August 24, 1984
Created by nepalarchives

निर्णय नं. १९९५ – लिखत पारित

निर्णय नं. १९९५   ने.का.प. २०४१           अङ्क ५ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं....

निर्णय नं. १९९५   ने.का.प. २०४१           अङ्क ५

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको दे.पु.नं. ५५७

मुद्दा : लिखत पारित

पुनरावेदक/वादी : जिल्ला दाङ वनमारे गा.पं. वार्ड नं. ४ बस्ने टेकबहादुर वली

विरूद्ध

विपक्षी/प्रतिवादी : बर्दिया जिल्ला नौलापुर गा.पं वडा नं. ७ बस्ने लोटन थारू

ऐ ऐ बस्ने मुन्सीराम थारु

फैसला भएको मिति :   २०४१।५।८।६ मा

§  लिखतको शिरमा लागेको ल्याप्चे तथा पुछारमा लागेको ल्याप्चे तथा हस्ताक्षर समेत नमिलेको कारणले वेरीतको लिखत देखिएकोले लिखत पास हुने स्थिति नदेखिएकोले वादीले दावी गरेको लिखत पास नहुने ठहर्‍याएको ईन्साफ मनासिब छ ।

(प्रकरण नं. १५)

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

उल्लेखित मुद्दा : x

फैसला

          न्या. बासुदेव शर्मा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी निवेदन परी अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

          २.  विपक्षले मबाट रु.९३,०००। लिए बापत आफ्ना नाउँमा दर्ता भएको जि. वर्दिया नौसाल्पुर गा.पं वार्ड नं. ७ को ज.बि.११२० कि.नं. ९ को ०१८० कि.नं. १० को ११६० कि.नं. १७० को ५० समेत जग्गा बिगहा ९०३४।९।२६ मा राजीनामा लेखी दिई म्यादभित्र रजिष्ट्रेशन पास गरी नदिएकोले पास गराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

          ३.  विपक्षीलाई मैले देखे चिनेको छैन र निजसँग मैले उक्त लेनदेन व्यवहार गरेको र राजीनामा सहिछाप गरी निजलाई दिएको समेत होइन सक्कल हेर्न पाएको बखत यावत कुरा खुलाई बयान गर्ने छु वादी दावी सम्पूर्ण कीर्ते र जालसाजी हो भन्ने समेत व्यहोराको राम लोटन थारूको प्रतिउत्तर पत्र ।

          ४.  सक्कल राजीनामा लिखत देखाउँदा देखे सुने उक्त कागज मैले गरी दिएको होइन त्यसमा लागेको ल्याप्चे र लेखात्मक सही समेत मेरो होइन वादी टेकबहादुर वलीले आफैं कीर्ते गरी खडा गरेको हुन कीर्ते गरेमा वादी टेकबहादुरलाई सजाय गरिपाउँ भन्ने वादीको वा परमेश्वर वलीको बयान ।

          ५.  प्र.लोटन थारूले वादीबाट रु..९३,०००। बुझी लिई आफ्नो नाउँको जग्गा बिगहा ९० जग्गा ०३४।९।२६ मा राजीनामा लेखिदिएको हुन राजीनामा कीर्ते होइन भन्ने जंगबहादुर वली १ लिखत मैले नै लेखेको हुँ रु.९३,०००। प्र.ले बुझी जग्गा बिगहा ९० राजीनामा गरी दिएको हुन भन्ने ससिराम खड्का १ समेत वादीको साक्षी जवान २ को बकपत्र ।

          ६.  प्र.लोटन थारूले वादीलाई जग्गा राजीनामा गरी दिएको होइन घरको मुख्य मालिक निजको दाजु हुन भन्ने समेत प्र.लोटन थारूको साक्षी जवान ५ को बकपत्र ।

          ७.  सक्कल राजीनामा देखाउँदा देखे सुने मैले लिखत साक्षीमा सहिछाप गरी दिएको समेत होइन लिखतमा भएको सही मेरो नहुनाले जालसाजी कीर्ते गरेमा जालसाजी गर्ने गराउनेलाई सजाय गरिपाउँ भन्ने मुन्सीराम थारूको बयान ।

          ८.  प्र.ले वादीलाई राजीनामा लेखिदिएको जाँच भई आएको प्रतिवेदनबाट बन्द मितिमा लागेको सहिछापहरू मिलेको देखिन नआएकोले वादी टेकबहादुर वलीले प्र.लाई झुक्याई सक्कल कागजको शिरमा लागेको ल्याप्चे सही गराएको र सक्कल कागजको शिरमा लागेको लेखात्मक सही तथा मितिका बन्दमा लागेको ल्याप्चे र लेखात्मक सही कीर्ते गरेको ठहर्छ भन्ने बर्दिया जि. अ.को फैसला रहेछ ।

          ९.  सुरूको इन्साफमा चित्त बुझेन उक्त फैसला बदर गरी मेरो लिखत पास गरिपाउँ भन्ने समेत वादी टेकबहादुरको पुनरावेदन पत्र ।

          १०.  प्र.मुन्सी थारूलाई बुझ्नु पर्ने भएकोले निजलाई झिकाई नियमबमोजिम पेश गर्नु भन्ने २०३९।३।१४ गतेको म.क्षे.अ.को ओदश ।

          ११.  प्र.लौटन थारू मेरो साख्य सहोदर दाजु हुन हामी दाजु भाइ सगोलमा नै छौं भन्ने प्र.मुन्सी थारूको ०३९।७।२३ गते भएको बयान ।

          १२.  विशेषज्ञको रायबाट लेखात्मक र लिखतको पुछारमा लागेको ल्याप्चे सहिछाप अड्डाबाट लिएका लेखात्मक रेखात्मक सही छापहरू सक्कल लिखतमा लागेको पुछारको ल्याप्चे र लिखत सहिछापहरू भिड्न मिल्न आएको अवस्थामा वादीलाई फाइदा हुने र प्रतिवादीलाई नोक्सान हुने किसिमको प्रस्तुत लिखत कीर्ते कागजको १ नं. को परिभाषाभित्र पर्ने हुँदा विशेषज्ञको राय बमोजिम नमिलेको ल्याप्चे सहिछाप रेखात्मक सहिछाप समेतलाई कीर्ते गरेको ठहर्‍याएको मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

          १३.  उक्त फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी पुनरावदेक वादीले दिएको निवेदनमा ०३४।९।२६ को सक्कल राजीनामामा लागेको लेखात्मक र रेखात्मक सहिछाप मेरो होइन भन्ने प्रतिवादी लौटन थारूको बयान देखिन्छ । तर लिखतमा लागेको रेखात्मक सहिछाप मिल्छ भन्ने राय भई आएको र पुछारमा लागेको रेखात्मक लेखात्मक सहिछाप मिल्दैन भन्ने भएकोले त्यस्तो विशेषज्ञलाई अदालतले साक्षी सरह बुझेको नदेखिनुको अतिरिक्त शिरमा लागेको प्रतिवादी लौटनको रेखात्मक सहिछाप मिलेपछि त्यस्तो लिखतलाई कीर्ते भन्न नमिल्नेमा शुरू जिल्ला अदालतले कीर्ते गरेको ठहर्‍याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं.१८४क कीर्ते कागजको १ नं. र प्रमाण ऐन, २०३१ को दफा २३ र ५४ समेतको त्रुटि देखिँदा र उक्त त्रुटि सार्वजनिक महत्त्वको नभएकोले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको भन्ने मिति ०४०।१०।१७।३ को यस अदालतको डिभिजन बेञ्चको आदेश रहेछ ।

          १४. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा रूजु रहेको पुनरावेदक वादीको वारेस ओमकारमान श्रेष्ठलाई रोहवरमा राखी पुनरावेदक वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता हरिशंकर निरौला तथा विपक्षी प्रतिवादी तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरको बहस समेत सुनी म.प.क्षे.अ.ले गरेको फैसला मिले नमिलेको के रहेछ ? सोको निर्णय दिनुपरेको छ ।

          १५. यसमा ०३४।९।२६ गतेको लिखतको शिरमा लागेको ल्याप्चे तथा पुछारमा लागेको ल्याप्चे तथा हस्ताक्षर समेत नमिलेको कारणले वेरीतको लिखत देखिएको लिखत पास हुने स्थितिको नदेखिएकोले वादी टेकबहादुर वलीले दावी गरेको ०३४।९।२६ गतेको लिखत पास नहुने ठहर्‍याएको सम्म म.प.क्षे.अ.को इन्साफ मनासिबै छ तर वादीलाई कीर्ते कागजको ७ नं. बमोजिम बिगो रु.९३,०००। को आधि रू.४६,५००। जरिवाना हुन्छ भनी शुरू अदालतले गरेको जरिवाना र वादीलाई म.क्षे.अ.ले सैकडा दसले रु.४६५०। जरीवाना गरेको वेरीतको लिखत ठहरिएको कारणले नलाग्ने देखिएको त्यसतर्फ सजाय गरेको मिलेन । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखे बमोजिम हुने हुँदा पुनरावेदक वादी टेकबहादुर वली क्षेत्री के शुरूको फैसलाले लागेको जरिवाना रु.४६५००। का सयकडा दसले हुने रु.४६५०। जरिवाना गरी म.प.क्षे.अ.ले लगत कस्ने गरेको निजबाट सो असूल गर्नु परेन भनी सोको लगत कट्टा गर्न शुरू अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लेखी पठाउनु……………. १

ऐ बमोजिम हुने हुँदा पुनरावेदक वादी टेकबहादुर क्षेत्रीके शुरूको फैसलाले लागेको जरिवाना र ४६,५००। को जेथा जमानी राखेको देखिएकोले उक्त जरिवाना ऐन बमोजिम गरी असूल उपर गर्नु भनी शुरू जिल्ला अदालतमा लगत दिनु भनी म.प.क्षे.अ.ले गर्ने गरेको सो गर्नु परेन भनी शुरू अदालतमा लेखी पठाउनु का.जि. अ.त.मा लगत दिनु …………………२

माथि इन्साफ खण्डमा लेखे बमोजिम पु.वा.टेकबहादुर वलीलाई शुरूले गरेको जरिवाना नलाग्ने हुँदा जि. वर्दिया दोडरी गा.पं. वा.नं. ५ को कि.नं. १९७/२०७ को जग्गा बिगहा १० जङ्गबहादुर खड्काको नाउँमा दर्ता भएको जग्गाधनी दर्ता श्रेस्ता १ ऐ बस्ने कृष्णकुमारको नाउँमा दर्ता रहेको कि.नं. १९७/२१० को ज.बि.१–१ र ऐ बस्ने रमेश वली क्षेत्रीका नाउँमा दर्ता रहेको कि.नं. १९७/२०८ ज.बि.१० पुनरावेदक वादी टेकबहादुरले शुरूले जरिवाना गरेको बापतमा पुनरावेदन गर्दा जेथा जमानी धरौटी राखेको देखिनाले उक्त व्यक्तिहरूको नाममा दर्ता रहेको मालपोत कार्यालय बर्दियामा रोक्का रहेको जग्गाफुकुवा गरी दिनु भनी मालपोत कार्यालय बर्दियामा लेखी पठाउन शुरू अदालतमा लेखी का.जि. अ.त.मा लेखी पठाउनु.३

माथि इन्साफ खण्डमा लेखे बमोजिम पु.वा.टेबहादुर वलीके म.प.क्षे.अ.ले थप गरेको जरिवाना रु.४६५०। नलाग्ने हुँदा पुनरावेदक वादी टेकबहादुर वलीके म.प.क्षे.अ.का ०३९।७।२४ का फैसलाले थप जरिवाना रु.४६५०। गरे बापतमा निज टेकबहादुर वलीले यस अदालतमा रूकुम जिल्ला अदालत डोरले ०४०।४।२० गतेका मुचुल्कामा उल्लेख भएको जग्गाहरू यस अदालतमा पुनरावेदन गर्दा जेथा जमानी धरौटमा रहेको र माल कार्यालय रूकुममा उक्त जग्गाहरू रोक्का रहेको फुकुवा गरी दिनु भनी माल कर्यालय रूकुममा लेखी पठाउन शुरू जिल्ला अदालतमा लेख्न का.जि. अ.त.मा लगत दिनु…………….४

माथि इन्साफ खण्डमा लेखे बमोजिम वादी टकेबहादुर वलीले दावी गरेको ०३४।९।२६ गतेको लिखत पास नहुने ठहर्‍याएको म.प.क्षे.अ.को इन्साफ मनासिब ठहरिदा यस अदालतमा वादी टेकबहादुर वलीले पुनरावेदन गरेको हुँदा अ.बं.२०३ नं. ले दोस्रो पुनरावेदन गरेको बापत सयकडा ५ प्रतिशतले थप जरिवाना गर्नु पर्छ कि भन्नलाई जरिवानाको हकमा निजलाई जरिवाना नलाग्ने ठहरी निर्णय भएको हुँदा केही गर्नु परेन ……………..५

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल भाद्र ८ गते रोज ६ शुभम् ।