June 20, 1984
Created by nepalarchives

निर्णय नं. १९६८ – जालसाज

निर्णय नं. १९६८ ने.का.प. २०४१             अङ्क ४ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं....

निर्णय नं. १९६८ ने.का.प. २०४१             अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको फौ.पु.नं. ४१९

मुद्दा : जालसाज

पुनरावेदक/प्रतिवादी : जि. वाके साई गाउँ गा.पं. वडा नं. १ बस्ने नन्को खाँ पठान

विरूद्ध

विपक्षी/वादी :  बलदेव प्रसादको श्रीमती ऐ ऐ बस्ने कृष्णादेवी श्रीवास्तव

ऐ ऐ बस्ने बलदेव प्रसाद श्रीवास्तव

फैसला भएको मिति : २०४१।३।७।४ मा

§  जालसाजी नठहर्‍याइएको र लेनदेन व्यवहारको १० नं. अनुसार वादीको हक जति बदर हुने र थैली बढाए भनेतर्फ साक्षी प्रमाण समेतका अभावमा बढाएको नठहर्‍याई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेकै देखिने ।

(प्रकरण नं. १२)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह

विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

उल्लेखित मुद्दा : x

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह :  सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।

          २.   प्रतिवादी मदन म फिरादी कृष्णदेवी वलदेवप्रसाद, माणिकलाल समेत सगोलको हो म बाबु बलदेवप्रसादको मन्जूरी वेगर मदनलालले बिक्री गर्न नपाउने बाके साई गाउँ गा.पं. वडा नं. १(ख) कि.नं. २२ ज.बि.०१७५ ऐ कि.नं. २६ को ज.बि.२१४१६ रु.१२,०००। जानेमा रु.९,०००। लिनुदिनु गरी रु.१८,५००। थैली राखी ०३२।१२।२३ मा रजिष्ट्रेशन पास गरी हाम्रो हक मेटाउनलाई जालसाजी सित खडा गरेकोले लिखत बदर गरी सजाय पाउँ भन्ने समेत फिराद दावी।

          ३.   मदनलालले आफ्ना नाउँ दर्ता रहेको आफ्नै हक भोगको जग्गा नन्को खाँ लाई रु.१,८५,०००। मा बिक्री गरी दिएका हुन जालसाजी गरी जग्गा लिनुदिनु भएको होइन भन्ने समेत प्र.नन्को र झब्बु खाँको प्रतिउत्तर ।

          ४.   रूपैया घरसारमा लिनुदिनु भई सक्यो लिखत लेखी अन्तर साक्षी बसी देउ भनेकाले अन्तरसाक्षी बसेको हो हाम्रो सामुन्ने रुपैयाँ लिनुदिनु गरेको होइन जालसाज गरेको होइन भन्ने समेत प्र.नवलकिशोर र श्यामबहादुर वैरागीको संयुक्त प्रतिउत्तर ।

          ५.  कसरी जालसाजी गरे भन्ने केही र जालसाजी गरे नगरेको थाहा छैन भन्ने समेत वादीको साक्षीले गरेको बकपत्र ।

          ६.   रूपैया लिनुदिनु गरी किने बेचेको हो जालसाजी गरेको होइन भन्ने समेत प्र.का साक्षीहरूले गरेको बकपत्र ।

          ७.  किन्ने बेच्नेको सल्लाहले जग्गाको मोल कायम गरी व्यवहार गरिने भएबाट बढी थैली राखिएको सम्झन मिलेन अतः जालसाज गरेको ठहर्दैन वादी दावी अनुसार लिखत बदर हुने ठहर्छ भन्ने समेत बाके जि. अ.को फैसला ।

          ८.   उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरूको र प्र.नन्को खाँ पठानको पुनरावेदन ।

          ९.   शुरू बाँके जि. अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सु.प.क्षे.अ.को फैसला ।

          १०.  उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी नन्को खाँ पठानले निवेदन दिएकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको २०४०।१।२१ को आदेश रहेछ ।

          ११.  पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले र विपक्षी वादी तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले गर्नुभएको बहस समेत सुनियो मुख्यत क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

          १२.  यसमा फिरादीको मूल दावी जालसाजी लिखत गरेमा प्रतिवादीलाई सजाय गरी लिखत समेत बदर गरिपाउँ भन्ने समेत देखिन्छ । क्षेत्रीय अदालतको निर्णयमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निवेदक भविश्वरा अर्यालनी प्रत्यर्थी मनिकणिका अर्यालनीको जग्गा जालसाजी मुद्दामा उल्लिखित सिद्धान्तसँग पूर्णतः मेल खाने देखिन्छ उक्त नजीरमा राजीनामा गर्दा सौता समेत हक लाग्नेलाई मेरो एकलौटी हकको भनी राजीनामा गरी दिएको भन्ने दावी हुनाले माथि लेखिए बमोजिम कीर्ते कागजको ऐन अन्तर्गतको मुद्दा नभई तत्कालिन प्रचलित साहु असामीको मुद्दा देखिन्छ भन्ने समेत उल्लेख भएको सिद्धान्त प्रतिपादित भएबाट उक्त नजीरबाट जग्गा जालसाजीतर्फ वादीको उजूर कायम रहन नसक्ने भन्ने र लेनदेन व्यवहारको १० नं. ले वादीको हक राजीनामा भएको कायम राख्न मनासिब नदेखिँदा बदर हुने र थैली बढाई लिनुदिनु भएको प्रमाणित हुने कुनै सबूत नदेखिँदा त्यसतर्फ बढी नठहर्‍याएको बाँके जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याई क्षेत्रीय अदालतले गरेको निर्णय र पुनरावेदकको पुनरावेदन जिकिर समेत अध्ययन गर्दा प्रतिपादित सिद्धान्त अनुसार जालसाजी नठहर्‍याएको र लेनदेन व्यवहारको १० नं. ले वादीको हक जति बदर हुने र थैली बढाए भन्नेतर्फ साक्षी प्रमाण समेतका अभावमा बढाएको नठहर्‍याई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल आषाढ ७ गते रोज ४ शुभम् ।