदा २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि.प्राप्त गरेकोमा हाल नापीमा ज.बि.१–०–९ कायम भई जग्गाधनीको भाइ प्रद्युम्नप्रसाद सिंहको नाउँमा सरेकोले ३ नं. प्रमाण पूर्जाको लागि निवेदन दिएकोमा भू.सु.का.बाट मुद्दाको तथ्य समेत बुझी मलाई ३ नं. प्रमाणपत्र दिने गरी निर्णय भएको छ । कुनै किसिमले जग्गा हस्तान्तरण गर्दैमा मेरो मोहियानी हक जाने होइन । यस्तो प्रकारको मोहीसँग छुट्टै कबूलियत हुनुपर्दैन । पञ्चायतको वार्ड नं. हेरफेर हुँदा वार्ड ७ हुन गएको मात्र हो तर जग्गा फरक छैन । भूमिसुधार कार्यालय अर्ध न्यायिक निकाय हो यसले कसैको हकमा निवेदन लिई कारबाही गर्न सक्ने नै हुँदा काका बिरामी परेकोले भतिजो इन्द्रलालले निवेदन दिई कारवाई भएको हो । तसर्थ भू.सु.का.को निर्णय कानून अनुकूल नै हुँदा रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत अमरसिंह चौधरीको लिखितजवाफ ।
७. रिट निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले अमरसिंहका हकमा इन्द्रलालले उजूरी दिएको छ तर वारिसनामा भने पेश दाखिल छैन बिना वारिसनामा अरूको हकमा परेको उजूरबाट कारबाही गर्न नमिल्ने हुँदा भू.सु.का.को निर्णय बदरभागी छ भन्ने समेत र विपक्षी अमरसिंह चौधरीको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह र विपक्षी कार्यालयतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले अमरसिंहका नाउँमा २ नं. प्रकाशित भई ४ नं. जो.अ.नि.समेत प्राप्त गरेकोले ३ नं. प्रमाणपत्र दिने निर्णय गरेको कानून अनुकूल छ । अर्धन्यायिक निकायमा वारेसनामा नभए पनि अरूको हकमा निवेदन गर्न पाउने प्रचलन भएकोले नै अमरसिंहका हकमा इन्द्रलालले दिएको निवेदनबाट कारबाही भएको हो भन्ने समेत बहस प्रस्तुत गर्न भयो ।
८. प्रस्तुत विवादमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा भूमिसुधार कार्यालय सप्तरीमा दिएको शुरू उजूरी निवेदन हेर्दा अमरसिंह चौधरीको हकमा इन्द्रलाल चौधरीले उजूरी दिएको देखिन्छ । तर अमरसिंह चौधरीको अख्तियार पाएको वारेसनामा पेश दाखिल गर्न सकेको देखिँदैन । अदालती बन्दोवस्तको ८२ नं. बमोजिम जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा दावी गरी नालिश दिए मात्र लाग्ने प्रष्ट देखिन्छ । कुनै व्यक्तिको हकमा पनि वारिसनामा वेगर उनाउ व्यक्तिले नालिश दिन पाउने व्यवस्था देखिँदैन र यस्तो नालिशबाट कारबाही हुन सक्तैन । तसर्थ वारिसनामा बेगर विपक्षी अमरसिंह चौधरीको हकमा पनि इन्द्रलाल चौधरीले दिएको उजूरी निवेदन लाग्न नसक्नेमा यस्तो लाग्नै नसक्ने उजूरी लिई कारबाही र निर्णय समेत गरेको भूमिसुधार कार्यालय सप्तरीको मिति २०३९।१२।२८ को निर्णय र सो निर्णय सम्बन्धी कारबाही समेत अ.बं.८२ नं. को प्रतिकूल हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल भाद्र २१ गते रोज ५ शुभम् ।