June 12, 1984
Created by nepalarchives

निर्णय नं. १९३९ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १९३९   ने.का.प. २०४१           अङ्क ३ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रि.नं....

निर्णय नं. १९३९   ने.का.प. २०४१           अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको रि.नं. १५१७

विषय : उत्प्रेषण

निवेदक : जि. सप्तरी गा.पं. साविकको चावखारी हाल विरिया वडा नं. १ बस्ने मित्रीलाल मण्डल मधैया कानू

विरूद्ध

विपक्षी   : ऐ ऐ बस्ने फनक मण्डलकी पत्नी लुखियादेवी मधैया कानूकाइन

ऐ को छोरा ऐ ऐ बस्ने सोमने मण्डल मधैया कानूवा ।

भू.सु.का. सप्तरीका भू.सु.अ.

आदेश भएको मिति :   २०४१।२।३०।३ मा

§  मोही नामसारी गर्ने माग दावीतर्फ कारवाही गर्दा जग्गाधनीलाई आफ्नो कुरा भन्ने मौका दिनुको साथै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) बमोजिम जग्गावालालाई मोही रोजाउने प्रकृया गर्नुपर्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

उल्लेखित मुद्दा : x

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अनुसार भू.सु.का.सप्तरीको ०३९।११।१६ को निर्णय बदर गरिपाउँ भनी यस अदालत समक्ष पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।

          २.  कोचावरबारी गा.पं. वार्ड नं. ९ को कि.नं. ४७६ को ज.बि.०१४ साविक जग्गाधनी मुक्तिलाल मण्डलबाट जग्गा खरीद गरी लिने मित्रीलाल नाउँको जग्गा मेरो पति फानुक मण्डलले मोहियानी कमाई ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गर्नुको साथै बाली बुझेको भर्पाई समेत गरी दिएकोले समेत निज मेरो पति परलोक भइसकेको उक्त जग्गाको मोही दर्ता नामसारी गरिपाउँ भनी विपक्षी लुखियादेवीले विपक्षी भू.सु.कार्यालयमा निवेदन दिएको मेरो नाउँमा म्याद आउँदा म कार्यालयमा उपस्थित हुँदा तारिखमा राखे । मबाट बयान गराउनु भएन फेरि विपक्षी भू.सु.का.मा लुखियादेवीले ०३९।११।१३ मा म ७५ वर्षको बूढी भई कामकाज गर्न नसक्ने हुँदा मेरो छोरा सोमन मण्डलको नाउँमा नामसारी गरिपाउँ भनी निवेदन गर्नुभयो । लुखियाले गरी दिएको कागज अनुसार मृतक फानक मण्डलको छोरा सोमन मण्डलको नाउँमा दावी बमोजिमको जग्गा नामसारी हुने ठहर्छ भनी ०३९।११।१६ मा भू.सु.का.बाट निर्णय भयो ।

          ३.  साविक कि.नं. ४७६ जग्गा मध्ये ०७ मध्ये ०१३ मात्र मुक्तिलाल मण्डलको स्वास्नी वावायाई मछेनीको भएकोमा मैले भू.सु.लागू हुनुभन्दा अघि नै खरीद गरी लिएको बाँकी बौकाई भन्ने बाकु मण्डलबाट अघि नै खरीद गरेको थिएँ । मलाई ज.ध.देखाई फनक मण्डलले ४ नं.जो.अ.नि.लिनुभएको थिएन । २ नं. अनुसूची प्रकाशन भएको छैन यस्तो अवस्थामा विपक्षीको ४ नं. को कुनै कानूनी मान्यता छैन । त्यसको आधारमा मेरो ४७६ नं. को जग्गामा विपक्षीको मोहीयानी हक प्राप्त हुने होइन । कि.नं. ४७ को जग्गा घरवारी हो भनी ७ नं. फाराममा प्रष्ट लेखिएको छ । घरवारीको जग्गा मोहियानी नलाग्ने कानूनी व्यवस्था भू.सु.ऐनमा प्रष्ट छ । मेरो वारिसलाई कार्यालयमा उपस्थित भइसकेपछि बयान गराई तारिखमा राख्नु पर्नेमा नगराई तारिखमा राखेको छ । अर्को कि.नं. ४७६ को जग्गा ०७ मात्र हो कि.नं. ४७६ बाहेक अरू कि.नं. मा विपक्षीको दावी पनि छैन यसरी लुखियादेवीको उजूरीबाट सोमन मण्डल मोही कायम हुने पनि होइन । मोही रोज्ने काम ज.ध.को हो । अतः उपरोक्त कारणहरूबाट विपक्षी भू.सु.का.बाट ०३९।११।१६ गते गरेको निर्णय त्रुटिपूर्ण भएकोले संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश पूर्जि जारी गरी भू.सु.का.सप्तरीको मिति ०३९।११।१६ को निर्णय बदर गरी हक प्रचलन समेत गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ ।

          ४.  यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई पेशगर्नु भन्ने यस अदालत सिङ्गलबेञ्चको आदेश ।

          ५.  मेरा बाबु फनक जग्गाको मोही रहेमा विवाद छैन । किनकि साविक ज.ध.का नाउँमा ४ नं. जो.अ.नि.प्राप्त गरी २ नं. अनुसूची प्रकाशित भए उपर विपक्षी समेत कसैको उजूर नभएकोबाट भू.सं.नियम ९(३) बमोजिम मेहियानी हक अकाट्य प्रमाणित छ । बाबु फानक परलोक भएपछि निजको मोही दर्ता नामसारी निजको पत्नी वा छोरामा मोहियानी हक नामसारी हुनमा विवाद हुन सक्दैन । विपक्षीले कुनै प्रतिवाद नगरी तारेख मात्र खेप्नु भयो । यसरी मौन रहेपछि मेरी आमाको कागजलाई स्वीकार गरेको छ । जग्गा घटबढले मोही हकमा कुनै तात्विक असर पार्ने होइन । उक्त घरवारीको जग्गा भएको भए मोही लगत कट्टा गराउनु पर्नेमा नगराई हाल मात्र जिकिर कुनै मान्यता पाउने होइन । मेरो पिता भू.सं.ऐनको दफा २५(१) नियम ३, , ९ समेतले मोही भएको हुनाले अधिकार प्राप्त अधिकारी भू.सु.का.बाट भएको निर्णय कानूनको परिधि भित्र रही गरिएको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत सोमन मण्डल मधैया कानूको लिखितजवाफ रहेछ ।

          ६.  घरवारीको लागि ७ नं. फाराम ज.ध.ले देखाएको जग्गामा मोही नलाग्ने र ज.ध.परिवर्तन हुँदैमा मोही हक लोप हुने व्यवस्था कुनै कानूनमा नभएकोले भू.सु.ऐन, २०२१ अन्तर्गत मोहीको १ नं. लगत भरी २ नं. प्रकाशित भई ४ नं. जो.अ.नि.प्राप्त गरी उक्त ऐनको दफा २५(१) अनुसार हक प्राप्त भइसकेको देखिएको र ऐ ऐनको दफा २६(१) अनुसार पहिलो हक प्राप्त मोहीको श्रीमतीले छोराको नाउँमा मोही हक नामसारी गर्न मञ्जूर गरेकी र त्यसमा ज.ध.तारेख गुजारी बसेकीले ज.ध.बाट मोही हकदारलाई पत्याउन लगाउने सम्भव नभएकोले यस कार्यालयबाट भएको उक्त निर्णय कानून अनुरूप नै भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.सप्तरीको लिखितजवाफ रहेछ ।

          ७.  निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले प्रत्यर्थीहरू मोही होइन । घरवारीको जग्गा हो मोही लाग्ने होइन । पहिले लुखियादेवीले नामसारी गरिपाउँ भनी निवेदन दिएको र पछि छोरा सोमनको नाउँमा नामसारी गरिपाउँ भनी निवेदन दिएको छ । भू.सु.ऐनको दफा २६(१) ले मोही रोज्ने हक जग्गाधनीको भएकोमा मोही रोजाउने प्रकृया पूरा नगरी गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने समेत र विपक्षी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले रिट निवेदकले तारेख गुजारेकोबाट कानून बमोजिम निर्णय गरेकोमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभयो ।

          ८.  प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

          ९.  यसमा पति फनक मण्डल मोही भई कमाई आएको जग्गा निजको देहान्त भएकोले नामसारी गरिपाउँ भनी निजको पत्नी लुखियादेवीको निवेदन परेकोमा रिट निवेदन तारेखमा बसी पछि तारेख छाडेपछि लुखियादेवी धानुकले छोरा सोमन मण्डलको नाममा मोही नामसारी गरिपाउँ भन्ने अर्को निवेदन दिएकोमा सोमन मण्डलका नाममा मोहियानी हुने भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीबाट निर्णय गरेको देखिन्छ ।

          १०.  यसरी पहिले आफ्नो नाममा नामसारी गरिपाउँ भनी दावी गरी सकेपछि फेरि छोराको नाममा नामसारी गरिपाउँ भनी दावी गरी त्यस्तो दावी बदल्न सक्ने व्यवस्था ऐनले गरेको पाइँदैन । प्रत्यर्थी लुखियादेवीले मोही नामसारी गरिपाउँ भनी दावी लिएको कुरामा रिट निवेदकले तारेख गुजार्छ भने अर्को पछि छोरा सोमनको नाउँमा मोही नामसारी गरिपाउँ भनी दावी लिएको कुरामा पनि सो पहिले तारेख गुजारेको दोष लगाउन मिल्ने देखिँदैन । सोमन मण्डलको नाममा मोही नामसारी गर्ने माग दावीतर्फ कारवाही गर्दा जग्गाधनीलाई आफ्नो कुरा भन्ने मौका दिनुको साथै भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) बमोजिम जग्गावालालाई मोही रोजाउने प्रकृया गर्नुपर्ने हुन्छ । तर सो अनुसार जग्गाधनी रिट निवेदकलाई आफ्नो कुरा भन्ने मौका दिएको र मोही रोजाउने प्रकृया पूरा गरी निर्णय गरेको देखिँदैन । त्यसरी जग्गाधनी रिट निवेदकलाई आफ्नो कुरा भन्ने मौका नदिई मोही रोजाउने प्रकृया पूरा नगरी प्रत्यर्थी सोमन मण्डलका नाउँमा मोही नामसारी गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीको मिति ०३९।११।१६ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

          ११.  अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीका मिति ०३९।११।१६ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन म.न्या. का.मा पठाई फाइल नियमबमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल ज्येष्ठ ३० गते रोज ३ शुभम् ।